केही छोटा कविता

कविता

राजेश ढुंगाना 

 

बलिदान

सलाईकोे काँटीको आयु
एक पटक
उज्यालो छर्दै सिद्धिन्छ
तर
उसबाट सिक मान्छे
छिनको जीवनमा उसले
सम्पूर्ण खोतलिदिन्छ ।

प्रगति

पहिले–पहिले
पुष्पक विमान चढ्नेलाई
मूर्ति बनाई पूजिदियौं हामीले
त्यही बानीले होला
ऋाजका मूर्तिहरू जेट पो चढ्ने गर्दछन् ।

विद्रोह

हो,
विद्रोह
एकपटक शुरु भएपछि
प्राप्ति नहुञ्जेल
कहीँ–कहिले रोकिन्न ।

विकास

विकासको अर्थ तिमीले
मलामी जाँदा बजेको शंखको
एकोहोरो धुनलाई
संगीत मान्छौ भने
मैले
तिम्रो जन्ममा पनि
शोक मनाउनु पर्छ ।

मञ्जुरीनामा

तिमीलाई
म स्वयम्लाई मार्ने
अन्तिम
मञ्जुरीनामा दिने
मान्छे हुँ म ।

अमर गीत

मात्र
एक पटक
मुस्कुराई देउ
तिम्रो वर्णनमा
एउटा
अमर गीत
लेखिदिन सक्छु म ।

०००

कवि परिचयः कवि राजेश ढुङ्गानाको जन्म सिन्धुली तोश्राम खोलामा भएको हो । हाल उनी भद्रपुर झापामा बस्छन् । २०३६ ताक कविता प्रकाशनबाट साहित्य यात्रा थालेका उनको दुई कविता सङ्ग्रह प्रकाशित छ, “सुकिला मान्छेको सामयिक मृत्यु” (विसं २०७०) तथा “मैले खोजेको देश” (२०८१) प्रकाशित छन् ।