चन्द्रप्रसाद भट्टराई
पपुआ न्यू गिनी बस्ता मैले पाउने चिठीमध्ये सबैभन्दा धेरै हुन्थे मेरा आफ्नै घरबाट आएका । घरबाट आएका चिठीमध्ये पनि धेरै चाहिँ हुन्थे श्रीमतीले लेखेका । लामा–छोटा जस्ता भए पनि उषाले हप्ताको दुइटासम्म चिठी इमेलबाट पठाउँथिन् । त्यसो त हप्तामा दुइपटक जति हामी फोनमा कुरा पनि गर्थ्यौं । तर पनि इमेलमा सबै कुरा खुलाएर वर्णन गरिएको हुँदा इमेल पाउँदा आनन्द लाग्थ्यो । उषाको इमेल आउन दुई तीन दिन ढिलो भयो भने म बिरामी परेजस्तै हुन्थें । छोराछोरी पढाइमा व्यस्त रहनुपर्ने भएको हुँदा लेख्न उत्ति भ्याउँदैनथे । तैपनि बाहिरफेर गएर गर्नुपर्ने कामहरूका बारेमा र फुर्सतमा अरू बेला पनि छोरा उत्सवले लेख्थ्यो । छोरी अक्षयाले खास गरी उसका जाँच सकिनासाथ लेख्थी ।
त्यसपछि अर्थात् घरदेखि बाहेक मलाई सबैभन्दा धेरै चिठी रोजमेरी मेनाड्यूले पठाई ।
रोजमेरी मेरी एउटी अस्ट्रेलियाली साथी हो । ऊसँग मेरो चिनाजानी सन् २००१ को नोभेम्बर महिनामा पपुआ न्यू गिनीको राजधानी पोर्ट मोस्र्बीको एउटा पिजिन भाषा सिक्ने ठाँउमा भएको थियो । रोजमेरी, म र अरू चार जना गरी हामी जम्मा छ जना विदेशीले त्यो भाषा सँगै सिकेका थियौं ।
पिजिन भाषा अलिअलि सिकेर हामी आ–आफ्ना काम गर्ने ठाँउतिर खटियौं । म पश्चिमी पहाडी प्रान्तको राजधानी माउन्ट हागेन खटिएको थिएँ । तर सोझै त्यहाँ नगएर पहिला त्यसैसँग जोडिएको सिम्बू प्रान्तको राजधानी कुण्डिअवा गएँ र अढाई महिनापछि मात्र आफ्नो ठाउँ माउन्ट हागेन गएँ ।
रोजमेरी पपुआ न्यू गिनीको सबैभन्दा सुन्दर शहर मडाङको डिभाइन वल्र्ड विश्वविद्यालयमा फन्ड रेजिङ अफिसरको काम गर्न गई । केही समय पछि ऊ त्यहाँ पढाउन पनि थाली ।
रोजमेरी उज्यालो अनुहार भएकी एउटी सुन्दर र फरासिलो मिजासकी अविवाहित महिला हो । ऊ दक्षिणी अस्ट्रेलियाको राजधानी एडेलेइड छेउको एउटा सानो ठाउँबाट पपुआ न्यू गिनीमा दुई वर्ष काम गर्न भनेर आएकी हो, मभन्दा पाँच महिनापछि । सहयोगी स्वभावकी छे । सामाजिक काम कुरामा निकै सक्रिय हुन्छे । त्यसैले उसका इष्टमित्र पनि धेरै छन् ।
रोजमेरी उसले नजिक ठानेका पच्चीस जना जतिलाई नियमित रूपमा चिठी पठाइरहन्थी । ती भित्र उसका बाबुआमा, दाजुभाइ, दिदीबहिनी, साथीहरू पर्थे र ती सबै अस्ट्रेलियामा थिए । तीदेखि बाहेक म एउटालाई पनि उसले आफन्त ठानिछ । ऊ सरदर हप्ताको एउटा चिठी लेख्थी । उसका चिठीहरूमा विशेष गरी उसको विश्वविद्यालयमा के के क्रियाकलापहरू भए तिनको वर्णन हुन्थ्यो, सामाजिक जीवनमा उसले त्यो हप्ता के केमा भाग लिई त्यो हुन्थ्यो अनि ऊ बसेको सुन्दर मडाङ शहरमा अरू केही उल्लेखनीय घटनाहरू घटेका भए तिनको सविस्तार वर्णन हुन्थ्यो । उसले जहिले पनि इमेलबाट चिठी लेख्ने हुँदा एउटा चिठी लेखेर सबैलाई त्यही पठाउँथी । म उसका चिठीहरू चाख मानेर पढ्थें । मलाई रमाइलो के कुरामा लाग्थ्यो भने एउटा विकसित देश अस्ट्रेलियाकी महिलाले एउटा अविकसित देश पपुआ न्यू गिनीमा के–के देखी र तीमध्ये उसलाई के केमा चाख लाग्यो ती कुरा उसका चिठीमा पढ्न पाइन्थ्यो । घटना विवरणका साथसाथै त्यहाँ उसको आफ्नो विश्लेषण हुन्थ्यो, प्रतिक्रिया हुन्थ्यो र अनुभव हुन्थ्यो । यी पछिल्ला कुराहरूले उसका चिठीलाई चखिला पार्थे ।
यसलाई मैले यसरी हेरेँ – उसका प्रत्येक चिठी पपुआ न्यू गिनीमा भएका घटनासँग सम्बन्धित हुन्थे । पपुआ न्यू गिनीमा के–कस्ता घटना हुँदा रहेछन् भन्ने कुरा ती चिठी पढ्दा थाहा पाइन्थ्यो । फेरि पपुआ न्यू गिनीका सबै कुरा त्यहाँ हुँदैनथे र हुने कुरो पनि भएन । त्यहाँ छानिएका कुरा मात्र हुन्थे । कस्ता कुराले उसलाई र अस्ट्रेलियामा भएका उसका आफन्तहरूलाई आकर्षित गर्छन् ती कुरा त्यहाँ हुन्थे । के देख्ता उसलाई अनौठो लाग्छ, के सुन्दा उसलाई मरीमरी हाँस उठ्छ, केको प्रसङ्ग चल्दा उसको मन कुँडिन्छ, के थाहा पाउँदा उसको मन भुट्भुटिन्छ, के भोग्दा उसलाई कष्ट हुन्छ र के के कुराले उसलाई उराठ लगाउँछन् त्यस्ता कुरा उसका चिठीबाट थाहा पाइन्थे । यीदेखि बाहेक उसको संलग्नतामा भएका अरू शैक्षिक र सामाजिक कार्यक्रमहरूको वर्णन हुन्थ्यो । समग्रमा एउटा विकसित देशकी शिक्षित युवतीले एउटा अविकसित देशका घटनाहरूका बारेमा गरेका वर्णन र विश्लेषण हुन्थे । आफू पनि एउटा अविकसित देशको नागरिक, विकास अर्थशास्त्रको विद्यार्थी र विकाससम्बन्धी नै काममा लागेको हुँदा ती कुरा मैले पनि जान्नु उपयोगी नै हुने देखेर चाख मानेर पढ्थें ।
रोजमेरीको पहिलो चिठी मैले त्यसै वर्षको अर्थात् २००१ को नोभेम्बर २६ मा पाएको थिएँ । उसले राजधानी पोर्ट मोस्र्बीबाट मडाङ जाने बेलामा आफ्नो इमेल ठेगाना मलाई दिई र मेरो स्थायी इमेल ठेगाना बन्नासाथ उसलाई जानकारी गराउन भनेकी थिई । नोभेम्बरको तेस्रो हप्तामा म सिम्बू प्रान्त जान भनेर पोर्ट मोस्र्बी छाड्नुभन्दा एक दिन अघि मेरो स्थायी इमेल ठेगाना पनि आयो । सिम्बूमा पुग्नेबित्तिकै घरमा चिठी लेख्ता उसलाई पनि लेखें । त्यसको जवाफमा उसले मलाई लेखेको चिठी नै उसबाट मैले पाएको पहिलो चिठी थियो । उसले त्यो चिठी लेख्ता ऊ त्यहाँ पुगेको दुई हप्ता भएको थियो । ऊ लेख्छे –
“हाई चन्द्र,
तिम्रो माउन्ट हागेन जाने कार्यक्रम केही ढिलो भएको कुरा थाहा पाएँ । माउन्ट हागेन नपुगे पनि त्यसको साटो पहिला सिम्बू पुगेछौ, खुशी लाग्यो ।
म बल्ल बल्ल अब यस ठाँउका बारेमा विस्तारै केही बुझ्न थालेकी छु ।
म तिमीहरूलाई भेट्न आउँछु तर कहिले हो त्यो निश्चित छैन । यहाँ गर्मी बढे पछि त्यहाँको चिसो हावा खान आउनुपर्ला ।
यदि तिमी र इयान कुनै बेला यो “ब्युटीफूल मडाङ” हेर्न आउन चाहन्छौ भने स्वागत छ । हिजो हामी केही साथीहरू मिलेर पिग आइल्याण्ड गएका थियौं । गोताखोरी खेल्यौं, खुब रमाइलो भयो । चिसो र सफा पानीमा डुबुल्की लगाउँदा कम मजा भएन ।
चिठी पठाएकोमा धेरै धेरै धन्यवाद !
रोजमेरी”
ऊ बसेको शहर मडाङ समुद्र सतहमा भएको हुँदा त्यहाँ गर्मी थियो । म र मेरो अर्को अस्ट्रेलियाली साथी इयान बसेको ठाउँ सिम्बू प्रान्तको राजधानी कुण्डिअवा पहाडी ठाउँ भएकाले शीतल थियो । त्यसैले समुद्र किनारातिर बस्ने विदेशीहरू गर्मीले उखरमाउलो भएका बेला पहाडतिर घुम्न आउँथे ।
रोजमेरीले दोस्रो चिठी डिसेम्बर १० मा पठाई । ऊ भरखरै एउटा अर्को घरमा सरेकी थिई । त्यतिन्जेल अर्थात् ऊ मडाङ आइपुगेको एक महिना जति भने ऊ एउटा अस्थायी घरमा बसेकी थिई ।
ऊ लेख्छे –
“गएको हप्ताको बिदामा म घर सरें । म पपुआ न्यू गिनी बसुन्जेल अब यसै घरमा बस्छु जस्तो लागेको छ । तर नयाँ घर मेरो पहिलाको घरभन्दा सानो छ । घर सानो भए पनि यहाँको बार्दली भने राम्रो छ । सडक छेउमै भएकाले मोटरगाडी र बाटो हिँड्नेहरूको हल्ला सुनिन्छ । राती शीतल हुँदै गएपछि हुलका हुल मान्छे सडकमा निस्कन्छन् र निकै अबेरसम्म यताउति हल्लिरहेका हुन्छन् ।”
पपुआ न्यू गिनीमा तपाईं जुनै शहरमा जानुभयो भने पनि सडकमा जताततै थुप्रै मान्छे बिना काममा बसिरहेका देख्नुहुनेछ । तीमध्ये सबैभन्दा धेरै चाहिँ सत्र–अठार वर्षदेखि चौबीस–पच्चीस वर्षसम्मका ठिटाहरू देखिन्छन् भने बाँकी अरू उमेरका हुन्छन् । ती ठिटाहरू पढ्न पनि जाँदैनन्, कतै काममा लागेका पनि हुँदैनन्, आफ्नो खेतबारी खनजोत गर्न गाउँतिर पनि लाग्दैनन् ।
शहरमा ढुकेर बस्नु र मौका पाउनासाथ हुल बाँधेर चोरी, डकैती, बलात्कार, हत्या जस्ता अपराधमा लाग्नु तिनीहरूको काम हो । त्यस देशमा अपराधका घटना अत्यन्त धेरै हुन्छन् । ज्यान मार्न कुनै कारण चाहिँदैन । हत्यारा पकडाउ पनि पर्दैनन् । महिलाहरूको सामूहिक बलात्कार सधैँजसो भइरहन्छ । अपराधी समाउनु त कता हो कता पुलिसका हाकिमहरू महिलाहरूलाई किन एक्लोदुक्लो हिँड्नुप-यो भनेर उल्टै हपार्छन् । अपराधीहरूलाई जेल पठाउने दह्रो व्यवस्था छैन । पठाइहाले पनि कुनै न कुनै जुक्ति निकालेर अलि दिनपछि फेरि बाहिर आइपुग्छन् ।
त्यत्रा विधि मान्छे बिना काममा सहरका हरेक कुनामा बसिरहेका देख्ता सुरुसुरुमा जोसुकैलाई पनि छक्क पर्नु हुन्छ, बिस्तारै बानी पर्दै जान्छ । रोजमेरी यस देशमा एकदम नयाँ भएकीले उसलाई बेकामे मान्छेका हुल देख्ता अनौठो लागेछ । मलाई भने त्यो पचिसकेको छ ।
विषय बदलिन्छे –
“दुई वर्ष बसेर अस्ति शनिवार कसेन–परिवार घर गए । बसिरहेको ठाउँ छाडेर हिँडनुपर्दा जेन, ब्रायन र छोराहरूले अलिक नमीठो मानेका थिए । तर मेलबोर्नमा आफ्नो घरै जाने कुराले अर्कातिर खुशी पनि देखिन्थे । जेनले विश्वविद्यालय र यस शहरका बारेमा मलाई धेरै कुरा बुझाएर साँच्चै नै मद्दत गरेकी थिइन् ।”
पपुआ न्यू गिनी सन् १९७५ सम्म अस्ट्रेलियाको उपनिवेश थियो । त्यसैले अहिलेसम्म पनि त्यस देशमा भएका विदेशीहरूमा अस्ट्रेलियालीहरूको संख्या सबैभन्दा ठूलो छ । ठूल्ठूला बन्द–व्यापार उनीहरूकै हातमा छन् । विभिन्न सरकारी काममा, प्रोजेक्टमा, विश्वविद्यालयमा काम गर्ने विदेशीहरूमा धेरै जसो अस्ट्रेलियाली नै देखिन्छन् । उनीहरूको आउने–जाने क्रम चलिरहेको हुन्छ । रोजमेरी आई, जेन गई । पछि रोजमेरी जान्छे, अर्की आउँछे ।
त्यही चिठीमा अलिक तल लेख्छे –
“अस्ति शुक्रबार म करेन र उनका पति सोलोमोन आमोस अनि शेरिल मोरिआर्टीसँग पुराना लुगाफाटा बेच्ने पसल हेर्न गएँ । कुनै कुनै लुगा त एकदमै राम्रा थिए । मैले पनि एउटा टीशर्ट र एउटा कट्टू किनें ।”
पपुआ न्यू गिनीमा जीउमा अर्काका पुराना लुगा नपरेका कोही छैनन् । हुन त हाम्रामा पनि भर्खर जन्मेका केटाकेटीलाई सबैभन्दा पहिला अर्काका पुराना भोटा लगाइदिने चलन छ । तर त्यस देशमा स्थानीय मान्छेमध्ये सयमा पाँच दशजना बाहेक बाँकीले पुरानै कपडा किन्छन् । नयाँ लुगा किन्ने त विदेशीहरू मात्र हुँदा रहेछन् । विदेशीहरू पनि पपुआ न्यू गिनीबाट बाहिर घुम्न जाँदा आफूलाई चाहिने जति लुगाफाटा उतैबाट किनेर ल्याउँछन् । त्यसैले नयाँ लुगाका पसल धेरै छँदा पनि छैनन् ।
पुराना लुगा भने अस्ट्रेलियाबाट गाँठका गाँठ आउँदा रहेछन् । पपुआ न्यू गिनीयाहरूलाई अर्काको जुठो खानु र पुरानो लुगा लाउनु कुनै नौलो कुरो हुँदो रहेनछ ।
त्यसको एक हप्ता पछि रोजमेरीले तेस्रो चिठी पठाई । क्रिसमस आउन लागेको बेला भएकाले उनीहरू बाह्र जना गोरी महिलाहरूको समूह एउटा क्लबमा गएर रमाइलो गरेको कुरालाई मुख्य विषयवस्तु बनाएर लेखेकी थिई ।
लेख्छे –
“यहाँ मडाङमा भएका बेलायती स्वयंसेवक संस्थाका समन्वयकर्ताकी पत्नी स्यान्डी जेन्टिलीले मलाई फोन गरेकी थिइन् । त्यो रात मडाङ क्लबमा नाङ्गिने पनि कार्यक्रम छ रे । पहिला त पत्यारै लागेन, पपुआ न्यू गिनीमा पनि नाङ्गिने कार्यक्रम ? कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा भयो र म पनि जाने कुरा गरें । स्यान्डीसँग उनकी आमा पनि गइन् ।”
उसको चिठी पढ्दै जाँदा मेरो दिमागमा एउटा प्रश्न के तेर्छियो भने ल अरू त गए गए, स्यान्डीकी आमा बूढीलाई के हेर्न जानुपरेको त्यस्तो नाङ्गिने कार्यक्रम, त्यसमाथि कोसँग गएकी भन्दा आफ्नै अधवैंशे छोरी र उसका दौंतरीहरूसँग । त्यो स्यान्डी भन्नेलाई मैले चिन्नु त परै जाओस् देखेको पनि छैन, न त्यसकी आमालाई नै चिनेको छु । तर पनि तिनीहरू सँगसँगै गएको कुरा भने मलाई खट्क्यो ।
मडाङमा गोराहरू थुप्रै छन् । शहर साह्रै सुन्दर छ । समुद्र किनारमा छ । त्यो ठाउँ कुनै दिन जर्मनीको अधीनमा थियो । त्यसैले त्यहाँ जर्मन वंशका पनि छन्, अस्ट्रेलियाका पनि छन् र बेलायतका पनि छन् । क्लबमा जानेहरू खास गरी गोरागोरीहरू मात्रै हुन्छन् । अस्ट्रेलिया वा बेलायतमा नाङ्गिने क्लबहरू हुनु कुनै आश्चर्य लाग्दो कुरो होइन । उसको चिठी पढ्दा ती गोरागोरीहरूले पपुआ न्यू गिनीमा पनि त्यस्तो कार्यक्रम राखेर आफ्नो जात जनाउन खोजेका रहेछन् भन्ने बुझें ।
रोजमेरी लेख्छे –
“क्लबमा हामी ड्रिङ्क गर्दै उत्सुकतासाथ मञ्चतिर हेरिरहेका थियौं । पहिला एक ग्रुप मोडेलहरू मञ्चमा आए । तीमध्ये कुन कुन नाङ्गिदा रहेछन् भनेर हामीले एकटक हेरिरह्यौं । तिनीहरू गए । एकैछिनपछि एउटा ठिटो आयो र मञ्चमा भित्तापट्टि फर्केर दर्शकहरूलाई एकछिन चाक देखाएर गयो । उता नाङ्गिने भनेर बजारमा त्यत्रो ठूलो हल्लाखल्ला गरेर क्लबले धेरै मान्छे बटुलेर ल्याएको थियो, यता भने एउटा ठिटोले एकछिन चाक देखाएर खेल खत्तम ग-यो ।”
रोजमेरीको भनाइमा केही हेर्न नपुगेको असन्तुष्टि झल्किन्थ्यो । खासमा उसलाई चित्त बुझ्दो गरी के चाहिँ हेर्न नपुगेको हो दैव जानोस् ।
त्यसको तीन दिनपछि रोजमेरीले अर्को चिठी पठाई । यसमा भने लेखाइ धेरै थिएन । इन्डोनेसियासँग जोडिएको सेपिक प्रान्तको आइतापे भन्ने ठाउँका केही फोटाहरू स्क्यान गरेर पठाएकी रहिछे । फोटोमा पपुआ न्यू गिनीमा निकै प्रचलित शब्द “परम्परागत पोसाक” मा एकजना लोग्ने मान्छे र केही केटाकेटी थिए । त्यस देशको जुनसुकै प्रान्तमा जानोस् पुरुषको परम्परागत पोसाक भनेको माथिल्लो भागमा केही लुगा नलगाउने, तल्लो भागमा कुनै कुनै प्रान्तमा रूखका बोक्राको कछाड जस्तो लगाउने, कतै त्यस्तो कछाड नलगाएर पातहरू भिर्ने, टाउकोमा जनावरका छाला, हड्डी, दाँत, प्वाँखले बनाएको टोपी अनि पाखुरा, नाडी, तिघ्रा, पिंडौला आदिमा डोरी बाँधेर थरीथरीका पात सिउरिने गरेको बुझिन्छ ।
क्रिसमसको पर्सिपल्ट अर्थात् डिसेम्बर सत्ताईसमा रोजमेरीले अर्को चिठी लेखी । त्यसमा क्रिसमसका बारेमा वर्णन थियो । लेख्छे –
“हामी बीस जना जति करेन र टेरी अमोसका घरमा भेला भयौं । हामी सबैले केही न केही खानेकुरा ल्याएका थियौं । सबैले बाँडीचुँडी खायौं । हामीले कुखुराका साँप्रा, चप, ससेज, आलु, फर्सी, केराउको तरकारी र फलफूल खायौं । तीन थरीका केक पनि थिए । रमाइलो गरी दिन बिताइयो । खाना त्यहीं खाइसकिएकै थियो, राति घरमा गएर पकाउने झन्झट गर्नुपरेन ।”
रोजमेरी मोटी छ तर खान भने ऊ पछि पर्दिन । चकलेट होस् कि आइसक्रिम होस् उसलाई चाहिन्छ । एकदिन कुराको प्रसङ्गमा उसले आफ्ना बाबुलाई पचास वर्षको उमेरमै मुटुको रोग लागेको कुरा सुनाउँदा मैले भनेको थिएँ, “तिमीले पनि खानपान घटाइनौ भने बाबुलाई मात्र होइन छोरीलाई पनि मुटुको रोग हुने निश्चित छ ।”
त्यही चिठीमा अलि तल लेख्छे –
“अस्तिको चिठीमा मैले लेखेकी थिएँ नि, मानुसबाट बिएल परिवार क्रिसमसमा आउँछन् भनेर । बिचराहरू छत्तीस घण्टा लगाएर आएछन् । समुद्रमा आँधी आएछ र चट्याङ पनि परेछ । चारचार जना लालाबाला च्यापेर बडो दुःख पाएर भए पनि आइ त पुगेछन् । जाँदा खेरि हवाईजहाजबाट जाने भएका छन् । अब डुङ्गाबाट जान त काबु ।”
अघिल्लो चिठीमा उसले ती बिएल परिवार मानुस प्रान्तबाट एक रातभरि डुङ्गा चढेर आइपुग्ने कुरा लेखेकी थिई । बिचराहरूलाई तीन गुना बढी समय लागेछ, आँधीले गर्दा । पपुआ न्यू गिनीमा सडक धेरै छैनन् । सडकले गल्फ नाउँको एउटा मात्र प्रान्तलाई राजधानीसँग जोडेको छ । बाँकी अठारवटा प्रान्त जानलाई हवाइजहाज चढ्नु पर्छ । कुनै कुनैमा चाहिँ हवाइजहाजदेखि बाहेक डुङ्गाबाट पनि जान सकिन्छ । जे होस् हवाइजहाज भने सबै प्रान्तमा पुगेका छन् । एयर न्यू गिनीका ठूल्ठूला जहाजहरू जताततै ओहोरदोहोर गरिरहेका देखिन्छन् ।
नयाँ वर्ष २००२ लाग्यो । वर्षको पहिलो हप्तामा लेखेको चिठीमा भन्छे, –
“चाडपर्व सकिए, म जनवरी दुई तारिखदेखि नै काममा जान थालें । पानी परिरहन्छ । बाहिर खुला ठाँउमा लुगा सुकाउन सकिँदैन । वरन्डामा अलिकति पनि ठाउँ खाली नछाडिकन लुगा सुकाउँदा मेरो घर कुनै चिनीयाँ धोबीको पसल जस्तो देखिन्छ ।”
त्यसैमा अलि तल लेख्छे –
“हिजोआज भ्यागुता खुब कराउँछन् । पानी पर्न थालेपछि सबै निस्कँदा रहेछन् र कराउन थाल्दा रहेछन् । कस्तरी कराउँछन् भने रेडियो वा अरू कुनै संगीत सुनिरहनुभएको छ भने सुन्नै दिँदैनन् । बिचराहरू कुन खेत हो, कुन सडक हो चिन्दा रहेनछन् – सडकमा ढसमस्स बसिदिन्छन् र मोटरको किचाइमा परेर कत्ति त अकालमै मर्छन् ।”
रोजमेरीको लेखाइले मलाई एक छिनका लागि धेरै वर्ष अघिको विराटनगर पु-याउँछ । विराटनगर वडा नं. १५ नहरपारि अहिले निकै सुविधासम्पन्न ठाउँ भएको छ, विकसित भएको छ । दुई हजार बत्तीस तेत्तीस सालमा नगर क्षेत्रमा गाभिनुभन्दा पहिला त्यो ठाँउ बखरी गाउँ पञ्चायतभित्र पर्थ्यो । खेतैखेत थियो, थोरै घरहरू थिए । हाम्रो घर झन्डै झन्डै अन्तिमतिर पर्दथ्यो । बिजुली थिएन, हामीले देउसी खेलेर केही पैसा भेला पारी सडकमा बत्ती हाल्यौं, खानेपानीले पानी बाँडेको थिएन । नहरमा पक्की पुल थिएन, काठे पुल थियो । सडक कच्ची थियो । बर्खामा कहिलेकाँही बाटो पूरै डुबेको हुन्थ्यो, कहाँ बाटो छ, कहाँ दुईपट्टिका गहिरा खाडल छन् छुट्याउन गाह्रो पर्थ्यो । जुत्तामोजा मात्र होइन, लुगा पूरै खोलेर तर्नुपर्थ्यो । ती दिनमा रातभरि दिनभरि एकछिन नबिराई भ्यागुता ट्वारट्वार्ती कराउँथे । त्यस ठाउँमा अहिले बस्ने नयाँ मान्छेले यी कुरा सुन्दा पत्याउन गाह्रो हुन्छ ।
त्यसको एक हप्तामा अर्को चिठी पठाई । ऊ लेख्छे –
“अघिल्लो हप्ता बिएल परिवार यहीं थिए, मानुस फर्किसकेका थिएनन् । मंगलबारको दिन उनीहरूसँग म मडाङ पछिल्तिरको एउटा पहाड चढ्न गएँ । त्यहाँ पुतली बस्ने एउटा पार्क रहेछ, खासमा हामी त्यही हेर्न गएका थियौं । बिहान पानी परेको भए पनि हामी हिँड्ने बेलामा थामिइसकेको थियो । बिएल परिवारले एउटा टोयोटा फोर ह्वील ड्राइभ युटिलिटी गाडी भाडामा लिएको थियो । हामीले पर्यटन सूचना केन्द्रबाट एड्रियन नाउँको एक जना गाइड लियौं । पिच बाटोबाट जाउन्जेल त यात्रा ठीकै भयो, अलि पर पुगेपछि चिप्लो हिले बाटोमा मोटर उकालो–ओरालो गर्न लाग्दा र ठाउँ ठाउँमा खोला तर्दा भने खुब मजा आयो । त्यहाँ फोर ह्वील ड्राइभ गाडी त नभई नहुने रहेछ । पहिला त्यो सानो पहाडको टुप्पामा पुग्यौं । त्यसपछि आधा घण्टा जति गाडी हिलोमा चिप्लेटी खेल्दै पहाडबाट पल्लापट्टीको ओरालो लागेपछि हामी पुतली पार्क पुग्यौं ।”
“तर पुतली हामी आउँदैछौं भनेर पर्खेर बसेका थिए र ? उनीहरूको दर्शन पाउन अझै तल बेसींतिर झर्नुपर्ने रहेछ । ओरालो र चिप्लो बाटो हुँदा गाडी लगेनौं, त्यहीँ छाडिदियौं र हिँडेरै ओरालो लाग्यौं । हिले बाटोमा चिप्लिँदै तल झर्दा सबैभन्दा पहिला पछारिने म नै भएँ । लुगा भरि हिलैहिलो भयो । अनि चप्पल खोलेर खालि खुट्टा हिँडें । त्यस्तो चिप्लो बाटोबाट हामी खालि खुट्टा हिँडिरहेको देखेर गाउँलेहरूले रूखका हाँगा काटेर हाम्रा लागि लठ्ठी बनाइदिए ।”
एउटी शिक्षित र सम्पन्न अस्ट्रेलियाली युवतीलाई यसअघि जीवनमा कुनै दिन खालि खुट्टा हिँड्नुपरेको अनुभव थियो कि थिएन मलाई थाहा छैन । मलाई के चाहिँ राम्रो गरी थाहा छ भने आधाजसो नेपाली दाजुभाइ दिदीबहिनीका खुट्टामा जीवनमा कुनै दिन जुत्ता चप्पल परेका छैनन् । नेपालमा पहाडतिर चाहे पूर्वमा होस् चाहे पश्चिममा होस् पैदल हिँडदा देखिने भरियाहरू मेरा दिमागमा नाच्न थाले । दिनैपिच्छे गह्रौं भारीले थिच्ता थिच्ता तिनीहरूका खुट्टाका पन्जा फैलिएर फ्यात्त परेका हुन्छन्, कुर्कुच्चा पट्पटी फुटेर हेरिनसक्नु भएका हुन्छन्, पैतालाको छाला मरेर गोरुको काँधजस्तो भएको हुन्छ ।
दुई हजार बयालीस सालमा नेपालका नीति बनाउनेहरूले पन्ध्र वर्ष भित्रमा सबै नेपालीका आधारभूत आवश्यकता पूरा गरिने कुरा ल्याए । राजालाई नै यो कुरा बोल्न लगाए । खानेकुरा, लुगाफाटो, शिक्षादीक्षा, औषधीमूलो, घरघडेरी र सुरक्षाका कुरा गरिए । योजना गर्नेहरूले पन्ध्र वर्षभित्र नेपाली जनतालाई नभई नहुने कुरा के–के हुन् र कति–कति हुन् त्योसमेत किटान गरे । त्यहाँ वर्षमा जनही एघार मिटर कपडा र एकजोर चप्पल पनि पारेका थिए । आज अठार वर्ष भयो, व्यवस्था फेरियो, सरकार कति चोटि फेरिए, पञ्चवर्षीय योजनाहरू कति बने तर अघिल्लो कुनै पनि पुस्ताले जुत्ता चप्पल लाउन नपाएका आधासरो नेपालीका खुट्टामा कुनै योजनाले पनि एक जोर चप्पल पारिदिन सकेनन् । त्यही कार्यक्रमअन्तरगत पन्ध्र वर्षभित्रमा दिनहुँ बाईस सय क्यालोरी बराबरको खाना सबै नेपालीलाई खुवाइने डिङ हाँकियो, व्यवहारमा बाईस गेडा मकै भटमास सबैका मुखमा पर्ने कुनै उपाय निस्केन । भोको पेट सुत्ने नेपाली घटेका छैनन्, बढेकै छन् । सुरक्षाकै कुरा गर्ने हो भने यी अठार वर्षभित्र एउटा नेपालीदेखि अर्को नेपाली यति असुरक्षित हुनु परेको छ कि भनी साध्य छैन । इतिहासको कुनै कालखण्डमा पनि नेपालभित्र यस्तो खालको पीडा अनुभव गरिएको थिएन ।
बेलायत अमेरिकाका डिग्री झुन्ड्याएर गमक्क पर्दा मात्रै सर्वज्ञ भइने होइन । योजना बनाउने ठाउँमा ठूलो कुर्सी पाउँदैमा एकैचोटि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सिद्ध अनुभवी ज्ञाता बनिने पनि होइन । ठूला पद ओगट्नेहरूले आफ्नो देशको यथार्थ अवस्था कस्तो छ भन्ने कुरा पहिला बुझ्नुपर्छ । यो त्यत्तिकै बुझिँदैन, नेपाल बुझ्नका लागि पूर्व पश्चिम, उत्तर दक्षिण, हिमाल–पहाड–तराईका कुना काप्चामा पुग्नुपर्छ, जनजीवनमा भिज्ने कोसिस गर्नुपर्छ । मुटुमा साँच्चै नै देशको माया नभएसम्म यो गर्न सकिँदैन । हेरेर, देखेर, पढेर, सुनेर, बुझेर अनुभव बटुल्नुपर्छ । त्यसरी बटुलेको अनुभवलाई देश–विदेशमा पढेका सैद्धान्तिक कुराहरूसँग जोडेर निकाल्नुपर्छ निष्कर्ष, अनि बल्ल केही हुन सक्छ । नेपाली जनताका समस्या समाधान गर्न नेपाली जनताकै आँखाबाट हेर्नुपर्छ । अरू देशका कुरा ल्याएर जस्ताको तस्तै लागू गर्न खोज्ने मूर्ख विद्वान भन्दा आफ्नो गाउँदेखि पर्तिर कतै ननिस्केको एउटा अबुझ गाउँले हुनु नै जाति किनभने त्यसले अरबौं रुपियाँका खोस्टे योजना बनाएर देशको ढिकुटी रित्याउने बुद्धि दिन त जान्दैन ।
पुतली पार्कमा पुगेपछिको अनुभवबारे रोजमेरी लेख्छे –
“त्यो वन्यजन्तु आरक्षभित्र भएका बोटविरुवाबाट पुतलीले राम्रा खानेकुरा पाउँदा रहेछन् र त्यहाँ उनीहरूले वंशवृद्धि गर्दा रहेछन् । त्यो आरक्ष त्यस्तै खाले बोटविरुवाहरूले भरिएको रहेछ । त्यहाँ एक दुई थरि र रङका मात्र पुतली थिए र ? सहस्र खालका थिए । हामी ध्यान दिएर हेर्न थाल्यौं ।”
ऊ लेख्तै जान्छे –
“तर एक ठाउँमा उभिएर पुतली हेर्न मच्छरले दिए पो ! त्यो ठाउँ त पुतलीको मात्र होइन मच्छरको पनि राज्य रहेछ । मास्तिर गयो भने जाडोले मर्ने हुँदा त्यो खोंचको न्यानो ठाँउमा गोलाका गोला मच्छर रमाएर बस्ने गरेका रहेछन् । मच्छरको टोकाइले गर्दा धेरै बेर बस्नै पाइएन । एकै छिनपछि फेरि लाग्नुप-यो उकालोतिरै । उकालो हिँड्दा हिँड्दा मेरो जीउबाट पसिनाको खोलै बग्यो । मोटर भएका ठाउँमा आइपुगेपछि बल्ल चिप्लो बाटोमा लड्दै र पड्दै हिँड्ने दुःखबाट मैले छुटकारा पाएँ ।”
ऊ अलि तल लेख्छे –
“त्यसपछि हामी गन्धेपानी (स्मेली वाटर) हेर्न गयौं । त्यहीँको पहाडबाट मूल फुटेका दुइटा स–साना खोला तलतिर लागेका भेटिए । एउटा खोलामा सल्फर मिसिएको कुहिएका अन्डा–जस्तो गन्हाउने पानी रहेछ र अर्कोमा सफा पानी थियो । त्यो गन्धे पानीमा भ्यागुता र माछा रमाएर बसेका थिए ।”
“त्यस दिनको हाम्रो भ्रमण अझै सकिएको थिएन । त्यसपछि बिलबिल भन्ने गाउँमा माटाका भाँडा बनाउँछन् भन्ने सुनिएको थियो, त्यो हेर्न गयौं । एउटी आइमाईले भाँडा बनाउन सुरु गर्न लागेकी रहिछे । आज सुरु गरेका भाँडा तयार भएर निस्कन तीन हप्ता लाग्छ रे ।”
त्यस दिनको उसको लेखाइ अझ सकिएको छैन । ऊ प्रसङ्ग बदल्दै लेख्छे –
“त्यो हप्तामा अरू केही भएन भन्दा कोरल रिफ बारेमा एउटा प्रवचन कार्यक्रम सुन्न र हेर्न गइयो । कोरल रिफको खोजी गर्न आएका एक जना विद्वान्ले स्लाइडहरू देखाए, रमाइलो भयो ।”
रोजमेरीले कोरल रिफको बारेमा त्यो लेख्तासम्म मलाई त्यो कुन जन्तुको नाउँ हो थाहा थिएन । पछि पपुआ न्यू गिनीका समुद्र किनारका ठाँउहरू घुम्न जाँदा कोरल भनेको स–साना गिर्खा मिलेर बनेका एक प्रकारका कमला ढुङ्गा हुन् भन्नेसम्म थाहा भयो । आफूलाई त्यस विषयमा उत्ति चासो नलागेकाले मैले बुझ्ने कोसिस नै गरिनँ । एउटा कुरा के चाहिँ पक्का हो भने पपुआ न्यू गिनी सामुद्रिक सम्पदाका हिसाबले संसारमै धनी छ । त्यस विषयमा चासो हुने मान्छे संसारभरिबाट आइपुगेका हुन्छन् ।
त्यसको नौ दिनपछि रोजमेरीले अर्को चिठी पठाई । त्यो बेलासम्ममा उसका चिठी हप्ता नकटाई आउन थालिसकेका थिए । त्यो चिठी दुई दिन ढिलो गरी पठाउनुपर्दा उसलाई अप्ठ्यारो लागेछ, इमेलमा चिठीको “विषय” लेख्नुपर्ने ठाँउमा नै लेख्छे, “सधैंभन्दा अलिकति ढिलो” । उसले हामीलाई हप्ता–हप्तामा चिठी पठाउने कुनै वाचा गरेकी त थिइन तर पनि दुई दिन ढिलो भएकोमा उसलाई अलिक कस्तो कस्तो लागेछ । लेख्छे –
“म भन्दै थिएँ नि विद्यार्थीहरू आउन थालेपछि हामी धेरै व्यस्त हुनुपर्छ भनेर, साँच्चै नै त्यस्तै भयो । विद्यार्थीहरू भर्ना हुन आए, काम नभ्याइएकोले लेखा शाखा बिदाका दिनमा पनि खोल्नुप-यो ।”
रोजमेरी नोभेम्बरमा त्यस ठाँउमा गएकी हुँदा त्यतिबेला क्याम्पस छुट्टी थियो । उसले त्यहाँका विद्यार्थी देख्नै पाएकी थिइन । एकैचोटि अहिले विद्यार्थीहरू भर्ना हुन आउँदा देखी ।
ऊ फन्डरेजिङ अफिसर भएकी हुनाले उसको काम लेखा शाखासँग पनि पर्दथ्यो । त्यसैले यो चिठीमा लेखा शाखामा काम गर्ने मान्छेहरूका बारेमा धेरै कुरा छन् । लेख्छे –
“लेखा शाखा हेर्ने उपसभापति एक जना महिला छिन् । साठी वर्ष जतिकी भए पनि उनी निकै दह्री छिन् । पहिला आफ्नै व्यापार गरेर बसेकी थिइन् रे । हाल अस्ट्रेलियाबाट स्वयंसेवा गर्न आएकी हुन् । सभापतिले भने लेखाबारे त्यति नबुझेका हुँदा उनीहरूका बीचमा बेलाबेलामा परिरहन्छ । दुइटै आगै आगो छन् ।”
नेपालमा पनि कतै हाकिम र लेखा बीच गाँड–कोराकोर देखिन्थ्यो । त्यो रोग यहाँ पनि रहेछ भन्नुप-यो ।
ऊ लेख्तै जान्छे –
“त्यसपछि लेखा शाखामा अरू कोको छन् भने म्यागी र रोज । म्यागी उत्तरी सोलोमोन प्रान्तकी भएकी हुँदा त्यहाँका अरू जस्तै एकदम काली छन् । उनी सामुदायिक क्लबमा सक्रिय भएर खेल्छिन् ।”
पपुआ न्यू गिनीका टापु प्रान्तहरू दशतिर छरिएका छन्, हाँडीमा मकै भुट्ता उछिट्टिएका फूलजस्ता । उन्नाईसवटा प्रान्तमध्येको एउटा प्रान्त उत्तरी सोलोमोन प्रान्त सोलोमोन आइल्याण्ड भन्ने एउटा छुट्टै देशका नजिकमा छ । त्यसैले त्यस प्रान्तका धेरै कुरा सोलोमोन आइल्याण्ड देशकासँग मिल्छन् । “बोगनभिल” नाउँबाट समेत परिचित त्यस प्रान्तमा ठूलो सुनखानी छ । पपुआ न्यू गिनीको मुख्य भूमिबाट निकै टाढा रहेकाले त्यस प्रान्तबाट आफ्नै देशको राजधानी आवतजावत गर्न पनि विदेश जानभन्दा धेरै टाढा पर्दछ । त्यो कुरा देखाएर र आफूसँग ठूलठूला खानीहरू रहेको कुरा बुझेर त्यो प्रान्त पपुआ न्यू गिनीबाट छुट्टिन खोजिरहेछ । छुट्टिन खोज्नेहरू र सरकारी सेनाबीच बेलाबेलामा लडाइँ चलिरहन्छ ।
पपुआ न्यू गिनी धेरैजसो प्रान्तका आइमाई हेर्नमा सुन्दर छैनन् । कतैकतैका त एकदमै कुरूप नै हुन्छन् । तिनीहरूको गठरिएको जिउ र लोग्नेमान्छेकाजस्ता दाह्री–जुँघा हुँदा एकदमै नराम्रा देखिन्छन् । अरूका अघिल्तिर उत्तरी सोलोमोन प्रान्तका आइमाई भने मलाई सुन्दर लागे । पहिलो कुरा, तिनीहरू अन्तका जस्ता दाह्री–जुँघा भएका हुँदैनन् । उनीहरूको जीउडाल आइमाइकै जस्तो हुन्छ । अर्को कुरा, यो प्रान्तका मान्छे एकदमै काला–भिन्नै खालको चिल्लो कालो रङका छन् । एकदमै कालो र टल्किने छालाले गर्दा आइमाईहरू राम्रा देखिन्छन् । त्यस प्रान्तका मान्छे यति काला छन् कि अँधेरी रातमा तिनीहरू अँध्यारोमै बिलाउँछन्, देखिँदैनन् । मुस्कुराए भने सेता दाँत देखेर मात्र त्यहाँ मान्छे उभिएको कुरा थाहा हुन्छ ।
त्यस चिठीमा लेखा शाखामा काम गर्ने अरू पनि केही सहकर्मीहरूको छोटो परिचय दिइसकेपछि ऊ अब आफ्नो दोस्रो काम अर्थात् पढाउने कामका बारेमा लेख्छे –
“मेरो पहिलो क्लास आज बिहान आठ बजेदेखि सुरु हुने थियो । के भयो भने एउटा मात्र विद्यार्थी आयो, त्यो पनि दश मिनेट ढिलो गरी । त्यो एउटा मात्रलाई के पढाउनु ? आधा घण्टा जति गफ गरेर बितायौं । भोलि बिहान साढे दश बजे मेरो दोस्रो कक्षा छ, हेरौं कति आउने हुन् ।”
पपुआ न्यू गिनीमा समयको कुनै महत्त्व छैन भन्दा पनि हुन्छ । प्रान्ततिर अफिसमा कुनै बैठक राख्नोस् भनेको बेलामा कोही आउँदैनन् । सरकारी अफिसमा हाजिर गर्ने चलन देखिएन । हाजिर गर्न भनेर कतै–कतै एउटा पाना राखिएकोसम्म देखियो, तर त्यसमा सबैले हाजिर गर्ने गर्दा रहेनछन् । को आउँछन्, को आउँदैनन् कसैले लेखो राखेको पनि थाहा पाइएन । उनीहरूको आफ्नो जात र वंशसम्म यति बलियो सम्बन्ध हुन्छ कि त्यसका अघिल्तिर अरू सबै कुरा मामुली हुन्छन् । आफ्नो जातको कोही म-यो भने कति दिनसम्म अफिस आउँदैनन् । घर बिदा, बिरामी बिदा, भैपरि बिदा केही लिएको पनि देखिँदैन । दुई दुई हप्तामा तलब भने सबैले पाएकै हुन्छन् ।
यिनीहरूको भनेको बेलामा नआउने रोगले सुरुसुरुमा मलाई निकै दिक्क लगायो । कुनैले शनिवार बिहान आई मलाई लिएर आफ्नो गाउँ घुमाउन लैजाने कुरा गर्थे । साथी आउलान् भनेर पर्खिँदा पर्खिँदा दिन बित्थ्यो, साथीको अत्तोपत्तो छैन, अन्त जाने समय पनि भिड्किन्थ्यो । भोलिपल्ट भेट्ता त्यस बारेमा कुनै कुरा उठाउँदैनन्, यो उनीहरूका लागि सामान्य कुरा हो । आफू नआएको र पर्खाएकोमा कुनै क्षमा माग्ने चलन पनि छैन ।
हाम्रो नेपालमा पनि सार्वजनिक कार्यक्रमहरूमा समयको उत्ति महत्त्व राख्ने गरेको देखिँदैन । खास गरी ठूलाबडाहरूले चलन बिगार्ने गरेका छन् । कुनै सभा समारोहमा ठीक समयमा पुग्नुभन्दा ढिलो गरी पुगेमा आफू ठूलो भएको ठान्छन् । दुई तीन वर्षअघि काठमाडौंमा भएको एउटा समारोहमा प्रमुख अतिथिको बाटो हेर्दा–हेर्दा आँखा टट्याएपछि आयोजकहरूले बाटोमा बदाम बेच्तै हिँडेको एउटा केटालाई ल्याएर प्रमुख अतिथि बनाई सभा सुरु गरेको निकै बेरपछि मात्र प्रमुख अतिथि आइपुगेका थिए रे । नेपालमा अरूले पनि त्यस्तो गर्नु पर्दछ अनि ठूलाबडा भनाउँदाहरू लाजगालले भए पनि समयमा आउँथे कि !
ऊ लेख्छे –
“मैले हप्तामा पाँच घण्टा पढाउने विचार गरेकी छु । यसबाट यी तन्नेरी गाउँले विद्यार्थीहरूसँग नजिकिन पाइने हुँदा उनीहरूको जीवन बारेमा बुझ्न सक्नेछु । यस कुराले म निकै खुशी छु । यी पाँच घण्टादेखि बाहेकको अरू समयमा मेरो फन्डरेजिङको काम त छँदैछ ।”
त्यसको एक हप्तापछि अर्थात् जनवरी २८ मा फेरि लेखी –
“गएको शनिवार अस्ट्रेलिया दिवस थियो । त्यो दिन पारेर मडाङ क्लबले एउटा विशेष कार्यक्रम राख्यो, प्राउन खाने कार्यक्रम । जनही प–पन्ध्र किना तिरेर त्यहाँ भित्र पसेपछि आफूले सकुन्जेल प्राउन खान पाइने थियो ।”
समुद्र भएका अरू देशजस्तै पपुआ न्यू गिनीका समुद्रमा पनि प्रशस्त माछा, प्राउन र अरू समुद्री खानेकुरा पाइन्छन् । नेपाललाई चारैतिर जमिनले घेरेको हुँदा समुद्रका बारेमा हामीलाई धेरै थाहा छैन । “भूपरिवेष्ठित” भन्ने शब्द नेपालमा निकै चल्तीमा छ । झट्ट हेर्दा त्यस शब्दले कुनै देश जमिनै जमिनले घेरिएको भन्ने अर्थ दिएर समुद्र नहुँदा समुद्री बाटोबाट मालसामान ओसार–पसार गर्न नपाइने कुरातिर ध्यान मोडिदिन्छ । भारतले पारवहन सन्धि नवीकरण गर्ने बेला जहिले पनि अनेक किचोला निकालेर कहिले नाका बन्द गरिदिन्छ र हवाइजहाजबाट पेट्रोल ओसारेर पनि देश चलाउन बाध्य पारिदिन्छ । त्यस कारण समुद्र हुने देशले समुद्री बाटोबाट सजिलो गरी र सस्तोमा मालसामान ओसार–पसार गर्न पाउने कुरालाई मात्र हामी ठूलो कुरा ठान्छौं किनभने हामीलाई त्यो समस्याले पिरोलेको छ । तर त्यति मात्र कहाँ हो रहेछ र ! रोप्तै नरोपी, छर्दै नछरी, गोड्दै नगोडी, गोरुको पुच्छर निमोठ्तै दाँई नै नगरी केही खान पाइन्छ भने त्यो हो समुद्री खानेकुरा । समुद्र भएपछि खानेकुराको त केही दुःखै पर्दो रहेनछ ।
अस्ट्रेलिया दिवसको कार्यक्रम बारेमा रोजमेरी लेख्छे –
“क्लबको एउटा कोठाको कुनामा पकाएको प्राउन राखिएको थियो । केही थरिका ससहरू थिए सँगसँगै । सबैले के गर्थे भने प्राउनको खोल फाल्यो, ससमा च्वाप्प च्योब्यो अनि क्वाप्प मुखमा हाल्यो ।”
लेख्तै जान्छे –
“त्यहाँ जुवाको एउटा खेल पनि थियो । मान्छेहरू पैसा थापेर खेलिरहेका थिए । एक जनाले त एक चोटिमा पाँचसय किनासम्म थापेको पनि देखें । त्यति पैसा त झन्डै झन्डै मेरो यहाँको फोर्टनाइट्ली (आधा महिनाको) आम्दानी हो ।”
ऊ दुई वर्षका लागि यहाँ आउनुभन्दा पहिला अस्ट्रेलियामा एउटा अस्पतालमा काम गर्थी । उसको राम्रो आम्दानी भएको जागिर थियो । त्यसैबाट उसले घर किनेकी छे । तर के लहड चलेर हो त्यो जागिर छाडेर ऊ निकै थोरै पैसा पाइने स्वयंसेवक काममा आएकी छे । दुई वर्षसम्म घर पनि नजाने कुरो थियो तर उसको भाइको बिहे भएकाले बीचमा एक चोटि तीन चार दिनका लागि गई । अलिअलि पैसा जोगाउन सकी भने पपुआ न्यू गिनीकै ठाउँहरू घुम्ने उसको विचार छ ।
“फोर्टनाइटली” भन्ने शब्दले पपुआ न्यू गिनीमा “तलब” भन्ने अर्थ दिन्छ । नेपालमा जस्तो यहाँ महिनाबारी तलब पाउँदैनन्, दुई–दुई हप्ताको अन्त्यमा पाउँछन् । वर्षमा छब्बीसवटा शुक्रवार तलब थाप्छन् । सरकारी कर्मचारीले तलब थापेको अर्को हप्ताको शुक्रवार निजी क्षेत्रका कम्पनीहरूमा काम गर्नेहरूले तलब थाप्छन्, अनि त्यसको हप्ता दिनपछि फेरि सरकारी कर्मचारीले तलब पाउँछन् ।
अर्को चिठी भने अलिक ढिलो गरी पठाई, बीस दिनपछि । त्यसमा बिजुली चम्केर आकाश बेसरी गर्जेको, मुसलधारे पानी परेको कुरालाई मुख्य विषयवस्तु बनाएकी छे ।
मलाई पठाएको त्यो दशौं चिठीमा ऊ लेख्छे –
“गएको दुई तीन महिनादेखि जीवन जसरी चलिरहेको थियो अहिले पनि त्यसरी नै चलेको छ । कति भने हप्ताको अन्त्यमा शुक्रवार वा शनिवार राति म कहाँ जान्छु खालि त्यति मात्र फरक हुन्छ ।”
पश्चिमा संस्कृतिका मान्छे हरेक हप्ताको अन्त्यमा भेटघाट, नाचगान, भोजभतेर नगरी बस्न सक्तैनन् । यस्तोमा धेरै पैसा लाग्ने पनि होइन । रमाइलो गर्न पैसाभन्दा पनि चाखको कुरो ठूलो हुँदो रहेछ । कस्तै नहुनेले पनि आफ्नो आम्दानीको केही भागबाट यस्तो रमाइलो गर्न सक्छन् । मडाङमा अस्ट्रेलियाली र युरोपीयहरू धेरै वर्ष अगाडिदेखि बस्तै आएका हुँदा रमाइलो गर्ने ठाउँ पनि त्यहाँ धेरै छन् ।
लेख्छे –
“अस्तिको शुक्रवारको रात त साँच्चै नै गजबकै रात भयो । मडाङ कम्युनिटी क्लबले भ्यालेन्टाइन पार्टीको आयोजन गरेको थियो । पहिला मेरी हाकिम्नी भालकोमा हामी नौजना भेला भएर अलिअलि जीन र टनिक चढायौं । रातको खाना खान भने त्यो क्लबमा जाने कार्यक्रम थियो । त्यहाँबाट क्लबमा जान निस्कन आँटेका मात्रै के थियौं ठूलो आँधीबेहरी आयो र बिजुली चम्किन थाल्यो । आँधी कस्तो थियो भने मान्छे नै उडाउला जस्तो । पूरै शहरलाई झलमल्ल पारेर बिजुली चम्किन्थ्यो । बिजुली चम्केपछि आकाश त गर्जिने नै भयो । आकाश कस्तरी गर्जिन थाल्यो भने हुलका हुल सिपाहीले एकैचोटी बन्दुक पड्काएको जस्तो लाग्थ्यो । त्यसपछि मुसलधारे पानी पर्न थाल्यो । निकै बेरपछि अलिकति मत्थर हुनेबित्तिकै हामी निस्क्यौं । जेनले गाडी हाँकेकी थिइन् । बाटोबाट पानीको खोलै बगेको हुँदा ठाँउ–ठाउँमा हामी बाटो नै खुट्याउन सक्तैनथ्यौं । पपुआ न्यू गिनीमा धेरै वर्ष बसिसकेकाहरूले पनि त्यत्रो आँधी आएको र बिजुली चम्केको पहिला कहिल्यै देखेका थिएनन् रे । धन्न आँधी समुद्रतिर फर्किएर आएको हुँदा समुद्र उचालिएर शहरतिर पसेन ।”
समुद्रका धेरै फाइदा भएजस्तै बेफाइदा पनि छन् । ठूलो आँधीबेहरीले किनाराका शहर, गाउँ–बस्ती कति ध्वस्त हुन्छन् कति । रोजमेरी प्रसङ्ग बदल्दै लेख्छे –
“जसैतसै क्लबमा पुग्यौं । खानेकुरा सँगसँगै एउटा कलाकारले गीत गाएर सुनाए । ती कलाकारले राम्रैसँग गाए । ती स्थानीय लोकप्रिय कलाकारमध्येकै रहेछन् ।”
त्यही चिठीमा अलि तल लेख्छे –
“त्यो रात मलाई एउटा कुराको फाइदा भयो । मेरा बुबाआमा दुई तीन महिनापछि आउँदै हुनुहुन्छ भन्ने कुरा त तपार्इंहरूलाई थाहै छ । त्यो पार्टीमा मेरीटाइम (समुद्रसम्बन्धी) कलेज–मा काम गर्ने एक जनासँग भेट भयो । उनले बुबाआमालाई पौडी खेल्न र माछा मार्न लैजाने भएका छन् । त्यहीं भेट भएका अर्का एक जोडी त्यो बेलातिर अन्त कतै जाने भएका हुँदा उनीहरूले भने बुबाआमालाई आफ्नो घरमा सित्तैमा बस्न दिने भएका छन् ।”
रोजमेरीका बाबुआमा अस्ट्रेलियाबाट त्यहाँ आएर चुपचाप लागेर घरभित्रै खाएर मात्रै बस्ने कुरा भएन, घुमफिर रमाइलो गर्न जानै प-यो । भरखर साठी वर्ष जतिका भएका होलान्, अनि बाबुआमाका लागि माछा मार्न जाने, समुद्रमा पौडी खेल्न जाने कार्यक्रम बनाई उसले ।
ठाउँ ठाउँमा मान्छेका थरीथरीका चलन । हाम्रातिर भए साठी पैंसठ्ठी वर्षका वृद्धवृद्धा केको पौडी खेल्न जानु, केको माछा मार्न जानु ! परलोक जाने बेलामा माछामासु खान छाडेर भक्तिभावका साथ भजन–कीर्तन गर्ने बेलामा माछा मार्न गए भन्ने कुरा लोकले सुने भने बूढाबूढी सन्केछन् भन्लान् । लाज मात्र बल्ल तल्ल छोप्ने एउटा पातलो कट्टु र त्यस्तै ब्रा लगाएर बुढी सार्वजनिक ठाउँमा पौडी खेल्न तम्सिन् भन्ने सुने भने बूढीलाई क-याककुरुक पारेर राँची पु-याउलान् ।
रोजमेरीले नोभेम्बर २६, २००१ देखि फेबुअरी १८, २००२ अर्थात् तीन महीनाभन्दा कम समयमा लेखेका पहिला दशवटा चिठीको मात्र मैले चर्चा गरें । त्यसपछि पनि ऊ कुनै हप्ता नबिराई लेखिरहेकी छे । त्यस्ता दशवटा चिठी त कति पठाई कति । नोभेम्बर २००३ मा उसले पपुआ न्यू गिनी नछाडुन्जेल अझै कति लेख्छे कति । हरेक सोमबार इमेल खोल्दा त्यहाँ उसको चिठी अनिवार्य रूपमै हुन्थ्यो । ऊ कसैको जवाफ पर्खेर बस्तिन, जवाफ आए पनि लेख्छे, नआए पनि लेख्छे ।
ऊ चिठी लेखेको लेख्यै गरेर इष्टमित्रलाई पपुआ न्यू गिनीका बारेमा बुझाउन खोज्छे । यसैमा डुब्दा ऊ रमाउँछे । यसैमा बग्दा ऊ आनन्द मान्छे, । उसका कुनै चिठी झर्कोलाग्दा छैनन् । चिठीलाई रोचक बनाउने कला छ उसमा । विषयवस्तुलाई राम्रो गरी वर्णन गर्ने क्षमता छ उसमा । ती सबै सँगसँगै उसमा लगन छ । ऊ लेख्न थाक्तिन, लेखाइमा ऊ अविरल बग्दछे ।
स्कूलका कक्षा कोठामा शिक्षकले विद्यार्थी निदाएका छन् कि आफूले पढाएको कुरा सुनिरहेका छन् भन्ने कुरा जाँच्न एकछिन बोल्न छाडी विद्यार्थीहरूतिर ध्यान दिएर हेरेजस्तै धेरै दिनसम्म पनि हामीबाट कुनै जवाफ पाइन भने ऊ कहिलेकाहीँ हामीलाई जाँच्न हामीले उसका चिठी पाइरहेका छौं कि छैनौं सोध्छे । तर त्यसको जवाफ पाई पाइन उसलाई मतलब छैन । ऊ लेख्छे, उसलाई केहीले पनि लेख्न छेक्तैन । अरूले उसका चिठीलाई कसरी लिन्छन्, कसरी पढ्छन्, तिनै जानुन् । मैले भने ज्यादै रोचक हुने गरेका पाएको छु । त्यसै भएर तिनलाई मैले यात्रा साहित्य लेख्नका निम्ति एउटा नयाँ प्रयोगका माध्यमका रूपमा लिएको छु ।
सन् २००२ को नोभेम्बरमा मैले उसलाई एउटा चिठी लेखें । त्यसमा मैले आफ्ना केही यात्रा संस्मरण लेखिरहेको र ती सबै मिलाएर चाँडै नै एउटा किताब निकाल्ने सोच रहेको कुरा जनाएँ । त्यहाँ हुने सामग्रीहरूमध्ये एउटा चाहिँ उसले मलाई लेखेका चिठीहरूका बारेमा हुने कुरा भनें । म नेपाली भाषामा अलिअलि कलम चलाउँछु भन्ने कुरा उसलाई थाहा छ । “सहयात्रा” नाउँको मेरो एउटा कथासङ्ग्रह छापिइसकेको छ भन्ने कुरा पनि उसलाई थाहा छ । मेरो त्यस चिठीमा भने उसका चिठीहरूलाई आधार बनाएर मैले केही लेख्न लागेको हुँदा उसका भावनाका केही अंशहरू छाप्नमा उसको अनुमति मागेको थिएँ । मेरो त्यो चिठीको जवाफमा ऊ छोटो उत्तर लेख्छे –
“हाई चन्द्र,
बेलाबेलामा तिम्रा चिठी पाउँदा रमाइलो लाग्छ । यदि तिमी मेरा गन्थने कुरा पनि छाप्नका लागि योग्य हुन्छन् भन्ने ठान्छौ भने त्यसमा मेरो पूरै स्वीकृति छ ।
इयान बुका गएको कुरा थाहा पाएँ । उनी पनि मौका पाउँदा यो देश मजाले घुमिरहेका छन् । म पनि व्यस्तै छु । केमा व्यस्त छु भन्ने कुरा आउँदो चिठीमा पढ्ने छौ । त्यसैले आज यति मात्र लेखें है त !
रोजमेरी”
दक्षिणी प्रशान्त महासागरीय क्षेत्रको देश पपुआ न्यू गिनीमा मेरो सबैभन्दा लामो बास भएको ठाउँ अर्थात् त्यस देशको पश्चिमी पहाडी प्रान्तको राजधानी माउन्ट हागेनस्थित हाइल्याण्डस् पार्क मोटेलको २३ नम्बर कोठामा बसेर म रोजमेरीलाई सम्झन्छु, नेपाल सम्झन्छु, वरिष्ठ साहित्यकार रमेश विकल सम्झन्छु, इन्द्रावती सम्झन्छु अनि आफूले आफैंलाई भन्दछु –
अविरल बग्दछ इन्द्रावती
अविरल बग्दछे रोजमेरी ।
(लेखकको नियात्रासङ्ग्रह ‘प्रशान्तका छालहरूमा मेरो नेपाल’(२०६१) बाट)
000
लेखक परिचयः नियात्राकार चन्द्रप्रसाद भट्टराई बिसं २०४० सालको मधुपर्कमा “रमा दिदी” शिर्षकको कथाको प्रकाशनसँगै साहित्यिक दुनियाँमा पदार्पण गरेका हुन् । उनको एक कथा सङ्ग्रह “सहयात्रा“(२०५९) तथा तीन नियात्रा सङ्ग्रह ‘प्रशान्तका छालहरूमा मेरो नेपाल’(२०६१), ‘अनौठो मुलुक अनौठा अनुभूति‘(२०७१) तथा ‘नीला गोलार्द्ध’ (२०७६) प्रकाशित छन् । विराटनगरमा जन्मेका उनी हाल काठमाडौंको ज्ञानेश्वरमा वसवास गर्छन् ।
