२२ माघ २०८०, काठमाडौं
लेखक रेशमबहादुर पाण्डेका दुई कृतिहरु ‘कान्छो सिडियो’तथा ‘बाह्र-सत्तरी’ दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित एक कार्यक्रममा लोकार्पण भएको छ ।
विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नरेन्द्रराज पौडेलले प्रशासकीय भूमिकामा रहेर हाल अवकाशप्राप्त लेखकका जागीरे जीवनका प्रसङ्ग उठाउँदै लोकार्पित कृतिहरूका लागि बधाई दिएका थिए।
लोकार्पण गरिएका दुई कृतिहरूमध्ये उपन्यास’बाह्र सत्तरी’का बारेमा समीक्षक राम लोहनीले तथा समालोचक युवराज मैनालीले’कान्छो सिडियो’कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।
लेखकीय मन्तव्यमा लेखक रेशमबहादुर पाण्डेले आफ्नो लेखन यात्राबारे प्रकाश पार्दै आफू नरेन्द्रराज पौडेल तथा प्रशासनमा रहेर साहित्यमा कलम चलाउने साहित्यकारहरूको प्रेरणाबाट साहित्य लेख्न थालेको बताए।
आरम्भमा प्रतिष्ठानका सल्लाहकार तथा समालोचक ठाकुर शर्माले प्रमुख अतिथि पौडेल तथा लेखकको परिचय सहित कृतिका बारेमा संक्षिप्त टिप्पणी सहित स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रममा डा.केदारनरसिंह के.सी,डा.रामप्रसाद दाहाल तथा समालोचक गोपी मैनालीले शुभकामना मन्तव्य राखेका थिए ।
सभापतिको आसनबाट बोल्दै सभापति रामप्रसाद पन्तले पाण्डे द्वारा लिखित दुबै कृतिहरू उत्कृष्ट लागेकाले दायित्व वाङ्मय प्रकाशक बन्न तयार भएको हो बन्दै प्रतिष्ठानले साहित्यिक कृतिहरू प्रकाशनका बारेमा पुर्याउदैँ आएको योगदानकाबारे चर्चा गरेका थिए।
समारोहको दिन लेखकको ७१ औं जन्मदिन परेको हुँदा लेखककी सुपुत्री प्रज्ञा थापाले प्रकाशित कृतिका लागि बधाई र जन्मदिनका अवसरमा सुस्वास्थ,दीघार्यु र उत्तरोत्तर प्रगतिको समेत कामना गरी भावपूर्ण अभिव्यक्ति प्रकट गरेकी थिइन्।
लोकार्पण कार्यक्रमको सञ्चालन रामशरण प्याकुरेलले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)
