कार्तिक २०८२, चन्द्रगढी भद्रपुर
स्रष्टा महेन्द्र नेउपानेकृत “चन्द्रविनोद” लघुकथाकृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता र अग्रज साहित्यकार एवंम् लघुकथाकार होम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मञ्चासिन व्यक्तित्व लगायत् उपस्थित जनप्रतिनिधिहरू , साहित्यकारहरू , स्थानीयबासीहरू , पत्रकारहरू र लघुकथाप्रेमीहरू सबैलाई पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गर्नु भयो ।
कार्यक्रममा प्रा. चूणामणि वशिष्ठ र प्रा. तारा विविधले चन्द्रविनोद लघुकथाकृतिमा समेटिएका ६१ वटा लघुकथामाथि विहङ्गम चर्चा गर्दै लघुकथाहरूले आङ्गिक तत्वहरू आत्मसात् गरेको बताए । आख्यानको क्षेत्रमा लघुकथालाई कमिलाको रुपमा र कथालाई हात्तीको रुपमा हेर्न सकिने बताए ।
विशिष्ट अतिथिहरू भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्की लगायत् साहित्यकार, चिन्तामणी दाहाल , समाजसेवी, साहित्यकार चन्द्र भण्डारी , कृतिकारका गुरु छत्रप्रसाद अधिकारी , बालसखा महेन्द्र कोइराला आदिले विविध क्षेत्रको प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य राख्दै कृतिकारको साहित्यिक यात्राको प्रगति र कृतिको सफलताको कामना गरे ।
सो अवसरमा १२ कक्षामा अध्ययनरत् विद्यार्थी युनिशा कोइराला र पुस्तकालयका पूर्व अध्यक्ष एवंम् कवि हरिप्रसाद नेउपानेले सो कृतिबाट लघुकथा वाचन गरे ।
कृतिकार नेउपानेले लेखकीय मन्तव्यमा आफ्नो पहिलो लघुकथाकृति “चन्द्रविनोद” प्रकाशित गरेको अवस्था , परिवेश र अनुभवबारे संक्षिप्त जानकारी प्रस्तुत गरे । प्रमुख अतिथि होम सुवेदीले हाम्रो लघुकथा केन्द्रबाट प्रकाशन भएको “चन्द्रविनोद”को प्रकाशक संस्थामा आफू पनि आबद्ध रहेको बताउए । मन्तव्यमा उनले लघुकथालाई मट्याङ्ग्रासंग तुलना गरेका थिए ।
लघुकथा गान बजाएर सुरू गरिएको कार्यक्रम आयोजक संस्थाका सहसचिव एवम् लघुकथाकार गोविन्द कोइरालाले सञ्चालन गरेका थिए । कार्यक्रममा आयोजकले उपस्थित अतिथिगणलाई स्रष्टाको चित्र र कृतिको आवरण चित्र अङ्कित कप मायाको चिनोको रुपमा प्रदान गरिएको थियो भने कृतिकारलाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष घिमिरेले उपस्थित सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए ।
