‘मौन आवाज’: तिख्खर गजलहरूको संग्रह (समीक्षा)

पुस्तक समीक्षा

ईश्वर पोखरेल

गजल नेपाली साहित्यमा एक उर्वर विधाका रूपमा देखिएको छ । यसलाई कविताको लघु रूप मानिएको छ । गजलको उद्भव अरबी भाषामा भएको मानिन्छ । यसको धेरै अभ्यास उर्दू र फारसी भाषामा भयो । प्रारम्भमा यसलाई नायिकाको सौन्दर्य र उस प्रतिको प्रेमको वर्णन हुने छोटो कवितात्मक अभिव्यक्तिका रूपमा लिने गरिएको हो । गजलमा ५ देखि ११ सम्म सेर (युग्मक) हुन्छन् भन्ने मान्यता रहेको हो । गजलका सबै सेर एउटै रदिफ (काफियापछि आउने शब्द समूह) र काफिया (अन्त्यानुप्रास) मा रचिएका हुन्छन् र प्रत्येक सेरको विषय भिन्न हुन्छ भन्ने गजलको शास्त्रीय मान्यता हो । गजलको पहिलो सेरलाई मत्ला वा मतला भनिन्छ र उसका दुवै मिसरा (पङ्क्ति) अनुप्रायले युक्त हुन्छन्; अन्तिम सेरलाई मक्ता भनेर चिनिन्छ र यसमा सायर-गजलकारले आफ्नो उपनाम प्रस्तुत गरेको हुन्छ ।
नेपाली साहित्यमा गजलको उन्नत अभ्यास नेपाली कविताको माध्यमिक कालमा भएको हो । यस काललाई शृङ्गारिक कालका रूपमा पनि चिनिन्छ । यस कालका शीर्ष प्रतिभा हुन्— मोतीराम भट्ट । नेपाली साहित्यमा गजलको उन्नत अभ्यास गर्ने सायर-गजलकारका रूपमा पनि यिनैलाई लिने गरिन्छ । यही काल खण्डका अर्का महत्त्वपूर्ण प्रतिभा शम्भुप्रसाद ढुङ्गेलले पनि उच्च स्तरका गजलहरूको रचना गरेका छन् । यस काल खण्डमा गजलको केन्द्रीय स्वर शृङ्गारिक भाव धारामा गुञ्जिएको देखिन्छ । शृङ्गारिक भाव धारामा युवा–युवतीसँग सम्बन्धित प्रेम प्रणयका विषयलाई प्राथमिकताका साथ अभिव्यक्त गरिन्छ । यस कालमा शिष्ट र मर्यादित किसिमले गजलमा शृङ्गारिक वर्णन गरिएको छ । भीम निधि तिवारी अर्को महत्त्वपूर्ण सायर-गजलकार हुन् । यिनका गजलमा पनि मूल भाव धारा शृङ्गारिक नै रहेको देखिन्छ ।
नेपाली कविताको समसामयिक धारामा आएर गजलको उन्नत अभ्यास भएको छ । यस चरणमा गजलले प्रेमप्रणयका अलावा समसामयिक जीवनका भोगाइ र यथार्थलाई चोटिलो किसिमले अभिव्यक्त गरेको छ । यस चरणको पूर्वार्धमा सशक्त गजलकारका रूपमा देखिएका हुन्— ज्ञानुवाकर पौडेल । यिनले गजललाई शृङ्गारिक विषयवस्तुमा मात्र सीमित राख्ने परम्पराबाट पृथक् अभ्यास गरेका छन् । मनु ब्राजाकी, धर्मोगत शर्मा ‘तुफान’, धनश्याम न्यौपाने ‘परिश्रमी’, रवि प्राञ्जल, ललिजन रावल, कृष्णहरि बराल, बुँद राना, प्रकट पंगेनी शिव आदि नेपाली गजलको विकास क्रमका सन्दर्भमा समसामयिक धाराको पूर्वार्धका महत्त्वपूर्ण गजलकार हुन् ।
वर्तमान समयमा लघु रूपका कवितामा सबैभन्दा उर्वर उपविधाको रूपमा रहेको छ— गजल । गजललाई गीतको निकट रचना मानिन्छ र यी दुईलाई गाँसेर गीत गजल भन्ने गरिन्छ । गजल पनि गीत जस्तै गेय हुन्छ । अचेल गजल गाइन्छ पनि र महफिलहरूमा सुनाइन्छ पनि । गजलको प्रत्येक सेरको विषय भिन्न हुने भएकोले यसमा जीवन अनुभवका तीव्र अनुभूतिलाई पर्याप्त तीव्रताका साथ अभिव्यक्त गर्न सम्भव हुन्छ । यीनै विशेषताले गर्दा नेपाली काव्य साहित्यमा गजल धेरै प्रतिभाहरूको प्रिय माध्यम बन्ने गरेको छ । यीनै प्रतिभाहरूका बीच जुमन किरण (महालक्ष्मी— ९, ललितपुर, नेपाल)लाई ‘मौन आवाज’ (२०८१, असार) का साथमा पाउन सकिन्छ ।
‘मौन आवाज’ जुमन किरणको पहिलो गजल सङ्ग्रह हो । यसमा ८६ वटा गजल रहेका छन् । समसामयिक यथार्थको प्रभावकारी अभिव्यक्ति जुमन किरणको गजलका मुख्य अभिप्रायका रूपमा देखिन्छन् । यिनले आफ्ना गजललाई प्रणय विरहका अतिरिक्त यथास्थितिमाथि कठोर व्यङ्ग्य, शोषण र विसङ्गतिमाथि कडा आक्रमण, जीवन सङ्घर्ष, जटिल भोगाइहरू, मानसिक हलचल, आशा–निराशा आदिको अभिव्यक्तिको माध्यम बनाएको देखिन्छ । समसामयिक राजनीति क्षेत्रमा देखा पर्ने भ्रष्टाचार, आडम्बर, अकर्मण्यता र कृतघ्नतामाथि पनि यिनका गजलमा तीक्ष्ण व्यङ्ग्य भएको छ । यसरी यिनका गजलमा समसामयिक यथार्थ, मानव जीवनका जटिलता, सङ्घर्ष, पीडा, आक्रोश र असन्तुष्टि आदि विषयलाई अभिव्यक्त गरिएको छ ।
मौन आवाज’ का सेरहरूमा बहुविध पक्षहरू मुखरित भएका छन् । जस्तैः

१)प्रणयप्रसङ्ग
सुनाइरहेछु मैले आँसु मात्र
फेरि पनि रङ्गिन कहानी भन्छन् । (पेज ६)
कति सजिलै चटक्क माया मार्नु भो हजुरले
प्रमाणहरूमा त्यो तिम्रै नामको दस्तखत भए पछि । (पेज २६)
कोही मरेर नि निभाउँछन् कोही तोड्छन्
यो माया प्रेम बाचा कसम कसले बनायो (पेज ३१)
अब आउँदैछ आसु पुछ्न मेरो
उफ् रुवाउनु सम्म रुवाएपछि । (पेज ४५)
कति नजिकक थियौं कसरी टाढा भयौं
यसो भन्दैमा बारबार भूल होस् भन्ने पनि त छैन । (पेज ५६)
यी आँखाले फेरि सपना देखे भने माफ गर्नु
जिन्दगी त अधुरो कहानी भएको छ । (पेज ६९)

२) राजनीति
बीच बाटोमै कतै समाधान अल्मलिइरहेछ
र यही चिन्तामै यो वर्तमान अल्मलिइरहेछ । (पेज ११)
धोका खानेहरू नै समर्थक भएका छन्
नकाबभित्र छन् दोहोरो चरित्र सबैको यहाँ
थाहै हुन्न कतिबेला को आउँछ शैतान बनेर । (पेज ६७)
कोही छातिभित्र सुनामी बोकी हिडी रहेछन्
जहिले नि हुन सक्छ तहसनहस याद राख्नोस् । (पेज ८१)

३) सामाजिक सम्बन्ध
आज भोलि कृष्णले सुदामा चिन्नै छाडे
सम्बन्धहरू धेरै नै फरक भएका छन् । (पेज १६)
घुमिफिरी पालो सबैको आउँछ हजुर
हिसाब समयले जतन गरिरहेछ । (पेज २३)
केही नदिई केही पनि पाइदैंन आजभोलि
आफ्नालाई आफ्नो बनाउन नोट चाहिन्छ । (पेज ३०)
जे गर्नु छ सोच विचार गरेर गर्नु हजुर
टुप्पामा चढाएर यहाँ फेद ढाल्नेहरू धेरै छन् । (पेज ३६)
बाटो छेक्ने खुट्टा तान्ने आफन्त नै हुन्छन्
लुकी लुकी ढुङ्गा हान्ने आफन्त नै हुन्छन् । (पेज ६८)

४) वैदेशिक रोजगारी
खाडीमा पसिना बेच्ने अनुमति हो
राहदानी राहदानी जस्तो लाग्दैन । (पेज १९)
सुखी खुसी आफ्नो जिन्दगानी बनाउन
म पनि हिड्या छु राहदानी बनाउन । (पेज २९)
परदेशममै जवानी सकेर आए दाजु
सन्तानहरूलाई भाग्यमानी बनाउन । (पेज २९)

५) साँस्कृतिक परिवर्तन
न पिङमा भेटिन्छ न देउसी भैलोमा रौनक
बचपनमा जस्तै कहाँ यो दशै तिहार हुन्छ । (पेज १८)
औषधी पाइदैन हत्तपत्त यहाँ
जहर बेचिन्छ सराब बेचिदैंछ । पेज ३९)

६) जीवन अनुभव
ज्यानै लगाएको थियो त्यो काममा
आखिर सोचे जस्तो परिणाम आएन । (पेज ८)
सोच्छु सोच्दा सोच्दै धेरै सोच्छु म पनि
नसोचूँ त कसरी लेखूँ गजल फेरि (पेज २१)
महत्व सबैको सधैं एकनास कहाँ हुँदो रै छ र
पूजा सकिएपछि त फूल पनि कसिङ्गर बन्छ । (पेज ३२)

सङ्कलित गजलका सेरहरू तिक्खर छन् र आक्रामक छन् । यस गजल सङ्ग्रहले जुमन किरणलाई सम्भावना युक्त गजलकारका रूपमा उभ्याएको छ यद्यपि वर्णविन्यास गत त्रुटिहरू ‘मौन आवाज’ का खट्किने पक्षहरू हुन् ।

000

समीक्षक परिचयः समीक्षक ईश्वर पोखरेल कोटगाउँ, तीनपाटन, सिन्धुलीमा जन्मिएका हुन् । २०३९ सालको ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकामा आफ्नो ‘रत्नपार्क’ शीर्षकको मुक्तक प्रकाशित गरी यिनले सार्वजनिक साहित्यिक यात्रा प्रारम्भ गरेका हुन् । समीक्षाका अतिरिक्त पोखरेल कविता, कथा, लघु कथा र निबन्धमा कलम चलाउँछन् । हाल उनी ललितपुरमा बसोबास गर्छन् । ।

Leave a Reply