रमेश सागर
सर्जक पोष चापागाईं (बि.सं. २००८-भोजपुर) नेपाली साहित्यमा एक स्थापित नाम हो । प्राध्यापन सँगसँगै साहित्य सिर्जनामा लगभग तीन दशकदेखि निरन्तर लाग्नुभएको छ वहाँ । साधना र समर्पणसँगै वहाँ वर्तमानमा आख्यान विधालाई अघि बढाइ रहनुभएको छ । वहाँका कविता, कथा, निबन्ध र बाल-साहित्यका डेढ दर्जन सिर्जना कृति प्रकाशित छन् । प्राध्यापन कर्मबाट निवृत्त भए पनि वहाँ अध्ययन, भ्रमण, साहित्य सेवामा सक्रिय हुनुहुन्छ ।
‘हाइकुकथा’ का आविष्कार कर्ता पोष चापागाँई नयाँ नयाँ अनुसन्धान गर्न रुचाउनुहुन्छ । अचेल ‘नियात्रा’ नामले चर्चित गैर आख्यानको एक उपविधा यात्रा निबन्धमा पनि वहाँको नवोन्मेष रहेको छ । यहाँ वहाँका दुईवटा नियात्रा कृतिहरूको चर्चा गर्न लागिएको छ । जुन स्रष्टा पोष चापागाँईका नौवटा नियात्रापछि निस्केका हुन् । यी दुईमध्ये एउटा ‘सौन्दर्य’ – नियात्रा-उपन्यास हो, भने अर्को ‘आनन्द’ नियात्रा सङ्ग्रह हो ।
साहित्य निरन्तर नवीन विधा र सृजनामार्फत गतिशील रहन्छ । कहिले विधा भञ्जन वा अन्तर विधा श्लिष्ट गरिएका सृजना पनि देखिन्छन् । जे जसरी होस् कुनै नयाँ आविष्कृति दिनु उत्तर आधुनिक साहित्यको एउटा खोजी हो । कतिपय खोजी, अभियान तथा आन्दोलन साहित्यको उत्थानमा उल्लेख्य रहेका छन् । कति त समयको गतिलाई आत्मसात् गर्दै, झाँगिदै र पाठकीय रुचि अतिक्रमण गर्दै जान नसकेर टुङ्गो लागेका छन् ।
‘सौन्दर्य'(२०७७) पोषण चापागाँई कृत नियात्राको दसौँ पुस्तक हो भने पहिलो ‘नियात्रा-उपन्यास’ (नियात्रोपन्यास) हो। मूलतः यो भारतीय भूमिमा गरिएको नौ दिने धार्मिक या तीर्थयात्रा (चारधाम ) को स्मरण हो । प्रस्तुत कृतिको जग धर्म दर्शन र ततसम्बन्धी अनुभूतिको मैदानमै छ । तर यहाँ औपन्यासिक रमरम थप्दा प्रयोग गरिएको विषय भने स्वभावतः विपर्यास जस्तो लाग्छ । यही कुराको खसखसले कृतिबारे आफ्ना धारणा कोर्ने जमर्को गरिएको छ ।
‘कथा, उपन्यास वा निबन्धका माध्यमबाट पनि अनुभूतिहरू प्रकट हुन सक्छन्।’ भन्नेमा यस कृतिका भूमिका कार दामोदर पुडासैनी ‘किशोर’सँग सहमति छ । ‘सौन्दर्य’ पुस्तक पठनपछि ‘साहित्य देश,काल, परिस्थितिसँग जोडिन्छ’ भनेर अध्यापन गराउने गुरु स्वयम् चाहिँ किन आक्रामक अनुसन्धाता बन्नुभयो होला ? भन्ने लाग्यो। प्रयोगको जुन रसायन प्रयुक्त छ त्यसले पाठकका मनमा बेग्लाबेग्लै प्रतिक्रिया आउनु स्वाभाविक हुन्छ।
कृतिकार यसो पनि भन्छन्, ‘सिद्धान्तका आधारमा नयाँ कृतिको निर्माण हुने होइन। सर्जकको स्फुरणबाट कृति जन्मिन्छ।’ सहि हो । यो लेखकीय स्वीकारोक्ति अटल छ । त्यसो भन्दै मा, समाजको मर्यादा र स्वीकार-अस्वीकार पनि बेवास्ता गर्न मिल्दैन नि ! व्यक्तिगत रुचि जेसुकै हुनसक्छ तर सामाजिक मर्यादा कायम राख्नु साहित्यको दायित्व हो । त्यसैले ग्रन्थहरूमा भेटिन्छ,’हितेन स:साहित्य…।’ तसर्थ सामूहिक पाठक नै समाज हुने कारणले तीनको बेवास्ता गर्न मिल्दैन।
प्रस्तुत नियात्रा-उपन्यास ‘सौन्दर्य’ मा पाँच प्रखण्ड छन्। प्रत्येकमा उपशीर्षकहरू समेत दिइएको छ। पहिलो खण्डमा उपजीव्य कथानक उठान भएको छ । तीर्थयात्राका क्रममा बास बसेका ठाउँमा पूर्व जन्मका असफल प्रेमी प्रेमिका बीच देखादेख गराइएको छ । संयोगले आ-आफ्ना घरबाट निस्केका तीर्थयात्री बेग्लाबेग्लै होटेलमा बास बसेका छन् । प्रेमिकाले ‘म’ पात्रलाई चिन्छे, निःसन्देह पुरुषले पनि चिन्छ । नारी भोगको तीव्रता प्रकट गर्छे । पहिलो भेटमै कामातुर प्रेमिकालाई भेट्न योग बस्ने बहानामा ‘म’ पात्र पटक पटक भेट्छ । ‘म’ तीर्थयात्राको मर्म ख्याल गर्दैन; अपितु, च्युत पनि हुँदैन ।
यही स्वैर कल्पनाको झीनो सूत्रमा अल्झाउँदै ‘सौन्दर्य’ नियात्रा-उपन्यास बुनिएको छ । भावाभास सँगसँगै यात्राका सूचना प्रस्तुत गरिएको छ । तीर्थयात्राको अवधिसँगै औपन्यासिक कायाकल्प पनि सकिन्छ। यही कथाका लागि पाँच खण्ड बनाइएको छ । दोस्रो खण्डमा चार, तेस्रोमा तीन, चौथोमा एघार तथा पाँचौं मा तेह्र उपशीर्षकहरूसम्म आयाम पुर्याइएको छ । प्रत्येक खण्डमा ठीकसँग औपन्यासिक डोरी बाट्दै लगिएको छ । यसरी नियात्राभित्र औपन्यासिक आबद्धता गराउँदै नियात्रा उपन्यास नामको उपविधा साहित्यमा भित्र्याउने काम भएको छ । संवाद शैलीबाट यात्रा गर्न चाहनेका लागि सूचना व्यक्त भएका छन् । यथेष्ट सूचना नदिए पनि पुस्तक भने रोचक लाग्छ । तीव्र मन द्वन्द्वको सामना र उचित व्यवस्थापन गर्न सक्नु पनि नियात्राकारको अर्को सफलता हो ।
यात्रा बयान गरेर मात्रै कृति कार पोष चापागाँईलाई पुगेन, केही नौलो अन्वेषण गर्न मन लाग्यो । यसै क्रममा ‘आनन्द'(२०७८) नाम दिइएको अर्को कृति प्रकाशन गरिएको छ । दृश्य र अनुभूति अर्थात् दृश्यलाई अनुभूतिको रङ्गमा प्रस्तुत गरिएको नौलो बान्की हो ‘आनन्द’। प्रस्तुत कृति कैलाश मानसरोवरको यात्रामा आधारित छ । एघारवटा भिन्नाभिन्नै शीर्षकमा यात्रा भरीको आनन्द वर्णित छ । यात्राको उपादेयता दर्शाउँदै लेखिएको छ, ‘नयन सुख मात्रै होईन, प्रकृतिमा अवर्णनीय सुख हुन्छ ।’ यसैमा जोड दिँदै भगवद्गीताको एउटा श्लोक अर्थसहित उल्लेख छ, ‘सुखदुखे समे कृत्वा, लाभालाभौ जयाजयौ ।’ अर्थात् प्रकृतिले प्राणीलाई दुःख सुखमा, लाभ हानिमा सधैँ साथ दिन्छ । ‘ (पृ.१४४) यही नै आनन्द हो भन्ने लेखकीय धारण बुझिन्छ।
कैलाश मानसरोवरको यात्रा प्राकृतिक, धार्मिक र सांस्कृतिक महत्त्वले भरिएको छ । यो चुनौती पूर्ण भए पनि स्वास्थ्य, सुविधा र आस्थाको ख्याल गर्दै पुरा गर्न सकिन्छ ।
नियात्राकार पोष चापागाँईका अनुसार,’ नियात्रामा ढाँटेर छद्म कुरा लेख्नु हुन्न …।’ (पृ ४८) हुन पनि त्यस्तै छ लेखन । यथार्थमा कल्पनाको संसार, प्रासङ्गिक मीथ, देव देवी र दानवहरूको छल, प्रपञ्च, वासना लगायतका विविध प्रसङ्ग अटाएका छन्। तर प्राथमिकतामा परेको वासना देखिन्छ । यसका लागि विभिन्न १३ वटा शीर्षकका पाठहरू राखिएका छन् । जसबाट लेखकीय अनुभूति, विचार र सिर्जना प्रस्तुत भएका छन् । अर्थात् सरोवर यात्राका कुरा अभिव्यक्त छन् । यसरी तय भएको छ आनन्द कृतिको आयाम । यहाँ बौद्धिक आग्रह र मिथकीय मनोरञ्जनका सामग्रीहरू छन् । जसले कृति सूचना प्रद बनेको छ। यसका अतिरिक्त पौराणिक ग्रन्थका श्लोकहरू राखेर गहन तथा बौद्धिक बनाइएको छ। जस्तैः नयपालाख्यपुर्य्यां तु प्रसिध्दायं महीतले । लिङ्गं पशुपतीशाख्यं सर्वकामप्रफलप्रदम् ।। {कोटिरुद्र संहिता,….. }(पृ.१०४)
अनुभूतिको रङ्गमा एउटा अभिब्यक्ति यस्तो छ, “राक्षस तालमाथिको आकाशमा पशुपंक्षी, देवी देवता, मान्छे कसैको आकृति देखिनँ । दिङ्लाको मेरो घरमाथिको आकाशमा…कुद्ने बादल जस्तै शान्त।……” (पृ.५२) यसरी लेखक अनेक प्रसङ्गमा नोस्टाल्जिक बन्न पुगेका विभिन्न प्रसङ्ग प्रस्तुत भएका छन् । टाढा पुग्दा जन्मभूमिका सम्झना बारम्बार आएका छन् । दिवङ्गत बुबा आमा तथा देवी देवताले कतिपय कुरामा सजग पारेका छन् । मानस पात्र उभ्याएर तीसँग सम्वाद गर्ने बेग्लै शैली छ वहाँको । आत्म संवाद (मनोवाद), ख्यालठट्टा, स्थानीय थेगोहरूको प्रयोग, छोटा वाक्य तथा सरल भाषाको प्रयोग वहाँका कृतिहरूमा पाइने साझा विशेषता हुन् । यात्रालाई कोरा वर्णनबाट जोगाउन तथा रोमान्सको रमरम,बासनात्मक सौन्दर्य भरेर कृति पठनीय बनाउन सक्दो प्रयत्न भएको यहाँ भेटिन्छ ।
केही न केही गरि रहन मन पराउने स्रष्टा पोष चापागाँई अरूलाई पनि झुक्क्याउनुहुन्छ । आफ्नो अभियानमा सामेल हुन प्रेरणा दिनुहुन्छ। जस्तो कि, कैलाश यात्राका सह यात्री डा. अनन्त अधिकारीलाई समेत लेख्न लगाएर आफ्नो कृतिमा केही पृष्ठ दिइएको छ । यहाँ डा. अनन्तका केही सान्दर्भिक हरफ उल्लेख छन्: ‘यात्राको कठिनाइसँग सम्बन्धित मिथक र पढिएका लेखहरूले मन ढक्क फुलेको छ एकातर्फ भने अर्कोतर्फ यात्राको रोमाञ्चकताको पूर्वाभासले विशाल कौतूहल सिर्जना गरेको छ ।’ (पृ.१४६) … ‘हामीले जीवनमा ठूलो उपलब्धि कमाएका छौं, सिङ्गै फेरो मारेका छौं कैलाश शिखरलाई ।’ (पृ.१५९)
कृतिकारका अनुसार संसारमा कुनै सौन्दर्य छ भन्ने त्यो सौन्दर्य पुञ्ज हो कैलाश अर्थात् ‘निलात्री पर्वत’ (पृ.८५) । शिव या नीलकण्ठ लोक कल्याणकारी तत्त्व भएको कुरा ‘आनन्द’ मा कृतिकारबाट प्रकट भएको छ। प्रकृतिको अनुपम छटासँग सानिध्य हुनु नै आनन्द हो भनेर पनि यहाँ दर्शाउन खोजिएको छ ।
धर्म,अर्थ,काम, मोक्षादि प्राप्तिको कामनाले कृतिको निर्माण हुन्छ। कृतिले सिद्धान्तका सूत्र बनाउँछ । तसर्थ अनुभूतिका फरक रङ्गले दुबै नियात्रा कृतिलाई अलग्गै चिनाउने पोष सरको प्रयास सफल बन्न सकोस्, शुभकामना!
०००
लेखक परिचयः रमेस सागर बि.सं.२०४५ मा “चक्षु” साप्ताहिकमा रचना प्रकाशन सँगै साहित्यमा पदार्पण गरेका हुन् । काभ्रेपलाञ्चोक जिल्लाको ढुङ्खर्कमा जन्मेका उनी हाल भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नंवर २, दुवाकोटमा बसोबास गर्छन् । उनको ‘कवि विक्रम सुब्बा‘ अनुसन्धान (२०६६)प्रकाशित छ । उनका कविता संयुक्त सङ्ग्रहमा प्रकाशित छन् ।
