जुद्धबहादुर श्रेष्ठको जीवनी र पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू लोकार्पित

समाचार

१० माघ २०८२, काठमाडौं

कवि तथा जरामा अर्थ खोज्ने कलाकार नरेन्द्रबहादुर श्रेष्ठ लिखित’जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ तथा उनको सम्पादनमा ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचनाहरू’आज एक कार्यक्रमका बीच लोकार्पण सम्पन्न भएको छ।
साहित्यिक पत्रकार संघको आयोजनामा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको सो कार्यक्रममा दुबै कृतिहरू एकसाथ मञ्चमा आसिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण गरिएको हो।
नरेन्द्रबहादुर श्रेष्ठकी नातिनी निश्चिता श्रेष्ठद्वारा मञ्चासिन व्यक्तित्वहरूलाई रुद्राक्षको माला लगाइदिएर सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले कला र साहित्यमा अति नै आशीर्वाद पाएका नरेन्द्रबहादुर श्रेष्ठलाई बधाई दिंदै आफ्ना बुबा र काकालाई कृति मार्फत् चिनाउन सकेकोमा प्रशंसा गरेका थिए।
समालोचक प्रा.डा.दयाराम श्रेष्ठले ‘पूर्णबहादुर श्रेष्ठ’व्यथित’ का गद्य रचनाहरू कृतिबारे आफ्नो मन्तव्य राख्दै नेपाली साहित्यमा पूर्णबहादुर श्रेष्ठ ‘व्यथित’ नाम कतै उल्लेख नभएको प्रसङ्गमा नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो बुबाद्वारा रचित रचनाहरू सङ्कलन गरी कृतिका रूपमा ल्याइदिएकोमा धन्यवाद दिएका थिए।बुबाको बिंडो थाम्न नरेन्द्रबहादुर श्रेष्ठ सफल रहेको कुरा पनि उनलेे उल्लेख गरेका थिए।
‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ कृति बारे समालोचक प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी पेश गर्दै जुद्धबहादुर श्रेष्ठको व्यक्तित्व र क्रियाकलापका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।लेखकका आफ्नै काका रहेका
जुद्धबहादुर श्रेष्ठले संकलन गरेका ऐतिहासिक दस्तावेज र अभिलेखलाई जोगाएर कृतिका रूपमा समाज समक्ष राख्न सफल भएको र आफ्नो बुबा पूर्णबहादुर श्रेष्ठ’व्यथित’को निधन भएको केही महिनामा जन्मिएका नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो पिताका गद्य रचनाहरू संकलन गरी प्रकाशन गरेर कृति मार्फत् बुबालाई चिनाउने काम गरेको बताए।
कार्यक्रममा लेखक नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मन्तव्यमा आफ्ना बुबा पूर्णबहादुर श्रेष्ठ र काका जुद्धबहादुर श्रेष्ठको स्मरण गर्दै भावुक बनेका थिए।बुबा नचिनेको बा का बारेमा उनलेे लेखेको बताउँदै आमाको संस्कारले नरेन्द्रबहादुर श्रेष्ठ बन्न सकेकोमा गर्व लागेको बताए।२०६२ सालमा आमालाई पनि गुमाउनु परेको प्रसङ्ग उठाउँदै उनले आमाको ऋण तिर्न आमाको प्रतिमा आफैँले बनाएको बताए।मन्तव्यका क्रममा उनले जीवनका आरोह अवरोहका बारेमा समेत बोलेका थिए।
कार्यक्रमको सुरुमा स्वागत मन्तव्य राख्दै सापस अध्यक्ष राधेश्याम लेकालीले ५४ वर्षदेखि नेपाली भाषा र साहित्यको उन्नयन र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको साहित्यिक पत्रकार संघको चर्चा गर्दै लोकार्पित दुबै कृतिका बारेमा पनि बोलेका थिए।साथै,उनले कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत छोटो मन्तव्य राखेका थिए।
कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन,दिनेश डिसि तथा कुशकुमार जोशीले लेखक नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्व माथि संक्षेपमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।
सो अवसरमा लेखक नरेन्द्रबहादुर श्रेष्ठद्वारा रचित’नशा नशामा तिम्रो जोवन,नशा नशामा मेरो जीवन’बोलको गीतलाई युवा गायक नरहरि प्रेमीले आफ्नै सङ्गीतमा गाएर लोकार्पण गरिएको थियो ।
केही समयअघि मात्र दिवङ्गत भएका साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा लेखक अच्युतरमण अधिकारीको स्मृतिमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रमको अन्तमा लेखक नरेन्द्रबहादुर श्रेष्ठका सुपुत्र निश्चल श्रेष्ठले परिवारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन कवि मुरारि सिग्देलले गरेका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)