भगवती बस्नेत, काठमाडौं
कहिले निर्दल,कैले बहुदल
कैले लोकतन्त्र
कहिले गणतन्त्र
अनेक विद्रोह झेल्नुपर्ने
भाग्य दुर्भाग्यको साक्षी
सिंहदरवार ।
देशको राजधानीमा उभिएर
अनेक व्यवस्थाको
साक्षी बनेर हेरिरह्यो
व्यवस्था बदलिए पनि
अवस्था कहिल्यै बदलिएन
चरित्र वदलिएन
निमुखाको जीवन बदलिएन
जनजनका लागि
दुर्गम भयो सिंह दरवार!
विगत र वर्तमानको साक्षी
ईतिहासको साक्षी
दम्भ र अहङ्कारको साक्षी
सिंहदरवारमा विस्फोट भयो अग्नि
र जलिरह्यो सिंहदरवार
जलिरहे इतिहासका पानाहरू
विस्फोट भइरहे अनन्त असन्तुष्टिहरू
धूवाँ वनेर ढाकिरह्यो
काठमाडौंको आकास ।
जेन्जीको सहारामा
साराका सारा असन्तुष्टिहरू
जलिरहे र धूवाँ बनिरहे ।
र थुप्रो देखियो
खरानीको ।
अब खरानीमा
फिनिक्स जन्माउने
सामर्थ्य लुकेको हुन्छ भन्ने
तर्कहरू तैरिन थालेका छन्
तर समयले खोजेको छ
जेन्जीको अवतारमा
नयाँ युगको जन्म
नयाँ युगको थालनी
नेपाल आमाको आँसुलाई
मोती बनाउने सङ्कल्प ।
०००