नवीन पौड्याल , कालिम्पोङ
नेपाली साहित्य क्षेत्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटा एक शीर्षस्थ र आदरणीय नाम हो। उनको जन्म वि.सं. १९६६ कार्तिक २७ गते काठमाडौंको धोबीधारा टोल डिल्लीबजारमा भएको थियो। उनको वास्तविक नाम तीर्थमाधव थियो। उनी लक्ष्मीपूजाको दिन जन्मिएको हुनाले उनका पिता पं. तिलमाधवले उनलाई लक्ष्मीको प्रसाद सम्झेर लक्ष्मीप्रसाद नाम राखिदिए।
जम्मा पचासवर्ष कविको जीवनआयुमा लगभग चालिस वर्ष उनको साहित्य साधना रह्यो। दसवर्षको उमेरदेखि कविता लेख्न थालेका देवकोटाले मृत्युशय्यामा क्यान्सरग्रस्त पीडा र जलनमा तड्पिएका बेलापनि कविता लेखेको पाइन्छन्। यति लामो कविता-साधना अवधिमा देवकोटाद्वारा लिखित जम्मा ४७ वटा पुस्तकाकार कृतिहरू प्रकाशित पाइन्छन्। तीमध्ये ३५ वटा खण्डकाव्य यसप्रकार छन्-मुनामदन, राजकुमार प्रभाकर, लूनी, कुञ्जिनी, दुष्यन्त शकुन्तला भेट, सीताहरण, म्हेन्दू, रावण जटायु युद्ध, नवरस, कटक, बसन्ती (१), मायाविनी सर्सी, रामायण शोकगाथा, नयाँ सत्य-कलि सम्वाद, मैना, सृजामाता, नेपाली मेघदूत, वैराग्यलहरी, आनन्दशतक, झञ्झावर्णन, बसन्ती (२), तूषारवर्णन । यिनका अतिरिक्त देवकोटाको खण्डकाव्यकारितामाथि शोधग्रन्थ तयार पार्ने डा. महादेव अवस्थीका अनुसार नाला, आँसु, भ्यागुर नारान, नासमझको गाँठो, घोड्चडी अनि नवरसका नवैवटा रस वर्णन भिन्नभिन्नै लघु खण्डकाव्य नै हुन्। यसैगरि जम्मा छःवटा महाकाव्य प्रकाशित छन्ः शाकुन्तल, सुलोचना, वनकुसुम, महाराणा प्रताप, प्रमिथस र पृथ्वीराज चौहान। कविता संग्रहको हकमा उनका चौधवटा कविता-संग्रह प्रकाशित छन्ः भिखारी, पुतली, सूनको बिहान, गाइने गीत, भावना गाङ्गेय, आकाश बोल्छ, छायासंग कुरा, छहरा, चिल्ला पातहरू, लक्ष्मी कविता संग्रह, लक्ष्मी गीति-संग्रह, मनोरञ्जन, जन्मोत्सव र मुटुका थोपा तथा मृत्युशय्याबाट। यी संग्रहमा परेका र नपरेका गरी जम्मा ६४४ वटा कविता प्रकाशित-अप्रकाशित छन्। यिनका अतिरिक्त अझै अरू कविता पनि हुन सक्छन्। कति तथाकथित कविहरूले उनका कविताहरू आफ्नै नाममा छापेका थिए भन्ने भनाइ पनि पाइन्छ।
निबन्ध क्षेत्रमा उनका दुईवटा मौलिक निबन्ध संग्रह छन् लक्ष्मी निबन्ध संग्रह र दाड़िमको रूखनेर । समालोचनात्मक लेख संग्रहको रूपमा स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (राजेन्द्र सुवेदीद्वारा संकलित र सम्पादित)। उनको अनूदित निबन्ध संग्रह प्रसिद्ध प्रबन्ध संग्रह हो। एउटा कथासंग्रह लक्ष्मी कथासंग्रह र एउटा उपन्यास चम्पा प्रकाशित छन्। उनका नाटकहरू जम्मा तीनवटा छन्- कृषिबाला, सावित्री-सत्यवान र भरतमिलाप। उनको अनूदित नाटक म्याकवेथ छ। यिनका अतिरिक्त देवकोटाले लेख्न थालेका अपूर्ण काव्यहरूमा स्वाँचा, भोटको लड़ाई, कृष्णाष्टमी, तिप्लिङ्गी, तारा, मरूभूमि, हरिश्चन्द्र काव्य, प्रदर्शिनी, कविताकुञ्ज, नेपाली शाकुन्तल (अंग्रेजी भाषामा रचित छन्दोबद्ध महाकाव्य), संयोगिता (अंग्रेजी भाषामा रचित महाकाव्य तर हराएको) सिकन्दर (दस सर्गसम्म लेखिएको अपूर्ण संस्कृत महाकाव्य), पाँसका मुना (कवितासंग्रह), तथागत (गीतिनाटय), बिज्जुको चरित्र (नाटक हराएको), उषा-अनिरूद्ध (नाटक), सुष्मालोचन (महाकाव्यांश) मुख्य छन्। अझै उनको अंग्रेजीमा एकएकवटा निबन्धसंग्रह र कवितासंग्रश लेख्ने योजना थियो । यही बाहेक 52 Sonnets & Big game shooting in Nepal अंग्रेजीमा देवकोटाले रचेका थिए, जो प्रकाशित छन्। भिखारीदेखि सन्ध्यासम्म (समीक्षासंग्रह), राजपुतरमणी, पञ्चतंत्र पनि प्रकाशित छन्।
महाकवि देवकोटा नेपाली साहित्यमा सबैभन्दा बढी विश्लेषित र समालोचित छन्। उनका जीवनीलेखक, समीक्षक र समालोचकहरूमध्ये प्रमुख हुन् डा. कुमारबहादुर जोशी, नित्यराज पाण्डे, मोहनराज शर्मा, डा. चूड़ामणि बन्धु, हरि श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, जनकलाल शर्मा, डा. बासुदेव त्रिपाठी, घटराज भट्टराई, डा. पारसमणि प्रधान, राजेन्द्र सुवेदी, कृष्ण गौतम, डा. ईश्वर बराल, ताराकान्त पाण्डेय, चन्द्रेश्वर दुबे, नरेन्द्रराज प्रसाईं इत्यादि। देवकोटाका कविता र निबन्धमाथि शोधप्रबन्ध तयार पार्ने शोधार्थीहरूमा कुमारबहादुर जोशी, घनश्याम नेपाल, दुर्गाप्रसाद अर्याल, महादेव अवस्थी, पद्मप्रसाद देवकोटा, सञ्जय बान्तवा, गोपालप्रसाद अधिकारी, इन्द्रविलास अधिकारी, बालकृष्ण भण्डारी, किरणकुमार खरेल, ध्रुवप्रसाद बस्याल इत्यादि प्रमुख हुन्। यी बाहेक अझै अरू धेरै शोधप्रबन्ध तयार हुनसक्छन्।
लक्ष्मीप्रसाद देवकोटाको जीवनका केही उपलब्धिः
क) उनी कविता क्षेत्रमा सबैभन्दा महान् कवि हुन्। कविताको गुणात्मक र मात्रात्मक दुवै पक्षमा उनी नै अगाडि छन्। पैंतीसवटा खण्डकाव्य, छः वटा महाकाव्य र चौधवटा कविता संग्रह प्रकाशित हुनु आफैमा एउटा महान् उपलब्धि हो।
ख) नेपाली निबन्ध क्षेत्रमा देवकोटा नै सर्वश्रेष्ठ मानिन्छन्। लक्ष्मी निबन्ध संग्रह र दाडिमको रुखनेर जस्ता उत्कृष्ठ निबन्ध संग्रहहरू पाउनु नै उपलब्धि हो।
ग) देवकोटा आत्मपरक नेपाली निबन्धका प्रतिष्ठापक, उन्नायक र प्रयोक्ता सबै हुन्।
घ) नेपाली कविता क्षेत्रमा सबैभन्दा बढ़ी र सफल रूपमा छन्द चलाउने उनी नै हुन्। उनले धेरै जसो शास्त्रीय छन्दमा कविता रचेका छन्। शाकुन्तल महाकाव्यमा जम्मा बत्तीसवटा शास्त्रीय वर्णमात्रिक छन्द पाइनछन्। उनी छन्दका पछि नकुदेर बरू छन्द नै उनको भावराशिका पछिपछि आउँथ्यो। छन्दले उनलाई काव्यगत अभिव्यक्तिमा बाधा दिएन।
ङ) नेपाली लोकछन्दका हकमा पनि देवकोटा अद्वितीय हुन्। मुनामदनमा झ्याउरे, लुनीमा तामाङ सेलो, कुञ्जिनीमा अठ्ठाइसवटा लोकलय समाविष्ट छन्। उनको पृथ्वीराज चौहान नामक महाकाव्यमा पनि झ्याउने छन्दको प्रयोग गरिएको छ। जसरी शाकुन्तल महाकाव्यमा देवकोटाको शास्त्रीय छन्दहरूमाथिको असाधारण आधिकारिकता प्रमाणित भएको देखिन्छ त्यसरी नै कुञ्जिनी खण्डकाव्य कविको लोकलयमाथिको असामान्य अधिकारको प्रमाण हो।
च) उनले नेपाली भाषाबाहेक अँग्रेजी भाषामा पनि दक्षता हासिल गरेका थिए। आफ्नै शाकुन्तल महाकाव्यको अंग्रेजी अनुवाद, मृत्युशय्यामा अग्रेजीका कवि डोम मोरेजसित अंग्रेजीमा कविता वाचन, अन्य कविताहरूबाट पनि उनको अंग्रेजी भाषाको दखल बुझिन्छ।
छ) उनी अंग्रेजी र नेपालीबाहेक संस्कृत, हिन्दी, बङ्गाली, नेवारी, फ्रेन्च, चिनीयाँ आदि भाषा जानेका उल्लेख पाइन्छ। दाउरेहरूसित तामाङ कुरा पनि धेरथोर मात्रामा सिकेको कुरा उनका जीवनीकारहरुबाट थाहा पाइन्छ।
ज) देवकोटा एकजना सफल कथाकार पनि हुन। लक्ष्मी कथा संग्रह मा उनका राम्रा राम्रा कथाहरू पाइन्छन्। तीज, खंदाल बाजे, त्यसको मने, नपुंसक राजा जस्ता उल्लेखयोग्य कथा छन्।
झ) देवकोटा एक असल र इमानदार राजनैतिक नेता पनि थिए। उनी २००५ सालमा नेपाली काँग्रेस दलको तत्कालीन मुखपत्र युगवाणीका सम्पादक थिए। वि.सं. २०११ मा तत्कालीन प्रधानमंत्री मातृकाप्रसाद कोइरालाका सल्लाहकार सभाका विरोधी दलका नेता बनेका थिए। त्यतिवेला उनले कतिपय मुद्दा र नीतिमा माकारलाई आच्छु आच्छ पारेका थिए। त्यसरी नै वि.सं. २०१४ सालको असारदेखि कार्तिकसम्म डा. के. आई. सिंहको प्रधानमंत्रीत्वकालमा उनी शिक्षा र स्वायत्त शासन मंत्री बनेका थिए तर उनी कवि मानिस हुनाले राजनितीको हिलो र दलदलमा बेसी समय बिताउन सकेनन्।
ञ) देवकोटा एक राम्रा नाटककार र उपन्यासकार पनि हुन्। नाटकको क्षेत्रमा उनका कृषिवाला, सावित्री-सत्यवान, राजपूतरमणी, भरतविलाप, उषा अनिरूद्ध जस्ता नाटकहरू रचेका हुन्। उनको एउटै उपन्यास चम्पा, जो नारीको सामान्य मनोविज्ञानमा आधारित छ।
ट) देवकोटाले नेपालका विभिन्न पहाडी जिल्ला, भारतका विभिन्न शहर तथा अन्य विदेशमध्ये रूस, चीन, होरी, रोमानिया, चेकोस्लोभाकिया, स्विजरल्याण्ड भ्रमण गर्न पाएका थिए।
ठ) महाकवि देवकोटा नेपालको पहिलो विश्वविद्यालयस्तरको नेपाल राष्ट्रिय विद्यापीठ, वीरगंजका उपकुलपति थिए। यसै संस्थानको २००९ को दीक्षान्त समारोहमा उनले उपकुलपतिको हैसियतमा खुबै रोचक,
ज्ञानवर्द्धक र जोशिलो सम्भाषण दिएका थिए।
ढ) देवकोटा पश्चिम बंगाल शिक्षा समितिको नेपाली पाठ्चपुस्तक उपसमितिका एक सदस्य थिए। यसै कामको सिलसिलामा उनी वि.सं. २००९ सालमा दार्जीलिङ आएका थिए। हुन त जम्मा चारपटक यता दाजीलिङतिर आएका थिए। पहिलोपल्ट २००४ सालको अन्ततिर बनारसतिरबाट घुम्दै दार्जीलिङ आएका थिए। वि.सं. २००९ सालमा चाँहि दुइपल्ट आएका थिए- एकपल्ट इलामको करफोकको नेपाली भाषा प्रचारक संघको अधिवेशनपछि दार्जीलिङ आए। अर्कोपल्ट चाँहि पश्चिम बंगाल शिक्षा समितिको निम्तोमा माथि उल्लेखित कामको सिलसिलामा। त्यति बेला कालिम्पोङ र गान्तोक पनि आएका थिए। वि.सं. २०११ सालमा पनि नेपाली पाठ्यपुस्तकको निर्धारणका निम्ति दार्जीलिङ आएका थिए। यसैकारण यी ठाउँ-ठाउँका नाममा उनका कविता छन्, जस्तैः दार्जीलिङको बाघचुलिमा, कालिम्पोङ, अपतनप्रति ईत्यादि। एउटा निबन्ध दार्जिलिङ, खरसाङ, कालिम्पोङ पनि लेखेको पाइन्छ।
ण) महाकवि देवकोटा एक कुशल गीतकार पनि हुन्। गीतकारका रूपमा उनलाई भद्रकाली रेकर्ड हाउसले बम्बई र कलकत्तासमेत लगेको थियो। त्यति बेला उनका गीतहरू मास्टर रत्नदास प्रकाशले गाएका थिए। उनका गीतहरू गाउने अन्य गायक-गायिकाहरूमा नारायण गोपाल, रचिन शर्मा, अरूणा लामा आदि हुन्। मुनामदन सिंगै काव्य गाइएको छ कुञ्जिनी पनि गीतिनाटकका रूपमा मञ्चन भएको छ। अतिरिक्त काव्यकृतिहरू गाउनलायकका र गाउन बाँकी नै छन्।
त) महाकवि देवकोटा एक असल अनुवादक थिए। उनले आफ्नो केही कविता, लेखनाथ पौड्यालको पिञ्जराको सुगाको अँग्रेजी अनुवाद आदि सम्पन्न गरेका छन्। अनुवादको क्षेत्रमा पनि उनको प्रतिभा ज्वाजल्य देखिन्छ।
थ) शिक्षाका क्षेत्रमा पनि उनी अब्बल थिए। त्यो जमानामा पनि उनी बी.ए.बी.एल उत्तीर्ण गरेका थिए। पटना विश्वविद्यालयचाट आइ.ए. र बी.ए. पास गरेपछि अंग्रेजी साहित्यमा एम.ए. प्राइभेट रूपमा भर्ना भएका र कलकत्ता गएका बेला एम.ए. तहको अंग्रेजीको केही किताब किनेको पनि थिए तर आफ्नो पारिवारिक झमेला, अस्वस्थताको परिस्थितिले साथ नदिएको हुँदा अपूरो नै रह्यो। जागिरको क्रममा उनी नेपाली भाषानुवाद परिषद्का जागिरे, त्रिचन्द्र कलेजका शिक्षकसमेत भएका हुन्। उनले कानुन विषयमा बी.एल. उत्तीर्ण गरेपनि कानुनी पेशा भने अपनाएनन् बरू ट्युसनी पेशा अपनाएर आफ्नो गर्जो टारे।
घ) रोयल नेपाल एकाडमी र त्रिभुवन विश्विद्यालय स्थापना गर्न महाकविको ठुलो योगदान छ। उनलाई एकाडमीको साहित्य विभागतर्फको सदस्यता दिइएको थियो। त्रिभुवन विश्वविद्यालयको स्थापनाको निम्ति चाहिने प्रारूप मस्यौदा पनि देवकोटाले तयार पारेका थिए भन्ने भनाइ छ।
जे होस, लक्ष्मीप्रसाद देवकोटा हाम्रा लागि धेरै कुरा थिए। उनी कवि, निबन्धकार, कथाकार, नाटककार, राजनैतिक नेता, शिक्षाप्रेमी, शिक्षक, भाषाप्रेमी, प्रखर वक्ता, चिन्तक र एक असल मानिस थिए। उनी सबैभन्दा बढ़ी त कवि थिए। उनी प्राचीन भारतको आदर्श जीवन में आदर्श, मानवतावादी मानवसमाज, धन्याधान्यपूर्ण नेपाली समाजको स्थापना गर्न चाहने एक इमानदार नेपाली कवि थिए।
०००
