सालिक नउभिएका सालिक
सरुभक्त, पोखरा
परिदृश्य–१:
उत्तर समय – एउटा घरको कथा हैन (वि.सं. २०३५)
स्थान: उषा भट्टचन (शेरचन) को गणेश टोलस्थित घर, पोखरा ।
खबर प्राप्त भयो, उषाको घरमा क्षेत्रप्रताप अधिकारी आएका छन्, उषाले भेट्न बोलाएकी छ । एक लाइनमा केही अग्ला होचा भूभागमा अवस्थित पोखरा बजारका टोलहरू । मेरो घर भएको टोल बागबजार (बगर) बाट गणेश टोलको दूरी सामान्य हिंडाइमा दश पन्ध्र मिनेट । बीचमा साना तीन टोल । म बजारको बाटो हिँडेरै उषाको घर पुगेँ । माथि तलामा क्षेत्रप्रताप अधिकारी आफ्नो व्यक्तित्वद्वारा आलोकिक भएर ससम्मान विराजमान थिए । उषाले मलाई देख्नासाथ उत्साहपूर्वक परिचय गराइदिइन् ।
‘नमस्कार !’ मैले नमस्कार गरेँ । उषाको घर परिवारसित राम्रै परिचित मलाई कसैले कता बस्ने भन्नपरेन । ‘भाइको बारेमा मैले उषा बहिनीबाट धेरै कुरा थाहा पाइसकेको छु । काठमाडौँ आउँदा साझा प्रकाशनबाट छाप्नका लागि नाटक लिएर आउनुहोला ।’ क्षेत्रप्रताप अधिकारीले मह घोलिएको जस्तो स्वादिष्ट बोलीमा प्रतिनमस्कार गर्दै भने । मैले यति मिठासपूर्वक बोल्ने, मुखले मात्र होइन पूरै अनुहारले बोल्ने अग्रज साहित्यकार भेटेको थिइनँ ।
‘हस् !’ मैले जीवनमा प्राप्त गरेको यति महत्त्वपूर्ण प्रस्ताव अस्वीकार गर्ने कुरै थिएन। मलाई थाहा थियो, उषाको मप्रतिको सहृदयी मित्रता यस प्रस्तावको पछाडि लुकेको छ ।
नेपाली साहित्यका वरिष्ठ कवि क्षेत्रप्रताप अधिकारी । वरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारी । साझा प्रकाशनका अध्यक्ष क्षेत्रप्रताप अधिकारी । मैले यही विराटतामा उनलाई चिनेको थिएँ । कास्कीको छिमेकी जिल्ला तनहुँको मिर्लुङमा जन्मेका क्षेत्रप्रताप अधिकारीले हुलाकको पियनदेखि साझा बसको कन्डक्टरसम्मका जागिर खाएर यो व्यक्तित्व र पदीय हैसियत बनाएको कुरा मैले मात्र होइन सबै छिमले दौंतरीहरूले प्रेरक कथाको रूपमा सुनिभ्याएका थिए । कता कता उनी पुरा कथाका नायक जस्ता पनि लाग्दथे ।
उषाको घरमा धेरै कुरा भए । मसित बोल्ने कुराभन्दा सुन्ने कुरा धेरै थिए, त्यसैले क्षेत्रप्रतापका मिठासयुक्त वाणी सुनिरहे ।
क्षेत्रप्रतापको प्रस्ताव जति महत्त्वपुर्ण लागे पनि मैले उनलाई हतारमा नाटकको पाण्डुलिपि बोकेर भेट्न चाहिनँ । मलाई मेरो क्षमताको भन्दा कमजोरीको ज्ञान धेरै थियो, त्यसैले एउटा घरको कथा हैन पूर्णाङ्की नाटक प्रदर्शनको इतर समय भरि म अन्य नाट्यकहरूको लेखन र प्रदर्शनमा व्यस्त भएँ । व्यस्ततापछि म केही नाटकका पाण्डुलिपि बोकेर काठमाडौँतर्फ लागेँ ।
साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोकमा पर्छ भन्ने मलाई थाहा थियो तर त्यसको परिसरभित्र पसेको थिइनँ । क्षेत्रप्रतापको नाम लिएर सोध्दै खोज्दै परिसरभित्र पसेँ, उनलाई भेटे, पाण्डुलिपि बुझाएर फर्किएँ । उनले उही मिठासपूर्वक पाण्डुलिपि ग्रहण गर्दै केही महिना पछि आउन सूचित गरे ।
विक्रमाब्द २०३८ साल । अन्तर्राष्ट्रिय अपाङ्ग नाटक प्रतियोगिता । अपाङ्गता भएको व्यक्तिको मनोविज्ञानमा आधारित मेरो लेखन र निर्देशनको नाटक ‘यामभरिको चिसो सपना’ सर्वोत्कृष्ट घोषित । निर्णायकमा बालकृष्ण सम, विजय मल्ल र भोग्यप्रताप शाह ।
नाटक सर्वोत्कृष्ट घोषित भई पुरस्कार वितरण समारोह नहुँदै एक दिन म उत्साहपूर्वक क्षेत्रप्रतापको कार्यकक्षमा पसेँ । आफ्नो नाटक संग्रहको हालखबर बुझ्न ।
‘दाजु, के भयो होला ?’ अभिवादन, बसाइका औपचारिकतापछि मैले सरोकारको प्रश्न गरेँ । छेउको एक थान कुर्सीमा वरिष्ठ लेखक, समालोचक तानासर्मा विराजमान थिए । किताबमा फोटो देखेको आधारमा मैले उनलाई चिने ।
‘के भयो, मलाई थाहा छैन । लिन पठाउँछु ।’ क्षेत्रप्रतापले भने अनि कसैलाई लिन पठाए । बीचको समय क्षेत्रप्रताप र तानासर्मा बीच कुराकानी । म चुपचाप ।
कसैले पाण्डुलिपि ल्यायो । क्षेत्रप्रतापले पाण्डुलिपिको फाइलाबाट एउटा सानो कागज निकाले । मनमनै पढेँ । उनको अनुहारमा हेरी रंगहरू बदलिए ।
‘भाइ, हामीकहाँ प्रकाशनको लागि पाण्डुलिपिहरू आएपछि मूल्याङ्कनको लागि पढाउने चलन छ । मूल्याङ्कनमा प्रकाशन योग्य भनी लेखिए प्रकाशनमा पठाइन्छ ।’ उनले बदलिएका रङ्गहरूसित नै जानकारी दिए । ‘ए … हजुर …. ।’ मैले प्रतीक्षा गरेँ ।
‘भाइको यस पाण्डुलिपिमा मूल्याङ्कन गरिए बमोजिम प्रकाशन गर्न नमिल्ने भयो, गाह्रो नमान्नु होला ।’ उनले कुरा प्रष्ट्याए ।
झ्याप्प ! मेरो दिमागको बत्ती निभेजस्तो लाग्यो । अँध्यरोमा मैले तानासर्मालाई हेरेँ । उनी निरपेक्ष चुपचाप । हैन, यही मान्छेको बदमासी त होइन ? मैले सोचिनँ ।
‘म के गरुँ त ?’ दिमागमा जिरो वाटको बत्ती बलेपछि मैले निराश भई सोधेँ ।
‘भाइले यो पाण्डुलिपि लिएर जान सक्नुहुन्छ ।’ क्षेत्रप्रतापले मिठास नबिगारी पाण्डुलिपि टेबलमा सारे, मतिर । मैले पाण्डुलिपि समाएँ, मनमा प्रश्नका तुफानहरूद्वारा घेरिएँ । खुरुक्क हिँड्नको लागि तर गोडाहरू उठेनन् ।
त्यही बेला केही कागज बोकेर कृष्णचन्द्रसिंह प्रधान कार्यकक्षभित्र प्रवेश गरे । फोटोमा देखेकै आधारमा मैले चिनेँ । उनले मतिर ध्यान दिएनन् ।
क्षेत्रप्रताप, कृष्णचन्द्रसिंह प्रधान र तानासर्मा आवश्यक कुराकानीमा व्यस्त भए । तिनले के कुरा गरे, तुफान परिवेष्ठित मेरो दिमागले केही बुझ्न सकेन ।
‘कृष्णचन्द्रजी, तपाईंको धेरै काम होला । पाल्नु भए हुन्छ ।’ कुराकानी टुङ्गिए पछि क्षेत्रप्रतापले भने ।
‘हस् !’ उभिएर कुरा गरी हातको कागजमा ध्यान केन्द्रित गरिरहेका कृष्णचन्द्र सिंह प्रधानले भने अनि त्यही व्यस्ततामा डुब्दै बाहिर प्रस्थान गरे ।
मनमा हाहाकार मच्चिरहेको थियो । क्षेत्रप्रतापले मेरो मनोविज्ञान बुझेका थिए सायद, त्यसैले मुख फोडी जाउ भन्न सकेका थिएनन् ।
‘दाजु, मलाई एउटा कुरा भन्नुहोस् त । मूल्याङ्कन कसले गर्नुभएको हो ?’ मैले आहत् मनको जिज्ञासा पोखेँ ।
‘त्यो मलाई पनि थाहा हुँदैन भाइ । मूल्याङ्कनकर्ताले आफ्नो मूल्याङ्कन लेखेका मात्र हुन्छन् ।’ मिठास नबिगारी उनले मलाई बुझाउनै चाहे । ‘मेरो यस नाटक सङ्ग्रहमा देशद्वारा आयोजित राष्ट्रिय नाटक महोत्सवमा र हालै भएको अन्तर्राष्ट्रिय अपाङ्ग नाटक प्रतियोगितामा सर्वोत्कृष्ट भएका नाटकहरू पनि छन् । तपाईंहरूका मूल्याङ्कनकर्ता के बालकृष्ण सम र विजय मल्लभन्दा ठूला साहित्यकार हुन् जसले मेरा नाटकलाई प्रकाशन गर्न अयोग्य ठह-याए ?’ मैले घायल आवेगमा तोपको गोला दागे झैँ एउटा प्रश्न दाग्दिएँ । निरुत्तरता र विवशताले उनको अनुहार रातो भयो । म बुझ्न सक्थेँ, नबोदित लेखकहरूप्रतिको उनको सदाशयतालाई कहिलेकाहीँ साझाका नीतिनियमले अप्ठ्यारोमा पारिदिन्छन् । तर रिसमा बाहुनले वेद पढ्दैन भनेझैं नवोदित लेखकले आवेगमा यस्ता सदाशयता के सम्झिराख्छ ?
उनलाई रातो अवस्थामा छोडेर आफू पनि रातै भई म हिँडेँ, अस्वीकृत भएको पाण्डुलिपिको फाइल च्यापेर ।
पहिलो नाट्यकृति प्रकाशनमा यो दुर्घटना भएपछि लामो समयसम्म क्षेत्रप्रताप अधिकारी दाजुसित भेटघाट, संवाद भएन । मनमा गुनासो पनि धेरै समय रहेन । उनी साझा प्रकाशनको अध्यक्षबाट निवृत्त भएपछि मेरा ती नाटकहरू साझा प्रकाशनबाटै प्रकाशित भए । उनी पञ्चायती राजनीतिमा लागी सहायक मन्त्रीसम्म भए । कविता, गीत लेखकका साथसाथै जापानी साहित्य अनुवादका काममा पनि व्यस्त भए । वि.सं. २०४८ सालमा मैले मदन पुरस्कार पाएपछि एक दिन अचानक कुनै सूचना नदिइकन उनी एक मित्रका साथ मेरो घरमा आए । मलाई हार्दिकतापूर्वक बधाई दिए । अनि प्रशन्नतापूर्वक मित्रलाई भने– ‘कस्ता कस्ता वरिष्ठहरूलाई पछि पारेर यी भाइले देखाइदिए !’
यसको केही समय पछि उनको संयोजनमा पोखराको रत्न मन्दिर राजदरबारमा एक कवि गोष्ठीको आयोजना भयो । कार्यक्रम समाप्त गरी राजदरबारबाट बाहिरिँदा उनले क्षेत्रीय स्तरको एउटा साहित्यिक संस्था गठन गर्ने प्रस्ताव राखे । हामी सहमत भयौँ । उनको अध्यक्षतामा एउटा समितिको गठन भयो । केही वैठकहरू बसे । पछि विभिन्न कारणले यो संस्था क्रियाशील बन्न सकेन । यस मामिलामा उनको म लगायत अरू साथीहरूसित गुनासो रह्यो । हामीले त्यसलाई अन्यथा सम्झेनौँ ।
वि.सं. २०७०, चैत ३० गते आकस्मिक रूपले उनको निधन भयो । मलाई असाध्य दुःख लाग्यो । उनले आफ्नो शरीर मृत्युपरान्त वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान दिइराखेका रहेछन् । हृदयाघातले निधन भएका ती दाजुको हृदयको विशालतादेखि म भित्रैसम्म छोइएँ । वि.सं. २०७९ असोज ३० गते विहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नो शरीर किष्ट अस्पताललाई दान गरेको खबर सुन्दा मैले बारम्बार क्षेत्रप्रताप अधिकारीलाई सम्झेँ ।
दुबै दाजुहरूप्रति हार्दिक श्रद्धाञ्जली !
परिदृश्य–२;
समय; विश्वविद्यालयकालीन (वि.सं. २०३९–२०४४)
स्थान; काठमाडौँ उपत्यका ।
“यामभरिको चिसो सपना” सर्वोत्कृष्ट घोषित भएपछि नेराप्रप्रको प्रेक्षालयमा राजा वीरेन्द्रबाहेक रानी ऐश्वर्यराज्यलक्ष्मी, युवराजलगायत राजपरिवारका अन्य सदस्यहरू र विशिष्ट अतिथिगणसामु नाटकको विशेष प्रदर्शन । कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर तहमा भर्ना । साहित्यिक कार्यक्रमहरूमा सहभागिता । कृष्णचन्द्रसिंह प्रधानलाई कार्यक्रमहरूमा देखे पनि, उनले ज्यानदार हाँसो हाँसेको सुने पनि परिचयविहीन अवस्था । संकोची स्वभावको कारण परिचय नभएका अग्रजहरूसित आफै अघि सरेर परिचय दिन नसक्ने अवस्था । परिचय भएका अग्रजहरूको सङ्ख्या सीमित ।
चालीस साल लाग्यो । त्यसै वर्ष चिसो हिउँदको घाम तापेर मैले विज्ञान विषयको एउटा नाटक लेखेँ– ईथरमा कोरिएको प्रेमपत्र । सामान्यभन्दा अलि लामो र सामान्यभन्दा फरक विषयवस्तुको यो नाटक लेखेपछि एक दिन म साझा प्रकाशनद्वारा प्रकाशित हुने ‘गरिमा’ पत्रिकाको कार्यालयमा पसें । सम्पादन विभागमा समकालीन मित्र कवि विष्णुविभू घिमिरे थिए ।
मैले समकालीन मित्रलाई आफू आउनुको उद्देश्य प्रष्ट्याएँ । मित्रले मेरो नाटक हेरे, त्यसको लम्बाई नापे अनि यति लामो नाटक प्रकाशित गर्न असजिलो पर्ने जानकारी दिए । साथमा महाप्रबन्धक त्यसैले पदेन प्रधान सम्पादक भएका कृष्णचन्द्रसिंह प्रधानलाई भेट्न सुझाव दिए ।
मित्रको बाध्यात्मक अवस्था र सुझावलाई मनन गरी संकोच मानेरै भएपनि म कृष्णचन्द्रसिंह प्रधानको कार्यकक्ष भएको लामो भवनमा उक्लिएँ । उनको निजी सचिवमार्फत् आफ्नो उपस्थितिको खबर पठाएँ । प्रवेश गर्ने अनुमति प्राप्त भएपछि म संकोची पाइला चाल्दै कार्यकक्षभित्र प्रवेश गरे ।
‘नमस्कार दाजु, म सरुभक्त … पोखराबाट … ।’ क्षेत्रप्रताप अधिकारीको कार्यकक्षमा प्रवेश र प्रस्थान दुवै अवस्थामा मतिर आँखासम्म नलाउने एक विशिष्ट व्यक्तिसामु परिस्थितिले उभिनु पर्दा मैले गाह्रो अनुभूति गर्दै हात जोडें । उनले हात नजोडी कुर्सीबाटै नमस्कार फर्काए अनि प्रभावशाली बोलीमा भने – ‘बस्नुहोस्, म तपाईलाई राम्ररी चिन्छु ।’
म सोफामा बसेँ । उनले चिया मगाए । मैले असजिलो मान्दै आफू आउनुको कारण बताएँ ।
‘गरिमा सिमित पृष्टमा छापिने भएकोले लामो रचना छाप्न गाह्रो पर्छ । यसो गर्नुहोस्, अहिले नाटक छोडेर जानुहोस् । केही दिनमा आउनु होला, हुँदैन ?’ उनले भने ।
‘हुन्छ ।’ मैले भनेँ ।
चिया आयो । मैले चियालाई अपरिचित र असजिलो मानिसलाईझैँ हेरेँ ।
‘चिया पिऔँ !’ उनले आफ्नो टेबिलबाट चियाको कप उठाए । मैले अपरिचित र असजिलो चियालाई अगाडिको टेबिलबाट असजिलो मानेरै उठाएँ । चिया अवधिभर उनले पोखराको साहित्यिक गतिविधिबारे सोधे, मेरो काठमाण्डौको बसाइ र लेखाइ बारे सोधे । मैले संकोचसाथ जवाफ दिइरहेँ । विक्रमाब्द २०१५ मा ‘व्यथित र उनको काव्यसाधना’ नामको कृतिमा मदन पुरस्कार विजय गरेका, नेपाली साहित्यमा वरिष्ठ समालोचक र निबन्धकारको रूपमा प्रख्याति कमाएका र आफूले पनि एक आदर्श मानी पाएसम्म पढेका – त्यस्ता व्यक्तित्वलाई उनको लेखाइबारे सोध्ने मसित हिम्मत थिएन ।
असजिलो चिया सक्दासम्ममा उनी मलाई सजिलो लाग्दै आएका थिए । त्यसैले केही दिनपछि आउँछु भन्दै मैले उनीसित सजिलै बिदा लिएँ । र, जब केही दिनपछि म उनको कार्यकक्षमा पसेँ उनले मलाई पहिलेभन्दा बढी हार्दिकताले स्वागत गरेको अनुभूति गरेँ ।
‘सरुजी, राम्रो नाटक लेख्नुभएको रहेछ, खुसी लाग्यो । हामीकहाँ यस्ता विषयवस्तुमा नाटक लेखिएका छैनन् ।’ उनले अभिवादनका औपचारिकताहरू सकिए पछि अत्यन्त आत्मीय खुसी व्यक्त गर्दै भने ।
‘हजुर, धन्यवाद !’ मैले भने ।
‘यस्तै गरौँ सरुजी, यो नाटक दुईतीन अङ्कमा भएको र अलि लामो भएकोले आधा आधा गरेर ‘गरिमा’ को दुइटा अङ्कमा छापौँ, हुन्न ?’ उनले यथावत् आत्मीयता दर्शाएर भने ।
‘हुन्छ हजुर ! मैले खुसी अनुभूत गर्दै भनेँ ।
चिया आयो । यसपालि मैले चियालाई परिचित र सजिलो मानिसलाईझैँ हेरेँ ।
“ईथरमा कोरिएको प्रेमपत्र”– गरिमाको वर्ष ५, अंक १ (पूर्णाङ्क ४९, २०४५ पौष) मा पहिलो आधा र त्यसपछिको अंकमा पछिल्लो आधा प्रकाशित भयो । त्यसको अर्को वर्ष अर्थात् वि.सं. २०४४ मा यो विज्ञान नाटकसहित अन्य तीन नाटकहरूको संग्रह ‘ईथर’ नाममा साझा प्रकाशनबाट प्रकाशित भयो ।
वि.सं. २०४२ सालमा मदन पुरस्कार गुठीले पहिलोपल्ट नाटकविधालाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुने नाटककार थिए मोहनराज शर्मा । नाटकको नाम – “वैकुण्ठ एक्सप्रेस” । गरिमामा नाटक पूरै प्रकाशित भएपछिको भेटमा कृष्णचन्द्रसिंह प्रधानले मोहनराज शर्माका ‘जेमन्त’, ‘यमा’ र ‘वैकुण्ठ एक्सप्रेस’ माथि मेरो राय बुझ्दै आफ्नो समालोचकीय धारणा व्यक्त गरे । म प्रभावित भएँ । विषयान्तर गरी अकस्मात् उनले सोधे – ‘सरुजी, तपाईले इथरमा पाँच–छ पृष्ठको लामो संवाद प्रयोग गर्नुभएको रहेछ । यति लामो संवाद नाटकीय दृष्टिले कति उपयुक्त हुन्छ, तपाईले सोच्नुभएको होला ?’
‘हजुर, मैले धेरैपल्ट सोचेँ । सामान्य रूपले यति लामो संवाद समकालीन नाटकमा प्रयोग गरिँदैन । तर यो नाटक विज्ञानसित सम्बन्धित भएको र ‘न्यूक्लियर’ व्यक्टेरियोलोजी’ सम्बन्धी नयाँ वैज्ञानिक अनुसन्धान प्रस्तुत गर्नुपर्ने भएकोले प्रयोगात्मक रूपमा मैले यो सम्वाद प्रयोग गरेको हुँ । मैले सोचेँ, सर आइजक न्यूटन र अल्बर्ट आइन्स्टाइनलाई मानिसहरूले उनीहरूका अनुसन्धान बारे एकडेढ घन्टासम्म ध्यानपूर्वक सुन्न सक्छन् भने डाक्टर एक्सको अनुसन्धान बारे पनि मानिसहरूले सुन्न सक्छन् । नाटकीय कार्यव्यापारमा यस्ता संवादले नाटक वा दर्शकहरूका गतिप्रियतालाई माग गर्दैनन्, गाम्भीर्य र चिन्तनशीलतालाई माग गर्छन् ।’ मैले संवादसम्बन्धी आफ्नो धारणा प्रस्तुत गरेँ । उनले चित्त बुझेको पारामा बौद्धिक मस्तक हल्लाए ।
साझाबाट फर्केर साझा बसमै सवार भएर क्याम्पसतर्फ लाग्दा अकस्मात् मलाई महसुस भयो – उनले चाहेका भए नाटक पत्रिकामा प्रकाशित गर्नुभन्दा पहिले बोलाएर यो लामो संवादलाई टुक्र्याउनु, छोट्याउनु भन्न सक्थे । लामो संवाद अव्यावहारिक हुने कारण दर्शाएर उनले नाटक प्रकाशित गर्न नै अस्वीकार गर्नसक्थे । तर उनले व्यक्तिगत रूपले सहमत–असहमत जे भएपनि त्यस बारे पत्रिकामा प्रकाशित हुनुभन्दा पहिले कुनै चर्चा गरेनन् । उनले एक नवोदित लेखकको चेतनालाई विश्वास र स्वतन्त्रतालाई सम्मान गरेका थिए । यो उनको महानता थियो ।
परिदृश्य – ३;
समय – वि.सं. २०४४
स्थान; काठमाण्डौ
यस वर्षको कार्तिक महिना । काठमाण्डौमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन – सार्क राष्ट्रहरूको तेस्रो शिखर सम्मेलन । सार्क राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुखहरूको आगमन । राजा वीरेन्द्रको अध्यक्षता । यी सबै गतिविधि घरमा बसेर नेपाल टेलिभिजनका प्रत्यक्ष प्रसारण र समाचार प्रसारणमा अवलोकन । सार्क राष्ट्रका साझा समस्या र विकासमा हातेमालो गर्न गठित यो संगठन यस बेला निष्प्रभावी देखिए पनि त्यसबेला आशायुक्त र विश्वासयुक्त लाग्दथ्यो । यसको केन्द्रीय कार्यालय काठमाण्डौ त्रिदेवी मार्गमा स्थापित भएको र पहिलोपल्ट केन्द्रीय कार्यालय भएको आफ्नै देशमा शिखर सम्मेलन भएकोले नेपालीहरूका लागि यो सम्मेलन अरूका लागि भन्दा विशेष लाग्नु स्वाभाविक थियो ।
जुन समय शिखर सम्मेलन आयोजना भयो, सार्क राष्ट्रका धेरै भाग अतिवृष्टिले जलमग्न र अनावृष्टिले खडेरीका चपेटामा परेका थिए । यो मौसमी र मनसुनी गडबडीका बीच एक दिन सार्कप्रति आसावादी मेरो लेखकीय सम्वेदनशीलतामा एउटा भाव स्फूरण भयो – सार्क राष्ट्रहरूले मिलेर एक यस्तो मिशाइलको आविष्कार गर्नु जरुरी छ जस्को प्रक्षेपणद्वारा अतिवृष्टि हुने सम्भावित भूभागमा अतिवृष्टि रोक्ने र अनावृष्टी हुने भूभागमा जलवृष्टि गराउन सकोस् । सार्क शिखर सम्मेलन सकिदानसकिदै मैले एउटा कथा रचना गरेँ – “सार्क मिशाइल” ।
तीसको दसकभरि म मुख्यरूपले कविता, नाटकलेखन र मञ्चनमा सक्रिय रहेको थिएँ । सामाजिक विषयवस्तुका दुईचारवटा कथा पनि लेखिएर पत्रिकाहरूमा प्रकाशित भएका थिए । म आमरूपले लेखिने कथाभन्दा केही भिन्न विषयवस्तुमा कथा लेखन गर्न इच्छुक थिएँ तर अपेक्षित रूपले गम्भीर थिइनँ । यही मानसिक अवस्थामा एक उत्प्रेरणाले ‘सार्क मिशाइल’ रचना भएपछि म उत्साहित भएँ । त्यही उत्साहमा मैले विज्ञान विषयक दोस्रो कथालेखन आरम्भ गरेँ – “एक अविनवको आत्मकथा” । केही पृष्ठ कथालेखन गरेपछि मलाई महसुस भयो, यो कथा होइन उपन्यास बन्ने विषय हो ।
केही दिन सोचविचारमा बिते । यसबीच मैले अरू चार कथा रचना गरेँ । अन्ततः मंसिर लागेपछि ‘एक अविनवको आत्मकथा’ नाममा पहिले लेखिएका केही पृष्ठलाई एकातिर राखेर नयाँ ढङ्गले उपन्यास लेखन आरम्भ गरेँ । हिउँद नसकिदै यो छोटो उपन्यासको लेखन समाप्त भयो । शौभाग्यवस्, पोखरा जेसिसका साथीभाइहरूले यो उपन्यास र यसपूर्व लेखिएका विज्ञान विषयक कथाहरूको एउटा संयुक्त पुस्तक प्रकाशित गर्ने जिम्मा लिईहाले ।
यस पुस्तकको लागि भूमिका लेखिदिन कुन वरिष्ठ समालोचकलाई आग्रह गरुँ होला ? एउटा प्रश्न उत्पन्न भयो । तत्काल उपयुक्त उत्तर पनि उत्पन्न भईहाल्यो – कृष्णचन्द्रसिंह प्रधान ।
‘दाजु, नेपाली साहित्यका विज्ञान कथा र उपन्यास लेखन त्यत्ति धेरै हुनसकेको छैन । एउटा सानो प्रयास मैले गरेको छु । दाजुलाई यसमा केही लेखिदिन आग्रह गर्छु ।’ साझा बस चढेर काठमाण्डौ गएको भोलिपल्ट मैले उनको कार्यकक्षको टेबिलमा पाण्डुलिपिको फाइल राख्दै भनेँ । उनले फाइल उठाई पाना पल्टाए ।
‘एक अविनव … के हो यो ?’ उनले सोधे ।
परिदृश्य–४
समयः वि.सं. २०६०
स्थान;काठमाडौँ
समयको लामो अन्तराल । यसबीच मेरो डेढ–दुई दर्जन किताब प्रकाशित भए । मैले उनलाई अरू कुनै किताबमा भूमिकालेखन गरिदिन आग्रह गरिनँ । यसै पनि म किताबहरूमा सकेसम्म कम्ती मात्र भूमिका वा मन्तव्य हुनुपर्छ भन्ने मान्यता राख्छु । मलाई लाग्छ, थोरै किताबले भूमिका माग गर्दछन् तर धेरै किताबमा भूमिका भार बन्छन् । यही विश्वासले गर्दा मेरा केही किताब बाहेक धेरैजसो किताब अग्रजका भूमिका वा मन्तव्य विना प्रकाशित भएका छन् ।
वि.सं. २०५८ सालको पहिलो हप्ता । म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको विषयमा आधारित एक छोटो उपन्यास रचना गर्ने तयारीमा थिएँ । यसको लागि एक डेढ वर्ष पहिलेदेखि म सगरमाथा र अन्य हिमाली परिवेश सम्बन्धी अध्ययनमा लागिरहेको थिएँ । एक विहान हरिहरराज जोशी मेरो घरमा आए । उनले मेरो केही कविता अङ्ग्रेजीमा अनुवाद गर्ने अनुमति मागे । मैले उनलाई ‘प्रयोगशालाभित्र’ कविता सङ्ग्रह दिँदै त्यसबाट इच्छा लागेका कविताहरू अनुवाद गर्न भने । उनी जेठो छोरो सकिलको सहयोगमा घरको कम्युटरमा बसी कविता अनुवाद गर्न थाले । म उपन्यास लेख्न थालेँ ।
हरिहरराज जोशी केही वर्ष पहिले विश्वको सबैभन्दा विशाल पुस्तकालय मानिने (The library of congress) का प्रतिनिधिको हैसियतले म कहाँ मेरा किताबहरू सङ्कलन गर्न आएका थिए । त्यस समयदेखि उनी सित मित्रताको सम्बन्ध कायम भएको थियो । उनी पोखरा आउँदा सधैँ मलाई भेट्न घरमा आउँथे । उनले मेरा केही कविता पहिले पनि अङ्ग्रेजीमा अनुवाद गरिसकेका थिए ।
एक हप्ताको समयावधिमा उनले मेरा धेरै कविताहरू अनुवाद गरे । मैले लघु आकारमा उपन्यास लेखेर सकेँ । धेरै नामहरू सोचेपछि अन्तमा ‘चुली’ नाम राखेँ । त्यही महिनाको हरितालिका तीज– मेरो जन्मदिनको सन्दर्भ पारेर एउटा सानो समारोह बीच उनले मलाई किताब जस्तो बनाइ अनुवाद गरिएका कविताहरू उपहार दिए । म कृतज्ञ भएँ । केही दिनमा ‘चुली’ को लागि एउटा उपयुक्त भूमिकाको आवश्यकता बोध गरी म कृष्णचन्द्रसिंह प्रधानको ताहाचलस्थित घरमा दाखिल भएँ । उनले मलाई हार्दिकतापूर्वक घरको भुइँ तलामा अवस्थित पुस्तकालय कोठामा स्वागत गरे ।
‘सुन्दर पुस्तकालय !’ मेरो मन रमायो ।
‘कहिले आउनु भयो ?’ उनले सोधे ।
‘हिजो दाजु !’ मैले भनेँ, ‘यसपाली दाजुलाई नै भेट्ने अभिप्रायले आएको हुँ । एउटा लघु उपन्यास लेखेको छु । सगरमाथा आरोहणको विषयमा आधारित ।’
मैले टाइप गरिएको पाण्डुलिपिको फाइल हस्तान्तरण गरेँ । उनले अभिरुचिपूर्वक फाइल पल्टाए अनि उपन्यासमा अन्तर्निहित विषयवस्तु बारे केही प्रश्न गरे । मलाई सम्झना भयो, वि.सं. २०५८ सालमा मेरो यसपूर्व प्रकाशित भएको उपन्यास ‘समय त्रासदी’ को विमोचन समारोह काठमाडौँस्थित हायात रिजेन्सीमा भएको थियो । उनी प्रमुख वक्ता थिए । उनले वक्तव्यको क्रममा भनेका थिए– ‘आफूलाई नदोहो-याउनु उपन्यासकारको विशेषता हो ।’ उनको त्यस वाक्यलाई मैले आशीर्वचनको रूपमा लिएको थिएँ ।
भाउजू चिया लिएर आइन् । उनले परिचय गराए । मैले भाउजूमा आफ्नी आमाको प्रतिबिम्ब देखेँ ।
मैले अपेक्षा गरेको समयभित्रै उनले ‘चुली’ को लागि एउटा छोटो आकर्षक भूमिका लेखिदिए निबन्धात्मक शैलीमा । म कृतज्ञ भएँ ।
कृष्णचन्द्रसिंह प्रधानसित मेरा अरू पनि धेरै सम्झना छन् । उनलाई पोखरामा आमन्त्रित गर्दाका सम्झना, ,ताहाचल हनुमान ढोकातिर पैदल यात्रा गरी गफिदाका सम्झना, साझाको विशाल भवन भएको भोटाहिटीतिर डुल्दाका सम्झना, प्रज्ञा प्रतिष्ठानमा उनी प्राज्ञ छँदा भएका बसउठका सम्झना र अरू । क्याम्पस जीवनको आरम्भिक वर्षतिर कसैले उनी हृदयचन्द्रसिंह प्रधानका भाइ हुन् भनेको सुन्दा म अव्यक्त भाव विशेषले भरिन्थे । पछि उनलाई प्रत्यक्ष देख्दा म उनको अनुहारमा हृदयचन्द्रसिंह प्रधानलाई खोज्थे, ठीक त्यसरी नै जसरी पृथ्वीनारायण क्याम्पसमा देवीलाल सरलाई प्राध्यापक गर्न आएको देख्दा उनको अनुहारमा उनका दाजु शहिद गङ्गालाललाई खोज्थें । पछि उनका सघन समालोचना गहन भावधारा र नवीन शैलीका निबन्धहरू पढ्दा उनको व्यक्तित्वको अनुमान गर्थे । प्रत्येक भेटघाट र परिचय भएपछि अनुमान गरे जस्तै उनको धीरगम्भीर व्यक्तित्व, शिष्ट र प्रभावपूर्ण बोलीवचन, घत परेको ज्यानदार हाँसो देख्दा सुन्दा भित्रैदेखि श्रद्धाको भावनाले भरिन्थेँ । श्रद्धा भरिएका कति अग्रजलाई प्रत्यक्ष भेट्दा मोहभङ्ग भएको तीतो अनुभव म सित छ, तर उनलाई भेट्दा मैले सधैँ मीठो र प्रेरणादायी अनुभूति गरेको छु । वि.सं. २००८ सालमा ‘भञ्ज्याङतिरै’ कविता सङ्ग्रह प्रकाशित गरेका उनी कालक्रममा वरिष्ठ समालोचक र निबन्धकारको रूपमा स्थापित भए । ‘नेपाली उपन्यास र उपन्यासकार’, ‘सिर्जनाको सेरोफेरो’ समालोचना सङ्ग्रह (सम्पादित) जस्ता उनका समालोचनात्मक कृति प्रख्यात भए । उनका ‘सालिक’, ‘अनाम सत्य’, ‘पाइला आगतमा टेकेर’ निबन्धात्मक कृतिहरूले महाकवि देवकोटा र शङ्कर लामिछानेपछिको नेपाली निबन्धमा एक नवीन, आकर्षक, गहन र चिन्तनयुक्त धार स्थापित गर्न सफलता पाए । उनका ‘बागमतीको हरक’ र ‘नफर्कले ती दिनहरू’ (आत्मवृतान्त) ले पनि उनको निबन्धात्मक निजन्त र ओजलाई कायम राख्न सफलता पाए ।
उनको समयमा नेपाली लेखकहरूको साझा संस्था साझा प्रकाशनले उन्च्नतिको चुली टेकेको थियो ।
यो देश सालिकहरूको देश हो । बग्रेल्ती सालिकहरू भएको देशमा उनले सालिकको कथा हाले, सालिकका व्यथा र विसङ्गति उधिन्ने काम गरे तर कुनै परिदृश्यमा पनि आफै सालिक बन्ने उपक्रम गरेनन् । त्यो उनको महानता थियो । यथार्थमा सालिकको उच्च र प्रेरक बिम्बलाई अनुभूत गरी भन्दा उनी नेपाली साहित्यका एक सालिक नै हुन् । सालिक नउभिएका सालिक ।
०००
लेखक परिचयः सुरुमा भक्त श्रेष्ठका नाममा लेखन सुरू गरेका उनी पछि सरुभक्तका नामले विख्यात भए । विसं २०३४ सालमा रुपरेखा मासिकमा “तीन मुक्तक” प्रकाशन गरेर साहित्यमा होमिएका उनका विविध विधामा दर्जनौं कृति प्रकाशित छन् । उनको उपन्यास “पागल वस्ती” ले विसं २०४८ सालको मदन पुरस्कार पाएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य तथा संगीत नाट्य एकेडेमीको कुलपति भइसकेका उनी पोखरामा जन्मेका हुन् र हाल पोखरामै वसोवास गर्छन् ।
