वरिष्ठ कथाकार समशेर अली- अन्तर्वार्तामा

अन्तरवार्ता

अन्तर्वार्ताकार नवीन पौड्याल

कालिम्पोङ बजारनजिकै ११ माइलस्थित सम्झना निवासमा बसोबासो गर्ने समशेर अली अहिले आफ्नो शारीरिक चिकित्सा गर्दै तीन वर्षदेखि कोलकातामा अस्थायी डेरामा बसिरहेका छन्। उनी पश्चिम बङ्गाल सरकारअधिनस्थ खाद्य तथा आपूर्ति विभागमा एक अधिकारी रही सरकारी सेवाबाट निवृत्त भएका छन्। एक छोरा दुई छोरीका बाबु अलीलाई उनकी प्राणप्रिया श्रीमती लक्ष्मी प्रधान अलीले अहोरात्र सेवा सुश्रुशा गरिरहेकी छन्। अहिले पनि कोलकातामा बस्ता मोबाइलमा कथाहरू लेखिरहेका छन्। लाग्छ, उनीभित्र कालेबुङका डाँड़ा-काँड़ा, बजार, साथी भाइ छर-छिमेक सल्बलाइरहेका छन्। उनको तन मात्रै कोलकातामा मन भने कालेबुङमा छ। कालिम्पोङका शमसेर अली एक दक्ष कथाकारका रूपमा स्थापित छन्। उनको जन्म १८ अगस्ट, १९५६ मा कालिम्पोङको सिन्देबुङ बस्तीमा भएको हो। उनका मातापिताको नाम स्व. सेलिना सितलिङ अली र स्व. रूस्तम अली हो। उनी लेप्चा परिवार र स्थानीय मुस्लिम परिवारको दुवैतिरबाट प्रभावित छन्। उनले स्नातक अध्ययन गरेपछि दुई वर्ष जति सिक्किममा शिक्षण कार्य गरेपछि कालेबुङकै पागाङ गुम्पा उच्च विद्यालयमा एक वर्ष जति शिक्षण कार्य गरेर १९८० देखि पश्चिम बङ्गाल सरकारको खाद्य आपूर्ति विभागमा मुख्य खाद्य निरीक्षक सम्म पुगेर २०१६ मा सेवानिवृत्त भएका हुन्। हाल उनी रोग उपचारका क्रममा गत तीन वर्षदेखि कोलकातामा बसिरहेका छन्। उनी एक राम्रा साहित्य अध्येता हुन्। उनी इस्लाम धर्मावलम्बी हुन्, उनको रक्तकणमा एक खाँट्टी नेपालीभाषी, जातिप्रेमी, पहाडप्रेमी सचेत व्यक्तित्व हुन्। एक पक्का कालेबुङवासी। उनी कालिम्पोङ दार्जिलिङ आयोजित हुने प्रायः प्रत्येक साहित्यिक कार्यक्रममा सक्रिय रूपले भाग लिने गर्थे। उनी कविता र कथा लेख्ने गर्छन्। हालसम्म उनका सातवटा कथासङ्ग्रह प्रकाशित भएका छन्। तीन हुन्- बिउभाले, सोल्दाती गोर्खा मोल्तो ब्योनी, हुट्टिट्याउँ, आफ्रीन, मामा, अब्बुइ र द लास्ट डान्स। पछिल्ला चारवटा कवितासङ्ग्रहहरू भने कोलकातामा बिरामी अवस्थामा नै लेखेर प्रकाशित गरेका छन्। उनको अघिल्ला चारवटा कथासङ्ग्रहहरू तयार पार्न उनले निकै मेहनत गरेका हुन्। उनी मान्छेलाई भेटेर तिनका जीवनी खोतल-खादल पारेर त्यसलाई कथारूप दिन्छन्। उनी विशेषगरी दुईवटा विश्वयुद्ध लड्ने जिवीत योद्धा, समाजमा कोही व्यक्तिको रमाइलो वा वीभत्स विगत भएको थाह पाए त्यसलाई खोजी गरेर कथा बुन्ने, आफ्नै घर-परिवारका केही महत्त्वपूर्ण घटना आदिलाई पनि रोचकता थपेर कथा बुन्ने गर्दछन्। उनका कथामा रोचकता, विनोदिता, हास्यको पुटको प्रस्तुति, विषम्यकारी अन्त्य, कारूणिक ढाँचा आदि गुण पाइन्छ। उनी कथा हो कि जस्तो, वास्तविक घटना जस्तो, संस्मरण जस्तो आदिलाई मिसाएर एउटा सुन्दर कथा बुन्न सक्छन्। सातवटा कथासङ्ग्रहका विभिन्न कथाहरूले उनलाई एक दक्ष, सफल र वरिष्ठ कथाकार बनाएको छन्। उनी कथासङ्ग्रह र यसभित्रका कथाहरूको नामकरणमा निकै सचेत छन्।
उनको पहिलो बिउ भाले कथासङ्ग्रहमा रहेका कथाहरू हुन्- मुखाल्नी मैया,काटिएको त्यो राती गुड्डी, मेरी जेठीसासू, न्युयोर्कदेखि समथरसम्म, शिकारी मामा, अली सर जिन्दावाद, कैदी नम्बर ५१३- बब्लु घोष, बिउ भाले, पहेंलो रिबिन, नायक शेरजङ्ग थापा, रूच्दै रूचेन बासमति चामलको भात र कुखुराको भुटुन, मभित्र मैले छामेको कथा, भुँवरी, कथा झरीले बोकेको डुब्दो घाम एक सम्झना…। सोल्दती गोर्खा मोल्तो व्योनी कथासङ्ग्रहभित्रका कथाहरू हुन्-पेनिली, सुवेदार, बाघपुल चर्किदैछ, नाचिरह्यो फर्दीमाथी मिरिकको सम्झना, काल बैसाखी, फोटो थिएन, काँडेतार, दले, मास्टर मोसाय, डेभाजू, दिउँसै तारा झलल, सोल्दती गोर्खा मोल्तो ब्योनी। स्कुसको झ्याँङमा पाँच मिनट आदि।
उनी जनताका बिचमा गएर त्यहाँका दृष्ट अदृष्ट साना ठुला घटनाहरूलाई टिपेर खिपेर कथा बुन्ने गर्छन्। कथाका सामग्रीलाई लिएर पाठकका रूचिलाई बुझेर कथा लेख्ने गर्छन्। उनी कथाका सामल खोज्ने गाउँघर डुल्छन्, पुराना
सैनिक योद्धाहरू खोजी खोजी तिनको वीरताको वर्णन लिन्छन्, गाउँका कर्मी ज्यामीका कथाहरू टिप्छन्। कथा टिप्न बाहिर पनि जान्छन्। कहिले कश्मीर पनि पुग्छन्, कहिले सिक्किम पुग्छन्। उनका कथाहरूलाई हामीलाई आह्लाद बनाउँछ, कुनैले करूणा उब्जाउँछ, कुनैले वीरताको भाव जगाउँछ, कुनैले भुँडी मिचिमिचि हाँस्ने बनाउँछ। यस्तो हुनु उनको सिर्जनशीलताको परिचय हो। कथामा भावपक्ष र शिल्प पक्षले पाठकलाई आकर्षण गर्दछ।
शमशेर अली अहिले विरामी अवस्थामा छन्। डायलिसिसले शरीर जीर्ण बनाएको छ, त्यहीँमाथि अन्य रिपोर्टहरू पनि राम्रो छैन। उनले पछिल्लो तीन वर्षदेखि कोलकाता बसेर मोबाइलको सदुपयोग गरी चारवटा कथासङ्ग्रह प्रकाशित गरिसकेका छन्। उनी अहिले बिरामी अवस्थामा फोनमा बोल्दा बिरामी नभएको जस्तो, जोसिलो, हँसिलो, रमाइलो गफ गर्छन्। उनले आफ्नो मनलाई बलियो बनाएका छन्, जतिबेला जे हुन्छ उनी मानसिक रूपमा तयारी भएको छन्। मैले उनलाई केही प्रश्न पठाएको थिएँ। उनले उत्तर लेखिपठाएका छन्। प्रस्तुत छ उनीसित लिएको अन्तर्वार्ता। त्यसअन्तर्वार्तामा उनले आफुले इमानदार भएर पोखेका, जोखेका र प्रस्तुत गरेका छन्।

१ यहाँको जन्म र पारिवारिक पृष्ठभूमि जनाइदिनु होला।
बुवा स्व. रुस्तम अलि अनि माता स्व. सेलिना शीतलिङ अली। मेरो जन्म कालिम्पोङको सिन्देबुङ बस्तीमा ८ अगस्ट १९५३ भएको हो। मैले कालिम्पोङको एक प्रतिष्ठित विद्यालय एसयुएमआइ स्कुल अध्ययनपछि कालेबुङ
कलेजबाट बायोलोजिकल साइन्समा स्नातकसम्म अध्ययन गरेको छु।

२, यहाँले कालिम्पोङतिर साहित्यिक संसर्ग के कस्तो पाउनुभयो? कालिम्पोङमा नेपाली साहित्यको परिवेश कस्तो थियो ? जनाइदिनु होला।
सानैदेखि एउटा साहित्यिक परिवेशमा हुर्किएको म आफैं । कालेबुङ सहरमा मनाइने भानु जयन्तीमा कविता प्रतियोगिता वा वाक पटुतामा अंश ग्रहण गर्दथेँ। घरमा विभिन्न साहित्यकार आउँदथे। स्कुल पढ्दादेखि नै कालेबुङका वरिष्ठ साहित्यिकहरूसित परिचित हुने मौका पाएको थिएँ। डा. पारसमणि प्रधान, भाइचन्द प्रधान, सानुमती राई, टि. बी. ठकुरी, महानन्द पौड्याल आदिसित मेरो सम्पर्क थियो ।

३, यहाँको लेखनको शुरूआत कहिलेदेखि शुरू भएको हो ?
सातौँ कक्षादेखि मैले अलिअलि कविताहरु लेख्न थाले। स्कुलकै हस्तलिखित पत्रिकामा ‘दुई थोपा आँसु’ मेरो प्रथम कविता हो। भानु जयन्ती ठूलो पर्व जस्तो मनाइन्थ्यो कालेबुङ टाउन हलमा। रामायण पाठ, कविगोष्ठी, लघु नाटक आदि प्रदर्शित गरिन्थ्यो। आफूलाई एउटा साहित्यिक बन्ने चासो यो सबै देखेर भएको हो। मैले साहित्य लेख्न थालेको १३/ १४ वर्षको उमेरदेखि हो। १९७० मा म लगभग एउटा कवि भइसकेको थिए। मेरो कथा लेखन १९८० देखि हो। मेरो प्रथम कथा ‘पुनर्जन्म’ त्यसबेलाका दैनिक अखबार हिमालचुलीमा छापामा आएका थिए। विभिन्न पत्रपत्रिकातिर मेरा कथा, कविताहरू पनि प्रकाशित भए। तर मेरो पहिलो कथा संग्रह ‘बिउभाले’ २०१० मा मात्र आउन सक्यो। त्यसपछि ‘सोल्दाती गोर्खा मोल्तो ब्योनी’, ‘हुट्टिट्याउँ’, ‘आफ्रीन’, ‘मामा’, ‘अब्बुई’,’ द लास्ट डान्स’ जम्मा सातवटा कथाका पुस्तकहरू २०२५ को पूर्वार्धसम्म लेखिसकेछु।

४, यहाँले कथा लेख्ने सामाग्री कसरी सङ्कलन गर्नुहुन्छ ?
मेरो कथा लेख्ने तरिका आफ्नै छ। म कथालाई वास्तविक घटनाहरुबाट टिपेर बुन्न थाल्छु। कथा लेख्न अघि म कथाको पृष्ठभूमि खोज्नलाई गाउँ बुढा वा टाढाका एकान्त गाउँहरू, कतै प्रदेशतिर गएर त्यहाँका जनमानसमा कथा खोज्ने गर्छु।मलाई घरभित्र कल्पनामा डुबेर कथा लेख्न ठ्याम्मै मन पर्दैन। यसैले मेरा सबै कथाहरू जीवान्त हुन्छन् पाठकहरूले प्रिय हुन्छन् । हाम्रा लोककथाहरू पनि मेरो निम्ति प्रिय वस्तु हुन्।

५, तपाई किन साहित्य लेख्नुहुन्छ ?
मैले साहित्य लेख्नुको मूल उद्देश्य आफ्ना पाइतालाका छापहरु हाम्रो समाजमा छाडिराख्नु हो। कतिपय हाम्रा भुलिएका ऐतिहासिक घटनाहरुलाई खोजी गरेर प्रकाशमा ल्याउनु अर्को उद्देश्य। कथाभित्र मान्छेलाई चाहिने एउटा मनोविज्ञान आफ्ना पाठकहरू समक्ष साझा गर्न सधैँ कोसिसमा रहन्छु।

६, समाज र साहित्यको सम्बन्धमा यहाँको धारणा राखिदिनु होला।
यो त बिदितै छ कि साहित्य समाजको दर्पण हो। समाजमा देखिने धेरै राम्रा कुरा, समाजका विकृतिहरू हामी साहित्यमा लेख्न सक्छौँ। हुन त साहित्य र समाजलाई हेर्ने आ-आफ्नै दृष्टिकोण हुन्छ। आफ्नो कुरा १६ आना ठिक हो भन्न
मिल्दैन। हामीले राम्रा देखेका कुराहरू हाम्रा पाठकहरुले नदेख्न पनि सक्ला। सर्जकहरूको भरमग्दुर चेष्टा हुन्छ समाजलाई सही बाटो देखाउने। मेरो पनि साहित्यमा मन्तव्य यही हो।

७, तपाईलाई मानव जीवन कस्तो लाग्छ ?
मानव जीवन क्षणभंगुर छ। पाटीमा ढाक्रेको पसारो जस्तै। हामी केही छिनको निम्ति पाहुना भएर यस संसारमा आउँछौं। फेरि फर्केर जान्छौं। बसिन्जेल हामीलाई नाना थरिका लोभ ईर्ष्या घमण्ड माया ममताको परिवेशभित्र परिक्रमा
गरी बस्छौं। धेरै कम मानिसहरूलाई थाहा हुन्छ। हामी नाङ्गै आएका थियौं। अनि नाङ्गै जान्छौ भन्ने।

८, तपाई कथाको भावभूमि कि शिल्पपक्षलाई बढी महत्त्व दिनुहुन्छ ?
म कथालाई दुई पक्षलाई हेरेर लेख्छु। त्यहाँ एउटा भावना पनि पोखाउनुपर्छ अनि शिल्पकारिता अवश्य हुनुपर्छ यी दुवै मिले मात्र सफल सर्जक बन्छ। विशेष म आख्यानकार हुँ। कल्पनाको आकाशमा विचरण गर्दै धरतीको वास्तविक
परिस्थिति पाठक समक्ष जहिले पनि पस्कन चाहन्छु। यही भावनाहरूलाई शिल्पकारिता ले नसजाए आफ्नो सृजना खल्लो हुन्छ ।

९, तपाई कथाबाहेक अन्य विधा पनि कतिको लेख्नुहुन्छ ?
साहित्यको अन्य विधामा म कविता धेरै लेख्ने गर्थे। हिजोआज कविता कम कथाहरु नै बढी लेख्ने गर्छु। मलाई मनपर्ने दुई चार ऐतिहासिक कथाहरु पनि हुन्। जो मैले लेखेको छु। अनि युद्धकथा मेरो विषयवस्तुको प्रिय हो । हामी विश्वयुद्ध लड्यौं। धेरै अन्य लडाईहरू लड्यौ ,तर भनेजस्तो हाम्रो युद्धकथा कतै छैन। मैले दुई चारवटा कोसिस गरेको छु। अनि आशा गर्छु। अन्य सर्जकहरुले पनि यसमाथि ध्यान दिएर युद्ध कथाहरू भरमार लेखुन्। गोर्खाहरूले आफैंलाई योद्धाको वंश सम्झन्छन् भने आफ्ना बाबु बाजेले कमाएको वीरता लेख्नैपर्ने हो।

१०,. तपाईँको दैनिक जीवन चर्या के कस्तो बित्दैछ ?
सरकारी जागिरमा छँदा जीवन बितेको थाहै भएन कामको व्यस्तताले, सेवानिवृत्ति जीवन अहिले रोग पालेर बसेको छु। त्यसैलाई स्याहार्दैछु। फुर्सदको समयमा भने कथाहरु लेखेर आफ्नो उर्जालाई कायम राखेको छु।

११, तपाईँ साहित्य कति पढ्नुहुन्छ ?
म साहित्य धेरै पढ्ने गर्थे। तर वर्तमानमा पढ्न कम भइरहेको छ। अङ्ग्रेजी होस् हिन्दी होस् नेपाली म सबै साहित्य पढ्ने गर्छु। हिन्दी साहित्यका प्रेमचन्दका कथाहरु अझ पनि मनपर्छ। नेपाली कथाकारहरूमा शिवकुमार राई, लैनसिंह बाङ्गदेल, अच्छा राई रसिक, इन्द्रबहादुर राई,राजनारायण प्रधान आदि मेरा आदरणीय कथाकारहरू हुन्। उहाँहरूको पाइताला पछ्याएर म आफ्नो कथा सृजना पट्टि लागेको हो।

१२, तपाईले नेपाल र भारतको नेपाली साहित्यमा केही समानता र भिन्नता पाउनुभएको छ ?
पहिले पहिले नेपालका कथाहरू भारतेली कथा भन्दा बेग्लै लाग्थ्यो। वर्तमानमा भने प्राय भाषाको एकीकरण हुँदै गएकोले होला दुई देशका साहित्य एकै प्रकारका देखिन्छ। यस क्षेत्रमा नेपाल आज दुई कदम अघि छ भन्न अत्युक्ति ठान्दिनँ। नेपालमा साहित्यको मुहान फुट्नु एउटा विज्ञापन र मार्केटिङ पनि हो। जो हामी भारतमा दुर्लभ छ। नारायण वाग्लेको पाल्पसा क्याफे उपन्यासले नेपालमा एउटा क्रान्ति ल्यायो। त्यसपछि भने त्यस्ता कथाहरूका लहर चले नेपालमा। अनि सबै पढ्न योग्यका थिए। सरल र सोझो भाषामा लेखिन थाले। पाठक प्रिय बने। यता भारतमा पनि दुई चार सर्जकहरूले त्यही सरलतालाई अनुकरण गर्दै आफ्ना उत्कृष्ट सृजना दिन थालेका छन्।

१३, तपाईँले मान सम्मान पुरस्कार के के पाउऩु भएको छ ?
वास्तवमा भनौ भने मलाई पुरस्कारहरूको उति लोभ छैन। मलाई मेरा पुस्तकहरू पुरस्कार समितिले जहिले मगाउँछ तर मैले आजसम्म कसैलाई दिएको छैन। म सम्झन्छु मलाई पुरस्कार दिने हो भने मेरा सृजनाहरू खोजेर पढोस् अनि जाँच गरोस्। अहिलेसम्म मैले कालेबुङको नेपाली साहित्य अध्ययन समितिले दिने पूर्ण राई स्मृति पुरस्कार, कोलकताबाट दिने लैनसिंह बाङदेल पुरस्कार, असमबाट असम नेपाली साहित्य परिषद् बाट एउटा पुरस्कार पाएको छु।

१४, तपाईलाई केही भन्न मन लागेको छ कि ?
यति लेखिसकेपछि सायद अरु मेरो केही साहित्यबारे भन्न रहेन । बेसी पढ्नुहोस् कम्ती लेख्नुहोस् मेरो सुझाउ। पाठक वर्गलाई मेरो सुझाव छ सक्नुभयो भने आफ्ना छोराछोरीहरुलाई सानैदेखि साहित्य पढ्ने अभ्यास गराउनुहोस्। आफूले खोजेका प्रश्नका उत्तरहरु सबै पुस्तकमा पाइन्छ।

०००

Leave a Reply