माकुरा

कविता

गोपी सापकोटा, वेलायत

 

एकान्तले पोलेको एक साँझ

जब म ह्व्स्किीको गिलाससँगै

जीवन खोजिरहेको हुन्छु –

कसैको ल्याप नपाएर एक्लै टेबुलमा

झोक्राइरहेको ल्यापटपमा;

एउटा खैरो माकुरा

आफैले बुनेको जालबाट

बाहिरिने बहाना खोजिरहेको हुन्छ

सिलिङ्गको एउटा कुनामा ।

 

जब म माथि हेर्छु

माकुरा

कुनै कुरा नगरी

सिलिङ्गको कुनामा

बुन्दै गरेको आफ्नो जाल छोडेर

विस्तारै झर्छ तल

भित्ताबाट तल

तल तल ।

 

अवतरण गर्छ ऊ टेबुलको रनवेमा

दुगुर्छ एकछिन, र टक्क रोकिन्छ

जसरी उत्रेको थियो त्यो दिन

एउटा बोइङ्ग हिथ्रोको रनवेमा

दुगुरेको थियो मेरा आशाहरुसँगै,

र टक्क रोकिएको थियो ।

 

माकुरा हेर्छ चारैतिर,

र देख्छ मेरो ह्व्स्किीको गिलास ।

 

रङ्गले हो

कि गन्धले

कि पग्लिंदै गरेका

ती आइसका कलात्मक ढिक्काहरुले

ऊ आकर्षित हुन्छ

र विस्तारै सार्छ

उसका ती सम्मोहित पाइलाहरु मेरै गिलासतिर ।

 

छोऊँ कि नछोऊँ दोधारमा,

हेरिरहन्छ

हेर्दा हेर्दै टक्क रोकिन्छ ।

 

 

 

कुनै अनुमति बिना –

सुँघ्छ ह्व्स्किीको गन्ध

र, एकाएक चढ्छ

मेरो ल्यापटपको स्क्रिनमा निर्धक्क

मानौं, ऊ आफ्नै जमीन टेकिरहेछ ।

 

सायद उसलाई पनि लाग्दो हो

एकान्तको जलन

ह्व्स्किीले मेटाउँछ

कि त

इन्टरनेटमा खोज्दै गरेको

कुनै एउटा समाचारले ।

 

माकुरा

उभिएर कम्प्युटरको स्क्रिनमा

एक टक हेर्छ मेरो ह्व्स्किीको गिलास

र पढ्छ मेरो अर्गानिक अनुहार ।

 

स्क्रिनमा समाचार खोजिरहेको हुन्छु –

ती दुःखद निराशाका समाचारहरुभित्र

एउटा समाचार

मात्र एउटा समाचार

मात्र एउटा सुखद समाचार

मात्र एउटा प्रिय सुखद समाचार

जसले ममा एउटा आशा भरोस्

फर्काओस् मलाई मेरै देशमा

मेरो जन्मभूमिमा ।

 

माकुरा

एकाएक झर्छ कम्प्युटरको स्क्रिनबाट तल

हेर्छ मेरो ह्व्स्किीको गिलास

छिर्छ मैले रित्याइसकेको त्यो गिलासभित्र

रित्याउँदा रित्याउँदै रित्याउन नसकेको

ह्व्स्किीको थिग्रो चाट्छ ।

 

विस्तारै विस्तारै

माकुरा मन्द मन्द मात्दै जान्छ

लरबराउँदै लड्छ

तर चढ्छ ऊ फेरि कम्प्युटरको उकालो

सर्दै जान्छ ती अक्षरहरुमा

पढन थाल्छ ती समाचारहरु इन्टरनेटमा

तीनै समाचारहरु –

अशान्ति र युद्धहरुका, बम र बारुदहरुका

रगत र घाउहरुका, दु:ख र दर्दहरुका ।

 

अनि म उठ्छु

विस्तारै छाम्दै तीनै भित्ताहरु

जहाँ बुन्दै थियो जाल माकुराले,

अनायास बुन्न थाल्छु म त्यही जाल,

जो बुन्न छोडेर माकुरा पलायन भइसकेको छ ।

 

बुन्दै जान्छु म

फस्दै जान्छु म

बुन्दै बुन्दै जान्छु म

फस्दै फस्दै जान्छु म

आफ्नै जालमा

पलपल, हरेक पल ।

00

कवि परिचयः गोपी सापकोटा कवि, नाटककार तथा उपन्यासकार हुन् । उनको पहिलो प्रकाशित रचना ‘मैले गुप्तचरहरुबाट पाएको सन्देश’ हो, उक्त कविता शहिद, २०४७ मा प्रकाशित भएको थियो । अङ्ग्रेजी साहित्यमा एम. ए. सापकोटाका हालसम्म दश वटा कृतिहरु प्रकाशित छन् । उनका प्रकाशित कृतिहरुमा एक अन्त्य एक शुरुवात (कविता सङ्ग्रह २०५२), पूर्णविराम (नाटक सङ्ग्रह, २०५५), कमिलाको सपना (बालकथा सङ्ग्रह, २०५७), खरानी (नाटक सङ्ग्रह २०६०), गुलाफको एस्ट्रेमा मृत्यु (कविता सङ्ग्रह २०६३), कालो आकृति (नाटक सङ्ग्रह २०६४), अ सुसाइड नोट (अङ्ग्रेजी कविता सङ्ग्रह २०६७), प्रेम कतिपय (नाटक, २०६९), काँचो कागज (उपन्यास, २०७७) र चिसो बाफ (उपन्यास, २०७९) पर्दछन् । उनी हाल बेलायतमा बसोबास गर्छन् ।

Leave a Reply