चन्द्रप्रसाद भट्टराई
दुई हजार चौवन्न साल कात्तिक महिनाको एउटा चिसो चिसो बिहानीको कुरा हो । मीठो कलिलो घाम तापेर घर बाहिर बसिरहेको थिएँ, भित्र टेलिफोनको घन्टी टिर्र बजेको सुनियो । गएर रिसिभर उठाएँ, क्षेत्रपाटीबाट एउटा ट्राभल एजेन्सीले मलाई नै खोजेको रहेछ । कुरा के रहेछ भने मेरो जापान जाने टिकट आयो रे, लिन आफ्नो पासपोर्ट लिएर उनीहरूको अफिसमा जानू रे ।
एसियाली उत्पादकत्व संगठनले टोकियोमा आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन जानुपर्ने थियो । मेरो नाउँ छनौट भएको कुराको सूचना तीन-चार दिन अघि नै त्यो संस्थाबाट पाइसकेको थिएँ । चाँडै नै टिकट पठाइदिने कुरा समेत उनीहरूले जनाएका थिए ।
एक घण्टा जति पछि मेरो हातमा टिकट पर्यो । काठमाडौंबाट उड्ने समय रहेछ ००५ बजे । १०:४० बजे वा १८:१५ बजे वा २१:३० बजे कतै लेखेको देखियो भने दिनको वा रातको कुन बेला हो भनी बुझ्न त्यति गाह्रो हुँदैन । मेरो टिकटमा प्रस्थान समय ०००५ बजे लेखेको देख्ता चाहिँ कति खेर हो भनी एक छिन घोत्लिनु पनि पर्यो । रातको बाह्र बजेर पाँच मिनेट रहेछ ।
नोभेम्बर ८ को ०००५ बजे उड्नका लागि दई घण्टा पहिला अर्थात् अघिल्लो दिन रातको दश बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगें । शीत पर्ने कालो कात्तिक महिना भएकाले राति जाडोजाडै थियो । चाँडो चाँडो टिकट जँचाएर, सामानको नाउँमा भएको एउटा सुटकेस बुझाइदिएर र अध्यागमनको सोधपुछ पार गरेर भित्र वातानुकूलित प्रतीक्षालयको न्यानो कुर्सीमा बस्न पुग्छु ।
त्यसपछि त्यहाँ बसेका अरू यात्रीहरूतिर हेर्छु । रातको बाह्र बजेको वरपर काठमाडौंबाट अरू कुनै विमानसेवाको जहाज उड्ने कार्यक्रम नहुँदा त्यहाँ जति थिए शाही नेपाल वायुसेवाको जहाज चढेर चीनको शाङ्घाई जाने वा जापानको ओसाकासम्म नै जाने यात्रु मात्र थिए । चीनको शाङ्घाईमा हाम्रा व्यापारीहरूको व्यापार र कामदारहरूलाई रोजगारीको मौका त्यति नहुँदा प्रतीक्षालयमा बसेका दुई सय जना जति यात्रुमध्ये झन्डै झन्डै सबै नै जापान नै जान लागेका देखिन्थे । जसका हातमा पनि ओसाकाकै बोर्डिङ पास देखिन्थ्यो ।
म त्यहाँ बसिरहेको बेलामा एउटी बीस-एक्काईस वर्षकी युवती मेरो छेउमा आएर म जान लागेको ठाउँ सोध्छे । मैले त्यो जहाजबाट ओसाकासम्म र त्यसपछि अर्को जापानी जहाज चढेर टोकियो जाने कुरा भनें । उसले खुशी हुँदै आफू पनि त्यो जहाजबाट ओसाकासम्म गएर त्यसपछि जापानी जहाज चढी टोकियो जाने कुरा गरी । पहिला कहिल्यै विदेश नगएकी एउटी युवती त्यति लामो विदेश यात्रामा एक्लै हिँड्नुपर्दा अलिक अप्ठ्यारो हुने हुनाले भरपर्दो साथी खोजिरहेकी रहिछे । त्यत्रा यात्रीमध्ये म भरपर्दो ठानिएछु, त्यसमा मलाई खुशी नै लाग्यो । आफ्नो साथ लागेर जान लागेकी हुनाले मैले उसको टिकट, पासपोर्ट, भिसा र अरू कागजपत्र हेरें, सबै ठीक छन् । ऊ अस्ट्रेलिया पढ्न जानलागेकी रहिछे । अस्ट्रेलिया उड्नुभन्दा अघि उसकी एउटी जापानी साथीको निम्तोमा पाँच दिन टोकियोमा बस्ने कार्यक्रम रहेछ । उसको नाउँ अर्कै थियो तर अनुहार कविता नाउँ गरेकी मेरी एउटी परिचित केटीसँग काटीकुटी मिल्ने भएकाले मैले हाँसेर उसलाई कविता नै भनेर बोलाउने कुरा गरें । उसले पनि हाँसेरै भनी, “हुन्छ नि, “दाइलाई कविता भनेर बोलाउन मन लाग्छ भने मलाई कविता नै भन्नुभए हुन्छ ।” यत्तिकैमा जहाज तयार भएकाले यात्रुहरूलाई बोलाइयो । मेरो टिकट छुट्टै कक्षको र कविताको छुट्टै कक्षको भएकाले हामी आ-आफ्ना कक्षतिर लाग्छौं ।
भनेकै बेलामा जहाज उड्यो । त्यसले आनन्द लाग्यो । शाही नेपाल वायुसेवाका जहाज धेरैजसो बेला समयमा उड्दैनन् भन्ने भनाइ छ । तर आज त्यसो भएन । मध्य रात भएकाले सबै यात्रु सुत्ने तरखरमा थिए । त्यसैले होला जहाज उड्नासाथै परिचारिकाहरू खाना खुवाउन थाले । नेपालकै सीमा क्षेत्रभित्र रहेर रातको झन्डै एक बजे हामीले खाना खाँदा महिलाहरूले तीजमा दर खाएको जस्तै भयो । खाइसकेपछि सबै आ-आफ्ना सीट मास्तिरका बत्ती निभाएर कम्बल ओढी पैंतीस हजार फिटको उँचाइमा उड्दै सुत्न थाले । म पनि निदाउन खोज्छु, तर निन्द्रा त्यति सजिलै कहाँ लाग्थ्यो र ? भरखरै घरमा छोडेर आएका जहान-केटाकेटीदेखि लिएर शाङ्घाई, ओसाका, टोकियोसम्मका कुरा मनमा खेल्न थाले । चिन्तनका बीबीचमा कविता पनि आइपुग्छे । यथार्थमा ऊ निकै परको अर्को कक्षमा छे, सके निदाएकी होली ।
त्यस्तै चार पाँच घण्टाको यात्रापछि शाङ्घाईको आकाशमा पुग्यौं । उज्यालो पनि भयो । जहाज निकै तलबाट उडिरहेकाले सहर तल छर्लङ्ग देखिन्थ्यो । भुईं छुनुभन्दा अघि झन्डै बीस मिनेट जति त्यो सहरमाथि उडियो । औद्योगिक नगरी भएकाले जताततै कलकारखाना देखिन्थे । ती सँगसँगै मजदुरहरूका लागि भनेर योजना गरी बनाइएका घरहरू पनि उत्तिकै देखिन्थे । मजदुरको श्रमबाट चल्ने कम्पनीहरूले तिनको रगतपसिनाको महत्त्व बुझेर घरबासको व्यवस्था गरिदिएको देख्ता मलाई ठूलो सन्तोष भयो । दिनभरिको कडा परिश्रमपछि राति जहान-परिवारसँग बसेर रोटोपीठो जे छ खाई भोलिको बिहानीमा जाँगरिलो भई उठ्नुपर्ने श्रमिकहरूलाई काम गर्ने थलोका नजिकै घरबासको व्यवस्था सबभन्दा पहिला गरिदिनुपर्दछ र त्यसपछि मात्र अरूको पालो आउनुपर्दछ भन्ने सानैदेखि मेरो हृदयभित्र जरो गाडेर बसेको भावना त्यहाँ रूपान्तरित भएको देख्ता एकदमै आनन्द लाग्यो ।
हुन पनि हो, प्रत्येक कारखानाका छेउमा एकैनासका अनगिन्ती घरहरू लहरै उभिएका देख्ता साह्रै रमाइलो लाग्यो ।
शाङ्घाईमा दश-बाह्र जना जति ओर्ले । सवा घण्टा जति जहाज अडियो । भित्र सरसफाइ गर्ने हुनाले हामी ओसाका जाने यात्री पनि ओर्लेर ट्रान्जिट लाउन्जतिर लाग्नुपर्ने थियो ।
ओर्लन लाग्दा जहाजको ढोकैमा कविता भेटिई । मेरो टिकट बिजिनेस क्लासको र उसको इकोनमी क्लासको हुँदा जहाजमा हामी छुट्टाछुट्टै कक्षमा बसेर आएका भए पनि शाङ्घाईमा ओर्लने बेलामा ऊ मलाई पर्खेर बसेकी रहिछे । सँगै ओर्ल्यौं । त्यहाँका थुप्रै करमुक्त पसलहरू घुम्यौं । ती पसलहरूबाट हामीले केही पनि किन्नुपर्ने नभएकाले हेर्यौं मात्र ।
त्यत्तिकैमा जहाज तयार भएको सूचना आयो । हामी फेरि चढ्यौं । कविता आफ्नै कक्षतिर गई, म आफ्नैतिर । जहाजले भुइँ छोड्नासाथै परिचारिकाहरूले सुरक्षा कवच अर्थात् लाइफ ज्याकेट धारण गरेर आपतकालीन अवस्थामा कसो गर्ने भन्ने देखाउन थाले र अन्तर्राष्ट्रिय उडानको एउटा औपचारिकता पूरा गरे ।
जहाज उँभोतिर लाग्यो । गति पनि बढाउँदैछ । अब अन्त कतै नलागी ओसाका पुग्नुपर्ने हुँदा एकै छिनमा त्यतैको दिशा समायो । त्यसपछि विमान परिचारिकाहरू चल्बलाउन थालेको बुझियो । खानेकुराका बाकसहरू घिस्रिन लागे । बोतल, ट्रे, गिलास आदि छन्द्राङछुन्द्रुङ गरेको आवाज सुनिन थाल्यो । भोकाएका यात्रुहरू चनाखा भएर बाकसतिर हेर्ने नै भए । हेर्दाहेर्दै सबैका अघिल्तिर खानेकुरा आइपुग्यो ।
परदेशीको आकाशमा उडिरहँदा पनि आफ्नै देशको जहाज हो भने मलाई खानेकुरा सधैं मीठो लाग्छ । मैले यो कुरा भन्दा मलाई आवश्यकताभन्दा बढी आदर्शवादी नठान्नुहोला । आफ्नो देशप्रतिको मेरो एउटा आदर्श पनि छ, नभएको होइन । तर खास कुरा चाहिँ के हो भने नेपाली जहाज चढ्दा दिएका खानेकुराहरू के हुन् कस्ता हुन् भक्ष हुन् कि अभक्ष हुन् कि भनेर चिन्ता गर्न पर्दैन र कपाकप खाइन्छ । अरूका जहाज चढेको बेला के-के मिसाएको छ भनेर सोध्नुपर्ने हुन्छ । कहिलेकाहीँ त तिनका परिचारिकाहरूले पनि जवाफ दिन सक्तैनन, तिनीहरू आफैंले पकाएर पस्केका भए पो भन्न सक्थे । होटेलले पकाएर पोका पारेर पठाइदिएका हुन्छन्, उनीहरूले त बाँडेका मात्र न हुन् ।
खान थालेपछि कवितालाई सम्झें । आफूसँगै आएकी हुँदा आफूले खान लाग्दा उसले पनि खाई कि खाइन भनेर विचार आउनु स्वाभाविकै हो। विमान परिचारिकाहरूले सबैतिर बाँडिरहेकाले उसको कक्षमा पनि बाँडिसके होला र उसले खान थाली होली भन्ने ठानें र सन्तोषको बाटो लिएँ ।
कवितासँग चिनजान भएपछि मेरो मन खुब रमाएको छ । किन रमाएको छ भने ऊ अस्ट्रेलियामा पढ्न जान लागेको देखेर । ऊ कम्प्युटर साइन्स पढ्न जाँदैछे । संसारमै एउटा जल्दोबल्दो विषय पढ्न कुनै नेपाली चेली जाँदैछे । यो सबै नेपालीले गौरव गर्नुपर्ने कुरा हो । भोलि कविता एउटा दक्ष जनशक्तिको रूप लिएर निस्कनेछे र नेपालले मात्र होइन विकसित देशहरूले समेत उसको ज्ञान र सीपको प्रयोग गर्न सक्ने छन् । जहाँ महिला विकासको कुरा आउँछ, जहाँ महिलाले होस् वा पुरुषले होस् पढ्ने कुरा आउँछ र जहाँ नेपालको दीर्घकालीन हितको कुरा आउँछ त्यहाँ म रमाइरहेको हुन्छु । हेरिल्याउँदा कविता अस्ट्रेलियामा कम्प्युटर साइन्स पढ्न जाने कुरामा यी तीनै थोक थिए । त्यसैले मलाई भित्रैदेखि निकै आनन्द लागिरहेको थियो ।
हिजोआज हाम्रा धेरै भाइबैनीहरू पढ्न भनेर अमेरिका पस्ने र पछि उतै हराउने गरेका छन् । पढ्ने निहुँमा अमेरिका जाने किशोरकिशोरीमध्ये ज्यादै थोरैले मात्र राम्रोसँग पढेर देशको समेत इज्जत बढाएका भए पनि धेरैजसोले भने कुन भारतीय वा पाकिस्तानीको रेष्टुराँमा भर्ना भएर के पढिरहेका हुन्छन् भन्ने कुरा हिजोआज अलिकति बुझ्ने मान्छेले नेपालमै बसेर बुझ्न सक्छन्, हेर्न अमेरिका नै गइराख्न पर्दैन । अण्डरग्रेजुएट तहमा पढ्न भनेर अमेरिका जाने त्यस्ता भाइबैनीहरूमध्ये धेरैले पढ्न सक्तैनन् किनभने विश्वविद्यालयको फी एकदमै चर्को छ र त्यो तहमा छात्रवृत्ति एकदमै दुर्लभ हुन्छ । घरबाट पैसा पठाएर अमेरिकामा अण्डरग्रेजुएट तहमा छोराछोरी पढाउन जोकोही नेपालीको बलबुता हुँदैन । त्यस्ता युवकयुवती नेपाल फर्किन सक्तैनन् किनभने केही समय त्यहाँ बस्ता एउटा छुट्टै किसिमको जीवनपद्धति बनाइसकेका हुन्छन् जुन उनीहरू नेपालमा पाउँदैनन् । अनि यता न उताका भएर वर्षोदेखि बसिरहेका हुन्छन् । बिचरा बाबुआमा भने छोरी अमेरिकामा बसेर पढिरहेको छ भनेर यता गर्व गरिरहेका हुन्छन् ।
कविता माथिल्लो तहको पढाइका लागि अस्ट्रेलिया जान लागेको देखेर म किन पनि खुशी छु भने उसले आफ्ना धेरै दौंतरीहरू जस्तो अमेरिका गएर हराउने बाटो रोजिन ।
घरि पत्रपत्रिका पढ्दै, घरि छेउको सीटमा बसेको जापानीसँग बुझी-नबुझी भए पनि कुरा गर्दै, घरि खाँदै पिउँदै गर्दै, घरि केही टिपोट लेख्तै गर्दागर्दै हामी ओसाका पुग्न लागेछौं । जहाज ओसाकाको कान्साई विमानस्थलमा ओर्लिन लागेको कुराको सूचना आयो । परिचारिकाहरू विमान ओर्लने बेलामा उनीहरूले गर्नुपर्ने काम अर्थात् यात्रीहरूले आ-आफ्ना सीटका पेटी बाँधेका छन् कि छैनन्, कुनै सीटमा गिलास, ट्रे, कम्बल आदि बाँकी छन् कि, चुरोट खान पाइने कक्षमा बसेका यात्रीले चुरोट निभाए निभाएनन्, कसैले कम्प्युटर, सेलुलर फोन, भिडियो गेम चलाइरहेका छन् कि छैनन् भनेर नियाल्ने काम गर्न थाले । केही बेरमै जहाजले भुईं छोयो । हामीलाई पुऱ्याउन त्यहाँसम्म पुगेको स्वदेशी जहाज अब हामीलाई छोडेर फर्किदैछ भन्ने सम्झदा कताकता नरमाइलो लाग्यो । घण्टौसम्म विदेशीहरूका देश छोडेको अनुभव भएको थिएन । अब भने कस्तो लाग्न थाल्यो भने जमिनमाथि उड्दा पनि जहाजभित्रको परिवेश आफ्नै हुँदा यतिन्जेल आफ्नो हिजो राति होइन कि अहिले मात्र हामीले नेपालको सीमाना छाड्दै छौं । ओर्लंदा ढोकामा उभिएका सबै परिचारिकाहरूलाई हार्दिक धन्यवाद दिएँ ।
ओसाकाबाट हामी जापान पस्न लागेको हँदा विमानस्थलमा भएको अध्यागमन कार्यालयका कर्मचारीहरूले हाम्रा पासपोर्ट भीसा आदि जाँचे । कविताको पासपोर्ट र भीसा जाँच्ता धेरै प्रश्नहरू गरेका थिए । कतिपय प्रश्नको उत्तर दिन मैले उसलाई सघाउनुपर्यो ।
त्यसपछि हामी यात्रु प्रतीक्षालयतिर लाग्यौं । त्यहींनेर भएको ब्याङ्कको काउन्टरबाट यात्रु चेक साटेर मैले तुरुन्त खर्च गर्नका लागि चाहिने जापानी येन लिए । कविता चार पाँच दिन मात्र बस्ने र त्यो पनि साथीको पाहुना भएर बस्ने हुनाले धेरै जापानी पैसा चाहिने नहुँदा मैले थोरै मात्र साट्ने सल्लाह दिएँ । उसले त्यसै गरी ।
एउटा समस्या के थियो भने मेरो जहाज लगत्तै, भनौं एकघण्टा जति पछि अर्थात् दिउँसोको दुई बजे उड्ने तर कविताको भने साँझको पाँच बजे मात्र उड्ने थियो । हामी दुई जनाकै टिकट जापान एयरलाइन्सको भएको हुँदा यदि मिल्यो भने उसलाई पनि अघिल्लै जहाजमा लैजाने मेरो विचार थियो । उसले पनि मसँग त्यही आग्रह गरी । मेरो जहाज तयार भइसकेकाले पहिला आफ्नो टिकट जचाएँ अनि विमानसेवाका कर्मचारीसँग उसको टिकटको बारेमा कुरा गरें । तर अघिल्लो अर्थात् म जान लागेको उडानका पूरै सिट बिक्री भइसकेको कुरा त्यहाँका कर्मचारीले विनम्रतापूर्वक भने र हामीलाई सहयोग गर्न नसकेकोमा हृदयदेखि नै नमज्जा माने ।
कवितालाई एक्लै छाडेर म कसरी जान सक्थें ! कोही भरपर्दो मान्छेका साथ लगाएर मात्र पठाउनुपर्ने थियो । मलाई एकदमै ढिलो भइसकेको थियो तैपनि केही त गर्ने पर्यो । अनि म जापान एयरलाइन्सकै काउन्टर छेउमा बसेर नेपालबाट हामीसँगै आएका अरू नेपालीहरूलाई खोज्न थालें । थुप्रै आएका र तीमध्ये धेरैले टोकियोसम्म नै जाने कुरा गरेका थिए । त्यसैले कवितालाई साथ लगाएर पठाउन कोही न कोही भेटिने कुरामा म ढुक्क थिएँ । त्यत्तिकैमा चार-पाँच जना आइपुगे । त्यसपछि काखे छोरोसहितको एउटा जोडी भेटियो । सोधखोज गर्दा उनीहरूको र कविताको जहाज एउटै भएको कुरा थाहा भयो । मेरो जहाज उड्नै लागिसकेको थियो, त्यसैले अलिकति पनि अलमल नगरी कवितालाई उनीहरूसँग छोडेर उसलाई टोकियोमा म बस्ने होटेलको टेलिफोन नम्बर र फ्याक्स नम्बर सहितको पूरा ठेगाना दिएँ र भरे जापानी साथीको घरमा पुग्ने बित्तिकै मलाई फोन गर्न भनेर म हतारहतार आफ्नो जहाजतिर दौडिएँ ।
ओसाकादेखि टोकियोसम्मको यात्रा त्यस्तै सवा घण्टाको थियो । त्यो उडाइ पनि रमाइलो रह्यो । बडेमानको एयरबस भित्र आफ्नो सिटमा बसेर अगाडि पछाडि हेर्दा त्यसको दाँजोमा भरखरै छोडेको हाम्रो नेपाली जहाज फुच्चे लाग्थ्यो । सिटैपिच्छे संगीतका बाह्र-पन्ध्र च्यानलहरू त प्रायः सबै जेटमा हुन्छन् नै, यसमा भने हरेक यात्रुका लागि छुट्टाछुट्टै टेलिभिजन सेट थिए । अघिल्लो सिटको ढाडमा भएको टेलिभिजन पर्दामा पछिल्लो सिटको यात्रुले आफ्नो मनपरेको कार्यक्रम हेर्न सक्थ्यो ।
जहाजमा एउटा सिट पनि खाली छैन भनेको कुरा साँचो रहेछ, भरिभराउ थियो । झन्डै झन्डै सबै नै यात्री जापानी थिए । तीमध्ये त्यस्तै सय जना जति त स्कूले केटाकेटी थिए, एउटै समूहमा आएका ।
जहाजमा ती जापानी विद्यार्थीहरूलाई देख्ता मेरो मन कताकता इतिहासमा पढेका झन्डै सय वर्ष अगाडिका कुरा सम्झन पुग्छ । हामी नेपालीहरूमध्ये सबैभन्दा पहिला जापान पुग्ने पनि विद्यार्थीहरू नै थिए । सुधारवादी राणा प्रधानमन्त्री देव समशेरले जापानबाट नौला-नौला ज्ञान सिक्न केही विद्यार्थीहरूलाई जापानमा पढ्न पठाउने योजना गरे । उनले गोरखापत्र छाप्न सुरु गराए, स्कूलहरू खोल्न लगाए, एउटा विकसित नेपालको कल्पना उनको दिमागमा थियो । तर नेपालमा केही राम्रो काम गर्ने सोच भएका मान्छेलाई त्यसो गर्न नदिन छेकोभाँजो हाल्नेहरू थुप्रै निस्कने गरेका छन् । उनले चार महिना पनि शासन गर्न नपाउँदै चन्द्र समशेरले उनलाई सत्ताबाट हटाए । तर विद्यार्थीहरूलाई जापान पढ्न पठाउने कुरा भने चन्द्रसमशेरलाई पनि ठिकै लागेकाले आठ जना विद्यार्थीहरूलाई सन् १९०२ मा जापानमा पढ्न पठाइएको थियो । जङ्ग नरसिंह राणा, दीप नरसिंह राणा, भक्तबहादुर बस्नेत, बाल नरसिंह रायमाझी, हेमबहादुर राजभण्डारी लगायतका ती विद्यार्थीले हतियार बनाउने कला इन्जिनियरिङ्ग, खानी, कृषि, माटाका भाँडा बनाउने कला आदि विषयमा तीन वर्ष पढेर आएका थिए । गोदावरी फूल, ठूलो कटुस, हलुवावेद आदि तिनै विद्यार्थीमध्येका कृषि पढ्न गएका दीप नरसिंह राणाले नेपाल ल्याएका हुन् रे ।
टोकियोमा अन्तराष्टिय उडानका जहाजहरू आउन जान नारिता अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक उडानका जहाजहरूका लागि हानेदा विमानस्थल छ । म चढेको जहाज आन्तरिक उडानको भएकाले हानेदा विमानस्थलमा ओर्लनुपर्ने थियो । सिट अघिल्तिरको टेलिभिजनमा एउटा च्यानल थियो – चालक बस्ने ठाउँबाट अगाडि हेर्दा जे देखिन्थ्यो त्यही देखिने च्यानल । अर्थात् त्यो च्यानल हेर्नुभयो भने तपाईं पाइलटसँगै बसेर उड्दै हुनुहुन्छ जस्तो लाग्थ्यो । मैले धेरै बेर त्यही च्यानल हेरें । विशेष गरी ओर्लन लाग्दा भुई छुन लागेको दृश्य निकै रोमाञ्चक लाग्यो । पर्दामा हेर्दाहेर्दै साँच्चै नै जहाजले टोकियोको जमिन छोयो ।
विमानस्थलबाट बाहिर निस्केर ट्याक्सी लिनुपर्ने थियो । मेरो कार्यक्रमका आयोजक संस्थाले मलाई पठाएका कागजपत्रमध्ये एउटा थियो जापानी भाषामा ट्याक्सी ड्राइभरलाई लेखेको छोटो सन्देश । मलाई कुन होटेलमा पुऱ्याउनुपर्ने हो र त्यो कहाँ छ भन्ने कुरा त्यहाँ लेखिएको थियो । पढेपछि मेरो अधवैंशे ट्याक्सी ड्राइभरले मलाई चढाएर गाडी दगुरायो ।
विमानस्थलदेखि होटेलसम्म चार हजारदेखि पाँच हजार येनसम्म ट्याक्सी भाडा लाग्न सक्छ भनेर उनीहरूले मलाई लेखेका थिए र त्यसबापत एकमुष्ट पाँच हजार येन दिने भएका थिए । मिटरमा चार हजार येन नाघेपछि अब होटेल आइपुग्न लागेको हनुपर्छ भन्ने लाग्यो । तर उसले न कतै रोक्न लागेको बुझिन्थ्यो न गाडीको गति नै कम गरेको थियो । गर्दागर्दै पाँच हजार येन पनि नाघ्यो तर होटेलमा पुग्ने छाँटकाँट देखिदैन । ठूलो सडकमा गाडी बेसरी हुइँकाएकोछ, हुइँकाएको छ । मैले इशाराबाट सोधे, “अब कति टाढा छ ?” उसले बुझे पो ।
गर्दागर्दै मीटरमा आठ हजार येन पनि नाघ्यो । अब चाहिँ बल्ल बल्ल होटेलको छेउछाउ पु-याएको हो कि जस्तो लागेको थियो । तर त्यहाँ पुगेर पनि उसले एकै ठाउँमा गाडी घुमाइरहँदा मैले त्यो लन्ठूलाई होटेलको सडक थाहा रहेनछ भन्ने प्रष्टै बुझै । अनि मैले अरू ट्याक्सी ड्राइभरसँग सोधौं भन्ने इशारा गरें । मेरो सल्लाहमा उसले गाडी एकछिन रोकेर अरूसँग सोध्यो । होटेल त्यहीं नजिकै रहेछ । अन्त्यमा नौ हजार पाँच सय येन तिर्नुपर्यो । भरखर गाउँतिरबाट राजधानी सहर पसेको ड्राइभर होला, मेरो धेरै पैसा खर्च गरायो । खासमा उसलाई राजधानी टोकियो सहरको राम्रो जानकारी रहेनछ र मलाई एकदम लामो बाटोबाट ल्याएछ ।
साँझमा एकछिन होटेलको छेउछाउमा घुम्न निस्के पनि रातिको खाना खाएपछि चाहिँ कविताको फोनको पर्खाइमा होटेलमा आफ्नो कोठामा नै बसें । उसको जहाज समयमा नै उड्ने कुरामा म ढुक्क थिएँ किनभने त्यो जापानी विमानसेवाको जहाज थियो । उसकी साथी उसलाई लिन विमानस्थलमा पुग्ने कुरामा पनि म ढुक्क थिएँ किनभने ऊ जापानी थिई र उनीहरू आफूले भनेको काम भनेको बेलामा गर्छन् । साथीको घरमा फोन छ भन्ने कुरामा पनि म ढुक्क थिएँ किनभने कवितासँग भएको कागजमा उसको साथीको घरको पूरा ठेगानामा फोन नम्बर पनि थियो । कविताले मलाई फोनमा खोजी भने मेरो होटेलको टेलिफोन अपरेटरले तुरुन्तै मेरो कोठामा घन्टी बजाउँछ भन्ने कुरामा पनि म ढुक्क थिएँ किनभने त्यो ठूलो होटेल थियो र त्यस्ता कुरा उनीहरूका सामान्य व्यवस्थाभित्र पर्छन् । त्यति हुँदा हुँदै पनि कविताको फोन नआउँदा म छट्पटाउन थालें । कहिले कतै कविता हराइन ? भन्ने लाग्थ्यो भने कहिले उसकी साथी उसलाई लिन जाँदा जाँदै बाटोमा गाडी बिग्रेर विमानस्थल पुग्न सकिन कि भन्ने पनि लाग्थ्यो । जापानमा ऊ नितान्त एक्ली छे, चिनेजानेका कोही छैनन् । उसले दुःख पाई भने मेरो समेत मुटु दुख्ने थियो । मैले एउटा भुल के गरेंछु भने कवितासँग त्यो जापानी साथीको फोन नम्बर लिएनछु । उसलाई मैले ज्यादै हतारमा छोड्नुपरेको हुँदा त्यो लिनेतिर ध्यानै फोन नम्बर लिएको हुँदो हूँ त अहिले यसरी छट्पटाउनु पर्ने थिएन । गएनछ । मैले आधा रातसम्म फोन पर्खें । मन नलागी नलागी टिभी हेरेर जाग्राम बसें । थकाइ र निद्रा दवै थोक लागेकाले एक बजेभन्दा पछि बस्न सकिनँ र सुतें । सिरानमा फोन भएकाले कसैले खोजे भने निद्राबाट जनै बेला पनि व्युँझिन सक्ने थिएँ ।
भोलिपल्ट बिहान पनि एकछिन कविताको फोन पर्खें । त्यसपछि आफ्नो काममा गएँ । साँझमा होटेल फर्केपछि मलाई कतैबाट केही खबर आएको थियो कि भनेर सोधें । कतै केही छैन । अन्त्यमा के सम्झेर चित्त बुझाएँ भने मैले उसलाई मेरो होटेलको फोन नम्बर हतार हतार लेखेर दिएको थिएँ, उसले त्यो कागज हराई र फोन गर्न सकिन ।
त्यसपछिका पाँच छ दिनसम्म पनि उसको फोन नआउँदा ऊ अस्ट्रेलियामा एक्लै बसी पढ्न कम्मर कसेर आएकी केटी हो, आफ्नो हेरविचार गर्न सक्छे भनेर त्यत्ति पीर गरिनँ । गर्दा गर्दै हामी आएको दश दिन जति भइसकेकाले ऊ अस्ट्रेलिया उड्ने दिन पनि बित्यो । अब भने ऊ अवश्य पनि अस्ट्रेलिया पुगेर पढाइको तरखरमा लागिसकेकी हुनुपर्छ ।
टोकियोमा दुई हप्ताको कार्यक्रम सकी म फर्किने बेलाको शनिवार बिहान बाहिर घुम्न जान तयार हुँदै थिएँ । फोनको घन्टी बज्यो । जापानमा मलाई होटेलमा त्यतिविधि फोन आउँदैनथ्यो । कहिलेकाहिँ त्यहाँ एसियाली उत्पादकत्त्व संगठनमा काम गर्नु हुने मित्र मुकेश भट्टराईले र कहिले अर्को एउटा कार्यक्रममा भाग लिन म सँगसँगै जस्तो टोकियो पुग्नुभएका अर्का मित्र मधुसूदन पौडेलले फोन गर्नुहुन्थ्यो । उहाँहरू दुई जनामध्ये कसैले खोज्नुभएको हुन सक्छ भन्ने सोच्तै रिसिभर उठाएँ । के अचम्म, कविता पो रहिछे ।
एकैचोटि आश्चर्य पनि लाग्यो, खुशी पनि लाग्यो, रिस पनि उठ्यो । ऊ अस्ट्रेलिया पुगेर पढ्न थालिसकी होली भनेको त जापान मै पो रहिछे भन्ने जान्दा आश्चर्य लाग्यो । ऊ हराएकी छैन र सकुशल छे भन्ने थाहा पाउँदा खुशी लाग्यो । रिस चाहिँ के कुरामा उठ्यो भने उसले टोकियोमै बसेर पनि त्यत्रो दिनसम्म मलाई फोन नगरेर छट्पटी गराई ।
यतिका दिनसम्म किन बेपत्ता भएकी ? अनि अस्ट्रेलिया जान ढिलो भएन ? बसाई त जापानी साथीको घरमा नै त होला नि ?” एकाएक मेरो मुखबाट थुप्रै प्रश्न निस्के ।
‘दाइ, म अस्टेलिया जान भनेर आएकी नै होइन । जापानमा मेरो श्रीमान हुनुहुन्छ । जापानको भिसा पाउन गाह्रो हुने भएकाले अविवाहित विद्यार्थी बनेर अस्ट्रेलियाको भिसा लिनुपरेको हो । अस्ट्रेलिया जाने मेरो कुनै विचार नै छैन । आएकै दिनदेखि म श्रीमान्सँगै छु । जापानी साथी भनेको मलाई जापानको ट्रान्जिट भिसा दिलाउनका लागि बनाएको कागजी साथी मात्र हो ।” उसले पनि एकै सासमा फटाफट सबै कुरा भनी ।
उसका कुरा सुनेर म तीन छक्क परें । कहाँ अस्ट्रेलियामा कम्प्युटर साइन्स पढ्न जाने भनेकी केटी कहाँ जापानमा नै हराउने कुरा गर्छे । अनेक निहुँ गरी जापान पसेका थुप्रै नेपाली युवकयुवतीहरू त्यहीं लुकेर गैरकानुनी ढंगबाट काम गरेर बसेका छन् भन्ने सुनिएको थियो । कहिले खेल्न भनेर जापान पुगेका नेपाली खेलाडी हराए भन्ने समाचार नेपालका छापाहरूमा पढिन्थ्यो भने कहिले तालिममा गएका कर्मचारी बेपत्ता भए भन्ने सुनिन्थ्यो । तर कविताले त्यो नाटक रचेकी होली भन्ने चाहिँ पटक्कै चिताएको थिइनँ । म कम खुशी भएको थिइनँ ऊ अस्ट्रेलिया गएर कम्प्युटर साइन्स पढ्छे अनि विशेषज्ञ भएर निस्कन्छे भन्ने सुन्दा । त्यो खुशी अब रहेन । उल्टो म निकै दुःखी भएँ ।
एउटी वैशालु केटी लोग्नेसँग बस्न खोज्छे यो सबैले जानेकै कुरा हो । लोग्ने विदेशमा र भरखर बिहे गरेर ल्याएकी स्वास्नी लोग्नेसँग जान नपाएर नेपालमा थच्चिनु दुःखलाग्दो कुरा हो । कविताले पनि केही महिना त्यो दुःख काटिछ र लोग्नेसँग बस्न जानका लागि र दुःख गरेर पैसा कमाउनका लागि यो नाटक गर्नुपरेछ ।
“अनि किन मलाई त्यो कुरा नभनेको त ?” म अर्को प्रश्न गर्छु ।
“कसैलाई पनि यो कुरा नभन्नु भनेको थियो, अनि मैले भन्न सकिनँ” ऊ स्पष्ट कुरा गर्छे ।
“यत्रा दिन पछि आज चाहिँ मेरो सम्झना कसरी आयो त ?” मेरो अर्को प्रश्न जान्छ ।
ऊ भन्छे, “एउटा काम परेर फोन गरेकी हुँ ।”
“के काम ?”
“मेरो अस्ट्रेलियासम्मको टिकट छ । म यहाँबाट अस्ट्रेलिया नजाने हुँदा त्यो टिकट काठमाडौं पठाउन पाए केही पैसा फिर्ता हुन्छ भन्नुहुन्छ श्रीमान् । दाइ भोलि पर्सितिर जाँदै हुनुहुन्छ, त्यसैले एउटा चिठी र त्यो टिकट पठाउँछु दाइका हातमा, लगिदिनु हुन्छ कि ?”
उसले स्वार्थ्य परेर मात्र फोन गरेकी रहिछे । यो काम नपरेको भए फोन गर्ने थिइन । मप्रतिको उसको यो व्यवहार मलाई पटक्कै मन परेन । भन्न त धेरै मन लागेको थियो तर यति मात्र भनें, “अरू कसैका हातमा पठाए हुन्न ?”
फोन राखिदिए पछि एकछिन कवितासँग रिस उठे पनि पछि दया लागेर आयो । मेरो एउटै मात्र गुनासो के थियो भने उसले आफू टोकियो पुगेपछि मलाई फोन गरिदिएकी मात्र भए मैले उसका बारेमा अनावश्यक पीर गर्नुपर्ने थिएन ।
दया के कुरामा लाग्यो भने बिचरा के गरोस् त्यस्तो निहुँ गरेर नआएर ? जापानमा लोग्ने भेट्न जाने भन्दा जापानी दूतावासले भिसा दिदैन । लोग्ने भेट्न जान्छु भन्नेबित्तिकै लोग्नेका बारेमा सोधीखोजी गर्छन् । अनि ऊ जान पाउनु त कता हो कता सके लोग्नेलाई खोजी गरेर फर्काउने कारवाही चलाउलान् । त्यसो त जापान स्वास्नी लैजानै नपाइने देश होइन । कानुनसम्मत काम गरेर बसेका नेपालीहरूका स्वास्नीहरूलाई जापान सरकारले भिसा नदिने कुरै छैन ।
कविताको फोन आएपछि एउटै कुरा मेरो मनमा आइरहन्छ । त्यो के भने किन हाम्रा भाइबैनीहरू अनेक निहँ गरेर विदेशतिर लाग्छन् ? अवश्य पनि उनीहरू एउटा सुखद भविष्यको खोजीमा विदेसिन्छन् । कतिले नेपालमा कुनै भविष्य नै देख्तैनन् । कतिले भने विदेशमा केही वर्ष दुःख गरेर केही पूँजी जम्मा गर्न सके नेपालमा फर्केर भविष्य बनाउने सोच राखेर हाम फाल्छन् ।
यसरी युवायुवती कामको खोजीमा विदेशतिर लाग्नुका पछाडि धेरै कारण छन् । हाम्रो शिक्षा नीति पनि एउटा कारण हो । हाम्रो शिक्षाले स्वरोजगारी सिकाएन, मान्छेलाई जागिरमुखी बनायो । अलिकति शिक्षा पाए पछि उनीहरू जागिर खोज्न थाल्छन्, आफ्नै केही व्यवसाय गर्नतिर लाग्दैनन् । सरकारले धेरैलाई जागिर दिन सक्तैन । हाम्रो निजी क्षेत्र फस्टाएको छैन, त्यसैले त्यहाँ पनि धेरैले काम पाउन सक्तैनन् । उच्च शिक्षा जारी राख्न कतिलाई घरको आर्थिक अवस्थाले दिँदैन । त्यसमाथि उच्च शिक्षा पाएपछि अर्थात् एम.ए. पास गरेपछि पनि काम पाउने कुनै निश्चितता छैन । अनि देशमा निराश भएर बस्नुभन्दा कामको खोजीमा जसरी भए पनि विदेश जानु निश्चय पनि राम्रै कुरा हो किनभने मर्नुभन्दा बौलाउनु निको भन्ने भनाइ नै छ ।
यसमा सरकारले ध्यान दिनुपर्ने हो । सरकारले साँच्चै चाह्यो भने केही गर्न नसकिने थिएन । सरकारले व्यावहारिक योजना बनाउन सक्छ । अहिले के भइरहेको छ भने योजनाका नाउँमा पूरा गर्न नै नसकिने कुराहरू हालेर पाँपाँच वर्षमा ठूल्ठूला ठेली छापिन्छन् । सरकारले जति कार्यक्रमहरू लागू गर्न सक्छ, त्यति मात्र इमान्दारीपूर्वक ल्याउनुपर्दछ ।
सरकार भनेको एउटा संस्था हो । ऊसँग स्रोतसाधन हुन्छ, छैन भने खोजी गर्न सक्छ । उसलाई विदेशी राष्ट्रहरू र संस्थाहरूले पत्याउँछन् ।
स्रोतसाधनलाई उत्पादनशील काममा लगाउन सकियो भने पंजी बढाउन सकिन्छ । पुँजी बढ्ने काममा लगानी गर्दै जान सकियो भने रोजगारीका अवसरहरू बढ्छन् अर्थात् काम निस्कन्छन् । तर यो सब गर्नका लागि नेपालमा शासन गर्नेहरूमा एउटा अठोट र इमान्दारी हुनुपर्छ । अनि कविता र उसको लोग्ने जस्ता युवायुवतीहरूले नाटक गरिरहनुपर्दैन ।
०००
लेखक परिचयः नियात्राकार चन्द्रप्रसाद भट्टराई बिसं २०४० सालको मधुपर्कमा “रमा दिदी” शिर्षकको कथाको प्रकाशनसँगै साहित्यिक दुनियाँमा पदार्पण गरेका हुन् । उनको एक कथा सङ्ग्रह “सहयात्रा“(२०५९) तथा तीन नियात्रा सङ्ग्रह ‘प्रशान्तका छालहरूमा मेरो नेपाल’(२०६१), ‘अनौठो मुलुक अनौठा अनुभूति‘(२०७१) तथा ‘नीला गोलार्द्ध’ (२०७६) प्रकाशित छन् । विराटनगरमा जन्मेका उनी हाल काठमाडौंको ज्ञानेश्वरमा वसवास गर्छन् ।
