संयुक्त राज्य अमेरिकाको पहिलो भ्रमण : घुम्दैफिर्दै रुम्जाटार

गद्य विविध मुख्य समाचार

प्राडा तीर्थप्रसाद मिश्र, काठमाडौं

देशविदेशका नयाँ ठाउँमा भ्रमण गर्ने चाहना कसलाई हुँदैन र ! विभिन्न मुलुक भ्रमण गरेर आएका अरुसित भेटघाट हुँदा उनीहरुको मुखबाट विदेशको वर्णन सुन्दा कौतूहलता लाग्नु स्वभाविकै हो । म धनकुटामा स्कूल कलेज पढ्दाताका विदेश गएर आएकाले आफ्नो अनुभव, घुमेको ठाउँको संस्कृति तथा उन्नति आदि विषयमा व्याख्यान दिने चलन थियो । अमुक ठाउँमा पानी महँगो बियर सस्तो, रेल पनि २५० किलोमिटर प्रतिघण्टा गुड्ने, त्यहाँ त मानिसहरू भात नै नखाने जस्ता अनेकौँ कुरा सुन्दा अचम्म लाग्थ्यो । त्यही बेलादेखि अमेरिका जाने चाहना जाग्न थालेको थियो । अमेरिकन पिसकोरका स्वयम्सेवक आएर स्कुलमा पढाउँदा उनीहरूले आफ्नो देशको वर्णन गरेको सुन्दा अचम्म लाग्थ्यो । हामी कहिले जाने होला भनी साथीभाइसित कुरा पनि हुन्थ्यो । विदेश नपुगी केही कुरा गर्दा लाहुरे भूगोलमा एक हप्ता बसेका थिए भने जस्तो हास्यास्पद कुरा बन्ने हो कि भन्ने डर । यस्तै यस्तै मनमा अनेक तर्कना आउँथे ।
एमए पास गरेपछि र विश्वविद्यालयमा पढाउन थालेपछि भने अग्रज प्राध्यापकहरू कसैले अमेरिकामा, कसैले युरोप र अस्ट्रेलिया आदि देशमा उच्च अध्ययन गरेर आएको देख्दा विदेशमा अध्ययन गर्ने चाहना जागृत भयो । हाम्रो पालामा अमेरिकाबाट प्राप्त हुने फुल ब्राइट/इस्ट वेस्ट जस्ता छात्रवृत्तिमा कटौती भइसकेको र विश्वविद्यालयले अमेरिका युरोपमा अध्ययन गर्न पठाउनुभन्दा भारतमै पठाउन प्राथमिकता दिन थालेको थियो । म फुलब्राइटमा जान परीक्षामा सामेल भएँ । पहिलो चरणमा त उत्तीर्ण भएँ तर दोस्रो चरणमा हाफ ब्राइट भएको कारण खुस्किएँ । सन् १९७५ तिर चीनमा पिएचडी गर्ने छात्रवृत्ति पाएको थिएँ तर डा रामप्रसाद पोखरेलले अमेरिका बेलायत जानुपर्छ भनेर सल्लाह दिनुभयो । उहाँकै सल्लाह मानेँ त्यसबेला । उहाँको सल्लाह उचित पनि थियो । रुसमा पिएचडी गर्ने अवसर आयो । तर, पहिले गएका अग्रज साथीहरूले बीचमै छाडेर आएकाले त्यसतर्फ पनि लागिएन । अमेरिका जाने चाहना अधुरै रह्यो ।
विसं २०५५ सालमा म नेपाल र एसियाली अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक भएपछि अमेरिका जाने एकादुई अवसर प्राप्त भएको थियो । तर, आफ्नै मान्छेलाई पठायो भन्छन् के गर्ने भनेर हाकिमहरुले आएको सिटमा पनि अरुहरुलाई नै विदेश पठाए ।
पढेलेखेका नेपालीहरुमा २००७ सालपछि अमेरिकाप्रति चासो बढेको थियो । अमेरिकी सहयोग आयोग सञ्चालन हुनु, अमेरिकी सरकारबाट उच्च अध्ययन र तालिमको प्रयोजनका लागि छात्रवृत्ति प्राप्त हुनु, नेपालमा अमेरिकी राजदूतावास स्थापना हुनु, अमेरिकी पिसकोर कार्यक्रम नेपालका विभिन्न जिल्लासम्म आइपुग्नु जस्ता कारणले नेपालीहरुको अमेरिकामोह बढेको थियो । विसं २०३० पश्चात् धेरै नेपालीहरू छात्रवृत्ति पाएर अमेरिका अध्ययन गर्न पुगे र उनीहरू उतै बस्न थाले । बिस्तारै बिस्तारै उनीहरुले आफ्ना मानिससमेत उतै बोलाउन थाले । यो क्रम क्रमश: बढ्दै गयो । अमेरिकाको डिभी चिट्ठा कार्यक्रम सुरु भएपछि अमेरिका जाने सङ्ख्या ह्वात्तै बढ्यो । उच्च अध्ययनका लागि अमेरिका जानेहरूको सङ्ख्या २०५० सालपश्चात् अत्याधिक हुन थाल्यो । यो क्रम अहिले पनि बढ्दै छ । पढेलेखेका र श्रम गर्ने उमेरसमूहका अधिकांश अमेरिका, युरोप, अस्ट्रेलिया तथा खाडी मुलुकहरू जाने क्रम बढ्दो छ । यही क्रम निरन्तर रहने हो भने कालान्तरमा नेपाल वृद्धाश्रममा परिणत हुने सङ्केत देखा पर्दै छ ।
धनी र सम्पन्न हुन हाम्रा पुर्खाले ३ वटा बाटो बताएका छन् : पहिलो ससुरालीको बाटो, दोस्रो बाख्राको पाठो र तेस्रो लामो बाटो । हाल सबैले लम्बे बाटोलाई नै तय गरिरहेका छन् । हाम्रो परिवारमा पनि चाहेर वा नचाहेर, बाध्यताले वा छोराछोरीको इच्छाले जुनसुकै कारणले भए तापनि छोराछोरी तीनैजना अमेरिका पुगेका छन् र उतै रमाइरहेका छन् ।
विसं २०५३ सालतिर छोराछोरीले हवाई जहाज चढ्न खुब रहर गरेको मलाई सम्झना हुन्छ । त्यतिबेला हवाई जहाज चढाउनै भनेर परिवारलाई काठमाडौँबाट जनकपुर जहाजमा पठाएको थिएँ । त्यसबेला मलाई के थाहा कि मेरा छोराछोरीले पनि भविष्यमा यति लामो जहाजको यात्रा तय गर्लान् भनेर । त्यसबेलाको हाम्रो मनोविज्ञान विचार गर्दा अहिले हाँसो उठ्छ ।
कान्छी छोरी प्रणीताले सेन्ट मेरिज स्कुल पढ्दादेखि नै अमेरिका अध्ययन गर्ने चाहना राखेकी थिइन् । तर, उनले बूढानीलकण्ठ स्कुलमा ए लेभल पूरा गरेपछि बल्ल अमेरिका अध्ययन गर्ने बाटो खुल्यो । उनकै प्रयासमा अमेरिकाको जर्जिया राज्यको वेजलिया कलेजमा छात्रवृत्ति पनि पाइन् । त्यो अमेरिकाको पहिलो महिला कलेज थियो । उनकै दीक्षान्त समारोहमा मलाई पनि अमेरिका भ्रमण गर्ने अवसर आयो । हुन त नेपालीहरुले अमेरिका जाने भिसा कि त छोराछोरीको दीक्षान्त समारोहमा भाग लिनका लागि लिन्छन् कि त उनीहरू छोरी बुहारी सुत्केरी हुँदा “तेल भिसा”मा अमेरिका जान लिन्छन् । त्यसबेलामा जेठी छोरी निकिता र ज्वाइँ समीरराज न्युयोर्कमा हुनुहुन्थ्यो भने छोराबुहारी साउथ डाकोटामा थिए । तर, भिसा आवेदन गर्दा सानी छोरीको दीक्षान्त समारोहमा भाग लिन भनेर गरियो । सोहीअनुसारको कागज आएको थियो । भिसा पाइँदैन कि भनेर अनेकौँ कागज बनाइयो । विश्वविद्यालय, नास्ट (पुष्पाको अफिस), नेत्रज्योति संघलगायत सबैतिरबाट सिफारिसपत्र बनाएका थियौँ । जग्गाजमिन तथा बैँक ब्यालेन्स आदि देखायौँ । अन्तत: सजिलै अमेरिका जाने भिसा पाइयो ।
अमेरिका जान पाइने भए पनि मनमा भने कताकता उत्साह, भय र सङ्कोचको समिश्रण देखा पर्‍यो । साथै बालककालदेखिको इच्छाले सार्थक रूप लिन लागेकामा मन दङ्ग पनि थियो ।
अप्रिल १८, २००९ मा पुष्पाको दाजुकी छोरी स्वेच्छाको विवाह सम्पन्न भएकै दिन राति हामी हङकङ हुँदै न्युयोर्कका लागि प्रस्तान गर्‍यौँ । त्यति लामो यात्रा नगरेको र पहिलोपटक अमेरिका जान लागेको हुँदा नजानिँदो तनाब थियो । काठमाडौँबाट हङकङ त पुग्यौँ । त्यहाँको विमानस्थलमा पाँच घण्टा ट्रान्जिटमा बसी पुन: न्युयोर्कका लागि उडियो, Cathay Pacific को विशाल जहाजबाट । विमानस्थलमा लामो समय जहाजमा बस्दा नजानेका थुप्रै कुरा जानियो पनि । हामीले त्यति ठूलो जहाजमा यात्रा गरेका थिएनौँ । सबै कुरा नयाँ अनुभव हुँदै थियो । हुन त यसभन्दा पहिले युरोप, चीन, पाकिस्तान, बंललादेश, सिङ्गापुर जस्ता केही मुलुकको भ्रमण त गरिएको थियो । तर, हामी दुई साथै आएको भने यो नै पहिलोपटक थियो । न्युयोर्कमा अध्यागमनबाट त केही मुस्किल परेन तर भन्सारमा के छ ? कसो छ ? भनेर सोधनी भयो । भारतीय जस्तो लागेर होला मसला छ कि भनेर सोधियो । हामीले भएका सामानहरू बतायौँ । हुन त पुष्पाले मसला पनि निकै राखेकी थिइन् तर सुटकेस खोतल्नु परेन । त्यस उपरान्त मैले अमेरिका जाँदा निषेध गरिएका कुनै पनि कुरा पनि लिएर गएको छैन । सामान जाँच पनि गर्नुपरेको छैन ।
निकितालाई विमानस्थलमा नै भेटेपछि ढुक्क भयौँ । जोन अफ केनेडी विमानस्थलको नजिकै छोरीको डेरा रहेछ । डेरामा पुगेर विश्राम गरियो । अब भने थकाइ लागेको अनुभूति भयो । पहिले त तनावले थकाइसमेत बिर्सिएका रहेछौँ । अमेरिकाको त्यसमा पनि न्युयोर्क पुग्दा आदिकवि भानुभक्तले कान्तिपुरको यात्रा गरे जस्तै भयो ।
दुई दिनसम्म छोरीज्वाइँसित न्युयोर्कका मुख्यमुख्य ठाउँ घुमियो । अब त हामी आफैँ पनि घुम्न जान सक्ने भएका छौँ । न्युयोर्कमा सार्वजनिक यातायातको व्यवस्था राम्रो रहेछ । हामीले त्यहाँ रहँदा सेन्टर पार्क, टाइम्स स्क्वायर, ब्रुकल्यान ब्रिज, सेन्टर जु, क्याबेल पार्क, इम्पायर स्टेट भवन, स्टेचु अफ लिबर्टी, फिप्थ एभेन्यु आदि ठाउँहरू घुम्यौँ । सामुद्रिक किनाराहरू पनि अवलोकन गरियो । हामी दुई चार दिनमा नै रेलबाट यात्रा गर्न जान्ने भयौँ । कुनै कुराका बारेमा जानकारी माग्न लाज मान्दा दु:ख पाइने कुरा पनि ज्ञान भयो । इम्पायर स्टेट भवनमा चढेर न्युयोर्क हेर्दा र स्टेचु अफ लिबर्टी देख्दा खुबै आनन्द आयो । यी दुई ठाउँको वर्णन केटाकेटीदेखि नै सुनेको थिएँ । सप्ताहन्तमा हुने गन्तव्यस्थानको तय छोरीले नै गरेकी थिइन् । सोधखोज गर्दा कताकति भाषागत केही समस्या त पर्‍यो तर सबैजना सहयोगी, सदैव मद्दत गर्न तम्तयार र प्रशन्नतापूर्वक सहयोग गर्दा रहेछन् । यस्तो संस्कृति देखेर हामी त दङ्गै पर्‍यौँ ।
सानो भानिज सङ्गीत निरौला परिवारसहित बोस्टनमा बस्थे । निकितासहित हामी चाइना टाउनबाट बस चढेर बोस्टन गयौँ । त्यति राम्रो र छिटो कुद्ने बसमा हामी पहिले कहिल्यै यात्रा गरेका थिएनौँ । भान्जाले तीन दिनसम्म हामीलाई सम्भव भए जति ठाउँमा घुमाए । हार्भर्ड विश्वविद्यालय, बोस्टन विश्वविद्यालयलगायतका अन्य केही शैक्षिक प्रतिष्ठानहरू पनि घुमियो । बोस्टन डाउन टाउनमा पानीमा पनि चल्ने र सडकमा पनि गुड्ने गाडीबाट पनि घुम्ने अवसर पायौँ । प्रुडेन्सियल भवनको माथिल्लो तलाबाट सहरको अवलोकन गरियो ।
न्युयोर्कबाटै दुई दिनको भ्रमण कार्यक्रममा नायग्रा फल्स हेर्न गयौँ । बाटोमा ग्लास फ्याक्ट्री पनि हेर्‍यौँ । मेरो स्वास्थ्य अलि खराब भएकाले राम्रो ठाउँ हेर्न जाँदा पनि चाहे जति प्रफुल्ल हुन सकिनँ । नायग्रा फल्स हेर्न बेलुका गएका थियौँ । अचम्मकै रहेछ । म्याजिक एन्ड फिस्ट भन्ने मोटरबोटबाट नदीबाट पनि झरना हेरियो । यो ठाउँ क्यानाडा र अमेरिकाको सीमामा पर्ने रहेछ । यो झरना अमेरिकातिरबाट भन्दा पनि क्यानाडातिरबाट राम्रो देखिने रहेछ । दर्शक र पर्यटक त कति हुन् कति । भारतीय र चिनियाँ पर्यटकहरूको बाहुल्यता हुनेरहेछ ।
मे महिनामा हामी न्यूयोर्कबाट एटलान्टा गयौँ । एटलान्टा विमानस्थल त विशाल रहेछ । विमानस्थलमा पुष्पाका साहिँलो मामाका छोरा सञ्जीवरञ्जन बराल लिन आएका थिए । विमानस्थलबाट निस्कने क्रममा घुम्ने यन्त्रमा म चढेँ । पुष्पा पनि हतार हतार चढ्दा त त्यो अचानक रोकियो । एकछिन हामीलाई फसाद पर्‍यो । विमानस्थलका कर्मचारी आएर मिलाए । अर्कोदिन प्रणीताको दीक्षान्त समारोहमा भाग लियौँ । धेरै नेपाली विद्यार्थी र तिनका अभिभावकहरुसित भेट भयो । कतिलाई त हामीले चिनेका पनि थियौँ ।


एटलान्टामा सिएनएनको अफिस, कोकाकोलाको फ्याक्ट्री तथा र डाउनटाउन घुमियो । सञ्जीवले विभिन्न स्थान र पार्क पनि घुमाए । प्रणीतासितै न्युयोर्क आयौँ । त्यसपछि हामी छोराबुहारीलाई भेट्न साउथ डाकोटातिर लाग्यौँ । न्युयोर्क–पिटर्सबर्ग–सिकागो हुँदै सुफल्सको टिकट रहेछ । यात्राका क्रममा दुई ठाउँमा ट्रान्जिट पर्‍यो । फेरि दुईवटा एयरलाइन्सको टिकट परेछ । न्युयोर्कबाट पिटर्सबर्गसम्म डेल्टा र त्यहाँबाट युनाइटेड एयरलाइन्सको टिकट रहेछ । पिटर्सबर्गमा हामीलाई निकै मुस्किल पर्‍यो । पिटर्सबर्गमा नै हामीले सिकागो र सुफल्सको बोर्डिङ पास लिनु पर्दथ्यो । पिटर्सबर्गबाट हुने उडान नै केही ढिलो भयो । हामी सिकागो पुग्दा त उडान समय हुन लागिसकेको थियो । सिकागो विमानस्थल पनि एकदमै ठूलो रहेछ । हामीलाई प्रवेशद्वार भेट्न नै मुस्किल पर्‍यो । सोध्दै खोज्दै जाँदा करिब १ घण्टा जस्तो समय लाग्यो । हामीलाई लाग्यो, अब सुफल्सका लागि हाम्रो विमान छुट्यो । अब के गर्ने होला भन्दै विमानस्थलको प्रवेशद्वारमा पुग्यौँ । न्युयोर्क र सिकागोको समयमा २ घण्टा फरक रहेछ । हामीलाई उक्त कुरा थाहा थिएन । धन्न उडान छुटेको रहेनछ । पानी परेर पनि उडान ढिलो भएको रहेछ । सुफल्स विमानस्थल चाहिँ सानो रहेछ । ढोकामा नै निश्चल पुगेकाले हामीलाई मुस्किल परेन । एक हप्ता साउथ डाकोटा विश्वविद्यालयस्थित ब्रुकिङ्स पुगी यताउता घुमियो । वास्तवमा ब्रुकिङ्स साउथ डाकोटाको विश्वविद्यालय सहर रहेछ । त्यहाँ धेरै नेपाली विद्यार्थीहरू रहेछन् । हामी फर्केर न्यूयोर्क आयौँ ।
हाम्रो भ्रमणको निर्धारित समय सकिएको थियो तर निकिताको करले गर्दा एक हप्ता पर सारियो । त्यहीबेला वासिंटन डिसी र बाल्टिमोर घुमियो । त्यसबेला प्रणीताको जोन हप्किन्स विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना भइसकेको थियो । उक्त विश्वविद्यालयको पनि भ्रमण गरियो । हामीले वासिंटन डिसीका क्यापिटल हिल, द ह्वाइट हाउस, लिङ्कन मेमोरियल, नेसनल हल, वासिंटन माउन्टेन जस्ता ठाउँ घुम्ने अवसर मिल्यो ।
जुन २००९ मा हामी दुईजना मन खिन्न पार्दै काठमाडौँ फर्कियौँ । जेएफके विमानस्थलमा एक नेपालीले आफू पनि उस्तै दु:खी भएको टिप्पणी गरे । उनका पनि दुवै सन्तान अमेरिकामा नै बस्ने रहेछन् । कुरो एक हिसाबले ठीकै थियो । बिरामी हुँदा होस् वा अरु दु:ख पर्दा होस् अथवा खुसी हुँदा नै किन नहोस् छोराछोरी आफ्नो साथमा नहुँदा दिक्क लाग्ने नै रहेछ । तर, परिस्थितिसित सम्झौता गर्नुपर्ने बाध्यतामा बाँचिरहेका छौँ, हामी ।
एकपटक पुग्न मात्र गाह्रो रहेछ । त्यसपछि त पटकपटक पुगिने रहेछ । छोराछोरी सबै अमेरिका हुँदा बाबुआमाको मन उतै हुनु स्वभाविकै हो । आमा भन्नुहुन्थ्यो, बाबुआमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि । अमेरिका जाने रहरभन्दा पनि छोराछोरी भेट्न जाने कुरा आउँदो रहेछ । सन् २००९ देखि २०२१ सम्म प्रत्येक वर्ष जस्तो अमेरिका पुगिँदै छ । त्यहाँका करिब ३० भन्दा बढी राज्य पनि घुमियो तर पहिलो भ्रमण जस्तो रोमाञ्चक अरु भएनन् ।
यी भ्रमणका क्रममा हामीले धेरै कुरा भोग्यौँ, देख्यौँ, जान्यौँ र सिक्यौँ पनि । हामीले घुम्दा, किनमेल गर्दा तथा जलपान गृहमा जाँदा भएको खर्चको विवरण नेपाली रुपियाँमा रूपान्तरण गरी तुलना गर्दा आत्तिइने रहेछ । यो कुरा सबै नेपालीहरूले अनुभव गरेकै हुनुपर्छ । बिस्तारै बिस्तारै तुलना गर्ने बानी हट्न थालेको छ । Do in Rome as Romans do भन्ने सिद्धान्तलाई मान्नैपर्ने रहेछ । अनुशासन र स्थापित मान्यता तथा परम्परालाई आदर गर्ने अमेरिकी स्वभावबाट प्रभावित पनि भइयो । योग्यताको कदर गर्ने तथा आफ्नो ठाउँमा काम गर्ने हरेकको आफ्नै पृथक् महत्त्व र मानमर्यादा रहने कुरा पनि जानियो । ठूलो र सानो भन्ने पदप्रतिष्ठा र दौलतसित तुलना नहुने रहेछ भन्ने पनि बुझियो । विविधतामा एकताको अनुपम नमुना बोकेको अमेरिका यथार्थमा नै किन विश्वका सबै मानिसहरूका लागि आकर्षणको केन्द्र बन्न पुगेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । अमेरिका पुगेर आएका राजनीतिज्ञ, कूटनीतिज्ञ, प्रशासक एवम् बुद्धिजीवीहरूमा किन चेत खुलेन ? द्यचबष्ल म्चबष्ल को बाढी कहिले रोकिने हो ? माल पाएर पनि चाल नपाउने बानीमा किन सुधार आएन ? किन सबै अमेरिकामै बस्न चाहन्छन् ? नेपालीहरु लघुताभासबाट किन सताइएका छन् ? नेपालीहरूको चेत कहिले खुल्ने हो ? जस्ता जिज्ञासा अमेरिकाको पहिलो भ्रमणमा मनमा गढेका हुन् । यी जिज्ञासाको समाधान १५ पटक अमेरिकाको यात्रा गर्दा पनि समुचित रुपमा पाउन सकेको छैन ।

लेखक परिचयः प्राडा तीर्थप्रसाद मिश्र चार दशक बढी त्रिविमा प्राध्यापन गरी हाल अवकासप्राप्त जीवन अध्ययन अनुसन्धानमा संलग्न छन् । उनका १८ भन्दा बढी पुस्तक प्रकाशित छन् । उनको निर्देशनमा १५ जनाले विद्यावारिधि गरेका छन् ।

Leave a Reply