नवीन पौड्याल
निबन्ध एउटा ठुलो रूख हो भने नियात्रा त्यसको हाँगा हो। यसलाई विधा मान्ने कि निबन्धको उपविधा मान्ने भन्ने कुरामा केही तर्क-वितर्क चलिरहेको पाइन्छ। यसमा रहेको नियात्रा शब्दले नै निबन्ध यात्रा भन्ने बोकेकाले यसलाई निबन्धकै उपविधा मान्न सकिन्छ। जसरी लेखे पनि यसको रूप, गुण आदि निबन्धकै कोटीमा पर्दछन्। पनि यसमा निबन्धकै यात्रा संस्मरण, यात्रा साहित्य र यात्रा निबन्ध हुँदै अहिले नियात्रा शब्दले अहिले बढी महत्त्व पाएको छ। नियात्रा शब्दको न्वारान गर्ने बालकृष्ण पोखरेल हुन्।यो एउटा विकसित उपविधाका रूपमा देखा पर्दछ। यसका विभिन्न परिभाषा, विशेषता, स्वरूप ढाँचा, प्रकार हुन्छ। नियात्राको हाराहारीमा रहेका जीवनी, आत्मजीवनी, संस्मरण आदि पनि अलग अलग उपविधा हुन्। नेपाली साहित्यमा नियात्रा लेखन पनि अब निकै फस्टिएको पाइन्छ। यसका नयाँ स्वरूप, ढाँचा र शिल्प प्रविधि बढ्दै गएको पाइन्छ।
माऩ्छे भ्रमणशील प्राणी भएकाले उ कता कता घुम्न जान्छ। कोही नजिकै जान्छन् कोही टाढा जान्छन्। कोही स्वदेशभित्रकै विभिन्न स्थान जान्छन् त कोही विदेश घुम्छन्। यसरी विभिन्न ठाउँ, शहरतिर यात्रा गर्दा, हिँड्दाविभिन्न नयाँ कुरा देख्छ। त्यो घुम्ने मान्छेभित्रको सिर्जनात्मक चेतनाले घच्घच्याएर उसका अनुभव-अनुभूति लेखेर व्यक्त गर्दछ। यद्यपि यो गुण सबैमा हुन्न। देश विदेश भ्रमण गर्ने एक प्रतिशतले पनि लेख्दैनन्। यदि भ्रमण गर्ने नेपालीमध्ये एक प्रतिशतले आफ्नो आफ्नो यात्रा अनुभव लेखे नेपाली नियात्रा साहित्य अझै विकसित हुनेथियो। भ्रमण गर्नेमध्ये अत्यन्त थोरैले लेख्दा पनि नेपाली नियात्रा साहित्य फस्टिएको नै पाइन्छ। नेपाली साहित्यमा नियात्रा लेख्ने साहित्यकारको सूचि लामै छ। नेपाली साहित्यमा नियात्रा लेखनमा एकनिष्ठ समर्पित भएर लेख्ने लेखकहरूको सूचि पनि लम्बिदै गएको पाइन्छ। यद्यपि यसैलाई विशिष्ट योगदान दिने केही उल्लेखनीय लेखकहरूमा जय छाङछा एक उदाहरणीय नाम हो ।
यात्रा वर्णन लेख्नेबित्तिकै जम्मै नियात्रा हुँदैनन्। यात्रा संस्मरण जम्मै नियात्रा नहुन सक्छ। यात्राको अनुभव, अनुभूतिलाई कलात्मक ढङ्गा प्रस्तुत गरेको हुनुपर्छ। रागात्मक अनुभूति, आवेश संवेग, भाषागत कौशलबाट मात्र नियात्रा हुन्छ। यसरी नियात्राको वैशिष्ट्यका आधारमा परीक्षण गरे नेपालीका धेरै पुस्तक नियात्रा नभएर यात्रासंस्मरण बन्न सक्छन्।
नियात्राकार जय छाङछारपैदलै काठमाडौं चुलीहरू–
सन् १९१३ सालमा शेरशिंह रानाको मेरो बेलायत यात्रादेखि केदारमणि आदी हुँदै आजसम्म आइपुग्दा नियात्रा लेखन निकै झ्याँगिएको छ, प्रगति गर्दै आएको छ। नेपालको भोजपुर जिल्लाको बाबिम्पामा जन्म लिएका जय छाङछा नेपालको कुटनैतिक सेवामा रही विभिन्न देशमा बसेर नेपालका प्रतिनिधित्व गरेका व्यक्ति हुन्। उनी नियात्रा लेखनमा नै बढी समर्पित भएका छन्। हालसम्म उनका ‘कङ्गारूको देशदेखि आइफेल टावरसम्म’ (सन् १९९५), ‘चाँप फुल्ने पहाड़मुन्तिर’ (सन् १९९८), ‘बादल रूँदाको जुरिच’ (२००३), ‘विव्लेटो आकाशको धरातलतिर’ (२००९), ‘दोहाको सिधा उडान’ (२०१७), पैदलै काठमाडौंका चुलीहरू’ (२०१९) गरी जम्मा छवटा नियात्राका पुस्तक प्रकाशित छन्। नियात्राबाहेक उनका ‘पोटोम्याकको किनारमा’ (२००१), ‘छाङ्छाका प्रेम कविताहरू’ (२००५), ‘That I love the world’ (२०१६) र ‘यात्रामा कविता’ (नेपाली र हिन्दीमा, २०१६)गरी चारवटा कवितासङ्ग्रह प्रकाशित छन्। यसैगरी टुरिस्ट गाइडबुकका रूपमा ‘अमेरिका यात्रा अध्ययन र इलम’ (२००६) र ‘कतार सारथी’ (२०१४) पनि प्रकाशित छन्। उनका कृतिहरूको सूचि मात्र हेरे पनि उनी नियात्राको विकासमासमर्पित छन्। उनका छवटा नियात्रा पुस्तकबाहेक उनका दुईवटा कवितासङ्ग्रहरूमा समेत नियात्राको प्रभाव परेको पाइन्छ।
यसै क्रममा जय छाङ्छाको सबैभन्दा पछिल्लो नियात्रा पुस्तक पैदलै काठमाडौं चुलीहरू आफ्नो किसिमले यो विशिष्ट छ। नियात्राका लक्षणले परख गरे यो पक्का नियात्रा पुस्तक सिद्ध हुन्छ। यात्रा वर्णनका क्रममा मानवीय संवेदना, रागात्मक अनुभूति अभिव्यक्त गरिएको छ। यसले छनोट गरेको यात्रा स्थल नै रोचक छ। अमेरिका र युरोपतिरको भ्रमण मात्र होइन, काठमाडौंकै वरिपरिका पहाडको चुचुराहरू घुम्नका लागि चयन गरिएको छ। पुस्तकमा पन्ध्रवटा भ्रमण वृतान्त छ। यी पन्द्रवटा लेखहरूमा काठमाडौं वरिपरिका चुलीहरू एकेक दिन हिँडेर पुगेको मूल कुरालाई विभिन्न प्रसङ्ग, दृश्यावलीको भिडियो खिचेझैं गरी वर्णन उतारिएको छ। प्रत्येक संस्मरणहरूको आ-आफ्नै विषयवस्तु, लक्ष्य र विशेषता रहेका छन्। पैदलै काठमाडौंका चुलीहरूमा जम्मा १५ वटा भ्रमण वृतान्त छन्। यसमा विदेशको यात्राभन्दा आफ्नै मुलुकको र अझ आफु बसेकै काठमाडौंको वरिपरिका स्थानहरूको वर्णन वृतान्त पाइन्छ। काठमाडौंलाई चारैतिरबाट घेरेका पहाडहरूका चुलीहरू हिँडेर पुगेको वर्णन पाइन्छ। नगरकोट, रानीकोट, लाँकुरी भञ्ज्याङ, फुलचोकी, चन्द्रागिरि, भालेश्वर, भीमढुङ्गा, दहचोक,जामाचो, शिवपुरी, वाक्द्वार, तारेभीर, मणिचुड आदि चुलीहरूको वर्णन पाइन्छ। परदेशको सुन्दरता मात्र होइन आफ्नो मुलुकमा पनि अझ सुन्दर दृश्य, हराभरा, प्रकृतिको न्यानो काखको अनुभव गरेका छन्। काठमाडौंको वरिपरिका स्थानीय क्षेत्रमा पनि अझ सुन्दर दृश्यावली रहेका छन्। लेखमा स्वच्न्द रूपमा भ्रमण गर्ने, नयाँ नयाँ अनुभव तथ्य र ज्ञान बटुल्ने, प्राकृतिक दृश्यको नजिकबाट अवलोकन गर्ने, हाम्रो गाउँले समाजको सुखदुःख बुझ्न प्रकृतिसित रम्ने उद्देश्य देखिन्छ। लेखको हृदयमा देशप्रेम भरिएको छ। देशको सामाजिक संस्कृतिसित घुलमिल गर्ने प्रवृति छ।
विदेश यात्राभन्दा आफ्नै वरिपरिको पहाड पर्वततिर हिँडेका रोचक संस्मरणलाई उतारेका छन्। स्थानीय किंवदन्ती विशेषता सूचना, परिचय, इतिहास, सामाजिक स्थिति आदिको प्रस्तुति खुबै रमाइलो लाग्छ। यसमा लेखकीय भाषा पनि प्राञ्जल, सरल, कलात्मक रहेको छ। कुनै शनिबार र छुट्टी पारेर चरणबद्ध रुपमा काठमाडौका वरिपरिका पहाडका चुचुराको पैदल यात्रा वर्णन पाइन्छ। पुस्तक साह्रै रोचक,ज्ञानवर्द्धक र साहित्यिक चास्नीमा डुबेको छ। यसमा भ्रमणका क्रममा उब्जेका मानवीय संवेदना, राग अनुराग, भावना पनि अभिव्यक्त छ।आफुले घुमेका प्रत्येक स्थानसित नेपाल र नेपालीको गौरवबोध गर्ने क्षमता छन्, भावनात्मक सम्बन्ध छ, भौगोलिक र ऐतिहासिक नाता छ। प्रकृतिको नजिकमा बस्न रमाउने नेपालीको आस्थासँग जोडिएको छ। प्रत्येक डाँड़ाकाँड़ा, त्यहाँका पौधा, मठ, मन्दिर गुम्बा, धारा, पौवा, गोरेटामा हाम्रो इतिहास जोडिएको छ, वर्तमानको अस्तित्व गाँसिएको छ भन्ने आशय पनि परोक्ष रूपमा अभिव्यक्त गरिएको छ।
नियात्रागत वैशिष्ट्य–
यस सङ्र्ग्रह अध्ययन गर्दा हामी निम्न केही बुँदाहरूबाट लाभान्वित भएको पाउँछौं-
- लेखककै योजना र अगुवाइमा आफ्ना चार-पाँचजनाजति साथीहरूको समूह बनाएर ‘पैदलै काठमाडौंका चुलीहरू’ भन्ने अभियान चलाएर चरणबद्ध रूपमा पैदल हिँड्ने कार्यक्रमकाठमाडौं वरिपरिका पहाडका चुलीहरू चडेका रोचक वर्णन पाइन्छ।
- भ्रमण वर्णन पढ्दै गर्दा पाठक आफैं घुमेको महसुस हुन्छ। वन जङ्गल, वन्य पराणीको रक्षा, सरकारी संयञ्त्रको पर्याप्तता र अपर्याप्तताको आकलन, ती भित्री गाउँहरूको अवस्थानको सर्वेक्षण आदि कुराहरूबारे ज्ञान लाभ गर्न सकिन्छ।
- स्थानीय नाम, भौगोलिक, सामाजिक, राजनैतिक अवलोकन भएको पाइन्छ।
- काठमाडौं शहरदेखि वरिपरि रहेका पहाडतिर आधारभूत सुविधाबाटसमेत बञ्चित भएको तर प्रकृतिको वरदान पाएका ठाउँ रहेछन्।
- काठमाडौंदेखि वरिपरिका पहाडतिरका बासिन्दाहरूको रहनसहन, आजीविका, जातीय सर्वेक्षण, धार्मिक महत्त्व, प्रकृति र मानिसको सम्बन्ध आदि झल्काउने प्रयास गरिएको छ।
- वरिपरिका विभिन्न चुलीहरू काठमाडौंका निम्ति सामरिक, जलवायु, पानीको स्रोत, नेटवर्क टावर आदि धेरै कुरा कति महत्त्वका रहेछन् भन्ने कुरो पाठकलाई अभिबोध हुन्छ।
- इतिहासका पानाहरूमा पनि यी चुलीहरू निकै महत्त्वका रहेका हुन्। पृथिवीनारायण शाहको नेपाल एकीकरणमा यीनै डाँड़ा-काँड़ाको विशेष सामरिक र भौतिक महत्त्वलाई झल्काइएको छ।
- स्थानीय चित्रणसँगसगै लेखकभित्रको देशभक्ति, जातीय एकता, भाषा प्रेम, संस्कृति सचेतता, धार्मिक आस्था, इतिहास चेतना, प्रकृति प्रेम, सहयोगी र मैत्री आदि भावनाहरू सल्बलाएको पाइन्छ।
- पैदल यात्राकाक्रममा मन्दिर र गुम्बाको परिदर्शन गरेको, मन्दिर र गुम्बासित जातीय इतिहास र पृष्ठभूमि, भाइचारा आदि झल्काइएको छ।
- लेखहरूमा विवरणात्मक शैली पाइन्छ। यद्यपि धेरै संवाद शैलीको पनि प्रयोग पाइन्छ। बाटामा स्थानीय कोही ब्यक्ति भेटे उसलाई त्यस गाउँ-ठाँउको बाटाघाटा, मठ-मन्दिर, गुम्बा, विशेषता, कृषि कार्य आदि यावत कुरा सोधेर सांस्कृतिक र भौगलिक सर्वेक्षण गरिएको पाइन्छ।
- पैदल भ्रमण गर्ने क्रममा तीनचार चोटि कुनै मन्दिर वा डाँड़ाको टुप्पामा कविगोष्ठीको पनि आयोजना भएको उल्लेख पाइन्छ।
- लेखकले यात्राक्रममा देखेका स्थलहरूका विगतको इतिहास, वर्तमानको भौतिक पूर्वाधार र संरचना र भविष्यको अपार सम्भावनालाई अनुसन्धान गर्ने जमर्को गरेका छन्।
मूल्याङ्कन र उपसंहार
यसरी हेर्दा जय छाङछाको पैदलै काठमाडौंका चुलीहरू नियात्राको आफ्नै परिपाटी, विशिष्टता, शैली, स्वाद, रोचक प्रस्तुति र साहित्यिक रसको चास्नीमा डुबेको एउटा उत्कृष्ठ कृति हो। यसका विभिन्न विशेषता छन्। यसमाकाठमाडौंलाई घेरेका वरिपरिका पहाड र यसका चुलीहरूको भ्रमणका निम्ति पैदलै यात्रा गर्दा देखिएका भेटिएका, सोधिएका कुरालाई बडो रोचक प्रस्तुति दिएर उतार्नुभएको छ। साहित्य अध्येताहरूका निम्ति पठनीय र सङ्ग्रहनीय छ।यसलाई पैदल यात्रा गर्दाका शारीरिक शास्ति पाए पनि यात्राको आनन्दका साथै भौतिक पूर्वाधारको आकलन, भविष्यको सम्भावनाको खोजी गरिएको छ। यात्रा वर्णनक्रममा मानवीय संवेदना, अनुभव र अनुभूतिलाई अभिव्यक्त गरेका छन्।यो पैदलै काठमाडौंका चुलीहरू पुस्तक साहित्यका अध्येता र मर्मज्ञका निम्ति अत्यन्तै पठनीय र संग्रहनीय छ।
०००
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१) भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ, भारतमा बसोवास गर्छन् ।
