नवीन पौड्याल
भारतमा नेपाली कथा साहित्य निकै झ्याँगिएको, फस्टाएको, लहरिएको छ। साहित्यका लागि भारत पनि कुनै कुराको कमी छैन। यसे गत एक सय वर्षदेखि गति पक्रिसकेको छ। विभिन्न प्रकारका कथाहरूले स्थान ओगटिसकेका छन्। कथाका प्रकारहरूभित्र पनि नसमेटिने खालका कथाहरू लेखिदैछन्। यहाँका कथामा यहाँकै माटाको गन्ध पाइन्छ। यहाँका शहर- बजार, चियाकमान, गाउँबस्ती, बाँसघारी, जङ्गल आदि परिवेशभित्र रही यहाँकै कथा-व्यथालाई कथा सिर्जना भएको पाइन्छ। यहाँ कथाका अनन्त स्रोत छन्, यहाँका एकेकजनालाई लिएर कथा बुन्न सकिन्छ। यहाँका थुमथुममा कथा हुन्छन्, तिनलाई लिएर कथा बुन्न सकिन्छ। प्रत्येक व्यक्तिको भिन्नाङिन्नै चरित्रलाई कथामा उतार्न सकिन्छ। यहाँका भोटे लाप्चे नेपालीको तीनचुलेका अनेक घटना प्रसङ्ग, सुनिएका-नसुनिएका, देखेका-नदेखेका कुरालाई कथाका रूपमा उतार्न सकिन्छ। यहाँका आफ्नै पीडा छ. राजनैतिक कुरा छ, गाँस बास कपासको समस्या छ। तिनलाई अझै देखिएकै छैन, लेखिएकै छैन।
अहिले नयाँ कथासङ्ग्रहको कोसेली लिएर दार्जिलिङ सोनादाका अमर शर्मा पनि देखा परेका छन्। गत मार्च, २०२५ मा प्रकाशित भएको दक्षिणा कथासङ्ग्रहमा जम्मा एघारवटा कथाहरू सङ्गृहीत छन्। यस सङ्ग्रहमा डा. राजकुमार छेत्री र नवीन पौड्यालको समीक्षकीय भूमिका रहेको छ । अझै नरेश कटुवाल, मुक्तिनाथ शर्मा र दिवाकर शर्मा ढुङ्गेलले शुभेच्छामूलक टिप्पणी गरेका छन्। विशेषगरी डा. राजकुमार छेत्रीको भूमिकाले नै यस कथासङ्ग्रहको धेरै व्याख्या, समीक्षा र मूल्याङ्कन गरिएको पाइन्छ। यसमा डा. छेत्रीले एघारैवटा कथाहरूको विवेचना गरेर समग्रमा अमर शर्माको कथागत स्वर सन्धान गरेका छन्। यद्यपि किताबको मूललाई टेवा दिन धेरै भूमिकाको पनि आवश्यकता हुँदैन। कथाहरूले नै लेखकको भाव, शिल्प र कथावस्तु पाठकले नै बुझिहाल्छन्। तथापि डा. छेत्रीको समीक्षामूलक भूमिकाले भने पाठकलाई कथाको रसास्वादन गर्न बढी सहयोग गर्दछ। कथाहरूलाई राम्रो उधिनेर तत्त्व र कथ्य केलाइदिएका छन्। जीवनका विभिन्न मोड़ उपमोड़मा आफुले देखेका भोगेका, सुनेका कुरालाई कथाको कच्चा पदार्थ बनाइएको छ। जीवनका विभिन्न अनुभवहरूलाई कथाको आधार बनाएर बुनिएका छन्। यसमा रहेका प्रायः जम्मै कथाका मूल पात्र लेखक आफैं र जति घटना-उपघटना छन् ती जम्मै लेखककै हुन् भन्ने प्रतीत हुन्छन्। लेखकको व्यक्तिगत जीवनका घटना उपघटनाहरू र कथाका पात्रहरूले भोगेका अनुभव गरेका पक्ष हेरे मात्र पनि लेखककै अनुभव र अनुभूतिको प्रदर्शनी भन्ने प्रतीत हुन्छ।
यसमा रहेका कथाहरू पढ्दा लेखकमा कथा लेख्नुपर्छ, हाम्रै वरिपरिकै अलिखित कुराहरूलाई कथाका रूपमा लिपिबद्ध गर्नुपर्छ भन्ने कुरामा सचेत भएर कथा लेखेका हुन् भन्ने ठान्न सकिन्छ। उनी कथाका भाव सचेत, शैली सचेत, कथावस्तु सचेत, परिवेश सचेत उत्तर-आधुनिक सचेत भएर कथा लेखेका होइनन् भन्ने लाग्छ। उनी रहरले नै कथा लेख्न तम्सेका हुन् भन्ने लाग्छ। उनीभित्रको कर्तव्य चेतना, सुधारको चेतना, जीवनको चेतना, भौगोलिक चेतना, स्वसंस्कृति चेतना आदिले कारणले कथा लेख्न बसेका हुन् भन्ने प्रतीत हुन्छ। उनको मनमा लागेका कुरालाई कथारूप दिए हुन्।
चियाकमानको परिवेश नियाल्दा यसभित्र दार्जिलिङ खरसाङ र मिरिकलगायत बजारहरू चियाकमानकै परिवेशभित्र रहेका छन्। सोनादा, घुम, सुकियापोखरी बिजनबारी सौरेनी आदिजस्ता ससाना बजारहरू पनि चियाकमनाकै बीचमा अवस्थित छन्। चियाकमानभित्र आफ्नै समाज छ, आफ्नै सामाजिक व्यवस्था छ, आर्थिक, राजनैतिक, भौगोलिक आदि व्यवस्था रहेका हुन्छ। यहाँका आफ्नै किसिमको पीडा छ। यहाँका बासिन्दाहरू चियाकमानमा दैनिक रूपमा काममा जानुपर्ने, घाम-पानी, जाडो आदि सहेर पनि जति काम गरेर पनि दैनिक न्यूनतम मूल्य पनि नपाउनुको अवस्था छ। उनीहरूका पीडा अन्यले राम्रोसँग बुझ्न सक्दैनन्। यहाँको आफ्नै किसिमको खानपीनको व्यवस्था हुन्छ। यहाँका मानिसहरूको आफ्नै जीवन शैली, विचार, राजनैतिक बुझाइ, सामाजिक रीतिथिती रहेको हुन्छ। हप्ताभरि चियाकमानमा काम गरेपछि सप्ताहान्तमा त्यसको श्रमको पैसा बुझ्ने दिन हुन्छ। यस दिन कमानका निम्ति महत्त्वपूर्ण ठानिन्छ। बुर्थुरे, कालेकी आमा, पुकुली आदि नाममा पनि स्थानीयता झल्किन्छ। घरेलु सौदाको बाँकी तिर्नुपर्ने, छोराछोरीका केही आवश्यक वस्तु किन्नुपर्ने, कसैका निम्ति टुन्न हुनेगरी रक्सी खाने दिन, हप्ताभरिको हाट भर्ने दिन। कथाभित्र यी कुरा पनि लुकेका छन्, प्रतिविम्बित छन्।
चियाकमानको आफ्नै भौगोलिक स्थिति छ। बिहान सात बजेतिर घरका आमाहरू चियाप्टी टिप्न जान्छन्, नगए त्यस दिनको पैसा काटिन्छ। कमानभरि प्रायः एक किसिमको जीवन चर्या, समय तालिका, जीवनशैली रहेको पाइन्छ। कमानदेखि बाहिर गएर पढ्ने र जागिर खानेहरू पनि हुन्छन्। चियाकमानभित्र जङ्गल, गाउँ-घर, खोला- नाला आदि पनि हुन्छन्। चिया कमानको कम्पनीले प्रदान गरेको दुई पाखे काठको घर, सानो आँगन, सानो कोठेबारी, कुखुराको खोर आदि सामान्य रूपमा हुन्छन्। चियाकमानमा बस्ने मानिस कोही पनि भोकै बस्नुपर्दैन तर कोही पनि धनी पनि बन्न सक्दैन। चिया कमानको घरको एउटै लहर वा झुरूप्प भएको ठाउँलाई धुरा भनिन्छ। धुराहरूमा दशैं तिहार भव्य रूपमा मनाइन्छ। दशैं ठुलो मनाउनका निम्ति दशैंको बेलामा बोनस बाँडिन्छ। चियाकमनाबासीले दशैं मनाउने स्रोत साधन भन्नु नै उक्त बोनस हो।
अमर शर्माको यस सङ्ग्रहका एघारवटा कथाहरूले एकेकवटा कुरा भनिरहेका छन्। थुक्पा कथामा सरल बालकले थुक्पा खान नजानेको कुरा छ। काँटा-चम्चीले खाने थुक्पा हातले खाएको सामान्य प्रसङ्ग छ। थुक्पा भन्ने चिज हाम्रो समाजमा सिर्जना भएको होइन तर अब यसले यहाँका जनगणमा पनि विस्तार जमाइसकेको छ। नीलो स्याल कथामा पनि बाबु-छोराको वात्सल्य परम्परा देखाएको छ। फुटबल कथामा गाउँमा बालसुलभ कपडा आदिको खेलबाट उत्पन्न रमाइलो, द्वन्द्व, उत्तेजना, आवेश आदिलाई देखाइएको छ। फेरि एउटा धोको कथामा एउटी रेनुका शर्मा भन्ने युवतीले नयाँ वर्ष मनाउन कार्यक्रमलाई आर्थिक सहयोग गरेको, कमिटी नीतिप्रति कृतज्ञ भएको र फेरि भेट्ने सल्लाह हुँदाहुँदै उनको सडक दुर्घटना परेर आकस्मिक निधन भएको कथा छ। मानिसको जीवनको भरोस नभएको यथार्थ देखाइएको छ। बाध्यताले बल्झाएका यथार्थहरू कथामा चियाकमानमा व्याप्त बेरोजगारी समस्यालाई देखाइएको छ। सरकारी कुव्यवस्थाले गर्दा शिक्षित युवाहरू आफ्नो योग्यताको भन्दा निम्न कोटीको नोकरी गर्न बाध्य हुनपर्ने कथालाई जोडिएको छ। चियाकमानको अति सीमित राशिले घर-गृहस्थी चलाउन गाह्रो पर्छ अनि युवाहरू बाहिर गएर अन्य काम गर्नु जानुपर्ने बाध्यता हुन्छ।
बित्दो रातसँगै कथामा प्रेमको विछोड भएको मर्म छ। मदन भन्ने युवक पात्रकी प्रेमिकाको अन्यत्र बिहा भएर जाने बिहाको रात युवकमा आएको भाव तरङ्ग र स्मृतितरङ्गलाई उतार्ने प्रयास गरिएको छ। युवक बेहुलीलाई राती नै भगाएर अन्यत्र लिएर जान्छु भन्ने अठोट गरेर बाहिरसम्म निस्केको कथा छ बाँकी प्रसङ्ग भने त्यति रहस्यमा नै छोडिदिएका छन्। उसले बेहुलीलाई बेहुला र अन्य सबैबाट खोसेर लान सक्छ वा सक्दैन, त्यो देखाइएको छैन। हेलीकप्टर रूखमा बाल्यकालीन स्मृतिले मनमा परेको प्रभावलाई देखाइएको छ। यस सङ्ग्रहका कथाहरू अध्ययन गर्दा व्यक्ति कथाकारका मनमा एक प्रकारको उदासीनता, आफ्नो ठाउँको व्यवस्थाप्रति असन्तुष्टी, चियाकमानको व्यवस्थाबाट निराशा, शिक्षित बेरोजगारीबाट उब्जेको क्षुब्ध मानसिकता, हताश आदि भाव पाइन्छन्। उनी समाजमा बेरोजगारी देख्छन्, पीडा र व्यथा देख्छन्। कलकत्ता कथामा आफु कोलकाता बसमा चडेर गएको, त्यहाँ एकजना साथीसित विभिन्न ठाउँतिर घुमेको र फर्कदा रेलमा फर्केको सामान्य वर्णन छ। त्यहाँ सोनागाछी भन्ने ठाउँमाको वेश्यालयको पनि संक्षिप्त अवलोकन गरेर त्यहाँभित्रको वास्तविकता झल्किएको छ। आदि कालो बोका कथामा बोकाको माया लागेको कुरा छ।
ढ्यापढ्यापे खिड्की, माटोले लिपेको भित्ता, कमानले दिएको च्यादर, चियाकमानको बोनस आदि जस्ता शब्द र शब्दावलीले यी कथाहरू दार्जिलिङे चियाकमानको उपज हुन् भन्न सकिन्छ। मकैको खोसेलाको पिरा, चियासित कुकिज खाने, हापेन लाउने प्रथा आदि देखाइएको छ। घरभित्र ‘हाते पत्तीको चिनी हालेको दूधको चिया सिल्भरको ठूलो बटुका’ मा खाने चलन, यहाँको मानसिक अवस्था, घरको एकैजनाको कुल्लीको आयको स्रोतले घर-गृहस्थी चलाउने बाध्यता छ। घरका तमाम खर्च, घरका छोराछोरी बढाउनु पढाउनु त्यस आयोस्रोतले पुग्दैन। यसो हुँदा घरको गरीबीका कारण छोराछोरीको मनमा पर्ने पीडालाई कथामा प्रतिबिम्बित भएको पाइन्छ। यसमा रहेका बोलीचाली पक्का कमाने छ।
यस सङ्ग्रहमा रहेका प्रायः कथामा म पात्रको विशेष भूमिका छ। म पात्रको भूमिकालाई प्रथमपुरूष दृष्टिकोणमा आबद्ध छन्। यसमा लेखक म र पात्र ममा केही अन्तर छन्। एउटा कथाको म विवाहित छ, अर्कामा बिहा नगरेको वास्तविता छ। एउटामा कलकत्तामा धेर काम गरेको छ अर्कामा त्यस्तो छैन। यसलाई कथाकारले प्रयोगका रूपमा प्रस्तुत गरेका छन्। कतै म सापेक्ष पात्र बनेको छ कतै निरपेक्ष पात्र, कतै म पात्र केन्द्रीय र कतै परिधीय छ। यद्यपि जुनै किसिमको भए पनि म पात्र दुःखी देखिन्छ। कुनैमा पढेर नोकरी नपाएर कता कता भौंतारिएको, कतै बिरामी परेको, कतै प्रेमिकाले छाडेर गएको, कतै दुःखित पींडित छ। कुनैमा म पात्रलाई कुनै प्रेमिकाले प्रेममा धोका दिएर गएकी छ। म पात्रलाई स्नेह गरेर रेनुका दिदीले चन्दा दिएको केही दिनमा नै मोटर दुर्घटनामा परी दिदीको निधन भएको छ। म पात्र कोलकाताबाट जागिरबाट छुट्टीमा चियाकमानको घर आउँदाको रमाइलो अनुभूति व्यक्ति गरिएको छ। घरमा आमाको हातको चिया खाजा खानु, माया पाउनु, नागरी भन्ने अर्को चियाकमानको मावली घर जानु, त्यहाँ प्राथमिक विद्यालय पढ्दाको स्मरण गर्नु, नोल्टाल्जिक भावनाले भावुक हुनु, त्यो गाउँको जङ्गलतिर खेल्दाको रूखको खोजी गर्नु आदि रहेका छन्। दुईपटक कोलकाता गएका छन्, कोलकातामा चप्पल टुटिएको, त्यहाँको वेश्यालय जाँदा आफ्नै नेपाली चेलीलाई पाउँदा ग्लानिबोध गरेर फर्किएको घटना प्रसङ्ग छ।
कथाकारले कथाको वस्तु सामान्य प्रसङ्ग र घटनाहरूबाट जोडेका छन्। कुनै कुनै त कथाजस्ता पनि छैनन्। सामान्य संस्मरण र विवरणलाई कथा तुल्याइएको छ। अब कथाकारले कथाशिल्पको राम्रो अध्ययन गर्नुपर्ने पनि देखिन्छ। कथा बुन्ने सिप उनले अझै अभ्यास गर्नुपर्ने देखिन्छ।
कथाकारले कथामा अझै मेहनत गर्न सक्ने थिए। अरूका राम्रा कथा अलिक अध्ययन गरेर लेखेका भए अझ राम्रो हुन्थ्यो, शैलीमा अलिक ध्यान दिएको भए हुन्थ्यो । जस्तो कुरामा लोभ पनि लाग्छ । मौलिक शिल्प र विषयवस्तुगतलाई अझ राम्रोसँग प्रस्तुतिकरण गर्न सक्थे। यद्यपि यो त उनको आफ्नो मौलिक लेखन, शिल्प, शैली, विचार हो। उनले आफ्नो पाराले कथा लेखे, यो उनको वैयक्तिक कुरा होइन अनि समीक्षात्मक हेराइबाट हेरेर हुँदैन। कहाँ कहाँ कुरा पुग्यो वा पुगेन, मसला पुग्यो वा पुगेन, स्वादिलो भयो वा भएन, त्यो पाठकले नै निर्क्योल गर्नेछन् भन्ने भन्ने कुरामा म विश्वस्त छु।
०००
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), कृति सन्धान (२०२१) भारतीय नेपाली समालोचक सन्दर्भिका (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी तल्लो बम बस्ती, कालिम्पोङ, भारतमा बसोवास गर्छन् ।
