अर्चना र विभोरका गजलसङ्ग्रह विमोचित

समाचार

७ भदौ २०८२, काठमाडौं

अनाम मण्डलीको आयोजनामा युवाकवि मोतीराम भट्टको १६० औँ जन्मजयन्तीको अवसर पारेर सप्रेम अर्चनाको’मनले अब पङ्ख उचालिसक्यो’ र विभोर बरालको’मनभित्र ब्रम्हाण्ड छ’ गजलसङ्ग्रहहरू विमोचन गरिएका छन्।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार तथा वरिष्ठ लेखक रोचक घिमिरेले नेपाली गजलको उत्थान र प्रबर्द्धन गर्ने मोती मण्डलीको चर्चा गर्दै युवा दम्पती सप्रेम अर्चना र विभोर बराललाई उनीहरूको छुट्टाछुट्टै कृतिका लागि हार्दिक बधाई तथा शुभकामना दिएका थिए।प्रमुख आमन्त्रित व्यक्तित्व घिमिरेले आफूलाई गेय गजल मनपर्ने भएकोले आज विमोचित गजलसङ्ग्रहमा गेय गजल रहेको पाउँदा हर्ष लागेको बताए।
कार्यक्रममा प्रभाती किरणद्वारा दुबै कृतिमाथि संक्षेपमा समीक्षात्मक टिप्पणी पेश गरेका थिए।
कार्यक्रममा प्रा.डा.देवी नेपालले शुभकामना मन्तव्य राखेका थिए।अनामनगरको कुनै एक होटलमा बसेर गजल सुन्ने र सुनाउने क्रममा मोती मण्डलीको अनुकरण गर्दै अनामनगरबाट शुरु भएको गजल वाचनलाई निरन्तरता दिन २०६२ मा स्थापित मण्डलीको नामाकरण अनाम मण्डली गरिएको प्रसङ्ग स्मरण गरेका थिए।
कार्यक्रममा ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा.रमेश पोखरेलले दुबै गजलसङ्ग्रहबाट आधा दर्जनभन्दा बढी गजलहरू गाएर सुनाएका थिए।
कार्यक्रममा सप्रेम अर्चना तथा विभोर बरालले आफ्नो एक-एक वटा वाचन गरेर सुनाएका थिए।
कार्यक्रममा राधा कँडेल,रश्मि असफल तथा रविका भण्डारी ले सप्रेम अर्चनाका केही गजलहरू गाएर सुनाएका थिए।
सभापतिको आसनबाट बोल्दै मण्डलीका अध्यक्ष रूपक अलंकारले विभोर दम्पतीलाई हार्दिक बधाई र शुभकामना दिंदै उपस्थित सबमा धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन सरोज घिमिरेले गरेका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)