छाडिएको गाउँ

कविता

गणेश श्रमण

घर , परिवार
श्रीमती , छोराछोरी
गृहस्थीको जिम्मेवारी
जागिर सबै सबै छोड्यो
तर आफैंलाई छाड्न सकेन र
आफ्नै शरीरलाई लिएर
हिड्यो ऊ खुरुखुरु

पहिलो रात
कुनै प्रतिक्षालयमा काट्यो

बिहान उठ्यो, अब के गर्ने !
सर्टको गोजी छाम्यो
सुर्ती त्यही रहेछ
सुर्तीको खोल हे-यो
क्यान्सरले ग्रस्त गाला र गिजाको
बिरुप फोटो राखिएको रातो कलरको
खोलमा लेखिएको थियो – गोल्डन नेपाल
अर्थात सुनौलो नेपाल
खोलमा लेखिएको शब्द
उसलाई व्यङ्ग्यजस्तो लाग्यो
तर व्यङ्ग्य को प्रति हो ?

साच्चै देशप्रति व्यङ्ग्य हो कि
(हुनत अचेल उसले
देशको चिन्ता गर्न छाडिसकेको थियो )
सुर्तीप्रति हो कि ?
या सुर्तीखानेप्रति नै हो
उसले यसै बुझ्न सकेन
सायद बुझेको भए
उसले सूर्ति खाने पनि थिएन होला !
हुनत अचेत मानिसहरू
धेरै कुरा बुझेर पनि
बाहिर बाहिर नबुजेझैँ गर्छन्

यस्तै यस्तै कुरा
बुझ्न नसकेर नै
पछिल्लो समय
ऊ हिडेको हो

हेर्दै डरलाग्दो यस्तो सुर्ती
आधि आधि घण्टामा थुक्दै
अर्को पुरिया फेरि मुखमा राख्नुपर्ने
यस्तो लेखेको देख्दादेख्दै त
सुर्तीसम्म छोड्न नसक्नेले
घर कसरी छाड्न सक्छ र ?
साच्चै, पहिलोपटक उसलाई आफैप्रति
अविश्वास पलायो

गाला छाम्यो
दाह्री बिझायो
विहान विहान सधैं काट्ने बानी थियो
एकछिनपछि
चियाको तलतल लागेजस्तो भो
भोक लागेजस्तो भो

पारिपट्टि हेर्‍यो
दुईजोगी बाटो छेऊ
सानो कसौंडीमा केही पकाउँदै थिए
नजिकै गयो
के लागेर हो कुन्नि
उसलाई पनि कागजको प्लेटमा
केही खान दिए
उसले चुपचाप खायो र
सोच्यो ! विहानको छाक यसले टर्‍यो त ।

त्यहाबाट पनि अघि हिंड्यो
पछाडि छाम्यो, पर्स त त्यही रहेछ
ठिक छ ,
यसमा रहेको तिनचारहजारका नोटले
चारपाँचदिन त जान्छ
ऊ केही ढुक्क भयो

दिनभर बाटोको छेवैछेऊ
हिडिरह्यो
लुखुर लुखुर
लुखुर लुखुर
मन्दिर कट्यो
खोला कट्यो
जङ्गल कट्यो
ऊ कहाँ हिडेको हो
आफैंलाई थाहा छैन !
घर किन छाडेको हो
सबै सबै बिर्सियो
सानोमा काम नगर्दा
आमाले गाली गर्दा
भन्ने गरेको कुरामात्र सम्झियो –
“काम गर्नाहा´ पीरले जोगी भयो
जोगी भएको भोलिपल्ट भोकै भयो”

तर , ऊ जोगी बन्न पनि
हिंडिरहेको थिएन
किन हिडिरहेको थियो त ?
ऊ आफैंलाई थाहा छैन

हिंडिरह्यो, हिंडिरह्यो
ठुलो नदी आयो
पुल आयो
पुलको बीचमा पुग्यो
एकछिन अडिएर
बाहिरको ज्याकेट खोल्यो
घडी खोल्यो
माेबाइल छाम्यो
( मोबाइल त उसले हिजो घरमै छाडेको थियो )
रुमाल निकाल्याे
साँचोको झुप्पोजस्तो केही निकाल्यो
पुलको बीचमा केही शङ्कास्पदजस्तो
ब्यबाहार गरेको देखेपछि
वरिपरि हिडेकाले
ए, ए के गरेको के गरेको भन्दै चिच्चाए
यत्तिकैमा
उताबाट “सुन्दर सुदुरपश्चिम”
लेखेको ठुलो बस आयो
उसले हात दियो
बस झ्याप्प रोकियो
ऊ चढ्यो
बस हिंड्यो ।

०००

कवि परिचयः कवि गणेश श्रमण पर्वत जिल्ला, कुर्घामा जन्मेका हुन् र हाल भरतपुर चितवनमा बसोवास गर्छन् । उनले “विवसता” शिर्षकको कविता “नवकविता” मा बिसङ २०४९ सालमा प्रकाशन गरेसँगै साहित्यमा पदार्पण गरेका हुन् । उनका “शब्दक्रान्ति” – कवितासङ्ग्रह (२०६६), “गुलियो काठमाडौ“- लघुकथा (२०७५) तथा “आगो लिएर गाउँ गाउँमा” -कविता सङ्ग्रह (२०८०) कृतिहरु प्रकाशित छन् ।

 

Leave a Reply