डोरबहादुर विष्ट 

साभार रचना

नकुल सिलवाल

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ डोरबहादुर विष्ट 

डोरबहादुर विष्टलाई चिन्दिनँ म तर नेपालका ख्यातिप्राप्त कपितय बुद्धिजीवीलाई जसरी उहाँहरूका कृतिमा चिन्छु, विष्टज्यूलाई पनि त्यसरी नै चिन्छु एकतर्फी । केशरबहादुर विष्टलाई पनि म मात्रै चिन्छु तर डा. निर्मलकुमार विष्टसँग भने दोहोरो चिनजान छ ।

विद्वान् विष्टसँग कुराकानी हुन्छ कहिलेकाहीं, एकाध घण्टा समय दिनुहुन्छ । अध्ययन गर्ने बानी छ उहाँको, सिक्ने-जान्ने, थाहा पाउने कुरामा मलाई रुचि छ । डा. निर्मलको डोरबहादुर विष्ट को पर्नुहुन्छ झट्ट थाहा भएन मलाई । बेलाबेला डोरबहादुर विष्ट हराइरहनुहुन्थ्यो । अहिले पनि हराउनुभएको थाहा छ, भेटिनुभएको वा देखा पर्नुभएको थाहा छैन मलाई । भौतिक रूपमा कहाँ हुनुहुन्छ डोरबहादुर विष्ट तर उहाँका कृतिहरू, फुटकर रचनाहरू यत्रतत्र छरिएका छन् ।

बुझ्नेले पढेका छन्, पढेर बुझेका छन् । विष्ट धेरै ठूला समाजशास्त्री । नेपालका पिछडिएका र अति दुर्गम क्षेत्रमा गएर उहाँले काम गर्नुभएको थाहा छ मलाई, त्यत्ति हो । विद्वान्‌को विद्वत्ता रचनामै खोज्नुपर्छ । विद्वानलाई कृतिमै चिन्नुपर्छ, शरीरसँग उठबसको खास अर्थ छैन तर सरसङ्गत गरेर भने प्रशस्त लाभ उठाउन सकिन्छ ।

उहाँको दुईचार घण्टा मात्र भए पनि समय लिइदिने र केही प्रेरणा लिने इच्छा थियो, त्यो त्यत्तिकै थाती रहेको छ । विद्वान् डोरबहादुर विष्टले तिब्बत-लासाको महावाणिज्यदूत हुँदा नेपालको नेवारी समुदायले तिब्बतमा व्यापार-व्यवसाय सञ्चालन गर्दाको आरोह-अवरोह “सोताला” उपन्यास लेख्नुभयो जुन उपन्यासशृङ्खलामा चर्चित छ ।

विसं २०४९ मा डोरबहादुर विष्टले ‘कीर्तिपुरको काइलाल महर्जन’ कथा प्रकाशनमा ल्याउनुभयो । उहाँले अरू कति कथा लेख्नुभएको छ, कति प्रकाशित गर्नुभएको छ त्यसको लेखाजोखा छैन मलाई तर ‘कीर्तिपुरको काइलाल महर्जन’ ले मलाई निथ्रुक्क भिजाएको छ । म बेचैन भएको छु पढेर । कति पटक पढें थाहा छैन तर उहाँले जसरी कथा बुन्नुभएको छ त्यसरी नेपालका अरू कथाकारले कथा रचेको थाहा छैन मलाई ।

विसं २०४९ को सर्वश्रेष्ठ कथा हो भनी ‘कीर्तिपुरको काइलाल महर्जन’ लाई यो सर्वश्रेष्ठ दस ग्रन्थमा फेरि सङ्ग्रहीत गरेर प्रबुद्धवर्गसमक्ष राखिएको छ ।