डा. शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण

मुख्य समाचार

१३ कात्तिक २०८२, काठमाडौं

संस्कृति अध्येता डा. शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक समारोहकाबीच थापाका ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरु’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिहरु लोकार्पण गरिएको हो ।
डा. विणा पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा इतिहासविद् दिनेशराज पन्त, प्रा.डा. पेशल दाहाल र संस्कृतिविद् डा. जगमान गुरुङले संयुक्त रुपमा ती कृतिहरुको लोकार्पण गरे ।
अतिथि तथा सहभागीहरुलाई स्वागत गर्दै कृतिकार डा. शशि थापा पण्डितले अतिथि तथा सहभागीहरुलाई धन्यवाद दिइन् । तीनवटै कृतिको रचनागर्भको चर्चा गर्दै उनले यी कृति प्रकाशन गर्न सहयोग गर्ने घरपरिवार, आफन्त, साथीभाइ, सहयोगी र गुरुहरुलाई धन्यवाद ज्ञापन गरिन् ।
‘मल्लकालिक नेपालका नारीहरु’ कृतिमाथि चर्चा गर्दै दिनेशराज पन्तले मल्लकालको सामाजिक, आर्थिक, धार्मिक, राजनैतिक अवस्थासहित नारीहरुको अवस्था पनि चित्रण गरेको बताए । पुस्तक निक्कै परिश्रम गरेर तयार गरिएकोले गल्तीरहित र सूचना युक्त भएको उनले बताए ।
शुभकामनाकै क्रममा प्रा.डा. पेशल दाहालले कामकलाजस्तो समाजले नै पचाउन नसक्ने विषयमा पिएचडीको शोध गरेकोले गाइड गर्न, सामग्री उपलब्ध गराउन, निर्देशन दिन पनि शुरु शुरुमा त कठिन भएको उल्लेख गरे । ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिको चर्चा गर्दै प्रा.डा. दाहालले काठमाडौँ उपत्यकाको विकासको विजारोपण र विकासक्रममा नागार्जुन क्षेत्रको चर्चा पाइने बताए । यो क्षेत्रमा धेरै ऐतिहासिक र सांस्कृतिक अभिलेख र प्रमाणहरु भएको उनको भनाइ छ । मल्लकालमा पनि नाजार्गुनलाई महत्व दिने गरेको उल्लेख गर्दै अहिले पनि सो क्षेत्रको विशेष महत्व रहेको उनले बताए । सात अध्यायमा समेटिएको पुस्तकमा त्यहाँको कला, संस्कृति, चाडपर्व, मठमन्दिरहरु, चलनहरु, धार्मिक आस्थाहरु आदि सम्पूर्ण कुराहरु उजागरण भएको उनले बताए ।
संस्कृतिविद् डा. जगमान गुरुङले कामकला शास्त्रमा कृति प्रकाशन गर्ने हिम्मत डा. थापाले गरेको भन्दै यो नेपालको धर्तीपुत्रीले लेखेको पहिलो किताब भएको बताए । उनले भने, ‘रथी धन शमशेर जबराले लेखेको ‘कामकला रहस्य’ त नष्ट भइहाल्यो त्यसपछि नेपालको धर्तीपुत्रले लेखेको कामकलासम्बन्धी पहिलो पुस्तक हो यो ।’ कृतित्वले मान्छेको व्यक्तित्व बढाउने भन्दै उनले डा. थापाको प्रशंसा गरे ।
कार्यक्रम समापन गर्दै सभाध्यक्ष डा. विणा पौड्यालले नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनजस्ता उच्चकोटीका संस्थाबाट पुस्तक निस्किनु नै गौरवको कुरा भएको बताइन् । तीन वटा कृति एकै पटक प्रकाशन भएको भन्दै अब डा. थापालाई कृतिले चिनाउने उनको भनाइ छ । गम्भीर र कसैले आँटै नगरेको विषयमा शोध लेखन गरेको र त्यसलाई कृतिका रुपमा ल्याउनु नै चुनौति भएको भन्दै उनले डा. थापालाई बधाई ज्ञापन गरिन् ।
नेपाल आदर्श महिला संघ, बालाजु, काठमाडौँले आयोजना गरेको कार्यक्रममा संघले डा. थापालाई दोसल्ला र सम्मानपत्रसहित सम्मान पनि गरेको थियो । कार्यक्रमलाई कवि यादव भट्टराईले सञ्चालन गरेका थिए ।