मौनताका नमुना राजेन्द्र पराजुली

व्यक्ति बृत्त संस्मरण

उदय निरौला

 

अमेरिकाको  अलावामा राज्यको “दि किङडम अफ दि ड्रिम मन्टेगोमेरी” भनेर जताततै लेखिएको यो शहर वा राजधानीमा मैले समाचार र सामाजिक संजालमा हेरेँ समाचार र देखेँ मुहार पुस्तिकामा स्टाटसहरू “साहित्यकार राजेन्द्र पराजुली अब रहनुभएन !”

एक सपना जस्तो अनि दुख:द र कताकता अन्तर मनमा “ए हो के?” भनेजस्तो भानले म पुर्णतः स्तब्ध बनें । यद्यपि समाचार सत्य नभई स्टाटस साहित्यकार मित्रहरूले किन लेख्नु हुन्थ्यो र ? सेप्टेम्बर २७, २०२३ अर्थात बि.सं २०८० भाद्र २५ गते वहाँको निमोनियाँका कारण बिएण्डबि.अस्पताल ललितपुरमा निधन भएछ । बडो दुख:द यो समाचार सुनेको दिनदेखि ऐलेसम्म पनि बेचैन छु म ।

धेरै बेचैन र स्तब्ध ! किनभने बि.सं २०४६ सालमा मैले चिनेका राजेन्द्र पराजुलीसँग विसं २०५० सालबाट सँगसँगै हामीले नेपाल साहित्य गुठीको स्थापना र संचालन सँगसँगै गरेका थियौं । वहाँ त्यो संस्थाको सक्रिय सदस्य । म पनि । हामी दुई र अध्यक्षमा स्व.नकुल सिलवाल, सचिवमा ललिजन रावल अनि अरु दुई सदस्यमा रवि प्राञ्जल र मित्र राजकुमार के.सी । हामी छ जना थियौँ । हामीले धेरै लामो समय सँगसँगै काम गर्यौँ ।

आज यो अलावामा मन्टेगोमेरीको डियर क्रिक कम्युनिटी भित्रको मार्सटनमा मेरो फोनमा मैले २०४० सालमा चिनेका राष्ट्रिय स्तरमा उतिबेला नै स्थापित भै सक्नु भएका मित्र गोविन्द गिरी प्रेरणा जो अमेरिका धेरै अघि आएर भर्जिनियामा स्थायी बसोबास गरिरहनुभएको छ, आज विहान कुरा गरेँ । कुराकै सिलसिलामा वहाँले भर्जिनियाबाट नेपाली साहित्यको अनलाइन पत्रिका प्रकाशन गरिरहनु भएकोले वहाँ अर्थात् स्व.राजेन्द्र पराजुलीमाथि एक संस्मरण लेख्न आग्रह गर्नु भएकोले मैले लामो समय राजेन्द्रजीसँग बिताएका पलहरूबारे लेख्ने जमर्को गरेको छु ।

मैले माथि नै लेखेको छु कि वहाँ साहित्यकार हुने क्रममा हुनुहुन्थ्यो भै नसकेको अवस्थामा नयाँ सडक काठमाडौंको पीपलबोट नीर एक मल्होत्राजी (प्रख्यात दिपक मलहोत्राका ठूला दाजुको सानो चिया पसल जहाँ दिपक मलहोत्रा पनि चिया बनाउने काम गर्दथिए) त्यो पसलमा साहित्यकार अग्रज दाईहरू स्व.मोहन कोईराला,कृष्ण भक्त श्रेष्ठ (जो त्यतिबेला मधुपर्क मासिकमा प्रधान संपादक हुनुहुन्थ्यो ), नगेन्द्र थापा, गीतकार रत्न समसेर थापा,गीतकार राममान तृषित,यदाकदा आउने कवि मदन रेग्मी त्यस्तै पुष्कर लोहनी ,तुलसी दिवश,,वंशी श्रेष्ठ ,स्व.उपेन्द्र  श्रेष्ठ ,डा.दयाराम श्रेष्ठ संभव,कहिलेकाहीँ आउने कवि मिनबहादुर बिष्ट ,प्रशिध्द र दमदार कवि कृष्ण भुषणबल, गजलकार बुँदराना, निवन्धकार माधव पोखरेल,स्वर्गीय कृष्ण चन्द्र सिङ प्रधान ,  यदाकदा आउनुहुने बिशिष्ट साहित्यकार स्व.डा तारानाथ शर्मा र वहाँका पुराना मित्र स्व.बाल कृष्ण पोखरेल, कवि दुर्गालाल श्रेष्ठ यस्तै बरिष्ठ कवि स्व. ईश्वरबल्लभ, स्व.कवि श्यामदास बैश्णव,कथाकार स्व .पोषण पाण्डे  कवि शैलेन्द्र साकार,कवि हरि अधिकारी ,यदाकदा आउने स्व.शिव अधिकारी ,कवि विमल निभा,कवि मञ्जुल,कवि श्यामल अधिकारी ,कवि पुरुषोत्तम सुवेदी ,कथाकार नारायण ढकाल,कथाकार नारायण तिवारी हाल बिराटनगर ,कवि बियोगी बुढाथोकी ,कवि गोबिन्द गिरी प्रेरणा,फाट्टफुट्ट देखिने कविहरूमा हेमन्त श्रेष्ठ र विश्वबिमोहन श्रेष्ठ ,कवि अशेष मल्ल र कवि बिष्णु बिभु घिमिरे, महिला कवि कथाकारहरू बेञ्जु शर्मा ,मञ्जु शर्मा ,कुन्ता शर्मा ,संगीतकारहरूमा दिपक जंगम (वहाँ दैनिक आउनु हुन्थ्यो )यदाकदा शक्ति बल्लभ, प्रकाश सायमी, गीतकार यादव खरेल यस्तै चर्चित कथाकार ध्रुव मधिकर्मी  उपन्यासकारहरूमा नयनराज पाण्डे ,कवि दुवसु क्षेत्री, यस्तै रेसम पाँडे, धिरेन्द्र प्रेमर्षीहरू र  तत्कालीन चर्चित गजलकार ज्ञानुवाकर पौडेल , कथाकार दक्ष गजलकार स्व. मनु ब्राजाकी कथाकार सन्तोष भट्टराई आउनुहुन्थ्यो । चावहिलतिर बसोबास गर्ने प्रशिध्द कवि तथा अब्बल निवन्धकार स्व.गोविन्द बर्तमान,कथाकार देविका तिमल्सिना ,सार्दुल भट्टराईहरू पनि र अब्बल कवि कथाकार राजव पुडासैनी पनि प्रायः आउनुभएको थाहा छ मलाई ।

पछिल्लो पुस्तामा भाइ कवि बुध्दि सागर चपाई,  समालोचक भाइ नेत्र एटम,गजलकार प्रकाश घायल,विप्लव ढकाल भाइ, रमेश क्षितिज यदाकदा आउने । अरु नयाँ ऐले पुराना हुँदै गएका साहित्य सेवीहरू पनि आँउथे । पुरुषको तुलनामा महिला स्रष्टा कमै हुनुहुन्थ्यो ।

त्यँही राजेन्द्र पराजुलीसँग भेट भयो । वहाँ त्यतिबेला विदुर गौतमले निकाल्ने तन्नेरी पत्रिकाको सम्पादन गर्नुहुन्थ्यो । मैले र ललिजीले प्रकाशन गर्ने पत्रिका अनुराग र तन्नेरी एउटै प्रेसमा छापिन्थ्यो । राजदाईको छापाखाना यट्खा काठमाण्डौमा । अलि पछि राजेन्द्र पराजुलीको सट्टामा बिदुरजीले ललिजीलाई तन्नेरी संपादन गर्न दिएपछि राजेन्द्रजी अमेरिकी गोथे इन्स्टिच्युटमा अँग्रेजी भाषा पढेको संझना आउँछ । त्यसपछिको समयमा म २०६५ सम्म नयाँ सडक जाँदा धेरै साहित्यकारहरू आउन छाडिसक्नु भएको थियो । तसर्थ मेरो २०६५ पछि भने सबै जसो साहित्यकार लगायत राजेन्द्र पराजुलीजी पनि कुनै दैनिक पत्रिकाको संपादनको काममा लागेपछि भने हाम्रो भेटघाट कमैभयो । विसं २०७२ को भूकम्प पछि वहाँ र विप्लव ढकालहरू नयाँ बानेश्वरको चिया पसलमा भेटिने भएकाले यदाकदा म पुग्थेँ । सायद अन्तिम भेट मैले मेरो छोरीको विवाहको निमन्त्रणा कार्ड दिनजाँदा २०७६ सालको बैशाखमा वहाँको घर तीनकुनेमा भएको थियो । त्यसपछि मेरो वहाँसँग भेटघाट भएको मलाई याद छैन ।

विसं २०५० सालको नेपाल साहित्य गुठीको नाममा मैले खर्च गरेर मैले नै आयोजना गरेको नेपाली साहित्यकारहरूसँग भेटघाट गोष्ठी आदि गर्ने भनेर म, ललिजन रावल, राजकुमार केसी, राजेन्द्रजी, रवि प्राञ्जल अनि स्व.नकुल सिलवाल समेतले चितवन देखि हेटौंडा विरगंज,बिराटनगर ,झापा र इलामसम्मको भ्रमण, साहित्य गोष्ठी गर्दै गराँउदै हिँडेको एबं गरेकोमा वहाँ इटहरीको गोष्ठीमा मात्र सामेल हुनुभयो ।  वहाँ इटहरीको गोष्ठीमा मात्र सामेल हुनु भयो । रविजी पनि इलाममा सामेल भएर फर्कनु भयो । झापामा स्व.मदन ढकालले संयोजन गर्नुभएको साहित्य गोष्ठी ठूलो भएको थियो । त्यहाँ रविजी र राजेन्द्रजी अनि राजकुमार केसी पनि हुनुहुन्न थियो । केवल हामी तीनमात्र थियौ । त्यही बेला मैले ललिजन र स्वर्गीय नकुल सिलवाललाई पुर्वका संगीतकार गायक कोमल निरौला, डम्बर पहाडी ,शिव शंकर थापा र कविहरू हिरा आकाश , मधु पोखरेलहरूसँग चिनाजान गराएको थिएँ ।

मैले सुरुमा भेटेका राजेन्द्र पराजुलीलाई साहित्यबारे त्यति ज्ञान नै थिएन । वहाँ  बोल्न पनि धक मानेर सायद सोधेको कुराको मात्र जवाफ दिने एक प्रकार मौन अभिब्यक्तिका अमुर्त मान्छे जस्तो लाग्थ्यो ।  हाम्रा मित्रहरू बीच यो बारे कुराकानी पनि  हुन्थ्यो ।  पछि उनै राजेन्द्र पराजुली कुशल बक्ता, लेखक, कथाकार बनेर देखिनाले साहित्य भनेको निरन्तरको साधना हो कसैकसैलाई मात्र नैसर्गिक प्रतिभा पर्कृती पदत्त हुन्छ भन्ने मलाई लाग्छ ।

बस् यीनै शव्दकासाथ  राजेन्द्रजीलाई श्रध्दा शुमन । अस्तु ।

 

०००

 

लेखक परिचयः उदय निरौला मूलत कवि हुन् । ईलामको देवनछाप, इरौंटारमा जन्मेका उनी भक्तपुरमा बसोवास गर्छन् । कविता र निबन्ध,संस्मरण र नियात्रामा कलम चलाउने उनका कविता संग्रहहरु कोलाहल पिएर (२०४९), जराहरू किमार्थ मर्दैनन् (२०५४), शीतको मफलर( २०६०), उदय निरौलाका प्रतिनिधि कविताहरू (२०६५), अस्ताउँदो सुर्य टेकेर (२०७८) तथा कोर्दै/मेट्दै (२०५३) निवन्ध सङ्ग्रह प्रकाशित छन् ।  यो संस्रण उनले अमेरिका भ्रमणको क्रममा अलाबामाबाट विश्वपरिक्रमाको आग्रहमा लेखेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *