दाहाल यज्ञनिधिका ७२ औँ जन्मजयन्तीका अवसरमा एक समारोहका बीच साहित्यकार डा. रमेश शुभेच्छुलाई यसै वर्षदेखि थालिएको नगद राशी १५०१५ को नागार्जुन बाङमय जदौ पुरस्कार कार्यक्रमका प्रमुख अतिथि डा.तुलसी भट्टराईले समर्पण गरे ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भट्टराईले शुभेच्छुले दाहाल र अरु स्रष्टाका लागि पनि मोतीरामको भूमिका निर्वाह गरेकामा दाहालप्रति गरेको कामको कदर भएको बताए ।
साहित्यकार डा. रमेश शुभेच्छुले दाहालका कृतिको खोज गरी उहाँको जीवनी व्यक्तित्व र कृतित्वलाई बाहिर ल्याउन खेलेको भूमिका उल्लेख्य रहकाले पुरस्कारका लागि छनोट गरिएको छनोट समितिका संयोजक मातृका पोखरेलले बताए ।
डा. हरिप्रसाद सिलवालले पुरस्कृत प्रतिभा डा. रमेश शुभेच्छुको परिचय दिने क्रममा उनी सिर्जना समीक्षा, संगठन, पाठ्यपुस्तक लेखन र साहित्यिक पत्रकारिताका बहुआयामबाट सक्रिय प्रतिभा भएकोले यो पुरस्कार नदिएको भए अन्याय हुने थियो भन्ने बताए ।
नागार्जुन वाङमय प्रतिष्ठानले यसै वर्षदेखि यो पुरस्कार दिन थालेकोकुरा प्रतिष्ठानका सचिव युवराज नास्तिकले बताए ।
कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्टले दालाका कविताबारे र डा. विनोद मञ्जनले दाहालका निबन्धका बारेमा समीक्षा प्रस्तुत गरे । डा. मञ्जनले दाहालका केही निबन्ध निबन्ध कलाका दृष्टिले कमजोर भए पनि विचारका दृष्टिले अग्रगामी भएको बताए ।
कार्यक्रममा प्राज्ञ अगिव वनेपाली, पत्रकार यशोदा अधिकारी, पुरस्कार अक्षयकोश संस्थापक सुधा दाहाल, साहित्यकार महेश प्रसाईं, साहित्यिक पत्रकार रामप्रसाद पन्तलगायतले दाहालका जीवनी व्यक्तित्व र कृतित्वको परिचय दिएका थिए ।
सम्मानित प्रतिभा डा. रमेश शुभेच्छुले बाल्यकालमा रेडियोमा सुनेदेखि, काठमाडौँमा भेटेदेखि, नागार्जुन प्रतिष्ठानको सहकार्यदेखि, कीर्तिपुरको विद्यार्थी छँदा गणतन्त्र पक्षधर कविता आन्दोलनमा उहाँलाई खगेन्द्र संग्रौलालाई वैरागीकाइँलालाई, हरिगोविन्द लुइटेललाई अतिथि बनाएर विचारहरु सुनेदेखि, उहाँकै घर दाहालको दैलोमा स्रष्टाहरुको लोकतान्त्रिक मोर्चा गठन र यसको विस्तारका दिन पनि सम्झन्छु भन्दै उनी एक विशिष्ट सञ्चारकर्मी, शिक्षासेवी, साहित्यकार र समाज परिवर्तनका संवाहक अभियन्ता भएको बताए ।
समारोहमा देवु लुइटेलले दाहालका छ कविता तथा कवि रत्ननिधि रेग्मी शुक्राचार्य, असीम सागर, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गङ्गा खतिवडालगायत कविले दाहाल विषयक कविता वाचन गरेका थिए ।
नागार्जुन प्रतिष्ठानको हरेक शृङ्खलामा समीक्षकलाई सम्मान गर्ने नियमअनुसार समीक्षक द्धय प्रा. प्रयागराज वाशिष्ट र डा. विनोद मञ्जनलाई सममान गरिएको थियो ।
कार्यक्रममा कवि पूर्ण विरामका दुई कविता वाचन भएका थिए । तीमध्ये एएटा कविताको प्रभावकारी वाचनका लागि रु १००० नगत सहित यम बाँस्तोला पुरस्कृत भए ।
कार्यक्रम नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षता सम्पन्न भएको थियो ।
०००
