दशगजामा उभिएर गणेश रसिक सम्झँदा

गद्य विविध

बिष्णु ठकुरी, खर्साङ‌ 

बरिष्ठ साहित्यकार, गीतकार, संगीतकार, गायक, कवि अनि राजनैतिक हस्ती गणेश रसिकको जन्म भोजपुरको छिनामखुमा भएको थियो २००४ विक्रम संवत् मा। उनले लेखेका पुस्तक “दशगजामा उभिएर” ल्याएको दिनदेखि थन्केर बसेको पुस्तक निकालेर पढ्न बसें।यस पुस्तकमा केही प्रबुद्ध साहित्यिक हस्तीद्वयद्वारा लिखित “गोरेटोको खोजी” श्री इन्द्रबहादुर राई अनि श्री गोविन्दराज भट्टराई “दशगजामा उभिएर एउटा जीवन नियाल्दा ” पढेपछि लगत्तै गणेश रसिकको ” चौथो संस्करण निमेशको नाममा ” पढें। आफ्ना दिवंगत भएका भाइहरू क्रमशः शम्मी, श्याम अनि प्रजुप्रति समर्पित स्तम्भमा आँखा पर्यो, पढेर मन विह्वल बन्यो।

भातृशोकले विथोलिएको मनको गहिरो मार्मिक उद्गार यस्तो थियो:

नियतिको चक्रव्यूहमा बसेर 

         अकाल मृत्यु बरण गर्ने ती पात्र 

         अरु कोही……….. कोही थिएनन् 

         थिए 

         मैले आफ्नै काँधमा बोकेर हुर्काएका 

         श्याम, शम्मी र प्रजु 

         वंश, आस्था र‌ प्रेमका

         तीन चुल्हे ढुङ्गो झैं लाग्ने 

         कठै! मेरा प्यारा-प्यारा भाइहरू 

         तीनै भाइहरुमा समर्पण।

एक दह्रो मन भएका व्यक्तिलाई क्रमिकरुपमा यति औधी पीडा र वेदनाले पराकाष्ठा नाघ्दा आत्महत्यासम्म गर्न पुग्दो रहेछ मन।

“चौथो संस्करण निमेशको नाममा” पढेपछि रसिकज्युले आफ्नो छोरा निमेशलाई पनि गुमाउनु परेका बित्यासिला समय कसरी पार गर्न सक्नुभयो होला कल्पना मात्र पनि गर्न सकिन्न। धेरै भएको थियो म नरोएकी तर आज यो संस्मरण ” दशगजामा उभिएर” को चौथो संस्करण निमेशको नाममा पढ्दै जाँदा भक्कानिएर रोएँ, यो लेख्दै गर्दापनि मेरा आँखाहरू रसाईरहेका छन्।

उनी लेख्छन्:

बाबु रुन्छन् छ महिना बर्षदिन 

   आमा जुगैभरि लौ हजुर 

    के लेख्यो नि भावीले 

    कर्ममा दुःख है लेखेको।

मन मेरो पनि निकै निम्छरो भएछ क्यारे मेरोपनि आँशु बगिरह्यो।अति मार्मिक शब्दशृंखलाले यो संस्मरण अति सरल अनि मिठो शैलीमा सलल बगिरहने खोलाजस्तै लागेर एकै बसाइमा सिध्याउने अठोटमा अटल छु। अन्तसम्म नै मलाई रुवाउने छ सायद् यो पुस्तकको प्रत्येक अनुच्छेदले।

अब विषयबस्तु अर्कोतिर मोड्ने विचारमा लाग्छु:   “लेकाली खोल्सो” को जन्म।

“लेकाली खोल्सो” सप्तरंगी सांगीतिक समुहको एउटा गुठी नै भनौं जसको जन्म बिक्रम् सम्बत् २०२४ मा  श्रीपन्चमीको शुभ दिनमा काठमाडौंको सहर त्यौडको गल्लीभित्र उर्मिला दिदीको पुरानो घरमा भएको थियो। “लेकाली खोल्सो” एक निर्जन एकान्त, भुइँकुइरोसँग लुकामारी खेल्ने जङ्गल र नागीहरु छिचोल्दै कुलकुल बग्ने संग्लो पानीयुक्त लेकाली खोल्सामा हिरण्य भोजपुरे, उर्मिला दिदी, निर्मला, तीर्थ शेरचन, न्हुच्छेबहादुर डङ्गोल, नीरा र म  थियौँ भन्नुहुन्छ यो संस्मरण दशगजामा उभिएर लेख्ने बरिष्ठ साहित्यकार श्री गणेश रसिकज्यु। तेसै बेलादेखि नै उनको सांगीतिक जीवनयात्रा शुरु भएको भनिन्छ।

जिन्दगीको दुवै पाटाहरूमा आफूले झेल्दै आएका किस्साहरु नलुकाई प्रष्ट्याउन सक्ने व्यक्तित्वको प्रशंसा नगरी सकिन्न। यस्ता खुल्ला मन भएका मानिसहरू धेरै कम पाइन्छन्। तर जतिसुकै कोसिस गर्दापनि कुनैपनि क्षेत्रमा फस्टाउन नसक्नु विधाताको खेल नै हुनुपर्छ। बाल्यकालदेखि भुक्तभोगी, प्रत्येक कुरामा नै भोग्नु परेका भोगाई र समस्यालाई काँधमा बोकेर हिड्न परेका संघर्षरत जीवनको लामो अवधिसम्मको लेखाजोखा परेका बिषयमा अद्योपान्त यो संस्मरण “दशगजामा उभिएर” मा पढ्न पाइन्छ।यसै सन्दर्भमा श्री गोविन्दराज भट्टराईद्वारा लेखिएको आख्यानात्मक अभिलेखमा लेख्नुहुन्छ “दशगजामा उभिएर”मा लेखकको बाल्यकालदेखि २०६२ सालसम्मका आफ्ना भोगाई र संघर्षहरु छन्। यसले करीब ६ दशक लामो कालकवधि ओगट्छ भने भोजपुर र काठमाडौं र इलामको तीनचुम्के भौगोलिक ओदानभित्र यसको आकार निर्माण भएको छ। यस कृतिमा सम्झन सकेको बाल्यकालदेखि यताका मन छुने, हृदय हल्लाउने, बिर्सि नसक्नुको घटना र दुर्घटना छन्। अन्धकारको चौघेरामा परेको एउटा बालकलाई छामछुम गर्दै, लड्दै,उठ्दै, बाटो बिराउँदै, होसमा आउँदै, देवीथानमा भाकल गर्दै देशले चिन्ने नागरिक बन्नलाई कति लामो यात्रा गर्नुपर्दो रहेछ भन्ने कुरा यस कृतिले छर्लङ्ग देखाउँछ।” हुनपनि हो यिनै बरिष्ठ कलमकार, साहित्यकार, गायक, संगितकार अनि राजनैतिक क्षेत्रमा प्रवेश गरेका एक प्रवुद्ध हस्ती श्री गणेश रसिक नियतिको चक्रव्यूहमा परेर हजारौं हण्डर र चोटहरू खाँदै, लाखौँ, समस्यालाई परास्त गर्दै साहसिक मन बोकेर यहाँसम्म शिर ठाडो पारेर उभिन सक्ने व्यक्तित्वको धनी हुन्।

किरात राई भएरपनि होलान् रीस थाम्न नसकेर धेरै बिषयमा चुक्नुपरेका सत्य घट्नाहरुका बर्णन ढुक्कले खुलस्त प्रष्ट्याउनु भएको छ। वहाँको प्रष्ट लेखाई , सरल सरस शैलीले यो पुस्तक हृदयस्पर्शी भएतापनि रोचक र‌ एकै बसाइमा पढिसिध्याउने मन हुन्छ। जीवनको आधाभन्दा बढी समय कष्टकर अनि भुक्तभोगी भएर बिताउन परेपनि आफ्नो बलबुतामा अडिरहन सक्नु पनि अद्म्य साहसको अनुकरणीय उदाहरण ठहरिन्छ। पाइलाइपिच्छे अड्चन, अभाव, होच्याई अनि आफ्ना प्रिय भाइहरुका एक एक गर्दै अकाल मृत्यु अनि आफ्नो एकमात्र छोरा निमेश राम्ररी जिन्दगी जिउन नपाई असामायिक मृत्यु बरण हुनुजस्ता पीडादायी घटना चक्रका शिकार हुन् गणेश रसिकज्यु।

वहाँले लेख्नुभएको यस कृतिमा ठेट् शब्दहरूका सुन्दर प्रयोग भएको देखिन्छन्। आफ्नो कथाव्यथामा कुनै लुकाइछिपाई देखिन्न, इमान्दारिताको निर्मल स्वच्छ छाप पाइन्छ। आफूभन्दा ठूलाको लहै लहैमा लागेर गरिएका अट्टायीहरु र बदमासीहरु स्पष्ट छन् उनको कलममा। सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि ठेलिन्दै, घचेटिन्दै, पछारिन्दै, फेरि उठ्दै आफ्नो नाम कमाउन सफल भएका छन् उनी।सुख समृद्धी त उनको ललाटमा लेखिएको देखिएन। सुखदुःखमा अल्झिएको आफ्नो जीवनको अन्ततिर केही सुखानुभूति गर्न सके होलान्। उनले लेखान्त नै यस्तै रहेछ भनेर स्विकारोक्ति गरे होलान्।

उनले भोगेका संघर्षमयी भोगाइहरु सायदै हामी भोग्नु सक्छौं। दु:खले नै मानिसलाई लेखक, संगितकार, कवि, कथाकार गायक बनाउँदा हुन्। प्रसिध्द साहित्यकार श्री कृष्ण धरावासीले पनि सानैदेखि अनेकन् दुःखदायी समस्याहरू झेल्न परेको थियो। सायद यस्तै दुःखले उनलाई पनि महान् साहित्यकार बनाए। कष्टकर संघर्षको लिस्नु चडेर आज उनी सफलताको उच्च शिखरमा पुगेका छन्।

“दशगजामा उभिएर” हेर्दै जाँदा कति कहालिलाग्दो कष्टकर जिन्दगीको यात्रु भएर, आफ्नो घरमा आफै अनाथ जस्तो भएर, भोकभोकै लड्न सक्ने हैकमवादी हेपाइको चुनौतिदेखि पटक्कै नडराउने व्यक्ति हुन् भन्दा अत्युक्ति नहोला यहाँ। मेरो बुझाइमा यो उनको आत्मकथा हो “दशगजामा उभिएर” अनि आफूले भोग्नुपरेका सम्पुर्ण कष्टकर जिन्दगीको रुपरेखा छर्लङ्ग प्रस्टाएर आफू हलुङ्गो भएको हुनसक्ने यो उनको जीवन गाथा साह्रै पठनीय र प्रेरणादायी देखिएको छ मेरो बुझाइमा।

बरिष्ठ साहित्यकार इन्द्रबहादुर राईले उनले यस पुस्तकमा उल्लेख गरेका छन् कि ” रसिक अतिव देशप्रेमी छन्, देशप्रेम अमूर्त हुँदैन, मूर्त हुन्छ। देशको माटोमा उभिएका आफ्ना पहाड़पर्वत, आफ्नो खोलानालाको प्रेममा,‌ देशका आफ्ना पशुपंक्षीको प्रेममा, आफ्ना देशबासीको प्रेममा।

कति मायाले कति समवेदनाले लेख्छन् उनी नेपाल देशलाई,‌ छातीमा उनले सधैँ ठोकिराखेको यो प्रेम छ उनको आत्मकथा ।

हो उनी देशभक्त,‌ देशप्रेमी हुन् देशका सत्ताधारीले नचिने पनि देशको माटोले चिनेका छन्, देशका प्रकृतिले बुझेका छन्, पशुपंक्षी अनि खोलानाला र‌ गरीब जनताले चिनेका छन् उनलाई। उनी देशका सबैलाई माया गर्छन् र‌ एउटा गीतमा यसरी बोल्नु हुन्छ जो मलाई असाध्यै मनपर्छ। यस गीतमा गहिरो भावार्थ पाइएको अनुभूत हुन्छ।

मसँग एउटा तारा छ मायाको 

        यसलाई एउटा आकाश देऊ 

        मसँग एउटा डुङ्गा छ हृदयको 

       यसलाई एउटा सागर देऊ।

त्यो तारा फुल्नेछ तिम्रो ओंठमा 

मुस्कानको फूल बनेर 

त्यो तारा खिल्नेछ तिम्रो काखमा 

मुटुको राम्रो खिलाउना बनेर 

            मसँग एउटा तारा छ मायाको……..

            त्यो डुङ्गाले पुर्याउँछ तिमीलाई 

            तिमीले देखेको सपनासम्म 

            त्यो डुङ्गाले लैजान्छ तिमीलाई 

           तिमीले गरेको कल्पनासम्म।

मसँग एउटा तारा छ मायाको 

यसलाई एउटा आकाश देऊ 

मसँग एउटा डुङ्गा छ हृदयको 

यसलाई एउटा सागर देऊ।

 

वहाँकी श्रीमती पनि कोरोना कालमा काठमाडौंको एउटा निजी नर्सिङ होममा उपचारको क्रममा निधन भयो तर उनको दुःखान्त मृत्यु भइसकेपछि पनि तीनदिनसम्म अस्पतालले उनको मृत शरीर नदिँदाको असह्य पीडा भोग्नु परेका थिए उहाँले। अनावश्यक पैसा वसुल गरेपछि मात्र पार्थिव शरीर उनलाई दिएको कारणले साह्रै मर्माहत बनेका थिए‌ । आफ्नी प्राणप्रिय श्रीमतीको देहान्त पछि उहाँ नितान्त एक्लो हुनुभएको थियो। मनस्तिथिमा गहिरो असर परेको कारण आत्महत्यासम्म गर्न तम्सेका थिए भन्छन् नजिकमा भएका साथीहरु। साथी संगीले धेरै सम्झाई बुझाई फेरि संगीतलाई अपनाउनु पर्छ भनेर जोड़ लगाएपछि उहाँ डिप्रेसनबाट मुक्त हुनुभएको थियो र हामीमाझ फर्की आए र संगीतको सहारामा नयाँ जीवनको शुरुवात गर्ने उद्देश्य लिए।

वहाँ कहिले इलाम कहिले काठमाडौं बस्नु हुन्थ्यो। आफू नहुँदा पनि आफ्नो घरमा कहिल्यै ताल्चा लगाउनु हुन्थेन रे ‌ जो पनि गएर बस्नसक्ने वातावरण बनाइदिने विश्वाशिलो फराकिलो मनभएको महान् व्यक्ति हुनुहुन्थ्ये भनिन्छ। उहाँ मधुमेह रोगी हुनाले औषधि उपचार चलिरहेको थियो। फेरि उहाँलाई क्यान्सर रोगले समातेछ। धेरै लामो समयसम्म औषधी उपचार चलिनै रहेको थियो। वहाँ नेपाल राष्ट्रको उच्च ओहोदामा पुग्न विशेष सफल व्यक्ति, प्रसिध्द गायक गीतकार संगीतकार भनौं नै भने उनी राष्ट्रिय धन थिए तर राष्ट्रको कुनै श्रोतबाट पनि उहाँको उपचारमा सहयोग प्राप्त हुन सकेन। राष्ट्रले उहाँलाई सम्मान र सहयोग पुर्याउन पर्ने थियो तर भएन। उहाँ भन्नुहुन्थ्यो रे इलामको चियाबारी र घर जग्गा सबै बेचेर काठमाडौंमा नै बस्नेछु भनेर। उहाँसग भेट् गर्ने मेरो ठूलो इच्छा थियो तर कहिले जुरेन।

जुन १ ता सामाजिक संजालमा मे महिनाको शनिबार बिहान एघार बजे नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि ललितपुरमा अन्तिम सास फेर्नु भएको दुःखद् खबरले म किंकर्तव्यविमुढ भएँ।‌न रुन सकें न हाँस्न, अत्यन्त मर्माहत बनेर आफ्नो कोठामा बसेर सोचिरहें।

उहाँको हरेक गीत संगीत म सुन्ने गर्थे अझैपनि सुन्छु । उहाँका प्रकाशित कृतिहरू र संगीतले म धेरै प्रभावित थिएँ अझ् पनि छु। उहाँ बाँच्न चाहनु हुन्थ्यो र लामो समयदेखि उपचाराधिन हुनुहुन्थ्यो तर सत्ताधारी नेताहरुले र क्यान्सर रोगले उनलाई बाँच्न दिएनन्। राष्ट्रको एक अमुल्य रत्न हुनुहुन्थ्यो तर उहाँको उपासना कसैले सहयोग पुर्याउने काम गरेनन्, अन्ततः उहाँले नचाहँदा नचाहँदै पनि मृत्यु बरण गर्नुपर्यो, क्यान्सर जस्तो भयानक रोगको शिकार भए।

उहाँ मर्न अगि भन्नुहुन्थ्यो रे म मरेपछि मेरो शवयात्रा साधारण होस्, मेरो अस्तु भने मेरो जन्मथलो भोजपुरमा लगेर छरिदिनु या सेलाइ दिनु। आफ्नो जन्मथलोप्रतिको प्रेम कति गहिरो !

अन्तिम वाक्य कति हृदयस्पर्शी कति मार्मिक!

वहाँको आत्माले स्वर्गमा बास पाउन्। सश्रद्धा श्रध्दासुमन अर्पण गर्दै हार्दिक श्रध्दाञ्जली चढाउँदछु।

000

लेखिका परिचयः लेखिका बिष्णु ठकुरी खर्साङ दार्जिलिङमा जन्मेकी हुन् र त्यहीं आफ्नो कर्मभूमि बनाएकी छिन् । उनको “अनुस्मृति“(सन् १९२३) संस्मरण कृति प्रकाशित छ । उनका कविता तथा यात्रा संस्मरणहरू फूटकर रुपमा प्रकाशित छन् ।