विश्वपरिक्रमा डेस्क
१२ अगस्त वाशिंटन डिसी
नेपाली साहित्यमा कविताको क्षेत्रमा समर्थ हस्ताक्षर विनोद अश्रुमाली अस्वस्थ हुनुभएको खवर प्राप्त भएको छ । कथाकार योगेन्द्र तिमिल्सिनाले फेसवुकमा जनाए अनुसार अश्रुमाली विगत ५ महिनादेखि उच्च रक्तचाप तथा विस्मृतिजन्य रोग अल्जाइमरले पीडित हुनुभएको छ ।
विसं १९९६ चैत २ गते वाहुनडाँगी झापामा जन्मेका उनी नेपाल राष्ट्र वैंकमा लामो समय जागिरे थिए । अवकास पछि उनी सिमापारी बस्दै आएका थिए ।
विसं २०१९ तिर भानु पत्रिकामा पहिलो रचना प्रकाशित गरेर साहित्य यात्रामा लागेका उनका “एक अँजुली जूनकिरी, दार्जिलिङको दश अवतार तथा अन्य कविताहरु लगायतका कृतिहरु प्रकाशित छन् ।
उनी विसं २०३७ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले वर्षेनी आयोजना गर्ने कविता महोत्सवमा प्रथम भएका थिए । साहित्य साधनाबाट पुर्याएको योगदानका लागि उनले वासुशशी स्मृति पुरस्कार, शमि साहित्य साधना सम्मान लगायतका पुरस्कार र सम्मानहरु पाएका छन् ।
