लीलबहादुर क्षेत्रीको ‘नेपाली संस्कृतिमा मादलको महत्त्व’

गद्य विविध

लीलबहादुर क्षेत्रीको नेपाली संस्कृतिमा मादलको महत्त्व

नवीन पौड्याल, कालिम्पोङ

नेपाली साहित्यमा लीलबहादुर छेत्रीको स्थान महत्त्वपूर्ण रहेको छ। उनको जन्म १ मार्च, १९३३ मा गौहाटीमा भएको हो। उनका मातापिताको नाम स्व. पवित्र छेत्री र प्रेमबादुर छेत्री हो। उनले आफ्नो प्राथमिक शिक्षा शिलाङबाट ग्रहण गरेका थए।उनले स्नातक भने हाटीको प्रसिद्ध कटन कलेजबाट सअर्थशास्त्र अनर्स विषय लिएर सन् १९५६ मा स्नातक अध्ययन गरेका हुन्। त्यसपछि गौहाटी विश्वविद्यालयबाटसन् १९५८ मा अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययन समाप्त गरेका हुन्। आफ्नो सरकारी सेवाका क्रममा उनले सन् १९५९ देखि १९६७ सम्म आकाशवाणी गौहाटीमा नेपाली कार्यक्रम परिचालन गरेका थिए। त्यसबीचमा उनले सन् १९६२ देखि नै आर्य विद्यापीठ भन्ने महाविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यपकको नियुक्ति पाएका थिए। उनले गौहाटीको आकाशवाणी केन्द्रको उक्त सेवालाई छोडेर महाविद्यालयमा नै पूर्णकालीक सेवा प्रदान गरिरहे। उनले त्यहाँ लगभग बत्तीस वर्ष जति प्राध्यापन गरेर सन् १९९४ मा सेवानिवृत्त भएका हुन्।

लीलबहादुर छेत्री असमका विभिन्न साहित्यिक संस्थासित सक्रिय रूपमा संलग्न थिए। उनलाई हाम्रो ध्वनि पत्रिकाको सर्वेक्षण अनुसार असमका नेपाली लेखकहरूबीचमा शताब्दी पुरूष भन्ने उपाधि पनि प्रदान गरिएको थियो। उनले दियालो पुरस्कार, भानुभक्त पुरस्कार पश्चिम बङ्गाल सरकार (१९८५), साहित्य अकादमी पुरस्कार, नयाँ दिल्ली, १९९७, वेदनिधि पुरस्कार, काठमाडौं, अगम स्मृति पुरस्कार, सिक्किम, अभिजमान स्मृति,कुवैत, नइ-देरूनिख अन्तराष्ट्रिय पुरस्कार,हरिभक्त कटुवाल स्मृति पुरस्कार, पद्मप्रसाद ढुङ्गाना, पुरस्कार, देवकोटा शतवार्षिकी भानुजयन्ती समारोह आदि हुन्। सबाहेक उनलाई द्विशतकीय भानुजयन्ती समारोह, काठमाडौं, भानु प्रतिष्ठानद्वारा रथारोहन सम्मान, बग्गीमा नगर परिक्रमा आदिद्वारा समम्मानित पनि गरिएको थियो।

उनी एक सफल उपन्यासकार, कथाकार, निबन्धकार हुन्। उनको पहिलो रचना सन् १९४९ मा शिलाङको एउटा वाणी प्रिन्टिङ प्रेसबाट प्रकाशित भएको थियो। उनले गौहाटीका साहित्यिक परिवेशलाई मलजल दिन काम गरिरहे। उनका प्रकाशित पुस्तकहरूको सूचि यस प्रकारको हुन्छ- बसाईं (१९५७), अतृप्त (१९६८), ब्रह्मपुत्रका छेउछाउ (१९८६), प्रतिध्वनि विस्मृतिका (२००४) जस्ता उपन्यास प्रकाशित छन्। उनका तीन दशक बीस अभिव्यक्ति (१९८३), लीलबहादुर छेत्रीका कथाहरू (१९९७) र कहिल्यै नफुक्ने गाँठो (२०१३) गरी तीनवटा वटाकथासङ्ग्रह प्रकाशित छन्।

निबन्धकारका रूपमा लीलबहादुर छेत्री

लीलबहादुर छेत्री एकजना विशिष्ट निबन्धकार हुन्। आफ्नो लेखनको लामो समसम्म उनले कथा उपन्यासबाहेक निबन्ध लेखनमा पनि रूचि देखाएका छन्। उनका विभिन्न पत्रिकातिर छरिएका निबन्धहरू धेरै छन्। तीमध्ये केही लेखलाई सङ्ग्रह गरेर पुस्तकाकार रूपमा प्रकाशित गरेका छन्। उनका प्रकाशित निबन्ध पुस्तकहरूमा ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ (१९६१, सानो पुस्तिकाका रूपमा), ‘पूर्वाञ्चल भारतीय नेपाली भाषा-साहित्य र पत्रकारिताको इतिवृत्त’ (१९९७, खोजमूलक), ‘झ्याउरे पार्टीमा लाग्दा’ (१९९९), ‘पूर्वोत्तर भारतीय साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’ (२०००), ‘सिमलको भुवा’ (२०१२) ‘छरिएका बिस्कुन’ प्रकाशित छन।

लीलबहादुर छेत्रीका निबन्धहरूलाई मूलतः दुई प्रवृत्तिमा खुट्याउन सकिन्छ- वस्तुपरक र आत्मपरक। विषयवस्तुका आधारमा वर्गीकरण गर्दा चारवटा बनाउन सकिन्छ- भाषा साहित्यको सर्वेक्षणमूलक, समालोचनामूलक, विविध विषयमूलक र आत्मपरक। ‘असममा नेपाली भाषा र साहित्यको साह्रोगाह्रो’ र ‘पूर्वाञ्चल भारतीय नेपाली साहत्यको र पत्रकारिताको इतिवृत्त’, ‘पूर्वोतर भारतीय साहित्य समाजको ऐतिहासिक दिगदर्शन’, ‘’छरिएका बिस्कुन’  जस्ता पुस्तिका र पुस्तक भाषा साहित्यको सर्वेक्षणमूलक वर्गभित्र पर्दछन्। यी पुस्तकहरूमा असममा नेपालीहरूको बसोबास, असमलगायत पूर्वाञ्चलका सबै प्रान्तमा नेपाली भाषा र साहित्यको प्रयोग र सिर्जना परम्परा, प्रवृति, समस्या, विचार मन्थन आदि जस्ता कुरा पाइन्छ। असमेली नेपाली भाषार साहित्यमा अनुसन्धान गर्नेका  निम्ति उनका यी पुस्तकहरू उपयोगी रहेका छन्। छेत्रीका केही निबन्धहरूमा समालोचनाधर्मिता पनि पाइन्छ। केही लेखकका पुस्तकको भिका रूपमा, पुस्तकको समीक्षाका रूपमा, कुनै सामान्य पुस्तक निरूपणका रूपमा पाइन्छन्। यस्ता निबन्धमा कृति र कृतिकार र कृतिको परिचय, विश्लेषण, प्रवृत्तिगत मूल्याङ्कन आदि जस्ता गुण पाइन्छन्। उनका यस्ता केही निबन्धहरूमा भानुभक्तको नारी भावना, कवि पद्मप्रसाद ढुङ्गाना र उनका कृतिहरू, कवि रविन्द्रनाथमाथि एक विहङ्गम दृष्टि, असमका नेपाली लेखहरूहरूमा असमिय साहित्यको प्रभाव, मोतीराम भट्ट- नेपाली साहित्यका एक युग प्रवर्तक प्रतिभा, शरणार्थी धरावासीको लीला रचना आदि हुन्। यसै गरी सांस्कृतिक, सामाजिक चिन्तनपरक निबन्ध पनि रहेका छन्। यसपछि उनका केही निबन्धहरू आफ्नोबारेमा, आफ्ना, साहित्य प्रकाशन र साहित्यिक यात्रा, अनुभव, अनुभूति आदिलाई अभिव्यक्त गरेका छन्।

लीलबहादुर छेत्रीका निबन्धहरूमा विभिन्न विषयवस्तु पाइए तापनि जीवनका भोगाइ, अनुभव र अनुभूतिलाई विशेष महत्त्व दिइएको पाइन्छ। उनका निबन्धहरूमा असममा गोर्खाहरूको बसोबासो गर्दाका समस्या कठिनाइ, इतिहास, सङ्घर्ष र अस्तित्वका कथा व्यथालाई आफ्नो विषयवस्तु बनाएका छन्। उनले आफ्ना केही निबन्धहरूमा असमका धेरै पक्षबारे प्रकाश पारेका छन्। यसै गरी उनका केही निबन्धहरूमा हाम्रा चाढबाढ, भानुभक्तबारे आफ्नो विचार, आफ्ना बाल्यकालीन घटनाहरू, जीवन अनुभव, आफ्नो बारेमा विभिन्न विचार विनिमय अभिव्यक्त गरेका छन्। लीलबहादुर छेत्रीका निबन्धहरूलाई अध्ययन गर्दा वैचारिक पक्ष प्रबल देखिन्छ। कुनै पनि विषयमा लेख्दा त्यसका पृष्ठभूमि, त्यसबाट उब्जेका विचार, भाव आदिलाई केलाउने गर्दछन्। उनको निबन्धगत विषयहरूमध्ये नेपाली साज र संस्कृति, मानसिकता, समस्या समाधान कमजोरी आदि पक्षलाई चिन्ने प्रयास गर्दछन्।

नेपाली संस्कृतिमा मादल शिर्षकको निबन्ध झ्याउरे पार्टीमा लाग्दा निबन्ध सङ्ग्रहमा सङ्गृहीत छ। यसमा तीनपृष्ठमा सानाठुला गरेर जम्मा नौवटा परिच्छेदहरू रहेका छन्। पहिलो परिच्छेदमा संस्कृतिको महत्वबारे प्रकाश पारिएको छ। निबन्धकारका अनुसार संस्कृतिले कुनै पनि जातिको परम्परा, सभ्यता आदि दर्साउँछ। खानपीन, रहन सहन, रीति-थिती, धर्म-कर्म, पूजा ब्रत, कला आदि जम्मैलाई संस्कृतिले समेटेको हुन्छ। यी संस्कृत नै कुनै पनि जातिको सभ्यता र संस्कृति कस्तो छ भन्ने परिचय दिने कसी हो। दोस्रो परिच्छेदमा नेपाली संस्कृति धेरै सम्पन्न छ। हाम्रो संस्कृतिमा वैदिक, तिब्बती र मङ्गोलहरूको रहनसहन र बौद्धिक छाप परेको पाइन्छ। यी बाहेक हाम्रो आफ्नै मौलिक र पेवा संस्कृति पनि विकसित भएको छ। हाम्रो आफ्नै किसिमको धार्मिक परम्परा रहिआएको छ। नेपालीहरू उहिलेदेखि नै काशीहम्बा मान्छन्, बूढी बजै मान्छन्, मौलाको पूजा गर्छन्, सिमेभूमे, गोठधूप, कुल-कुलाइनको पुजा गर्दछन्, धामी ढाँक्री र जोगीले फेरी लाउने गर्छन्। हाम्रा लोकगीतहरू संगिनी, तामाङ सेलो, धाननाच, झ्याउरे, रतेली, बालन आदि हाम्रा आफ्नै उपज हुन्। यी वस्तुहरू अरूका प्रभावमा सिर्जित नभएर हाम्रो मौलिक परम्परा हुन्। हाम्रो लोकपरम्परा, लोकधर्म र लोकसङ्गीत तीनै कुराको मिश्रणले नेपाली संस्कृतिको निर्माण भएको छ।

तेस्रो परिच्छेदमा नेपाली लोकगीत र लोकहतियारका रूपमा खुकुरीको मह्त्व बारे चर्चा गर्छन्। हाम्रो लोकगीत विशिष्ट छ। जब नेपाली लोकगीतको कुरा हुन्छ तब मादल प्रमुख भएर आउँछ। हामीलाई चिनाउने मादल र खुकुरी दुई कुरा मुख्य हुन्। खुकुरीले हामीलाई वीर जातिका रूपमा चिनाउँछ भने मादलले भने हामीलाई संस्कृति वीरका रूपमा चिनाउँछ। हाम्रो अन्य लोकबाजाहरू ट्याम्को, दमाहा, शहनाइ, बिनायो, सारङ्गी, टुङ्ना, मुर्चुङगा, खैंजडी, मुजुरा, डमरू झ्याम्टा आदि हुन्। यीमध्ये पनि मादलले हामीलाई राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा चिनाउँछ। यो हाम्रो प्रतिनिधि वाद्य वादन हो। मादलले युद्धका सेनालाई पनि जोस जाँगर प्रदान गर्छ। हाम्रो मादलको लयमा अँग्रेज सैन्य अधिकारी पनि नाच्ने गर्छन्।

निबन्धको चौथो परिच्छेदमा मादलको बनावटबारे केही प्रकाश पारिएको छ। काठको मुढालाई छालाले मोरेर बनाइएको हुन्छ। यसको एकापट्टि अलिकति ठुलो र अर्कापट्टि अलिक सानो हुन्छ। दुवैपटि ताललाई सुरिलो बनाउन खरी लाइएको हुन्छ। यसरी हेर्दै आकर्षक मादल हाम्रो संस्कृतिको भिन्न अङ्ग हो। यसको अभाव हाम्रा गीत र नाटक फिका हुन्छन्, अधूरा हुन्छन्।

निबन्धको पाँचौं परिच्छेदमा दलका पनि केही भिन्नाभिन्नै आकार प्रकार हुन्छन्। मूलरूपमा माल दुई प्रकारका हुन्छ पूर्वी र पश्चिमा। मूलमा नेपालको पूर्व भागमा प्रचलित मादल पूर्वी हो जो केही ठुलो र ताल पनि गहकिलो हुन्छ। पश्चिम नेपालतिर प्रचलित पश्चिमा मादल भने आकारमा सानो तर छरितो, ताल पनि खिरिलो तीब्र हुन्छ। यसलाई पोथी मादल पनि निन्छ। सोरठी मारूनी गीतमा मादलको ठुलो महत्व हुन्छ। सोरठी गीतमा बजाइने मादल भने केही ठुलो हुन्छ। यस किसिमको मादललाई सोरठी मादल भनिन्छ। काठमाडौंमा मादललाई मगखी भनिन्छ।

छैटौं परिच्छेदमा मादलको व्युत्पत्ति स्रोत केलाइएको छ। यो ‘मादल’ शब्द मूलमा संस्कृतको ‘मार्दलाह’ र प्राकृत भाषामा ‘माद्दला’ भनिन्छ। यसैको अपभ्रंशस्वरूप नेपालीमा आइपुग्दा मादल भएको हो। यद्यपि अन्य वस्तुका तुलनामा नेपाली जातिमा भने मादलको बढी महत्त्व र उपयोगिता पाइन्छ।

सातौं परिच्छेदमा नेपाली संस्कृतिमा मादललाई जातीय प्रतीकका रूपमा परिचय दिने प्रयत्न गरिएको छ। नेपाली संस्कृतिमा झ्याउरे गीत अत्यन्तै महत्त्पूर्ण छ। हाम्रो संस्कृतिमा जसरी हाम्रो रीतिथिति, रहनसहन आचार व्यवहार आदि यही झ्याउरेमा प्रतिविम्बित भएको पाउँछौं। तामाङको सेलोगीत, लिम्बूहरूको धाननाच, नेवारहरूको लाखेनाच, बाहुन छेत्रीको बालुन, सङ्गिनी, भजन आदि सबैलाई जोड्ने भने झ्याउरे हो भने मादल यसको प्रमुख बाजा हो। यसकारण झ्याउरे नेपाली संस्कृतिको द्योतक हो भने मादल साझा लोकप्रतीक हो। त्यसैले झ्याउरेलाई मादले गीत पनि भनिन्छ। मादलबिना प्रायः यी गीत फिका हुन्छन्। मादलेगीत र मादलभित्र हाम्रो नेपाली जातिको जीवन लुकेको छ। मादलसित हाम्रा विगत र वर्तमानका जनजीवन र सङ्घर्षका कुरा गाँसिन आउँछन्। मादलकै सुर र लयमा हाम्रो जनजीवनले गति पाएको छ अभिन्न भएर रहेको छ। यससित हाम्रो अटुट नाता छ। मादलको धिन्ताङमा हाम्रो जीवन बगेको छ। यसले कहिले वीररसको सञ्चार गर्छ भने कहिले विरहका पीडा पनि दर्शाउन सक्छ।

निबन्धको आठौं परिच्छेदमा मादलको ध्वनिले हाम्रो चाडपर्व, खानपीन, लोककलालाई झल्काउँछ भनिएको छ। हाम्रो क्षेत्रको प्राकृतिक दृश्य, लाली गुराँस, सयपत्री फूल खानपान सेलरोटी गुन्द्रुक-सिन्कीको अचार, हाम्रो जातीयपोषाक हरा सुरुवाल, टोपी आदिलाई पनि मादलको सम्बन्ध गाँसिएको छ। हाम्रो सभ्यता र संस्कृतिको प्रतीक र जातीय एकता सूत्र हो मादल।

निबन्धको अन्तिम परिच्छेदमा निष्कर्षका रूपमा मादलको विभिन्न तवरले महत्त्व दर्शाइएको छ।यसले हाम्रो लोकगीत र लोकनृत्यदेखि अझै बाहिर आएर राष्ट्रिय रूपमा पनि मादलले आफ्नो स्थान बनाएको छ। असमको परिप्रेक्ष्यमा पनि मादलले हामीलाई विशिष्ट रूपमा चिनाएको छ। चाहे रङ्गाली बिहु होस् चाहे अन्य कुनै पर्व, मादलले हाम्रो जातीय नृत्यबाट प्रतिनिधित्व दिइरहेको छ। विश्वमा गोर्खा फौज जहाँ जहाँ पुगेको छ, त्यहाँ त्यहाँ मादल घन्किएको छ, जोस सञ्चार गरेको छ, हामीलाई एकताको सुत्रमा बाँधेको छ, विश्वमा हामीलाई चिनाइरहेको छ। यसबाट पनि हामी मादलको महत्त्व बुझ्न सक्छौं। नेपाली संस्कृति र नेपाली जनजीवनको परिचय, लोकगीत र लोकनृत्य आदिमा मादलले जति अन्य कुरै कुराले हामीलाई चिनाउन सकेको छैन भन्ने विचार अभिव्यक्त गरिएको छ।

लीलबहादुर छेत्रीको नेपाली संस्कृतिमा मादलको महत्व निबन्धलाई न लामो न छोटो बरू मझौलो आयामको मान्न सकिन्छ। यस निबन्धमा वस्तुनिष्ठ रूपमा वर्णन गरिएको यद्यपि भानवनात्मकता पनि मिसिएको पाइन्छ। यस निबन्धको मूल विषयवस्तु मादल रहेको छ भने मादलबाट उब्जेका अन्य कुरालाई विषयवस्तु बनाइएको छ। संस्कृति के हो? लोकसङ्गीत लोकके हो अन्य लोकवाद्य के के हुन् र मादलको महत्व कस्तो हुन्छ, कतिपय प्रकारको हुन्छ, यसले कस्तो कस्तो भूमिका खेल्दछ भन्ने कुरामा निबन्धकारले निबन्धको विषयवस्तु र उद्देश्य प्रस्तुत गरेका छन्।

यसमा विभिन्न भावना रहेता पनि मूल रूपमा यसलाई वस्तुपरक निबन्ध नै मान्न सकिन्छ। यसमा मादल विषयलाई केन्द्रविन्दुमा राखेर लेखिएको छ। मादल र यससम्बन्धित कुराका प्रसङ्गमा नेपाली संस्कृतिका विशेषता पनि दर्शाइएको छ। यसमा संस्कृतिबारे आफ्नो विचार पनि व्यक्त गरिएको हुनाले यसलाई वस्तुपरक र वैचारिक निबन्धको कोटिभित्र राख्न सकिन्छ। यसमा प्रयुक्त शब्दहरू सबैले बुझ्ने, सहजै अर्थ लाग्ने, सरल र सुललित पाइन्छ।

नेपाली साहित्यमा लीलबहादुर छेत्रीको नाम आदरका साथ लिइन्छ। उनी गौहाटीमा नेपाली साहित्यकारका निम्ति तीर्थसमान भएर रहे । उनले नेपाली उपन्यास क्षेत्रमा कविता, कथा,उपन्यास, निबन्ध, नाटक समीक्षा आदि लेखेर ठुलो योगदान दिएका छन्। ‘झ्याउरे पार्टी लाग्दा’ निबन्धसङ्ग्रहभित्र रहेको नेपाली संस्कृतिमा मादलको महत्त्व एउटा वस्तुपरक निबन्ध हो। यसमा नेपाली संस्कृति चिनाउँदै झ्याउरे गीत र मादलको महत्त्व दर्शाएका छन्। यसलाई वस्तुपरक निबन्धका रूपमा मान्न सकिन्छ। यसमा मादलको माध्यमबाट लेखकले आफ्नो वैचारिकता, लोकसांस्कृतिक चेतना, जातीय चेतना, अनुभव, ज्ञानको परिचय दिएका छन्। उनले आफ्नो जीवनको ठुलो भाग नेपाली साहित्य र जातीय चेतनाको चिन्तनमा बिताएका हुन्। मादललाई उनले हाम्रो जातीय अस्तित्व चेतनाको प्रतीकका रूपमा विचार व्यक्त गरे, यस निबन्धका आधारमा अध्ययन गर्दा पनि लीलबहादुर छेत्रीलाई एक सफल निबन्धकारका रूपमा पनि मान्न सकिन्छ।

०००

लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१)  भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ,   भारतमा बसोवास गर्छन् ।