विष्णु पादुका
सरदरमा पाँच सात फिटको उचाइमा मान्छेको रङ्गमञ्च उठ्छ अनि ढल्छ । त्योभन्दा अलि उचाइमा बसेर मान्छेका भोगाइ माथि झुल्किने घाम जून र डुब्ने जिन्दगी खोज्नका लागि केही लेखक कवि भएर जन्मन्छन् संसारमा । दुःखी भएर दुःख भएको होइन । दुःख छ र दुःख भोग्न मान्छे अभिशप्त छ । दुःख बिसाउन, दुःख देखाउन, दुःख माथि राजनीति गर्न अथवा दुःखको व्यवसाय गर्न पनि हो जस्तो लाग्दैन “बुह्रान“ लेखन । त्यसो भए किन त ? यसको एउटै जबाफ छ सामाजिक पक्षको यथार्थ तस्विर ।
प्रगतिशीलताको गतिलो लेपन दिन सकिन्थ्यो सुकुमबासी समस्या माथि । विद्रोह माथि । क्रान्तिको एक उदाहरण बनाउन पनि सकिन्थ्यो तर असमान वितरण प्रणाली र जैविक, सामाजिक धरातल नबिर्सी लेखिनु यस आख्यानको विशेषता हो ।
तयार भएको चीजमाथि गुण दोष लगाउनु सबैभन्दा सजिलो काम हो । अर्को अर्कोसँग तुलना गरेर होच्याउनु लेखनको एउटा विकृति पनि हो । यी दुई सरुवा बिमारीबाट अलि वरै बसेर पढिनु पर्ने र समालोचना हुनुपर्ने उपन्यास हो महानन्द ढकालको बुह्रान ।
बसाइँ सराइले जीवन पद्धतिमा दुःख मात्र थप्दैन । सम्भावनाका ढोका पनि खोल्छ । गतिशील जीव चलायमान हुन पुरानो ठाउँ छोड्न पर्छ । यसरी कुनै स्थान छोड्दा धेरै कुरा छुट्छन् पनि । संस्कार र संस्कृति व्यक्ति व्यक्तिले बोकेर ल्याइ पु-याउने हो । जस्ताको त्यस्तै कुनै चीज कहीँ पुग्दैन । टुटफुट हुन्छ । परिष्कृत पनि हुन्छ । केही सकिन्छ केही थपिन्छ । जस्ताको त्यस्तै त स्थिर रहँदा समेत भेट्न सकिन्न ।
बसाइँ सराइ ऐच्छिक या बाध्यात्मक हुन सक्छ । ऐच्छिक बसाइँ सर्नुले सुविधा भोगलाई सम्बोधन गर्छ भने बाध्यताले पारिवारिक, सामाजिक, आर्थिक र मानवीय मूल्य मान्यता माथि सबै कुरामा प्रभाव छोड्छ । अभावको सामनाले सीमा नाघ्नु बुह्रान प्रवेशको एक मात्र उद्देश्य हुन्छ माइला थारुको होस् या पार्वतीको ।
आज पनि जनताहरू सुकुमबासी समस्या झेल्दै छन् । दलीय व्यवस्थाका हिमायतीहरूको नारा सक्न चाहँदैनन् । सामान्य पेट भरिनेहरूले सुकुमबासीको परिभाषा फेरि रहन्छन् । गरिबी हटाउने सिद्धान्त गरिब हटाउन सकृय हुन्छ आधुनिक पुँजीवाद । मार्क्सको पुँजीवादको ठेली पल्टाउनको साटो आफै खाए खेलेको आँगन पिँढी नियालेका छन् ढकालले ।
लेख्य कुरा लेखिन्जेल चलायमान हुन्छ । लेखिसकेपछि मृत । यो सैद्धान्तिकी हो लेखनको । साहित्य र सिर्जना बाहेक अन्य लेखनहरूले यो आरोप खेप्नु पर्छ । त्यसैले त सिद्धान्तका आँखामा समतल देखिने आर्थिक सामाजिक धरातल सदैव उबडखाबड युक्त देखिन्छ । अर्को पक्ष, समान वितरण प्रणालीका सिद्धान्तले मेहनत, परिश्रम र प्रतिस्पर्धाको कल्पना गर्न सक्दैन । अभाव र महँगीको सीमा निर्धारण गर्न सक्दैन । मानवीय आवश्यकता र चाहनालाई नियन्त्रण पनि गर्न सक्दैन । त्यो पूर्णतः समाज विज्ञानको पाटो हो तर समाज विज्ञान भित्र पनि मानवीयता निर्मम हुनु हुँदैन । ढकाल कृत कृतिको आन्तरिक र सूक्ष्म सन्देश हो यो ।
अवस्था र व्यवस्थामा तात्त्विक अन्तर आउन अथवा प्रगति देखुन् किन सक्दैन भनेर धने र मैनाको बसाइको पालादेखि माइला थारूको बुह्रानमा पनि लेखकहरू जबाफ खोजिरहेका छन् । राजनीतिक परिवर्तनले कुनै एक दिन एउटा परिवर्तनको सन्देश दिन्छ । अनि वर्षौंसम्म त्यो दिनको ब्याजमाथि महिमा मण्डनको इतिहास ओढेर बस्न खोज्छ सत्ता । तर समाज त्यसभन्दा धेरै माथि हुने गर्छ । प्रत्येक व्यक्तिमा हुने अन्तर्निहित क्षमताले गर्दा समाजमा प्रतिस्पर्धा हुने गर्छ । प्रतिस्पर्धाको कारण पनि वर्ग विभाजन हुन पुग्छ । जसले नयाँ-नयाँ वर्गको स्थापना भएको देखिन्छ वर्गीय विविधता नियाल्दा । शारीरिक श्रमसँगै बौद्धिकताले पनि समाज रूपान्तरणमा ठूलो भूमिका खेल्छ भन्ने भनाइलाई नाघ्न सकिने कुरा भएन ।
काल्पनिकी भन्दा वर बसेर हेर्दा सौन्दर्य हेर्ने आँखा समेत वर्गीय हुन्छन् । सामाजिक यथार्थलाई मिहिन गरी टिप्न चुकेको देखिँदैन लेखक । उपन्यासले कति कुरा नबोलेर बोलेको छ । कति कुराको पुनरावृत्ति गरेको छ । यातायात सञ्चार बिद्युत् जस्ता अहिलेको अवस्थाका आधारभूत आवश्यकता समेतको अभाव रहेको त्यस बेलाको लिखित दस्तावेज पनि हो बुह्रान ।
ती अभाव र आवश्यकता माथि उभिएर वादहरूको पगरी गुथेका हरू आज पनि नेतृत्व दायी भूमिकामा छन् । स्थान फेरियो होला । व्यवस्था फेरियो होला । नाम थर फेरियो होला । तर माइला र सोमलाल जस्ता भुइँ मान्छेको अवस्था उस्तै देखिन्छ । भौतिक विलासको उपभोक्ता वादमा आज पनि उनीहरूको उपस्थिति श्रमिक कै रूपमा रहेको छ । अग्लो घरको छायामा छन् साना झुप्रोहरू । त्यस्तो छाया परेका छाप्रोमा प्रकाश छर्नु लेखकीय धर्म हो । लेखक ढकाल त्यो कोणबाट कति ढिग्रीमा देखिन्छन् त्यो हरेक पाठकको आँखामा भिन्न-भिन्न हुनु स्वाभाविक छ ।
एउटा कर्मचारीको आँखाबाट हेर्न सुरु भइ उनकै उपस्थितिमा अन्त्य गरिएको कथा सार भित्र – सपना ,सङ्घर्ष र स्वाभिमान खण्डका उपशीर्षक दिइएको छ । विषयवस्तुलाई पन्ध्र परिच्छेदमा विभाजन गरेर कथालाई एउटा पूर्ण स्वरूप दिइएको छ ।
जन्मथलो दाङ छोड्नु परेको माइला थारुको पैदल यात्राले पाठकलाई त्यो कष्टकर यात्रामा सामेल गराउँछ । आफ्नो बास अनि मेहनत गरेर गाँस जुटाउने एउटा सपना बोकेर बुह्रान झरेका दङ्गाली थारूहरूको प्रतिनिधि पात्र हुन् माइला । बाटाका दुःख, बुह्रान पुगे पछिका अभाव अनि जग्गा पाउनु, जग्गाको लालपुर्जा पाउनका अनेक सङ्घर्षको अन्त्य पाँच कट्ठा जग्गा प्राप्ति पछि टुङ्गिन्छ । सपनाको सानो अंश पूरा भएको अनुभूति माइलासँग पाठक पनि हुन्छ ।
स्याङ्जाको अर्जुन चौपारीमा तिलकरामसँग अनमेल विवाह भएपछि पार्वतीका दुःखका दिनहरू सुरु हुन्छन् । नेपाली महिलाहरूले विवाहमाथि आफ्नो निर्णय विरुद्ध कसरी झेल्न विवश थिए । यो कुरा ऐतिहासिक सामाजिक विषयवस्तु हो । त्यस बखतको विवाह प्रसङ्ग निकै रोचक लाग्छ । आजको पुस्तालाई त कौतूहल जगाउने खालको छ । महिनावारी हुनु पूर्व नै गरिने कन्यादान प्रचलनलाई जस्ताको त्यस्तै उतारिएको छ । घरायसी सल्लाहमा उमेर नमिल्दो र सौता माथि भएको बिहे अस्वीकार गर्न सक्ने जोड बल नै पुग्दैन पार्वतीको । पारिवारिक र मानसिक अन्तर्द्वन्द्व र सौताको मृत्युले थप दुःख र पीडा थपिदिन्छ । उमेर छिप्पिँदासम्म पनि बच्चा जन्माइरहनुको सास्ती एकातिर हुन्छ भने अर्कोतिर हुर्किएका छोरा छोरीको कसैको मृत्यु हुनु कसैको उमेर नपुग्दै बिहे हुनु जस्ता घटनाले पार्वतीमा थप विक्षिप्तता थपिन्छ । बिहे भएकी छोरीको असामयिक मृत्यु पछि छोरा (नाति) लाई आफ्नै स्तनपान गराएर हुर्काउने कष्टकर अवस्था समेत झेल्नुपरेको छ ।
मधेस र पहाड आउने जाने क्रम चलिरहेको हुन्छ । चितवनमा पुगेर फर्किन पर्नु र दोश्रो पटक मधेस झर्दा महङ्गीले बुह्रानसम्म ल्याइ पु-याएको छ । यो एक औपन्यासिक संयोजन होइन । समग्र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्मको साझा कथा हो । कुनै जिल्लामा कम बढी हुनु त स्वाभाविक छ । भिन्न समुदायका परिवार बीचको सुमधुर सम्बन्धको एउटा नमुना पनि हो यो कृति । अन्तर्द्वन्द्व बीच पनि छिमेकीको आत्मीयताले द्वन्द्वको क्षतिमा देखिने न्यूनता पनि सामाजिक सद्भावको उपलब्धि हो । दुःखमा मान्छेलाई नजिकबाट चिन्न सकिन्छ ।
आख्यान एक अघोषित दस्तावेज हो । तथ्याङ्क न दिँदा पाठक लोचन लाभ देखि वञ्चित हुन्छन् । यसले लेखकीय साख त जोगिएला तर पाठकीय आलोचनाबाट उन्मुक्ति दिँदैन ।
माइलाका सहयोगी सहभागिताले पार्वतीलाई जे जति सहयोग भयो त्यसका बदलामा माइलाका सार्हो गाह्रोमा पार्वतीका परिवार सामेल भएको देखिँदैन । सहयोगमा जुटेको देखिँदैन । एउटा अदृश्य खाडल छँदैछ ।पाठकले छोपिएको खाडल देख्छन् लेखकले किन देख्दैनन् ?
सुरुवातदेखि नै कथामा पुनरावृत्ति भएका प्रसङ्ग हुन्छन् । स्वाभिमान उपशीर्षकदेखि कथा हतारमा दगुरेको छ । अखबारका समाचार शीर्षक झैँ देख्न सकिन्छ हरफहरू । वर्षौंका घटना एक-एक लाइनमा अटेका छन् । थरुहट आन्दोलनका चरणहरू यसरी नै बुझिन्छ ।
पृष्ठ नं ३१० मा भनिएको छ – “पहाडियालाई लखेट्नु पर्छ । उनीहरूलाई डोको बोकाएर पहाड तिरै फर्काउनु पर्छ ।“ भन्ने नारा चर्किन थाले । सोम लालले नारा लगाउन सकेन । उसले रमितालाई सम्झियो । उसले पार्वती आमा र उनका छोराहरूलाई पटक पटक सम्झियो । सम्बन्धहरूले मान्छेलाई संकर्मणमा राख्छ । निर्णयहरू अनिर्णयको बन्दी हुन पुग्छन् । यो नेपाली समाजको कटु यथार्थ हो । जातीय स्वतन्त्रताको युद्द होस् या महान् भनिएको माओवादी जन युद्ध ।
जे भएको हुन्छ त्यही पस्किनु यो कृतिको विशेषता हो । अति यथार्थले आलोचना खेप्नु स्वाभाविक छ ।
रमिताको यौवन र प्रेमले नजानिदो क्रान्ति छेडेको हो । अस्वाभाविक सहवास मात्र होइन त्यो भनेर मूक अभिव्यक्ति भेटिन्छ अन्तरकुन्तर ।
थरुहट आन्दोलनका बारेमा बाबु माइला र छोरो सोमलाल बीचको वार्तामा भाषाको प्रयोग मीठो आएको छ । अघिल्लो अंशमा जस्तो पूर्ण उल्थालाई दोहो-याइएको छैन । एउटा पुस्तकभित्र पनि लेखक अन्त्यतिर परिष्कृत भएको छनक मिल्छ । साना-साना कुराले ठूला तर्कको प्रतिनिधित्व दिन सक्नु सकारात्मक पक्ष हो । अस्तित्वको लडाइँमा एक पक्षको सफाइ मात्र उपलब्धि ठानिएका गल्तीहरू नेपाली राजनीतिक आन्दोलनका बिझाउने पक्ष हुन् ।
माथि भनिए झैँ घटना सत्य थिए । स्थान र समय उल्लेख नगर्नू ले ऐतिहासिकता खोज्न अन्यत्र पुग्न पर्ने हुन्छ । निङमाको नजरमा जोडिएर लेखकीय सार या दृष्टिकोण पस्किन खोज्नु आख्यानको लागि बाधक भएको छ । जुन कुरासँग यो कृति जोगिन सकेको छैन । अदृश्य रूपमा अनुच्छेदको अन्तमा एक वाक्यले बोक्ने दृष्टिकोणलाई सुन्दर नजरले हेरिन्छ । पुराका पुरा अनुच्छेद बोझिलो हुन्छ । दृष्टिकोण बनाउन त पाठकलाई छोडी दिनु उपयुक्त हुन्थ्यो । पृष्ठ नं ३१६ मात्र होइन अन्यत्र पनि लेखक ढकाल चुकेको भेटिन्छ । परिवारका किसिम बारे एकल र संयुक्त बीचको भिन्नतामा निङमाको धारणा स्पष्ट देखिँदैन । संयुक्त परिवारका दोष मात्र देख्नु अतिशयोक्ति लाग्छ ।पृष्ठ ३२१ मा निङमाको आँखाबाट सरसर्ती कथा सार लेखाइले अन्तिम परिच्छेद मात्रै पढेर पुरै आख्यान बुझ भन्छ । यसरी पुरै बुह्रानको तौल किन घटाइएको होला ? माइला आदर्श पात्र – “उपन्यासको नायक हो “ यो कुरा पाठकले भन्ने होइन र ?
उसो त आलोचनाको उकालोमा तिल पनि पहाड बनेको देखिन्छ । चन्द्रमामा पनि दाग भेटिन्छ । पहिलो आख्यान हुनुको नाताले प्रशंसाको भोक अस्वाभाविक होइन तर तटस्थ पाठकले मुक्त कण्ठले आहा भन्न नपाएको कुरा भन्नु पर्छ । यसका विभिन्न कारण छन् ।
बुह्रान एउटा क्षेत्र हो । जसलाई थारु भाषा बाट लिइएको छ । परिस्थिति र प्रारब्धको दुःख समेटिएको छ । समय र परिस्थितिले चेतना सुषुप्त बस्न बाध्य भएको अवस्था हरेक परिच्छेदले बोलेको छ । वर्णनीय पात्र पार्वती, माइला, सोमलाल र रमिता मध्ये पार्वतीका दुखले ठूलो भूगोल ओगटेको छ । नारी पात्रको चित्रणमा सहनशीलताको एक पराकाष्ठा हुन् पार्वती । आशावादी सङ्घर्षले अन्त्यमा सन्तोषको सास फेराएको छ । अन्य पात्र माइला, सोमलाल र रमिता केन्द्रीय भूमिकामा रहेर पनि उनीहरूको अपेक्षाकृत रूपमा परिवर्तन हुन नसक्नू यस उपन्यासको मूल तत्त्व हो ।
काल्पनिकीलाई महत्त्व नदिएर समयसँग किन कोही कसैको जीवनस्तर परिवर्तन हुन सक्दैन ? सोमलालले सुकुम्बासी आयोगको सदस्य पदलाई किन नका-यो ? यथार्थमा परिवर्तनका लागि गर्नुपर्ने चाहिँ के हो ? प्रश्न छोडेर गएको छ ।
लेखक परिचयः विष्णु पादुका कविता र कथामा हस्ताक्षर चलाउने लेखक हुन् । समालोचनामा पनि उनको हात चलेको छ । पहिलो कथा पूर्णिमा साहित्यिक पत्रिकामा प्रकाशित गरेर साहित्य यात्रामा आएका उनको “ःदुई कविता सङ्ग्रह साईनो(२०७८) तथा विन्दुको बृत्त (२०७९) प्रकाशित छन् । कास्कीकोट कास्कीमा जन्मेका उनी हाल कोहलपुर बाँकेमा बसोवास गर्छन् ।
