७ बैशाख २०८२, काठमाडौं ।
साहित्यिक पत्रकार सङ्घको आयोजनामा कथाकार डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रहको लोकार्पण कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा. दयाराम श्रेष्ठ, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, लेखककी आमा बुद्धकुमारी कार्की, वरिष्ठ आख्यानकारहरु प्राज्ञ माया ठकुरी र भागीरथी श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, भुँडी पुराणका केशव पराजुली, साहित्यकार सन्ध्या पहाडी लगायतले सामुहिक रुपमा सो कृतिको लोकार्पण गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राडा. दयाराम श्रेष्ठले कथाकार डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रहले नयाँ सन्देश दिएको र कथाहरुमा नयाँपन रहेको बताए । विशिष्ट अतिथि वरिष्ठ आख्यानकार माया ठकुरीले कथाकार कार्कीलाई बधाई ज्ञापन गर्दै उहाँको सिर्जनशील जीवनको कामना गरिन्।
वक्ता समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्कीले कथाकार डा. अमर कार्कीको “क्षितिजपारी” कथा सङ्ग्रहमा सङ्ग्रहित बाह्र कथाको समीक्षा गर्दै कथाहरूले दिएको सन्देशबारे बोलेका थिए ।
लोकार्पित कृतिका सर्जक कथाकार कार्कीले आफ्नो साहित्यिक यात्राको पृष्ठभूमि बताउँदै कथा सिर्जनाबारे बताउँदै आफ्नो जीवनमा आमाको महत्त्वको चर्चा गर्दै “आमा” र “नयाँ वर्ष” कविता पनि वाचन गरेका थिए ।
अध्यक्षको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमा प्रकाश पार्दै साहित्यिक पत्रकार संघको बारे जानकारी गराउँदै कथाकार कार्कीको सिर्जनशील जीवनको कामना गरे ।
साहित्यकार मन्जिला अनिलले सहजीकरण गरेको सो कार्यक्रममा कृति प्रकाशन संस्था “भुँडीपुराण”का केशव पराजुलीले पुस्तक प्रकाशनबारे बताएका थिए ।
कथाकार कार्कीलाई सम्मानसमेत गरिएको सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र प्रमुख वक्ता सहित साहित्यकारहरु विक्रमभक्त जोशी, उषा के. सी. राजन नेउपाने र गायिका रितु कँडेललाई मायाको चिनो प्रदान गरिएको थियो ।
