(भर्खर बितेको सन् २०२४ सालमा साहित्य लेखन, पठन, सक्रियता गतिविधिमा के कस्तो अवस्था रह्यो भनेर केही साहित्यकारहरूसँग विश्वपरिक्रमाले जिज्ञासा राखेको थियो । यसै क्रममा हाल कालिम्पोंगमा बस्दै आउनु भएका ख्यातिप्राप्त कवि राजेन्द्र भण्डारीबाट प्राप्त जबाफहरू प्रस्तुत छ)
१, लेखनका हिसाबले सन् २०२४ साल कस्तो रह्यो ? फुटकर र सग्ला कृतिहरु के के लेखिए ?
२०२४ साल एक प्रकार राम्रै रह्यो।पुराना र नयाँ गद्यलेखहरूको सँगालो ‘सृजन सन्दर्भ ‘ प्रकाशित भयो।नयाँ कविता सङ्ग्रहको तयारीमा लाग्न भियाएँ।
२, पठनको हिसाबले नेपाली र अनेपाली भाषाका के कस्ता कृतिहरू पढ्नु भयो ?
म व्यापक अध्येता कहिल्यै हुन सकिनँ तर पनि केही नेपाली उपन्यास पढ्न भियाएँ।सरस्वती प्रतीक्षाको ‘नथिया’ हरीश मोक्तान ‘अल्लरे’-को ‘बैँशका चोर आँखा’।र अरु केही।धेरै भाषा जान्दिनँ।अङ्ग्रेजी,हिन्दीका निकै कविताहरू पढियो।लाभान्वितै भइयो।
३, पढ्न खोजेर पढ्न नपाएका कुनै कृति रहे कि ?
त्यस्ता त छैनन्।अचेल अमाजोनमा जे पनि पाइन्छ।मेरा रुचिका एकाध पुस्तक नेपालमा छापिएका छन् ।गएर ल्याउन सोच्दैछु।
४, साहित्यिक गतिविधि, समारोहहरूमा कत्तीको सहभागिता रह्यो ?
२०२४-मा सिक्किमको परी प्रकाशनले आयोजना गरेको बृहत् कार्यक्रममा सहभागी भएँ।डुवर्स र कालेबुङका साहित्यिक कार्क्रमहरूमा सहभागी हुन पाइएका ताजा रमाइला यादहरू छन्।
५, अहिले नयाँ के लेख्दै हुनुहुन्छ ?
अहिले म एउटा कविता सङ्ग्रहको तयारीमा छु।धेरै केरमेट गर्ने मेरो बानीले ढिलो हुँदैछ।२०२५ भित्रै प्रेसमा पुर्याउनेछु।

डा राजेन्द्र भण्डारी एक कविका साथै एक कुशल र गम्भीर साहित्य अध्येता, समालोचक पनि हुनुहुन्छ। उहाँको साहित्यको व्यक्तित्व उच्च छ।