समानताको सँघार

कविता मेरो कविताः मेरो रोजाइ

रबिन्द्र भक्त श्रेष्ठ, भर्जिनिया

जीवन जीवन बिच
घाम र छायाँ जस्तै
अँध्यारो र उज्यालोको
दोसाँधमा
जन्मिदिन्छ अबोध बालक
उही रातै रगतले भिजेर
छूत र अछूत बिचको मध्यस्थता
रक्ताम्य साँझ भिजेको
दिन र रातको दोसाँधमा
धर्म, जात र संस्कृति
तुषारापातको चिस्यानमा
भुईंचालो गएको बेला
अचानक आगो ओकल्छ
उसैबेला पहाड बिस्फोट हुन्छ
बग्न सुरु गर्छ आगोका लप्काहरु
कुरुक्षेत्रमा लडिरहने
क्षत्र ज्ञ, वर्णका, वर्णमालाहरु
कतै अक्षरमा ब्रम्हाण्ड वैश्य वीचको भिन्नता
कतै अक्षरअक्षरको छूतमा बिभिन्नता
यो बिभेदको खाल्डो
कागज भित्र पुरिएको बेला
वर्णमा अचेतनको अहंकार उचालिइरहेको
मानवको मौनता च्यातिन्छ
मान्छेमान्छे वीच
आआफैँ गर्भपात गर्छ
छताछुल्ल हुन्छ,
छोएर बिथोलिने समाजको मान्यता
पानी र भात वीचको सँघार
त्यसैले त
प्रकट हुन्छ खम्वाखम्वामा नृसिंह अवतार
ईश्वर शास्त्र विनाको जातिवाद
तब जान्छ ईन्द्रेनी भुईंचालो
जालोमा अल्झिएको जनजीवन
सधै अनौबाट हलो र जुवा जोते जस्तै
वर्ण, वर्ण भित्रका
अ प्रजातान्त्रिक गाना
अ राजनैतिक नारा
अ लोकतान्त्रिक धुन
चेतनाको शक्ति बिहीन
सधैं किन कालो धुवा मँडारिन्छ ?
सधैँ हातेमालो गर्दै
सुम्सुमाई बहने बतास
छोएर बगीरहने पानी
खुल्ला आकाशको समभाव भित्र,
एकै हावाको स्वासप्रस्वास घुट्काउँदै
प्रकृति वीच जीवन चलिरहेछ
किन एकै हुन सकेन ढोकाको मान्यता
एक आपसमा कसरी टुक्रिरहेछ
मान्छेमान्छेको मनका आँखाहरु
भित्र र बाहिरको दोसाँध
उज्यालो र अँध्यारो बिच
कहिले नाघ्नु दैलो
नापेर, समानताको सँघार !!!

1 thought on “समानताको सँघार

  1. आहा! दाई कती राम्रो सृजना! गजब लाग्यो। तपाइको यो होनहार प्रतिभा चम्कोस, धेरै धेरै शुभकामना!

Leave a Reply