१६ जेठ २०२८, काठमाडौं
साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय कडा रोगसँग सङ्घर्ष गर्दै रहेका र साहित्यिकहरु तथा आफन्तहरुसँग बाक्लो भेटघाटमा रहेका उनलाई विहान असहज भएपछि अस्पताल लगिएको थियो र त्यहीं उनको निधन भयो ।
उनको अन्त्येष्टी पनि दिउँसो सम्पन्न भयो । अन्त्येष्टिमा साहित्यकारहरु तथा शुभचिन्तकहरु श्रध्दार्पणका लागि पुगेका थिए ।
विसं २००८ साल असार २२ काठमाडौंको आरुवारीमा जन्मेका उनी सुप्रसिध्द साहित्यकार रमेश विकलका सुपुत्र थिए । उनले साहित्यिक जगतमा पिताको पद चिन्हलाई पछ्याएका थिए ।
उनका “होटल राँकीमा हत्या”, “अनि कुहिरो फाट्छ”, युगसन्धि” उपन्यासहरू, “प्रयोग प्रत्यारोपण”, “भग्न आस्थाको खण्डहर”, “अग्निचक्र”, “विज्ञानको कैदी”, “खोसिएको सपना”, “विजय चालिसेका छानिएका कथा” कथा सङ््ग्रहहरू, “अप्रिलको बेलायत”, “ओह !नेपारू”, “मरू भूमिका फूल” लगायत यात्रा संस्मरण तथा सञ्चार विषयक पुस्तकहरू प्रकाशित छन् ।
त्यस्तै उनका बाल साहित्यमा दर्जनौं कृतिहरु प्रकाशित छन् ।
गत साल २०८१ मा उनका कृतित्व बिषयक ग्रन्थ “द्रष्टा दृष्टिमा स्रष्टा विजय चालिसे” ठाकुर शर्मा भण्डारीको सम्पादनमा प्रकाशित भएको थियो ।
दिवङ्गत विजय चालिसेमा विश्व परिक्रमा हार्दिक श्रध्दा प्रकट गर्दछ ।
