डा. शरद परासर मरहट्टा, नर्थ क्यारोलाइना
लक्ष्मीपूजाको दीप बल्दै गर्दा
मधुरो आभा फैलिँदै गर्दा
विद्युतीय माध्यमबाट
देउसी टोली आउने खबर आयो
खबरसँगै, विजुलीकै गतिमा
पूरा हुनै लागेको अतृप्त रहर आयो
वर्षौँदेखि लुकेको रोमाञ्चकताको लहर आयो —
परदेशमा पनि तिहार आयो।
दिव्य चौबीस घण्टा पछि
छचल्किन लागेको कौतुहलतालाई थामथुम पार्दै गर्दा
नयाँ पुस्ताले ल्याएको गोधुलीको चहक आयो
घरदेशको महक आयो
शुभ साइतका गणेश आए
भट्याउने कुमार आए
चुलबुली लक्ष्मी आइन्
रुपसी पार्वती आइन्
‘झिलिमिली झिल्ला’को प्रहर आयो —
परदेशमा पनि तिहार आयो।
लक्ष्मीपूजाको मेसोमा
मेरी उनीले सीप लगाएर बनाएकी
सेलरोटीको सुवास आयो
देउसीको आशिषमा
आफ्नोपनको आभास आयो
दोश्रो पुस्ताको विश्वास आयो।
बाटो छेउका रुखविरुवाले रङ बदल्दै गर्दा
सयपत्री र मखमलीको रङ्गोलीमा
उत्सुकताको अर्को बहार आयो —
परदेशमा पनि तिहार आयो।
०००
