१८ साउन २०८२, काठमाडौं
कवि टेकबहादुर जिरेलद्वारा लिखित’जिरीसिक्रीको सुसेली’ कवितासङ्ग्रह पर्यटन प्रवर्द्धन मञ्चद्वारा आयोजित लोकार्पण कार्यक्रममा कवि जिरेल,डा.अभि सुवेदी,रोचक घिमिरे,मदन दास श्रेष्ठ,मनोज गजुरेल,शैलेन्द्र साकार,मनबहादुर मुखिया, उषा शेरचन,अनुपम रोशी,शेखर खरेल,मित्र जिरेल,ज्योति जङ्गम,लीलाराम खड्का तथा अमृत भादगाउँले लगायतले सामूहिक रूपमा पुस्तक लोकार्पण गरे ।
उक्त कवितासङ्ग्रह कवि जिरेलको पहिलो कृति हो। जिरीमा जन्मेर हुर्किएका र प्रधानाध्यापक पदबाट अवकाश प्राप्त जिरेलले जिरीलाई नै आफ्नो कर्मथलो बनाएका छन्।
लोकार्पण हुनुअघि अनुपम रोशीले कविसँग छोटो अन्तर सम्बाद पनि गरेकी थिइन्। अन्तर सम्बादमा कवि जिरेलले कवितालाई परिभाषामा बाँध्न नचाहेको र कविता दु:खमा पनि लेखियो र खुसीमा पनि लेखियो भनेर बताए । तेत्तीस वर्षभन्दा बढी शिक्षण पेशामा समर्पित ७० वर्षीय जिरेलले जिरीको विशेषता भनेको आदिवासीले हुर्काएको प्राकृतिक सौर्न्दर्य र संस्कृति हो भनेर बताए ।सम्बादका क्रममा उनले पुस्तक प्रकाशित भएपछि सबैको नजरमा परेकाले कवि बन्न पाएकोमा आफू हर्षित भएको बताए।
सम्बादकर्ता अनुपम रोशीले कवि जिरेलका पुस्तकभित्रबाट केही कविता वाचन गर्दै जिज्ञासा राखेकी थिइन् भने कवि जिरेलले पुस्तकमा नभएको आफ्नो एउटा कविता वाचन गरेर सुनाएका थिए।
कार्यक्रममा कवि ज्योति जङ्गमले पाठकीय मन्तव्य राखेकी थिइन् भने हास्यकलाकार मनोज गजुरेलले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा साहित्यकार तथा साहित्यिप्रेमीहरूको खचाखच भिड थियो। कार्यक्रमको मुख्य आकर्षण भनेको सभापति तथा प्रमुख अतिथि आदिको कुनै व्यवस्था गरिएको थिएन भने अन्तर सम्बादको नौलो प्रस्तुति रहेको थियो।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन अमृत भादगाउँलेले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
