२६ असोज २०८२, काठमाडौं
संवत् २०८१ को जगदम्बा-श्री पुरस्कार प्रेमदेव गिरी तथा मदन पुरस्कार छुदेन काविमोलाई गरिएको छ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितबाट यी दुबै व्यक्तित्वहरूलाई जनही रू ४०००००/-को नगद राशि तथा सम्मान अर्पण गरियो।
सम्मानित व्यक्तित्वहरूलाई मञ्चसम्म यसअघि २०८० मा पुरस्कृत दुई व्यक्तित्वहरूबाट ओल्क्याउँदै लगिएको थियो।
पुरस्कृत व्यक्तित्वहरूको सम्मानमा आरती उतार्दै दुबो र फूलको माला लगाइएको थियो।
पुरस्कार समर्पण समारोहमा अध्यक्ष कुन्द दीक्षितले स्वागत मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा उनले जेन-जि आन्दोलनका क्रममा दिवङ्गत सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए।साथै,उनले मदन पुरस्कार गुठी,पुस्तकालय तथा भाषा साहित्य,लेखन- प्रकाशन र ऐतिहासिक सामग्रीको संरक्षणमा समर्पित कमलमणि दीक्षितको पनि स्मरण गरेका थिए।
समारोहमा संस्कृतिविद् प्रा.डा.वीणा पौड्यालले विद्वद् प्रवचन दिएकी थिइन्। प्रवचनमा उनले नेपाली संस्कृति,कला र मूर्ति कलाबारे आफ्नो धारणा व्यक्त गर्दै’मेरो राष्ट्रका मूर्त र अमूर्त अमूल्य सम्पदाहरू मेरा आफ्ना हुन्,यिनको संरक्षणमा तन,मन,धन र वचनले लाग्छु’भनेर एउटा प्रण गरौँ,एउटा वाचा गरौँ भनेर सभामा उपस्थित सबैलाई संकल्प गराएकी थिइन्।
समारोहमा पुरस्कृत दुबै व्यक्तित्वहरूबाट समेत आ-आफ्नो उद्गार व्यक्त गरिएको थियो।
कर्णालीको सुर्खेतमा जन्मेर २०२५ देखि विधिवत रङ्गमञ्चीय यात्रा शुरु गरेका प्रेमदेव गिरीले अहिलेसम्मको आफ्नो योगदानका बारेमा प्रकाश पारेका थिए। मदन पुरस्कार गुठीले ओझेलमा परेका नाट्यकर्मी,लोकगीत र संस्कृतिप्रति अगाध माया गर्ने व्यक्तिको खोजी गरी पहिचान र सम्मान गरेकोमा आभार प्रकट गरेका थिए।
अर्का पुरस्कृत व्यक्तित्व छुदेन काविमोले नदी,चरा र कथाको यात्रा एकै हुने रहेछ जसले तमाम बाधाहरूलाई उछिनेर,हजार सीमाहरूलाई नाघेर अघि बढिरहने रहेछन् र जहाँ जहाँ पुग्यो त्यहीँ त्यहीँको भइदिने रहेछन् भन्दै आफ्नो लेखन यात्राबारे बोलेका थिए। कालेबुङको निकै अभेक गाउँमा जन्मेका छुदेनले आफ्नो उपन्यास’उरमाल’मा चिया कमानमा भेटिएका महिला श्रमिकहरूको मार्मिक कथालाई आफ्नो उद्गारमा सुनाएका थिए।
समारोहमा गुठीका उपाध्यक्ष कल्पना पराजुलीले धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रमको सहजीकरण तथा सञ्चालन गुठीले सदस्य सुधा ओझाले गरेकी थिइन्।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)