भाष्कर मैनाली शर्मा
“लत्याएको फूल” उपन्यास पहिलो पटक सन् २०२२ मा प्रकाशित भएको हो। जम्मा १७६ पृष्ठमा समेटिएको यस कृति २३ भागमा विभाजित छ र मध्यम आकारको देखिन्छ।
यो उपन्यास मूलत: प्रेमप्रसङ्गमा आधारित छ, जसको केन्द्रमा पारस र तृष्णा नामका दुई युगल प्रेमी छन्। दुवै खरसाङका निवासी, शिक्षित र रोजगारीको सिलसिलामा कोलकाता पुगेका पात्र हुन्। त्यही कोलकाता शहरमै उनीहरू पहिलोपटक भेट्छन्। मित्रताको सम्बन्ध विस्तारै प्रेममा परिणत भई, बाधा अवरोधबिनै वैवाहिक जीवनमा प्रवेश गर्छन्।
शुरुमा उनीहरूको वैवाहिक सम्बन्ध सुखद रहन्छ। तर जब छोरी जन्मिन्छ, त्यतिबेला परिवारभित्र समस्या सुरु हुन्छ। पारसको आमा खरसाङमा बिरामी परेपछि उसले तृष्णालाई कोलकाताको जागिर छाडेर खरसाङमै सासूको स्याहार गर्न आग्रह गर्छ। तर तृष्णाले आफ्नो करिअर त्याग्न अस्वीकार गर्दा उनीहरूबीच मनमुटाव बढ्छ। अन्ततः झगडा हातापाइसम्म पुग्छ र एक दिन मदिराको नशामा पारसले तृष्णालाई कुटपिट गर्छ। सहन नसकेकी तृष्णा छोरीलाई लिएर घर छाड्छिन् र साथी रजनीको घरमा बस्न थाल्छिन्।
समय बित्दै जान्छ। तृष्णाकी छोरी पढेर नेत्र चिकित्सक बन्छिन् र साहित्यकारका रूपमा पनि परिचित हुन्छिन्। तृष्णाले जागिर सरुवा गरी सिलिगुडीमा आइ बस्छिन्। अर्कोतर्फ, पारसले दोस्रो विवाह गर्छ तर त्यो वैवाहिक जीवन पनि असफल हुन्छ। अन्ततः पारस कोलकाता छोडेर खरसाङ फर्किन्छ र ठेक्कापट्टिको काम थाल्छ।
कहिल्यै नसोचेको दिन, तृष्णाकी छोरीको च्याम्बरमा आँखा जाँच गराउन आएका पारस नै उनको जैविक पिता भएको रहस्य खुल्छ। छोरीले आमा तृष्णालाई बाबु अझै पनि माया लाग्छ भन्ने कुरा बताउँछे। उपन्यासको अन्त्य खरसाङमा आयोजित एक साहित्यिक कार्यक्रममा पारस, तृष्णा र उनकी डाक्टर छोरीको भावनात्मक मिलनले हुन्छ।
यस कृतिमा प्रेमसँगै दैनिक जीवनका यथार्थहरू पनि उजागर गरिएको छ —
दार्जिलिङ पहाडमा रोजगारी अभावका कारण युवाहरू कोलकाताजस्ता महानगरमा काम खोज्नुपर्ने बाध्यता, घर–परिवारप्रतिको जिम्मेवारी टाढा हुँदा निभाउन नसक्ने विवशता, आमाछोरी, बाबुछोरा, दाजुभाइ र दिदी–भाइबीचको आत्मीय सम्बन्ध, मध्यमवर्गीय र धनाढ्य परिवारबीचको जीवनयापनको भिन्नता।
उपन्यासमा कोलकाता, खरसाङको सन्त मेरिज पहाड, अम्बोटे, खरसाङ शहर र सिलिगुडीजस्ता स्थानलाई पृष्ठभूमि बनाइएको छ। नेपाली भाषी समाजका परम्परा र संस्कारहरू — जनै सुपारीको विवाह संस्कार, न्वारान, तेह्र दिने काजकिरिया, दसैं पर्व आदिको सजीव वर्णन पनि यहाँ भेटिन्छ। साथै, उपन्यासभरि कविताहरू र गीतहरू प्रस्तुत भएकाले यसले कथालाई थप सौन्दर्य दिएको छ।
यस उपन्यासमा नारीको आत्मनिर्भरता र क्षमताको सशक्त चित्रण पाइन्छ। तृष्णाले जागिर नत्याग्ने निर्णय र छोरी चिकित्सकसँगै साहित्यकारका रूपमा स्थापित हुनु, दुवै घटनाले महिलाहरू जुनसुकै क्षेत्रमा सक्षम हुने सन्देश दिन्छ। त्यसैले यस कृतिमा नारीवादी दृष्टिकोण पनि प्रष्ट देखिन्छ।
शीर्षक “लत्याएको फूल” अत्यन्तै सार्थक छ। कारण, पारसले छोरी होइन, छोरो चाहेको हुँदा पत्नी र छोरीलाई घरबाट निकाल्छ। तर अन्त्यमा त्यही ‘लत्याएको’ छोरी नै डाक्टर बनेर बाबुको आँखाको उपचार गर्छिन्। यसरी उपन्यासले जीवनको गहिरो विडम्बना र सत्य उजागर गर्दछ।
०००
