पद्मश्री सानु लामाः एक संस्मरण

गद्य विविध
मुक्तिप्रसाद उपाध्याय
मनुष्य जीवन परब्रह्मको अति नै अनमोल वरदान हो। जीवनको परिभाषा मानिस मानिसमा भिन्न भए पनि यथार्थमा ऊ बाच्नैपर्छ, जीवन सङ्घर्षमा ओर्लिनै पर्छ।  गाँस,बास र कपासका आफ्ना कर्महरूलाई छिचोल्दै केही समय उबारेर त्यसको उचित प्रयोग गर्नसक्ने मानिसको चिनारी अलग हुन्छ। जीवनमा आइपरेका दुःखका भारी एकछिन् बिसाउँदा गरिएको त्यस मुहूर्तको खुइयमा जसले आनन्द लिनसक्छ, भावनात्मक अनुभवहरू जसले साझा गर्नसक्छ त्यस्ता मानिसको जीवनमा नै रमाउने खालका क्षणहरूले चिहाउने गर्छन्। मानिस स्वयम रमाइलो छ भने जीवनका सबै पल रमाइला पार्नसक्ने सामर्थ्यको उसमा स्वतः स्फुरण हुन्छ। अध्ययन, अभ्यास र अनुभवले मानिसले जन्मिँदै पाएको प्रतिभालाई अझ तीखो र चम्किलो बनाउन सक्छ। आफ्नो गर्नुपर्ने पेशा वा जागिरबाट समय उबारेर सरस्वतीको पूजा स्वरूप भाषा-साहित्यको सेवा तथा विभिन्न सामाजिक कर्ममा आफूलाई समर्पण गर्नु भनेको महान कार्य हो। यस्तै एकजना युगका अमेट, अडिग, सरल, आउने पीढ़िलाई तथा एउटा लामो युगलाई आफ्ना साहित्यिक र सामाजिक कर्मले चिनाउन सफल बन्नुभएको भारतका योग्य सुपुत्र र हामीले गौरव गर्नुपर्ने एकजना नेपाली सन्तान हुनुहुन्छ पद्मश्री सानु लामाज्यू (गरुड़सिंह लामा)। मन र मस्तिष्कलाई सन्तुलनमा राखेर समर्पणको भावनामा मुछिएर उहाँ समाज र साहित्यका लागि अनुकरणीय बन्नुभएको छ। मानिस ठूलो दिलले त हुन्छ नै तर ज्ञानले महान बनाउँछ अनि पारिवारिक र पारम्परिक संस्कारले संस्कारी बनाउँछ। उहाँ ठूलो हुनुहुन्छ दिलले, महान हुनुहुन्छ ज्ञानले अनि संस्कारले संस्कारी हुनुहुन्छ।  उहाँ सदा सर्वदा सुकिलो छविमा रसाएर जनगणको प्रिय हुन पुग्नुभयो। उहाँ न त कुनै पक्षको, न त कुनै आसक्तिको दास हुनुभयो। अध्यात्म चिन्तनमा रमाएर आफ्नो चेतनाशक्तिको स्वयम नै विश्वासपात्र बनिनु सानु कुरा होइन। ईश्वरीय शक्तिको अंशका रूपमा मानव समाजका लागि कल्याणकारी व्यक्ति भएर उहाँ चिनिन पुग्नुभयो।
साहित्यको एउटा कलात्मक गद्यविधा पनि हो संस्मरण। आफ्नो जीवनका केही तीता केही मीठा, सुन्दर अनि प्राकृतिक रूपमा हरिया भएर स्मृतिपटलमा रहेका अविष्मरणीय सम्झना हुन् संस्मरण। विशेष गरी संस्मरणमा स्व-को आत्म प्रकाशन भएर स्वानुभूतिलाई कलात्मक शैलीमा रोचक पाराले पस्किनसक्नु महत्वपूर्ण कुरा हो। आफूसित भएका विभिन्न घटनाहरूको संस्मरणले म आफूलाई धेरै ठाउँमा आनन्दमा विचरण गराउन सकेको पाउँछु। हुन त संस्मरणात्मक निबन्धले विगतका उल्लेखित समयका संस्कार, संस्कृति, साहित्य, समाज आदिका विभिन्न गतिविधिहरू पनि बटुल बाटुल पारेर ल्याएको हुन्छ अनि अहिले आएर ती विषयहरू कुनै विधाका लागि इतिहास पनि बन्न गएको हुनसक्छ। संस्मरणात्क यस्ता आलेखसित नङमासु सरि लेखक जोड़िएको हुन्छ। त्यसर्थ निबन्धकारभन्दा अधिक रूपमा  संस्मरण लेखक आफ्नो लेखाइसित धेरै नै नजिकिएको हुन्छ। कला र शैली पक्ष रोचक भए संस्मरण गहकिलो बन्छ।
प्रेत वा भूत भइसकेका सम्झनाहरूलाई जोड़ेर संस्मरण तयार पार्नुभनेको फलामकै चिउरा चबाउनु बराबर रहेछ। फेरि आफूभन्दा अर्को आफूलाई देखिदिने वा आफूबारे लेखिदिने, भनिदिने मानिस पाउनु पनि दुर्लभ नै रहेछ। आफूलाई चिन्ने, जान्ने आफ्ना अनेक क्रियाकलाप थाहा पाउने स्वजन र साथीभाइहरू धेरैले कलम चलाउँदैनन्, फेरि कलम चलाउनेहरू कसैले पनि आफ्ना संस्मरणमा साथीभाइहरूको सम्झना कमै गरेको पाइन्छ। यसरी हाम्रा साझा सम्पत्ति भण्डार रित्तो हुँदै जाने क्रमतिर  लाग्छ। लेख्नेहरू पनि सबै आफ्नै सेरोफेरोमा घुमेको देखिन्छ। अहिले मैले लेखेको मेरो यो संस्मरण मेरै सेरोफेरोमा घुमिरहेको छ। तर पनि मसित सम्बन्धमा रहनुभएको आदरणीय सानु लामाको सम्झना मेरो झिनो स्मृतिमा आएसम्म समावेश गर्ने कोशिशमा लागेर एकोहोरिएको छु। सम्झेँ, प्रमिथियस बाउण्डमा एस्किलसले भनेका कुरा – ‘स्मृति सम्पूर्ण विद्वताकी जननी हुन्’  अनि फेरि त्यस्तै अमर वाक्यका रूपमा सिसेरोले पनि यसरी भनेका थिए –  ‘सबै विषयको ढुकुटी र संरक्षक  स्मृति हो’  त्यसो हुँदा स्मृतिको पर्दा सकेजति उघारेर अलिकति चिहाउन खोजेको छु अनि सम्झनाको पोखरीबाट एक अँजुली पानी उघाएर यहाँ राख्ने प्रयास गरेको छु।
आदरणीय सानु लामाज्यूलाई मैले प्रथम चोटी कहाँ देखेँ भन्ने कुरो मेरो मस्तिष्कको डिजिटल डायरीमा धेरै खोज्ने प्रयास गरेँ तर सफल हुन सकिनँ। तर पनि एउटा धमिलो पृष्ठमा सानु लामालाई मैले पहिलो पल्ट देखेको सन १९९४ मा हो भन्ने लाग्छ।  सन १९९३ मा मृगतृष्णा कथा सङ्ग्रहका लागि साहित्य अकादेमी पुरस्कार उहाँले पाउनु भएको थियो। त्यही सिलसिलामा नेपाली साहित्य प्रचार समिति, सिलगढ़ीले उहाँको सम्मानमा एउटा अभिनन्दन कार्यक्रम आयोजन गरेको थियो। त्यतिबेला त्यस समितिका महासचिव हुनुहुन्थ्यो आदरणीय मीमलाल सापकोटाज्यू।  नेपाली साहित्य प्रचार समिति को एकजना सदस्य भएको नाताले त्यस कार्यक्रममा मेरो पनि उपस्थिति थियो।
बाल बालिकाका लागि नेपाली भाषामा पढ़्ने सामग्रीको विकास गर्ने उद्देश्य राखेर राष्ट्रिय पुस्तक न्यास (नेशनल बुक ट्रष्ट अफ इण्डिया) नयाँ दिल्लीले गान्तोक, सिक्किममा सन २००२ मा १४ देखि १७ मईसम्म चारदिने कार्यशालाको आयोजन गरेको थियो। थोरै भए तापनि बाल आख्यानमा मैले काम गरेको थाहा पाएर नै होला मलाई पनि त्यस कार्यशालामा सहभागी बन्ने निम्तो आएको थियो। त्यतिबेला आदरणीय सानु लामाज्यू न्यासको सम्पादकीय सल्लाहकार हुनुहुन्थ्यो। त्यस कार्यशालाबाट मलाई सानु लामाको सान्निध्यमा आउने र नजिकैबाट चिनिने मौका जुरेको थियो। सहज, सरल, मृदुभाषी र मिलनसार उहाँको व्यक्तित्वबाट म धेरै प्रभावित भएको थिएँ। बड़ो गजबको कार्यशाला थियो त्यो। कार्यशालामा लेखिएका कथा, कविता, निबन्ध, नाटक आदि स्कुलहरूमा गएर हामीले बाल-बालिकालाई सुनाउनुपरेको थियो। हाम्रो साथमा त्यस समयका साहित्य अकादेमीका नेपाली भाषाका संयोजक आर.पी. लामाज्यू, नेशनल बुक ट्रष्ट अफ इण्डिया, नयाँ दिल्लीका नेपाली भाषाका सम्पादक प्रमुख अरूण चक्रवर्तीज्यू तथा सम्पादकीय सल्लाहकार सानु लामाज्यूहरूले हाम्रा रचनाहरू सुनेर बाल-बालिकामाथि के कस्तो प्रभाव पऱ्यो सो  प्रतिक्रिया बाल बालिकासित अन्तर्क्रिया गरेर जान्ने प्रयास गर्नुभएको थियो। त्यतिबेला मैले लेखेका कविता, निबन्धहरूका साथमा एउटा सानो कथा मालती पनि थियो ।
पद्मश्री सानु लामाज्यू धेरै वर्ष पूर्वाञ्चलीय अनुवाद केन्द्र, साहित्य अकादेमीको सदस्य रहनु भएको थियो। सन २००४ को २३ देखि २५ नभेम्बर तीन दिन साहित्य अकादेमीको क्षेत्रीय कार्यालय कलकत्तामा जोसमनि सन्त परम्पराका कविता अनुवाद सम्बन्धी कार्यशाला राखिएको थियो। साहित्य अकादेमी, नयाँ दिल्ली अन्तर्गत कलकत्तामा स्थापित पूर्वाञ्चलीय अनुवाद केन्द्र (इस्टर्न रिजियोनल सेन्टर) को सक्रियतामा सय वर्षभन्दा अगाड़िका नेपाली साहित्यको कुनै पनि विधालाई बङ्ग्लामा अनुवाद गर्ने प्रस्तावलाई स्वीकार गर्दै हाम्रा साहित्यकार पद्मश्री सानु लामाले जोसमनि सन्त परम्पराका साहित्यलाई छनौट गरेर त्यसतर्फ आफ्नो अमूल्य सहयोग अघि बढ़ाउनु भएको थियो। अन्त्यानुप्रास र गेयात्मकता भएका जोसमनि सन्त परम्पराका कविताहरूलाई सोही रूपमा अनुवाद गर्नु सहज काम थिएन।  एउटा अर्कै अर्कै अनुभव थियो त्यो पनि। बङ्ग्ला भाषामा सो अनुवाद पुस्तक सन २००८मा जोसमनि सन्त परम्परा ओ साहित्य नामले साहित्य अकादेमीले प्रकाशित गरेको छ।
२१ – २३ फेब्रुवारी २००३ मा गान्तोक सिक्किममा सिक्किम अकादेमीको मुख्य सक्रियतामा पहिलो वसन्त पुस्तक मेलाको आयोजन भएको थियो। त्यतिबेला सिक्किम अकादेमीका अध्यक्ष हुनुहुन्थ्यो आइ.ए.एस. जयश्री प्रधानज्यू। त्यस तीन दिने कार्यक्रममा सहभागी बन्नका लागि मलाई त्यतिबेलाका सिक्किम अकादेमीका सचिव सानु लामाज्यूको पत्र आयो। सो कार्यक्रम सिक्किम अकादेमी र नेशनल बुक ट्रष्ट अफ इण्डिया, नयाँ दिल्लीको संयुक्त आयोजना थियो।
सो कार्यक्रममा सहभागी बन्न मलाई त्यति ठूलो सम्मान दिएर बोलाएपछि मैले पनि केही गर्ने अठोट गरेँ र सो पुस्तक मेलाको तीनैदिनको विवरण लेख्ने अनुमति लामाज्यूसित लिएर सो लेख्ने प्रयास गरेको  थिएँ। मैले त्यतिबेला लेखेको विविरण सिक्किम अकादेमीले प्रकाशन गरेको वसन्त पुस्तक प्रदर्शनी २००३ नामक पुस्तकमा समावेश गरेर मलाई झन् प्रोत्साहित तुल्याएको थियो। त्यसरीनै गान्तोकमा भएको दोस्रो वसन्त पुस्तक प्रदर्शनी २००४ मा अनि जोरथाङमा भएको प्रथम वार्षिक चित्रकला प्रदर्शनी  दुवैमा मलाई निम्तो थियो र म सहभागी बनेको थिएँ। यसरी मलाई सम्झिएर गरिएको निम्तोमा आदरणीय सानु लामाकै स्नेह र आदर थियो।
***
 त्यही समयमा मेरो दिमागमा वर्षेनी एउटा हास्यव्यङ्ग्य कविगोष्ठी सञ्चालन गर्ने सोच आयो। त्यसबारे पहिलो सल्लाह मैले सानु लामासित गरेँ। उहाँको प्रेरणा पाएपछि मैले उहाँलाई सो कार्यक्रमको अध्यक्ष भएर प्रत्येक कविगोष्ठी सञ्चालन गरिदिने आग्रह पनि गरेँ। मीठो हाँसो हाँसेर उहाँले मेरो प्रस्ताव स्वीकार गर्नुभयो। सिक्किम, दार्जिलिङ, सिलगढ़ी, असम, डुवर्स, नेपाल सबैतिरबाट हास्यव्यङ्ग्य कविता पहिले आह्वान गर्ने। छोटो मीठो कार्यक्रमका लागि दस-बाह्रजना कविहरूको कविता मात्रै राख्ने र कविताहरू छनौट गरेर त्यसमा सम्पादक,  सभापतिको भनाइ लगायत कविताहरूको समीक्षा पनि राखेर कविगोष्ठीको दिनबार तोकेर पुस्तक पहिले नै प्रकाशन गर्ने र कविगोष्ठीकै दिन विमोचन गर्ने  अनि त्यही पुस्तकबाट कविहरूले आ-आफ्ना कविता वाचन गर्ने। अन्य कविता वाचन गर्न नपाइने नियम बनायौँ। यस प्रकारको एउटा अचम्मको सोच मेरो दिमागमा आयो। कविहरू सबै आफ्नै खर्चमा आउने अनि टाढ़ाकाहरूलाई खाने बस्ने आदिको चाँजो मिलाउने कुरा भए। त्यति भएपछि अब आयो पुस्तक प्रकाशनको समस्या। त्यसका लागि मैले फेरि सुखदेव राईज्यूलाई सम्झिएँ। सिलगढ़ी आएर उहाँसित सल्लाह गर्दा उहाँले पनि मेरो अनुरोधमा आफ्नै खर्चमा पुस्तक छापिदिने हुनुभयो। संयोग राम्रै जुरेको रहेछ। भानुसंघका सचिव कलाकार भाइ कृष्ण गुरूङले लक्ष्मीमाया स्कुल, भानु नगर, सिलगढ़ीमा २० फेब्रुवारी सन २००५ मा कविगोष्ठीको आयोजना गर्ने अनि खानपानमा सहयोगिता सर्जु शर्माले आफ्नै होटलमा गर्ने भन्ने आश्वासन पाएर त्यस काममा म अघि बढ़ेँ।
यसरी सानु लामाकै प्रथम प्रेरणाले त्यो पहिलो साउती हास्यव्यङ्ग्य कविगोष्ठी सफलताका साथ सम्पन्न भएको थियो। समालोचकका रूपमा हुनुहुन्थ्यो आदरणीय साहित्यकार दान खालिङज्यू अनि गान्तोक, सिक्किमबाट आएर सभापतिको आसनमा सानु लामाज्यू बस्नुभएको थियो। यस खालको कविगोष्ठी त गर्नैपर्छ भनेर खुशी हुँदै हुटहुटी लगाउने साहित्यकार रामलाल अधिकारीज्यूको कविगोष्ठीमा के कसरी उपस्थिति रहेको थियो भन्ने कुराको वर्णन मैले दोस्रो साउतीको सम्पादकीयमा गरिसकेकाले त्यसलाई यहाँ मैले लम्ब्याइनँ, सम्झना मात्रै गरेँ।
अर्को एउटा गजबको संयोग परेको थियो त्यसबेला। पहिलो साउती हास्यव्यङ्ग्यको आयोजनको क्रममा सानु लामाको नाम भारतको एउटा उच्च र सम्मानपूर्ण पद्मश्री पुरस्कारकालागि चयन गरिएको समाचार प्राप्त भएको खबरले सुनमा सुगन्ध थपेको थियो। त्यस कार्यक्रममा सम्पूर्ण साउती परिवार तथा उपस्थित सम्पूर्ण श्रोताले उहाँलाई बधाइ र सम्मान प्रदान गरेका थिए। सन २०१२ मा भएको आठौँ साउती कार्यक्रमसम्म उहाँ सभापति रहेर यसलाई हुर्काउन, बढाउन ठूलो सहयोग पुऱ्याएको कुरा अविस्मरणीय बनेको छ। त्यसपछि पनि उहाँको प्रेरणा र सहयोगमा उहाँले कुनै कमी आउन दिनुभएको छैन। हिमालचुली मन्तिरका हिमाल सरी व्यक्त्तित्व पद्मश्री सानु लामाज्यू मेरो हृदयमा सदा रहनु भएको छ।
***
आदरणीय सानु लामा नेपाली साहित्य परिषद, सिक्किमको अध्यक्ष हुँदाको कुरा हो। त्यतिबेला परिषदको महासचिव हुनुहुन्थ्यो चुड़ामणि खतिवड़ा। वर्ष २००४को सङ्गीत विधाको मित्रसेन स्मृति पुरस्कार प्रदान गर्न गरिने चयन कार्यका लागि मलाई सम्झना गरी ५ जनवरी सन २००५मा पत्राचार गर्नु मेरालागि आश्चर्यको कुरा थियो। त्यसको केही महिनापछि सानु लामासर भारतको गौरवमय पुरस्कार पद्मश्रीले अलङ्कृत हुनुभएको सुखद उपलक्षमा नेपाली साहित्य परिषद, सिक्किमले ३१ मई २००५ मा एउटा कार्यक्रम आयोजन गरी उहाँलाई अभिन्दन गर्ने भएछ। त्यतिबेलाका माननीय मुख्यमन्त्री पवन चामलिङज्यूको समेत त्यस अभिनन्दन कार्यक्रममा उपस्थिति रहेको थियो। त्यस्तो भव्य कार्यक्रममा महासचिव चुड़ामणि खतिवड़ाज्यूले ले २१ मई २००५मा मलाई निम्तोपत्र पठाउनु भएको थियो। सानु लामाको अभिनन्दन कार्यक्रममा उपस्थित भएर उहाँलाई मैले पनि अभिनन्दन जनाउन पाउनु मेरालागि त्यो एउटा बिर्सिनसक्नुको महत्वपूर्ण क्षण थियो। नेपाली साहित्य परिषद, सिक्किमको तत्त्वावधानमा गठित १९१ औँ भानुजयन्ती समारोह समिति, गान्तोकले प्रकाशन गर्ने भानु स्मारिकाका लागि पनि मलाई भानु सम्बन्धी लेखका लागि अनुरोध पत्र आएको थियो। त्यसपछि प्रायः वर्षेनी जस्तो म सिक्किम, गान्तोकमा हुने भानुजयन्ती समरोहमा सहभागी बनेको छु। गान्तोकमा मनाइने भानुजयन्ती विशेष प्रकारको हुनेगर्थ्यो। अन्तर विद्यालय तथा पौढ़ रामायण पाठ प्रतोयोगिता, अन्तर विद्यालय तथा खुल्ला कविता पाठ प्रतियोगिता, अन्तरविद्यालय तर्क प्रतियोगिता, अन्तरविद्यालय तथा खुल्ला शोभायात्रा प्रतियोगिता आदि हुनेगर्थे। विभिन्न जनगोष्ठीका मानिसहरूले आ-आफ्नो पहिरनमा नृत्य आदि गर्दै निकालिएको सांस्कृतिक शोभायात्रा मनै लोभ्याउने खालका हुन्थे। बड़ो आनन्द अनुभव हुन्थ्यो। त्यतिबेला हुने हरएक भानुजयन्ती समारोह समितिसित सानु लामाज्यूको सम्बन्ध रहेको हुनाले मलाई निम्तो पठाउनमा उहाँकै स्नेह रहेको हुन्थ्यो भन्ने मलाई लाग्छ।
   १८ अगस्ट सन २००५ मा सिक्किम अकादेमीका अध्यक्षको रूपमा पद्मश्री सानु लामाले मलाई पठाएको पत्र पढ़ेर म त छाँगाबाटनै खसेसरी भएको थिएँ। म त्यस्तो छु र? म त्यस्तो गहन विषयमा लेख्न सक्छु र?  म आफै छक्क परको थिएँ। विषय अति महत्वपूर्ण थियो। मेरालागि त्यसभन्दा गरिमामय कुरा थियो सानु लामाले मलाई सम्झिनु। जे जसरी भए पनि सानु लामाको सम्मान र विश्वास अटुट राख्नकै लागि भए तापनि मैले लेख्नै पर्छ भन्ने मनमा दृढ़ता ल्याएँ। कम्मर कसेँ, सकेजति खोजे लेखेँ पनि तर नेपालीमा। अङ्ग्रेजीमा लेख्ने अभ्यास नभएकाले त्यस भाषामा मेरो बलियो आत्मविश्वास थिएन। सो कुराको जानकारी मैले सानु लामालाई गराएँ। “नेपालीमा नै लेख्दा पनि हुन्छ भाइ! हामी त्यसलाई अङ्ग्रेजी अनुवाद गर्ने छौँ।” भन्ने आश्वासन उहाँबाट पाएपछि मैले नेपालीमा लेखेँ।  समय एक वर्षको दिइएको थियो। तर सो लेख्न मलाई अलिक बड़ी समय लागेको थियो। आधुनिक भारतको निर्माणमा भारतीय नेपाली/ नेपाली भाषी भारतीयहरूको भूमिका र अवदान (Role and contribution of Indian Nepali/Nepali speaking Indians in the making of modern India) बारे एउटा पुस्तकनै अङ्ग्रेजीमा तयार पार्ने अति नै गहकिलो योजना सिक्किम अकादेमीले गरेको रहेछ। राजनीति, प्रशासन, सुरक्षा, स्वतन्त्रता सङ्ग्रामी, भाषा र साहित्य,  विज्ञान र प्रविधि, आध्यात्मिक, शैक्षिक र शिक्षा, चित्रकला, सङ्गीत, खेलकुद आदि  विभिन्न क्षेत्रका हाम्रा ४८ जना प्रतिभाहरूबारे लेख्ने एउटा सूची नै सिक्किम अकादेमीले तयार पारेको रहेछ। मलाई परेको विषय थियो अगमसिंह गिरी। त्यस्तो महान कामका लागि मलाई सम्झना गरिनु भनेको सानु कुरा थिएन। त्यसैले म दार्जीलिङ गएँ, गिरीका परिवारहरूलाई भेटेँ, साहित्यकारहरूसित सहयोग मागेँ, गिरीबारे लेखिएका पुस्तक भेला पारेँ। त्यस समयमा डा. जीवन नामदुङबाट पाएको सरसल्लाह र सहयोग मेरालागि थप प्रेरणा बनेको थियो।  उहाँले अगमसिंह गिरीमाथि गरेको शोधपत्रको प्रकाशित प्रति मलाई उपलब्ध गराउनु भएको कुरा म कदापि बिर्सन सक्दिनँ। कसैले लगाएको गुणलाई कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरा मलाई मेरो घर संस्कारले सिकाएको छ। त्यसैले मलाई गुण लगाउने व्यक्तिलाई म सधैँ श्रद्धा र सम्झना गर्ने गर्छु।
त्यस काममा म जोतिएरै लागेँ र जसैतसै लेखिसकेपछि म आफै छक्क परेँ। सिक्किम अकादेमीलाई पठाएँ। पारीश्रमिक पनि आयो। अनि मात्रै मेरो लेख स्वीकार गरिएछ भनेर मनमा ढुक्क लाग्यो। तर खै! आजसम्म सो महत्वपूर्ण कार्यले पुस्तकरूप पाएको मैले थाहा पाउन सकेको छुइनँ। सानु लामाले अध्यक्ष पदबाट अवकाश लिएपछि त्यो काम थाँतीमानै रह्यो कि भन्ने कुरा सोच्न म बाध्य भएको छु। भाषा, साहित्य र जातिलाई भारतवर्षमा एउटा गहकिलो चिनारी प्रदान गराउनु पर्छ भन्ने उहाँको सोच र कार्यपद्धतिलाई म अन्तर हृदयबाट नमन गर्दछु।
२१ र २२ मार्च सन २००६ मा सिक्किम अकादेमीले सिक्किम राज्यको संस्कृति मामिला र धरोहर विभागको सौजन्य र कवि प्रतिष्ठान, कलकत्ताको सक्रियतामा सातौँ विश्व कविता दिवसको आयोजन गरेको थियो। त्यतिबेला पद्मश्री सानु लामाज्यू सिक्किम अकादेमीको सभापति भइसक्नुभएको थियो। त्यस भव्य कार्यक्रममा मलाई उहाँले नै औपचारिक पत्र लेखेर निम्तो गर्नुभएको थियो। कविता लेख्न भनेपछि मलाई बाह्र हाते टाँगाले पनि छुँदैनथ्यो। औँसी पूर्णेमा झुक्कल पुक्कल कविता लेख्ने मान्छे मैले पनि त्यहाँ कविता वाचन गर्ने मौका पाउनु भनेको सानुलामाकै पुत्रवत स्नेह थियो। मलाई पनि उहाँले कविहरूको दाँजामा उभ्याउन खोज्नु भनेको उहाँको म प्रतिको अभिभावकत्वको परिचय थियो। स्वयम सानु लामाले कविता लेख्नु भएन, केवल गीत र आख्यानमा कलम चलाउनु भयो।  मुक्तिले कवितामा पनि कलम चलाओस भन्ने उहाँको सोच थियो होला। त्यसबेला कनि कनि मैले एउटा कविता लेखेको थिए।  सो कविताले पछि सातौँ विश्व कविता दिवस २००६ को उपलक्षमा प्रकाशित हिमावर्त कविता सङ्कलनमा पनि स्थान पाएको थियो। हुन त त्यस भव्य कविता कार्यक्रममा कविको स्थान पाउनु मेरालागि महत्वपूर्ण कुरा थियो।  आदरणीय सानु लामाले भने झैँ म पनि कवि चाहिँ हुन सकिनँ। कविता लेख्न तम्सिएर मैले लेखेका कविताहरूबाट म आफै सन्तुष्ट हुन सक्दिनँ। दुर्गन्ध मात्रै फैलाउन ठस ठस किन कन्नु भनेर कविता रानीसित मैले करजोड़ी क्षमा मागिसकेको छु।
वसन्त ऋतुको आगमन र फागुन जस्तो मन लोभ्याउने रङको त्योहारपछि नै प्राकृतिक सौन्दर्यले परिपूर्ण सुन्दर आँखाकै नानी स्वरूप सिक्किम राज्यको गान्तोक शहरमा १ मार्च २००७ मा शुरू भयो पाँचौँ वसन्त पुस्तक मेला अनि साथमा चौथो राज्य स्तरीय चित्रकला प्रदर्शनी। सिक्किम राज्यको संस्कृति मामिला र धरोहर विभागको प्रेरणा र सहयोगले सिक्किम अकादेमीको त्यो एउटा महत्वपूर्ण पाइला थियो। “राम्रा पुस्तक ज्ञानका खानी हुन्छन् अनि अन्य पुस्तकमा पनि ज्ञानका कुरा लुकेकै हुन्छन्। समय, परिस्थिति र अनुभवका ज्ञान भनेको व्यवहारिक ज्ञानको घेरामा आउँछन्। तर पुस्तकको ज्ञानले परिचय नगराउने कुनै विषय पाइँदैन।” सिक्किम अकादेमीको यो एउटा ठूलो सोच थियो। पुस्तक मेला सँगै राखिएको चित्रकला प्रदर्शनीमा त्यस वर्ष २७ जना चित्रकारहरूका चित्रहरू राखिएका थिए। पश्चिम बङ्गाल र बिहारबाट पनि दुईजना चित्रकारहरू निम्त्याइका थिए। चित्रकारहरूलाई धन भन्दा पनि धेर उनीहरूको कलाको उचित प्रशंसा गरिदिएर सिक्किम अकादेमीले दिएको प्रेरणा र प्रोत्साहनले गर्दा कलाकारहरूको खुशीले भरिएको अनुहार साँच्चैनै हेरिरहुँ जस्तो थियो। प्रदर्शनीमा उनीहरूको चित्रकै अघि उभिएर चित्रकारिताको बारेमा थोरै जानकारी लिन पाउँदा पनि मलाई अर्कै संसारमा पुगेझैँ लागेको थियो। चित्र, चित्रकारिता र चित्रकारको भावनामा लुकेका पक्षहरू चिन्तन, मनन र अध्ययन गर्नुपर्ने एउटा गहकिलो विषय रहेछ भन्ने कुरा मैले त्यतिबेला थाहा पाएँ।  प्रदर्शनीमा भएका एक एकवटा चित्रमा लुकेको भावना चित्रकार स्वयमबाट सुन्न पाउँदा प्रत्येक कलाको आ-आफ्नै पाराको मर्यादा हुँदो रहेछ भन्ने पनि मैले पहिलो पल्ट थाहा पाएको थिएँ। त्यस प्रकारका कार्यक्रम सञ्चालन गरेर भाषा, साहित्य, कला र संस्कृतिको सेवा पुऱ्याउन सक्रिय रहनु हुने सिक्किम अकदेमीका अध्यक्ष पद्मश्री सानु लामाले आफ्नो विशाल हृदयको परिचय दिनुभएको थियो भन्ने लाग्छ मलाई। पाँचौँ वसन्त पुस्तक मेला अनि चौथो राज्य स्तरीय चित्रकला प्रदर्शनीको तेस्रो दिनको समापन कार्यक्रममा सिक्किम अकादेमीका अध्यक्ष श्री जी.एस. लामा (पद्मक्षी सानु लामा) ज्यूले भन्नुभएको र मलाई मनमा लागेको कुरा यहाँ राखेँ- “ललित कला एकादेमी, नयाँ दिल्लीलाई यस प्रकारको कार्यक्रम सञ्चालन गर्ने सरसल्लाह र आर्थिक सहयोगका लागि सिक्किम अकादेमीले गरेको निवेदनका आधारमा ललितकला अकादेमीले एक लाख रुपियाँको अनुदान दिएको थियो। विभिन्न कलाक्षेत्रको विकासका लागि भारत सरकारले प्रदान गरेका सहुलियतहरूको खोजीनिधी गरेर हाम्रो समाजको हितका लागि प्रयोग गर्न सक्ने खालका संघ संस्थाहरूको आवश्यकता रहेको अनुभव हुन्छ।” त्यतिबेला उहाँले कति ठूलो विचार राख्नु भएको थियो।
त्यसरी नै ८-१० मार्च सन २००८ मा भएको पाँचौँ राज्य स्तरीय चित्रकला प्रदर्शनी पनि सिक्किम अकादेमीले आयोजन गरेको थियो। सो प्रदर्शनीमा जम्मा ३४ जना चित्रकारहरूका चित्रहरू बिक्री वितरणका लागि पनि राखिएका थिए। कतिपय चित्रहरू हेरेर मात्रै बुझ्न गाह्रो हुँदो रहेछ। चित्रकारहरूले गरेको व्याख्या सुनेपछि ती चित्रहरूको पछि लुकेको भावना र विचार बुझ्न सकिएको थियो। रु २००/- देखि लिएर कुनै तैल चित्र एउटाको दाम ३५,०००/- लेखेको देखेर म छक्क परेको थिएँ। चित्रमा चित्रित भावना, सोच र प्रस्तुतिका अघि भौतिक मूल्य त नगण्य हुँदो रहेछ भन्ने कुरा मैले बुझ्न सकेको थिएँ। आ-आफ्नो ठाउँमा गुम्सिएर चिनारी पाउन नसकेका चित्रकारहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको प्रतिभाको कदर गर्दै फराकिलो क्षितिजमा ल्याउने सिक्किम अकादेमीको प्रयास सह्रानीय थियो। गाउँ गाउँमा पनि लुकेको छ कला भनेर त्यस प्रकारको प्रदर्शनीको पछाड़ि रहेको चिन्तनलाई वास्तव रूपमा सबैका अघि ल्याउन गरेको परिश्रमका लागि त्यस समयका सिक्किम अकादेमीका सक्रिय कार्यकर्ताहरूलाई धन्यवादका पुष्पाक्षर अर्पण गर्नैपर्छ।
भगवान बुद्धलाई नवौँ अवतारका रूपमा पृथिवीमा आगमन भएको हो भनी हाम्रो विश्वास रहेको छ। भनिन्छ यो बुद्ध युग हो। बुद्ध भगवानका शान्ति र प्रेमका पावन पवित्र मार्ग  पहिल्याँउँदै स्वार्थ र हिंसालु उत्तप्त यस अशान्त पृथिवीमा अहिंसाको पुष्पवृष्टि कामना गर्दै सन १९९१ मा ऋषितुल्य महापुरूष सिन युङ् (Hsing Yun)ले ताइवानमा बी,एल.आइ.ए. (Buddha’s Light International Association) को स्थापना गराउनु भएको थियो। पृथिवीका समस्त प्राणीको हित नै यस संस्थाको मुख्य उद्देश्य रहेको देखिन्छ। दुःख र अशान्ति मानिसमा व्याप्त भएको मुख्य कारण अज्ञानता हो भनी बुद्धले दिएका उपदेशलाई अनुसरण गर्दै नैतिक शिक्षा र अध्यात्मको प्रकाश सर्वसाधारणमा छर्ने उद्देश्य लिएर बी,एल.आइ.ए. आफ्नो मार्गमा अघि बढ़दै गएको थियो। त्यतिबेला भारतवर्षमा यस संस्थाका नौवटा शाखाहरू थिए। बुद्धगया, दिल्ली, चेन्नइ, हैदरावाद, लदाख, गुजराट (दुईवटा),दार्जिलिङ अनि सिक्किम शाखा। बी,एल.आइ.ए.को सिक्किम शाखा सन १९९४ मा सरकारी दर्ता पाएको संस्था हो। गाउँ समाजको कल्याणका लागि विभिन्न समयमा विभिन्न कार्यक्रमहरू यस संस्थाले सञ्चालन गर्ने गर्थ्यो।
नेपाली भाषा-साहित्यका सम्माननीय र आध्यात्मक भावनाले ओतप्रोत भएका कर्मठ व्यक्तित्व पद्मश्री सानु लामाज्यू त्यस समयमा बी,एल.आइ.ए सिक्किम शाखाका सभापतिको आसनमा हुनुहुन्थ्यो। सिक्किम सरकारको संस्कृति मामिला तथा धरोहर विभागको सौजन्य र सिक्किम अकादेमीको आयोजनामा १० मार्च २००७ को साँझ ५ बजे नेपाली साहित्य परिषद भवन, गान्तोकमा बी,एल.आइ.ए. गान्तोक शाखाले गरेको धरोहर यात्रा २००७ को समापन समारोहमा पद्मश्री सानु लामाज्यूकै निम्तोमा प्रत्यक्षदर्शी हुने मौका मलाई प्राप्त भएको थियो।
सिक्किमका चारवटा जिल्लाका जम्मा छवटा उच्चतर विद्यालयका २२ जना विद्यार्थीहरूलाई लिएर ४ फेब्रुवारी २००७ का दिन धरोहर यात्रा २००७ गान्तोक शहरबाट शुरू गरिएर ९ मार्च २००७ को साँझ सिक्किम राज्यका धरोहर स्वरूप रहेका ऐतिहासिक तथा महत्वपूर्ण स्थानहरूको परिदर्शन गरेर यात्रा टोली गान्तोक फर्किएको थियो। यात्राकालमा विभिन्न प्रकारका ज्ञानवर्धक प्रतियोगिताहरूको पनि आयोजन गरिएको थियो। १० मार्च २००७ को समापन समारोहमा सहभागीहरूलाई प्रेरणा र प्रोत्साहन दिनका लागि प्रमाण पत्र र पुरस्कार पनि प्रदान गरिएको थियो। प्रत्येक विद्यार्थीबाट धरोहर यात्राकालमा प्राप्त उनीहरूको अनुभवहरू साँझा गर्ने सुनौलो कार्यक्रम पनि राखिएको थियो। मुक्त पर्यावरणमा बाँच्न पाउनु वर्तमान समयको अति आवश्यक माग हो। धरोहर यात्राले सो कुरालाई पनि विशेष महत्व दिएको थियो। बी,एल.आइ.ए. को उद्देश्य र आदरणीय सानु लामाको प्रयास वन्दनीय र अनुकरणीय लाग्यो मलाई। त्यसैले सो सम्झनाको पोको यहाँ खोलेँ।
६ जुलाई सन २००८मा सिक्किम अकादेमीको छैटौँ वार्षिक उपलक्षमा नेपाली बाल साहित्यको वर्तमान स्थिति, चुनौती र यसका समाधान विषयमाथि एउटा संगोष्ठी नेपाली साहित्य परिषद, सिक्किमको भवनमा राखिएको थियो। कार्यक्रमलाई दुईवटा सत्रमा बाँड़िएको थियो। पहिलो सत्रमा आमन्त्रित अतिथि विशिष्ट साहित्यकार डा. चुड़ामणि बन्धु, डा. घनश्याम नेपाल तथा सिक्किम अकादेमीकी सम्माननीया फेलो बाल साहित्यकार सुश्री गीता उपाध्याय तथा सिक्किम अकादेमीका अध्यक्षको बाहुलीबाट द्वीप प्रज्वलन गरेपछि अकादेमीका अध्यक्ष पद्मश्री सानु लामाज्यूले स्वागत भाषण राख्नुभयो। गीता उपाध्यायलाई सिक्किम अकादेमीकी सम्माननीय फेलोका रूपमा अभिनन्दन गरिएको थियो। सुश्री गीता उपाध्यायको वक्तव्यपछि अथितिहरूको भाषण राखिएको थियो। पहिलो सत्रमा अकादेमीका प्रशासनिक सचिव पी.एल. शर्माज्यूले धन्यवाद ज्ञापन गरेपछि त्यस सत्रलाई विसर्जन गरिएको थियो।
दिउसोको भोजनपछिको दोस्रो सत्रमा भएको संगोष्ठीमा सभाध्यक्ष हुनुहुन्थ्यो डा. घनश्याम नेपालज्यू अनि सम्माननीय विशिष्ट अतिथिका आसनमा डा. चुड़ामणि बन्धुसर हुनुहुन्थ्यो। संगोष्ठी पत्र पाठ गर्नका लागि डा. कविता लामा, सुवास दीपक तथा मलाई पनि निम्तो गरिएको थियो। संगोष्ठी पत्र लेखन र पठन मेरालागि नौलो र चुनौतीपूर्ण अनुभव थियो त्यो। सानु लामाले मलाई त्यसरी त्यति ठूलो जिम्मेवारी दिनु मेरा लागि आशीर्वाद मात्र होइन दुईवटा वरदान नै बन्न पुगेका छन्। त्यसदिनको संगोष्ठी पत्र लेखनका लागि बाल साहित्यमाथि लेखिएका निकै पुस्तक सङ्कलन गरेर मैले अध्ययन गर्नु पऱ्यो जसले गर्दा बाल साहित्यबारे केही ज्ञान पाउन सकेको थिएँ र त्यसैका आधारमा  मैले भारतेली नेपाली बाल साहित्य नामक एउटा खोजपूर्ण पुस्तक सन २०१५मा प्रकाशन गर्न समर्थ भएको थिएँ। पछि सन २०२१ मा त्यसको परिवर्धित नयाँ संस्करण प्रकाशन गर्न सकेँ। अनि दोस्रो वरदानका रूपमा मैले मालती बाल विज्ञान उपन्यासका रूपमा सन २०११ मा नेपाली बाल साहित्यलाई दिन सकेको हुँ।
नेशलन बुक ट्रष्ट अफ इण्डियाले सन २००२ गान्तोकमा राखेको कार्यशालाको उपज थियो एउटा सानो कथा मालती।  खै कुन्नि के मन लागेर हो सो कथा मैले सन २००८ को बाल साहित्यमाथिको त्यस संगोष्ठीमा जाँदा लिएर गएको थिएँ। त्यसबेला बाल साहित्यका ज्ञाता डा.चुड़ामणि बन्धु र गीता उपाध्यायलाई त्यो सानो कथा पढ़िदिने आग्रह मैले गरेको थिएँ। ठुला मान्छे साँच्चै नै ठुलै हुँदा रहेछन् भन्ने मैले एउटा राम्रो उदाहरण त्यसबेला पाएको थिएँ। झर्कोफर्को नमानी उहाँहरूले त्यो कथा एकै बसाइमा पढ़िसक्नु भएछ। त्यस प्रकारको बाल कथा नेपाली साहित्यमा आइनसकेको जानकारी गराउँदै केही सामान्य सुधार गरेर त्यसलाई झट्टै प्रकाशनमा ल्याइहाल्नु पर्ने सल्लाह उहाँहरू दुवैले मलाई दिनुभयो। संगोष्ठीको कार्यक्रम सकेर घर आएँ र नयाँ जोश लिएर उहाँहरूले भने अनुसार कथालाई पुनः लेखन गर्न थालेँ। कथावस्तुलाई यथावत राखेर मालतीलाई एउटा नौलो रूपमा सजाउँदै लेख्दै गएँ। यसरी लेख्दै जाँदा नयाँ नयाँ कल्पना र भाव आउँदै गए र कथा तन्किँदै गयो। अन्त्यमा त्यसले त एउटा उपन्यासको आकार लिन पुग्यो। उपन्यासको आकारमा त्यसलाई नयाँ रूपमा सजाएपछि आदरणीय सानु लामासरलाई त्यसमा भूमिका लेखिदिने आनुरोध गरेँ। भूमिका लेख्ने क्रममा लामासरले पनि केही सुधारको सल्लाह दिनु भएको थियो। पुनः सुधार गरेर सानु लामासरको भूमिका सहित सन २०११ मा त्यसलाई प्रकाशनमा ल्याउन सफल भएँ।
मालतीको विमोचन कार्यक्रम शास्त्रीनगर समाज सेवा समिति, सिलगढ़ीमा सन २०१२ मा आयोजन भएको थियो। त्यस कार्यक्रमकै लागि भनेर आदरणीय सानु लामा गान्तोकदेखि सिलगढ़ी आउनु भएको थियो। भूमिका लेखकका रूपमा उहाँले पुस्तकमाथि बोल्नुभएको थियो भने पुस्तकको गहकिलो समीक्षा डा.जस योञ्जन ‘प्यासी’ सरले राख्नुभएको थियो। लामो अन्तरालपछि १ दिसेम्बर सन २०१९ मा मेरा चारवटा पुस्तक देवकोटा सङ्घ भवन, सिलगढ़ीमा विमोचन हुँदा पनि लामाज्यू मलाई आशीर्वाद दिनका लागि गान्तोकदेखि धाएर आउनुभएको कुरा बिर्सी नसक्नु थियो। त्यो पनि मप्रति रहेको उहाँको स्नेहको उदाहरण थियो।
 त्यो बाल विज्ञान उपन्यास मालती साहित्य अकादेमी बाल साहित्य पुरस्कार २०१५ का लागि चयन हुनु मेरालागि दोस्रो वरदान सावित हुनगयो। सानु लामाकै अनुग्रहले नेशलन बुक ट्रष्ट अफ इण्डियाले सन २००२ गान्तोकमा राखेको कार्यशालामा बनिएको मालतीको भ्रुणले सन २०११ मा बाल स्वरूपमा संसारमा आउनसक्यो। आदरणीय निबन्धकार नगेन्द्र शर्माले त्यसलाई अङ्ग्रेजी अनुवाद गरेर बुक आर्ट नेपालबाट प्रकाशन गराउनु भयो भने चर्चित अनुवादिका चम्पा उपाध्यायले असमीयामा अनुवाद गरेर गुवाहाटी, असमको ठूलो प्रकाशन संस्था लयार्श बुक स्टलबाट प्रकाशनमा ल्याइदिनु भयो। त्यसबाहेक उत्तर बङ्ग विश्वविद्यालयको बी.ए. पाठ्यक्रममा मालतीले प्रवेश पाउनु भनेको मेरालागि उत्पातैको वरदान हुनपुग्यो। मैले यति ठूलो वरदान पाउनुमा मूल रूपमा आदरणीय पद्मश्री सानु लामाको स्नेह, स्पर्श र प्रेरणाको परिणाम हो भन्नुमा मलाई कुनै आँधीहुरीले पनि छेक्दैन। नेपाली साहित्य परिषद, गान्तोक र सिक्किम अकादेमीसित उहाँ सम्पर्कमा आएपछि हरेक कार्यक्रममा मलाई उहाँले सम्झना गर्नु भएको थियो अनि विभिन्न विषयमा कलम चलाउन लगाएर मेरो मानसिक लेखन प्रवृत्तिलाई सक्रिय बनाउने तर्फ अग्रसर गराउन उद्दीपन प्रदान गर्ने व्यक्ति आदरणीय सानु लामानै हुनुहुन्छ।  “असमीया माध्यममा शिक्षा लिएर, गणित शिक्षकको पेशामा रहेर नेपाली साहित्यप्रतिको उहाँको झुकाउ, सक्रियता र लगनशीलता देखेर मलाई खुशी लाग्छ। अह्राएको काम उहाँले साह्रै मिहिनेत लगाएर गर्नुहुन्छ।”- उहाँले कुनै कार्यक्रममा यसरी भनिदिँदा मेरो मन गदगद भएको थियो। अन्तर मनबाट प्रशंसा गरिदिने व्यक्ति विरलै पाइन्छन्। यसरी प्रशंसा गरिदिने लामाज्यूलाई म शतशत प्रणाम गर्दछु।
नेपाली बाल साहित्यको वर्तमान स्थिति, चुनौती र यसका समाधान विषयमाथिको संगोष्ठीमा पाठ गरिएका तीनैवटा कार्यपत्र सिक्किम अकादेमीको वार्षिक पत्रिका ‘सृजन समय’ २००९ मा प्रकाशित भएका छन्। सानु लामाको आदेश अनुसार म सहभागी बनेका प्रायः सबै कार्यक्रमका विवरण लेखेर मैले अकादेमीलाई पठाएको पनि हुँ। कति छापिए तर कति त अकादेमी जर्नल प्रकाशित नहुँदा ती छापिएनन् पनि होला भन्ने लाग्छ मलाई।
२१-२४ मार्च सन २००९ मा नै सिक्किम अकादेमी र नेशनल बुक ट्रष्ट अफ इण्डियाको संयुक्त आयोजनामा बाल साहित्यमा कथा लेखनको चारदिने एउटा कार्यशाला नेपाली साहित्य परिषद, गान्तोकमा भएको थियो। त्यस कार्यशालाको विशेषता के थियो भने, प्रत्येक कथामा रङ्गीन चित्र समावेश गराउन चित्रकारहरू पनि बोलाइएका थिए। त्यस कार्यशालामा लेखिएका दशवटा रङ्गीन बाल कथाका पुस्तक एन.बी.टी.ले सन २०१६ मा प्रकाशित गरेको थियो। त्यस कार्यशालामा लेखिएका मेरा दुईवटा कथा आमा छोरा र धनबहादुरको सोच एकएकवटा पुस्तककै रूपमा छापिएका छन्।
       देश, समाज र जातिको विकासमा विचार, भावना, उद्देश्य र कर्मको विशेष भूमिका रहेको हुन्छ। सन २००२ मा स्थापना भएको सिक्किम अकादेमीको पछाड़ि लुकेको महान उद्देश्यहरू त्यतिबेला गरिएका एक एक वटा  सक्रिय कर्मद्वारा छर्लङ हुँदै जाँदे थिए। भाषा, साहित्य, कला आदिको विकास गराउन त्यस समयमा अकादेमीले गर्दै आएका विभिन्न कार्यहरू महान उद्देश्यका परिचायक बन्न पुगेका थिए। अकादेमी आफ्ना उद्देश्यहरू तर्फ इमान्दारपूर्वक एकाग्र चित्तले अघि बढ़िरहेको उदाहरणको एउटा त्यतिबेलाको जल्दोबल्दो रूपमा  २२ देखि २६ नभेम्बर सन २०१० सम्म सिक्किमका जीवन्त शिल्पकला परम्परामाथि आयोजन गरिएको कार्यशाला तथा प्रदर्शनीलाई लिन सकिन्छ। त्यस प्रदर्शनी र कार्यशालामा विशेष गरी नारी सृजनशीलतालाई प्रतिविम्बित पार्ने कार्य अति नै सह्रानीय थियो। भारत सरकारको सांस्कृतिक विभाग अन्तर्गत रहेको स्वशासित संस्था इन्दिरा गान्धी राष्ट्रिय कलाकेन्द्र, नयाँ दिल्लीको सहयोगिता, सिक्किम राज्य सरकारको सांस्कृतिक मामिला तथा धरोहर विभाग अन्तर्गत रहेको स्वशासित संस्था र सिक्किम अकादेमीको सक्रियतामा सो कार्यक्रम सञ्चालन भएको थियो।
सो पाँच दिने कार्यक्रममा साहित्यिक तथा अन्य समसामयिक जल्दाबल्दा विषयहरू जस्तैः सिक्किममा गलैँचा बुनाइमा एकमात्र नारीको प्रभुत्व, नेपाली भाषा-साहित्यको विकास र सम्वर्धनमा डा. शोभाकान्ति थेगिम लेप्चाको अवदान, शिक्षा क्षेत्रमा सिक्किमेली नारीहरूको भूमिका, सिक्किमका सृजनशील नारी समाज सेवकहरूको कार्य तथा प्रभाव, राष्ट्रिय तथा सिक्किमको परिप्रेक्षमा नारी अख्तियारमाथि एउटा अध्ययन, राज्यको सम्पूर्ण विकासमा गृह तथा लघुउद्योगको अवदान साथै ती क्षेत्रहरूमा देखा परेका समस्या र समाधानमाथि तुलनात्मक अध्ययन, गाउँले परिवेशमा सिक्किमका नारीहरूमा रहेको पारम्परिक कलाकारिताको भूमिका र सृजनशीलतामाथि एक अध्ययन, खेलकुद र कला क्षेत्रमा सिक्किमेली नारीहरूको सहभागिता र अवदान, स्वदेशी स्पर्शगोचर धरोहर तथा स्वदेशी ज्ञान पद्धतिको परिप्रेक्षमा पारम्परिक नारी झाँक्रीमाथि एउटा अध्ययन  आदि विभिन्न विषयहरूलाई लिएर संगोष्ठी पत्रहरू पठन गरिएका थिए। साथै नारीहरूद्वारा कथावाचन र कविगोष्ठी लगायत सांस्कृतिक कार्यक्रमहरूको पनि सुन्दर प्रस्तुति रहेको थियो।
“मानव सभ्यताको विकासक्रममा आवश्यकता अनुसार गाउँले परम्परामा शिल्पकला फस्टाउँदै गएको हो। समयको कोल्टे फेराइ र शहरी जीवन शैली साथसाथै वैज्ञानिक उपकरणका आविस्कारले गर्दा पारम्परिक कला लुप्त हुँदै जानु भनेको दुःखलाग्दो कुरा हो। पारम्परिक शिल्पकलामा जातीय चिह्नारी र गौरव लुकेको हुन्छ अनि कलाले कुनै अञ्चल वा क्षेत्र विशेषको सांस्कृतिक प्रनिधित्व गर्छ। त्यसैले पारम्परिक हस्तकलाको जगेड़ा अनि यसप्रति हाम्रा मानिसहरूको मानसिकता जगाउनसक्नु ठूलो कुरा हो। गाउँले संस्कृतिका पारम्परिक कलात्मक वस्तुहरूको बजार व्यवस्था साथै कला र कलाकारको संरक्षणको मानसिकता वृद्धि गराउँदै सरकार समक्ष पुग्नुपर्छ भन्ने कुरामा जोर दिँदै सिक्किमको जीवन्त शिल्पकला परम्परा तथा हाम्रा कलाकारलाई प्रेरणा दिने उद्देश्यले राखिएको प्रदर्शनी र कार्यशाला सफल भएकामा म खुशी छु।” -भनेर खुशी व्यक्त गर्दै सिक्किम अकादेमीका अध्यक्ष पद्मश्री सानु लामाले कार्यक्रमको अन्त्यमा आफ्नो भनाइ यसरी राख्नु भएको थियो। त्यस कार्यक्रममा अकादेमीका प्रशासनिक सचिव पी.एल शर्माज्यू र सचिव प्रवीण राई ‘जुमेली’ज्यूको पनि सक्रिय तथा महत्वपूर्ण भूमिका रहेको थियो। त्यस कार्यक्रममा मलाई सिक्किम अकादेमीले आउने-जाने, बस्ने-खाने सबै प्रबन्ध मिलाइदिएर निम्तो गरेकामा म सिक्किम अकादेमीप्रति आभार प्रकट गर्दछु। लामाज्यूकै अनुरोधमा पाँचै दिनको सम्पूर्ण विवरण तयार पारेर मैले सिक्किम अकादेमीलाई पठाएको थिएँ। सो प्रकाशित भएको जानकारी मैले पाउन सकिनँ। त्यस विवरणको प्रति मसित अहिलेमस्स सुरक्षित छ। तर सन २०१०- २०११ को अकादमी जर्नलमा बाल साहित्यमा गीता उपाध्याय नामक मेरो लेख भने प्रकशित भएको थियो।
कोरोनाको त्रासदी केही मात्रामा कम भएपछि एकदिन मलाई सानु लामाज्यूको फोन आयो। “भाइ! फेब्रुवारीको २१ तारिक २०२१ मा मेरा दुईवटा किताब हिमालचुली मन्तिर र जहाँ बग्छ टिस्टा-रङ्गीतको विमोचन कार्यक्रम गान्तोकको मनन केन्द्रको मिनी थिएटरमा राखेको छु। भाइ त्यसमा जसरी पनि आउनुपर्छ। मैले तपाईँहरूका लागि होटल पनि बुक गरिसकेको छु।”
निकै वर्षको अन्तरालमा सानु लामाले त्यसरी मलाई फोन गर्नु भनेको मेरा लागि आति नै आत्मीय स्नेह, आदर र सम्मानको कुरा थियो। एउटा अचम्मको कुरा चाहिँ के भने, यस अघि उहाँका कुनै पनि पुस्तक विमोचन भएको सम्झना मलाई छैन। जे होस्, खुशी हुँदै मैले भनेँ – “मलाई सम्झना गर्नुभएकामा धन्यवाद छ हजुरलाई। यो त अत्यन्त खुशीको कुरा हो। म पक्कै आउँछु सर!”
तोकिएको दिन म र मेरी श्रीमती दिप्ती उपाध्याय गान्तोक पुग्यौँ। हाम्रा लागि सरले एउटा होटलको सुन्दर कक्ष बुक गर्नुभएको रहेछ। त्यस होटलमा हामी बाहेक कवि मनप्रसाद सुब्बा, सङ्गीतकार मधुसूदन लामा र कालुसिंह रनपहेँलीज्यूहरू पनि हुनुहुन्थ्यो। सरले गरेको त्यो आदर र स्नेह म आजीवन विर्सिन सक्दिनँ।
सो विमोचन कार्यक्रम सिक्किम कलाकार सङ्घको तत्त्वावधानमा भएको थियो। पुस्तक विमोचन पछि सानु लामाको सम्पूर्ण जीवन यात्राबारे सिक्किम कलाकार सङ्घले तयार पारेको एउटा वृत्तचित्र पनि प्रदर्शन गरेको थियो। लामाका कालजयी गीत ‘बालापनको आँगन त्यागेर’ निकिता सिञ्चुरीले गाएकी थिइन्। मनप्रसाद सुब्बा र अनिता निरौलाले सानु लामाका कृतिमाथि चर्चा गरेका थिए भने कालुसिंह रनपहेँलीका मुक्तक वाचनले सबै श्रोता मुग्ध भएका थिए। हिमालचुली मन्तिरका एकजना जीवन्त पात्र पी.के.प्रधानले सानु लामासितका रसिलो संस्मरण राखेका थिए।
सही अर्थमा मलाई लेखन क्षेत्रमा अघि बढ़ाउन सानु लामाज्यू एकजना आदर्श व्यक्तित्वका रूपमा मेरो जीवनमा आउनु भएको हो। अहिले पनि मलाई उहाँले अघि बढ़ाइ रहनु भएको छ। आफ्नोबारे एउटा पुस्तक प्रकाशन गर्नका लागि मलाई सुम्पनु भनेको लरतरो कुरा थिएन। स्नेह र विश्वासले भरिएको आत्मीय भावना हो उहाँको।
मलाई मेरा बाले भन्नुभएको कुरा बेला बेला सम्झना गर्छु। उहाँ भन्नुहुन्थ्यो – “विद्वानको सङ्गत गर्नुपर्छ। राम्रो ज्ञान पाइन्छ।” बाले दिएकै संस्कारमा अघि बढ़ेर म पनि विद्वानहरूकै सङ्गत खोजी हिँड़्छु।  त्यसैले होला मलाई धेरै ठुलठुला र विद्वान साहित्यकारहरूको सम्पर्कमा आउन जुरेको छ। साहित्य सृजनाका लागि धेरैको स्नेह र प्रेरणा पनि पाउन सकेको छु। मेरा लागि यो ठूलो कुरा हो। त्यस्तै अनमोल प्रेरणा पाएर म पनि अघि बढ़िरहेको छु। मैले पनि मेरो सामर्थ्य अनुसार सक्दो सृजनाकर्ममा नै समय दिने विचार राखेको छु।
सानु लामाले सुम्पिनु भएको यो मेरालागि एउटा चुनौतीपूर्ण काम थियो। धेरै अनुभवले खारिनुभएको नेपाली साहित्यका महानायक डा. गोविन्दराजज्यूसित मैले यो कुरा राखेँ। “यति राम्रो साहित्यको सेवा गर्ने मौका पाउनु भनेको तपाईँले अहिलेसम्म गरेका कर्मको प्रतिफलन हो। धसिएर यसलाई सफल पार्नतिर लाग्नुहोस्। म पनि सहयोग गर्छु।” – भन्दै  उहाँ खुशी हुनुभयो र  मलाई उत्साह प्रदान गर्नुभयो। साथै यस कार्यमा के कसरी अघि बढ़्नुपर्छ भनेर पनि उहाँले मार्गदर्शन गराउनु भयो। काटमाण्डुका विद्वान लेखकहरूसित उहाँले नै सम्पर्क गराएर उहाँहरूबाट सानु लामाज्यूका कृतिबारे गहकिला रचना उपलब्ध गराउनुभयो। त्यति मात्रै होइन उहाँ स्वयमले पनि आफ्ना व्यस्तभन्दा व्यस्त अनमोल समय खर्चेर हिमालचुली मन्तिरबारे सुन्दर रचना लगायत लामाज्यूसितको एउटा गहकिलो लिखित अन्तरवार्ता पनि तयार पार्नुभयो। विभिन्न समयमा विभिन्न विद्वानहरूले लामाज्यूसित लिएका अन्तरवार्ताहरू उपलब्ध भएसम्म यस ग्रन्थमा राख्नुपर्छ  भन्ने सल्लाह पनि उहाँकै हो।
          ***