जीवन चक्र (कविता)

कविता

सामना पहाड

 

हिमाल बनेर उभिन्छु कहिले
नदी भएर पग्लिन्छु कहिले
कहिले रहन्छु चुपचाप
तलाउ र पोखरी बनेर
देखिन्छु कहिले
खोलानालाको लहरमा
गरि रहन्छु अनेकौँ स्वरूपमा अभिनय
अस्तित्वको उपक्रम ठानेर ।

तटको सुक्खा बालुवामा सोसिनु
बादल बनी क्षितिजमा ठोकिनु
कहिले इन्द्रेनी बन्ने तृष्णामा दौडिनु
असिना बन्नु, धर्तीमा खस्नु
पत्थरसँगै टुट्नु र फुट्नु
नियमितताकै उपक्रम न हो ।

मुस्कुराउँदै बही रहेँ
कर्मयोग ठानेर
बगे पनि
उडे पनि
जमे पनि
झरे पनि
सरे पनि
बसे पनि
पुगे पनि जहाँकहीँ
अनन्त अनन्त यात्रामा
महासागर र महासमर जोडिएको
क्षितिज विन्दु सम्मै
म उहीँ भएँ
केवल उहीँ रहेँ
अरे वाह !
यो जल जीवन चक्र ।

०००

कवि परिचयः सामना पहाड सुमन सिलवालको साहित्यिक नाम हो । बिहादी गाउँ पालिका पर्वत जिल्लामा जन्मेकी उनी हाल भरतपुरमा गर्छिन् । उनको प्रथम प्रकाशित रचना “नारीको पिडा ” विसं २०५८ मा चितवन पोष्ट दैनिकमा प्रकाशित भएको थियो । उनको “पर्खालभित्रको घाम”(२०७२) कविता सङ्ग्रह प्रकाशित छ ।

Leave a Reply