७ असार २०८२, काठमाडौ
साहित्यकार शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार द्वारा पुरस्कृत एवम् सम्मानित भएका छन् । शृङ्खलाद्वारा शनिबार राजधानीमा आयोजित समारोहमा उनलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, कविवर तथा मुन्धुमविद् बैरागी काइँलाले दोसल्ला तथा सम्मानपत्र अर्पण गरी नगद पचपन्न हजार पाँच सय पाँच रुपैयाँ हस्तान्तरण गरे।
सो समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले नेपाली कविता–काव्य विधामा शशी लुमुम्बूले सशक्त कविता सृजना गरी उल्लेखनीय योगदान दिएको चर्चा गरे । उनले नेपाली साहित्यको श्रीबृद्धिमा डायस्पोरामा रहेका साहित्यकारहरूले सिर्जनका माध्यमबाट विशिष्ट योगदान दिएको बताए ।
कवि श्रवण मुकारुङले नेपाली साहित्यमा कवि शशी लुमुम्बूको उल्लेखनीय योगदान रहेको बताए ।
समारोहका सभाध्यक्ष वरिष्ठ साहित्यकार दाजु गुरुङले नेपाली साहित्यको उन्नयनमा हङकङेली नेपाली डायास्पोरिक लेखक-साहित्यकारहरूको विशिष्ट योगदान गरिरहेको तर राज्यले भने उक्त योगदानलाई अनदेखा गरिरहेको बताए । डायास्पोरामा सृजनारत स्रष्टाहरूको योगदानलाई राज्यले उचित कदर गर्नुपर्नेमा उनको भनाई थियो ।
शृङ्खलाका निवर्तमान संयोजक रमण गुरुङ र सल्लाहकार डिबी पालुङ्वाले हङकङमा नेपाली साहित्यको अवस्था र नेपाली साहित्यको प्रवद्र्धनका निमित्त हङकङ साहित्यिक साझा शृङ्खलाले गरिरहेको कार्यहरूका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमको सहजीकरण यासेली योङहाङले गरेका थिए ।
