मासिक सोह्रौं कथावाचन कार्यक्रम सम्पन्न

मुख्य समाचार

२५ माघ २०८१, काठमाडौं

२०८० साल साउनदेखि प्रत्येक महिना आयोजन गरिँदै आएको दशकदशकका कथावाचन कार्यक्रमको सोह्रौं श्रृङ्खला सम्पन्न भएको छ ।
दिवंगत स्रष्टाको एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने चलन अनुसार यस पटक दिवंगत स्रष्टा हरिप्रसाद प्रधान (विसं १९५१—२०२०)को कथा वाचन गरेर उहाँप्रति सम्मान प्रकट गरिएको थियो । उक्त कथा
कथाकार पबित्रा अधिकारीले वाचन गरेकी थिइन् ।
त्यसपछि २०३० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार रवि प्रान्जलले, २०४० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार इस्मालीले, २०५० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार रत्नमणि नेपालले, २०६० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार भागीरथी श्रेष्ठ तथा ईल्या भट्टराईले एवम् २०७० को दशकमा प्रकाशित कथा अन्तर्गत कथाकार हरिमाया भेटवालले आफ्नो कथा वाचन गरेकी थिइन् ।
यस अभियानका परिकल्पनाकार कथाकार,नियात्राकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै शुरु भएको सो कार्यक्रमको अन्तमा अर्का परिकल्पनाकार पुष्कर लोहनीले समेत आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन कथाकार मन्दिरा मधुश्रीले गरेकी थिइन् ।
कार्यक्रममा कथावाचन गर्नेहरुबाहेक श्रोताहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply