कृष्णचन्द्रसिंह शतवार्षिकी विशेष-पाँच

गद्य विविध

कृष्णचन्द्रदाईको सम्झनामा दुई शब्द

शैलेन्द्र साकार, काठमाडौं

भर्जिनिया अमेरिका बसिरहेका साहित्यकार गोविन्द गिरी प्रेरणाले एउटा सानो चिर्कटो मुहार पुस्तिकामा पठाए, यो वर्ष प्रसिध्द समालोचक कृष्णचन्द्र सिंह प्रधानको जन्म शताब्दी वर्ष हो, केही लेखिदिने पो हो कि ?
मैले हुन्छ भनेर भनिहालें ।
तर वीचमा परेको तिहारले फूर्सतिलो भएर सोच्न र लेख्न दिएन । तिहार पछिको यो छठ पर्वको विदा र आउँदो जाडोको पूर्वाभ्यास दिने गरेर धूप्प छोपिएको आकाश हेर्दाहेर्दै कृष्णचन्द्र दाईको सम्झना भयो र केही लेखौं भन्ने जाँगर पनि ।
उनलाई सम्अने यो मौका नगुमाउँ भन्ने पनि मनमा लागि नै रह्यो ।
गोविन्द गिरी प्रेरणा अमेरिकाकै नागरिक भएर उतै बसे पनि नेपाली साहित्य सम्बन्धी सबभन्दा ठूलो चिन्ता उनलाई नै छ । उनलाई थाहा हुन्छ यस्ता कुराहरू । उनलाई नै थाहा आजको नेपाली साहित्यको गतिविधि र प्रपञ्च । प्रपञ्च भन्नाले केही सकृय ब्यक्तिहरूको केही साहित्यिक माफियाहरूको प्रपञ्च पनि भन्न खोजेको हुँ मैले ।
“भञ्ज्याङनेर” भन्ने प्रगतिशील कविता सङ्ग्रह छापिएपछि प्रसिध्द साहित्यकार हृदयचन्द्र सिंह प्रधानका सहोदर भाई कृष्णचन्द्रसिंह प्रधानको निकै चर्चा भयो नेपाली साहित्य जगतमा । काठमाडौंको चिरपरिचित सामाजिक सम्बन्धले उनलाई सहयोग पनि ग-यो । कुनै औपचारिक शिक्षा नलिएका उनलाई कन्या मन्दिर हाइस्कूलको शिक्षक हुने मौका पनि दियो । मध्यमबर्गिय परिवारमा हुर्किरहेका उनको परिवारको भरण पोषणको समस्या पनि यसबाट केही हल भयो ।
त्यसपछि उनी केदारमान ब्यथितको सङ्गतमा आइपुगे । त्यही सङ्गतले उनलाई “कवि ब्यथित र काब्य साधना” लेख्ने परिवेश तैयार ग-यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा , कवि शिरोमणि लेखनाथ पौड्याल र युगकवि सिध्दिचरण श्रेष्ठ जस्ता अत्युत्तम् प्रतिभाहरूलाई वेवास्ता गरेर आत्मरतिमा रमाइरहेको मदन पुरस्कार गुठीले केदारमान ब्यथितको के वास्ता गर्थ्यो । तर कृष्णचन्द्रसिंह प्रधानलाई त्यही कृतिले मदन पुरस्कार दिलायो । मदन पुरस्कारको रकम त्यतिबेला ४ हजार थियो, अहिलर त्यही बढेर ४ लाख रुपैयाँ पुगेको छ ।
साहित्यकार भनेपछि हुरुक्क हुने र आफूले सक्दो सहयोग गर्न रूचाउने क्षेत्रप्रताप अधिकारी साझा प्रकाशनको अध्यक्ष नियुक्त भएपछि उनकै उनले कृष्णचन्द्रसिंह प्रधानलाई साझा प्रकाशनको महाप्रबन्धक नियुक्त गरे । साझाको बसमा कण्डक्टर भएर तनहुँबाट राजधानी पसेका यथार्थवादी जनकवि क्षेत्रप्रताप अधिकारीको यो निकै प्रशंसनीय निर्णय थियो । उनी कवि लेखकहरूको सुख दुःखका नजिकैका साक्षी थिए । त्यसबेला सम्पूर्ण पाठ्यपुस्तकको वितरणको जिम्मा सरकारले साझा प्रकाशनलाई सुम्पेको थियो । पाठ्यपुस्तकहरू सबै जनक शिक्षा सामाग्री केन्द्रले छाप्थ्यो र प्रत्येक जिल्लामा पाठ्यपुस्तक पु-याउने जिम्मा साझाको थियो । साझा प्रकाशनको सुनौलो युग थियो त्यो ।
सुरुका कवि र पछिका समालोचक कृष्णचन्द्रसिंह प्रधानमा अभूतपूर्वच प्रशासनिक योग्यता पनि रहेछ । उनले करिव १०।१२ वर्ष उक्त संस्थामा अत्यन्त कुशलतापूर्वक प्रशासन चलाए ।
उनकै पालामा मैले साझा प्रकाशनको सञ्चालक समितिको सदस्यको चुनावबाट सञ्चालक चुनिने ब्यवस्था थियो । अहिले त झन् कुनै पनि आयोग, संस्थाहरूको चुनावबाट सञ्चालकहरू चुनिएको मलाई थाहा छैन । म त्यहाँ रहुन्ज्याल मैले सदैव कृष्णचन्द्रलाई आदरपूर्वक व्यवहार गरें । उहाँले पनि मलाई त्यस्तै व्यवहार गरे जस्तो सम्झना मलाई छ ।
“सर्पहरू गीत सुन्दैनन्” को विस्तृत भूमिका लेखनु भएर कृष्णचन्द्र दाईले मलाई निकै अनुगृहित तुल्याउनु भयो ।
उहाँ र क्षेत्रप्रताप दाईहरूकै र मन्त्री केशरबहादुर विष्टको सहयोगबाट मलाई पहिलोपल्ट विदेश यात्रा (जापान) जाने मौका मिल्यो । त्यो सद्भाव म कहिल्यै विर्सन्न । नभए मजस्तो विन्दास र अब्यावहारिक मान्छेले युनिसेफको निमन्त्रणामा जापान जाने कल्पनै नगरे हुने रहेछ ।
धेरै कुरा छन् । मान्छेहरूलाई पढ्ने फूर्सद छैन । अपऋित ब्यक्तिहरूका कारण आज साझा प्रकाशन संकटमा छ । अरू पछि ।