सुनको चिहान र ममीहरुको देशमा

नियात्रा

भीम कार्की, टेक्सास

 

इजीप्ट जाने योजना अघिल्लो बर्ष नै बनाएका थियौं विभिन्न कारणले मिलिरहेको थिएन ।  यसपालि भने जुरेको रहेछ । मे ३ सांझ ८ बजे हामीहरु अर्थात् रोहिणी र म इजीप्ट प्रस्थान गऱ्यौं ।

एयरपोर्ट जान उबर मगाइ रहँदा सदा झैं बच्चाहरू घरमा छोडेर हिंडदाको चिन्ता र यात्राका रोमान्चकता मीश्रित विचारहरू मनमा आइरहे । बच्चाहरूले हाम्रो पीर मानेका छन भन्ने पीर झन ठुलो । उनीहरूलाइ आश्वस्त पारेर हामी निस्कियौं ।

यात्राको रुट जांदा डालास – दोहा – कायरो र फर्किदा कायरो – फ्र्यांकफर्ट- डालास थीयो।

डालासबाट राति १०:५५ मा उडेको १४ घन्टा पछि दोहामा ओर्लिदा अर्को दिनको रातको ९:३० भएको थियो । समयको गणित पनि गजब छ, पृथ्विकै एक ठाउँबाट अर्को ठाउ जाँदा यस्तो फरक पर्छ भने मान्छे अन्तरिक्षको एक कुनाबाट अर्को कुना जान थाल्दा कस्तो हुन्छ होला ? भौतिकशास्त्रीहरू सैध्दान्तिक हिसावले समय भन्दा छिटो दौडेर भविष्यमा र समय भन्दा उल्टो दौडेर विगतको भ्रमण गर्न सकिने कुरा गर्छन् ।

दोहाबाट कायरो उडदा रातीको २:३० भएको थियो। झ्यालबाट चन्द्रमा ह्रेर्दै पुर्णिमाको अघिल्लो रात त्यो तीन घन्टाको फ्लाइटभरि लागिरह्यो हामी चन्द्रमामा नै गएर ल्यान्ड गर्ने छौं ।

कायरो पुग्दा विहानको पाँच बजेको थियो ।  विमानस्थलबाट होटल जान उबर लियौं । कायरोमा धेरैजसो उबर ड्राइभरहरू युवा रहेछन् । तर अङ्ग्रेजी चै नबोल्दा रहेछन् । अरब भाषा आफैंमा परिपुर्ण भएर होला उनीहरुलाइ अङ्ग्रेजी सिक्ने आवश्यकता महसुस नभएको । पछि हामीलाइ के पनि थाहा भयो भने इजीप्ट आर्थिक मन्दिबाट गुज्रिरहेको छ । मध्यमवर्ग पुरै कोल्याप्स भएर उच्च र निम्न वर्ग मात्र बाँकी रहेका छन् । यहाँ अहिले शिक्षा क्षेत्रमा सरकारी लगानी एकदमै कम छ ।

ईजिप्ट अनेक ईतिहासलाई काखी च्यापेर वसेको छ । राजनैतिक ईतिहास । धार्मिक ईतिहास । चिहान र पिरामिड शैलिको इतिहास ।

एलेक्जेन्डरले  इ पु ३३२ मा इजीप्ट विजय गर्दा इजीप्टमा तिसौं बंशका राजा राज्य गर्दै थिए। ती तीस बंश मध्य १८, १९, र २०औ वंश सबैभन्दा महत्वपुर्ण मानिंदो रहेछ किनकि उनिहरूले इजीप्टको एकिकरण गरेका थिए । यहिंनेर हाम्रा पृथ्वी नारायण शाह र नेपाल एकिकरण बारे निर्माण गरिएको भाष्य पनि सम्झे । एलेक्जेन्डर इजीप्ट आउनु अघिका गुफाहरुमा ६००० बर्ष पुराना भीत्ते लेखन पनि फेला परेका रहेछन । यी सब जानकारीपछि ईजिप्ट सबै भन्दा पुरानो इतिहास भएको देश हो कि झैं लाग्यो । इश्वि संवतको दोश्रो शताब्दिमा क्रिश्चियनहरूले राज्य गरेका रहेछन ईजिप्टलाई ।  संवत ६४१ मा इजीप्टमा अरबहरूको राज्य स्थापना भएको रहेछ । रोचक ईतिहास ।

धार्मिक इतिहासतिर दृष्टि लाउँदा शुरूमा (लगभग ८००० बर्ष अघि) इजीप्सियनहरु प्रकृति पुजा गर्दा रहेछन । सु्र्य, पृथ्वि, नाइल आदि । ३२२ मा एलेक्जेन्डरले इजीप्ट विजय गरे ।  केही भगवानको नाम परिवर्तन गरिए पनि प्राकृत धर्म नै प्रचलनमा रह्यो ।  इ पु ३० मा रोमनहरूले रोमन धर्मको स्थापना गरे । २०० इ सं मा क्रिश्चियन जीसस का शिष्य सेन्ट मार्कोस लिबियाबाट आएर क्रिश्चियनिटी स्थापना गरे ।  ६४१ इ सं मा अरबहरू आएर इस्लाम स्थापना गरे । धर्महरूको प्रतिस्पर्धामा कतै रोमन टेम्पलमाथि चर्च निर्माणभएको रहेछ (कायरोको ह्यांगिंग चर्च) कतै चर्च माथि मस्जीद निर्माण भएको रहेछ (लक्जर टेम्पलमस्क)।

टोम्ब र पिरामिड शैलि इजिप्टको अभिवाज्य पक्ष हो । डाइनेस्टि १ मा राजाहरूलाई जमिनमा गाडने चलन रहेछ । डाइनेस्टि २ मा मुस्ताबा बनाउने गर्दा रहेछन् । डाइनेस्टि ३ मा जाकारा पिरामिड स्थापना गरिएको रहेछ । डाइनेस्टि ४, ५, र ६ मा गिजा पिरामीड, डाइनेस्टि ७ देखि १७ सफ्ट स्टोन पिरामिड बनाइने चलन भएको देखियो । यतिबेलाका पिरामिडहरु सफ्ट स्टोन ले बनेकोले यी पिरामिडहरू अस्तित्वमा छैनन ।  डाइनेस्टी १८  देखि २० मा भ्याली अफ किंग्समा टोम्बहरु बनाइएको रहेछ ।  हालसम्म यहां ६३ वटा टोम्बहरू फेला परेका छन ।  डाइनेस्टी २० देखि ३० मा पिरामिड सफ्ट स्टोनले बनाइएको भएर हराएका रहेछन् । पछिल्ला राजाहरूले चोरीको बिगविगिबाट बच्न कुनै ठुलो मोनुमेन्ट नबनाइ लुकाएर चिहानहरू बनाउन थालेका रहेछन ।

रामसेस प्रथम १९औ डाइनेस्टि का संस्थापक रहेछन, रामसेस द्वितिय (रामसेस प्रथमका नाति) सबैभन्दा प्रख्यात रहेछन किन कि उनले सबै भन्दा धेरै भवन, मन्दिर, बाटोघाटो आदि बनाएका रहेछन।

किंग मोहम्मद अलि इजीप्टका शक्तिशालि राजा रहेछन् जस्लाइ आधुनिक इजीप्टका पिता भनेर मानिंदो रहेछ। उनका छोरा किंग इस्माइलले स्वेज नहर निर्माण गरेर इजीप्टलाइ अझ शक्तिशालि बनाएर संसारको ब्यापारको परिभाषा फेरेका थिए ।

इजीप्टको इतिहास र त्यस्को व्याख्या सम्बन्धि कुरा गर्दा एउटा छुटाउन नहुने कुरा के हो भने पुरातन इजीप्शियन लिपिमा शिलालेख र चिहानहरुमा जे जति लेखिएको छ त्यो १८औं शताब्दिसम्म केही बुझिएको थिएन । नेपोलियन बोनापार्टले इजीप्ट आक्रमण गर्दा तीनवटा भाषामा लेखि­­­एको एउटै शिलालेख फेला पऱ्यो जस्लाइ रोजेटा स्टोन भनिन्छ । इजीप्शियन लगायत ती तीनवटा भाषा मा ग्रिक पनि एउटा थियो ।  इजीप्टोलोजीमा महत्वपुर्ण मोड यहींबाट शुरु भएको मानिन्छ । यही शिलालेखलाई उल्था गर्ने सांचोको रुपमा प्रयोग गरेर त्यतिबेलाका भीत्तेलेखन, चित्र र अक्षरहरूको ब्याख्या गर्न सकियो । एउटा मनन योग्य कुरा के छ भने मोहनजोदरोमा पनि शिलालेखहरू प्रशस्त भेटिएका छन्, तर हालसम्म त्यस्को रोजेटा स्टोन अर्थात साँ चो भेटिएको छैन त्यसैले व्याख्या हुनसकेको छैन ।

इजिप्टोलोजीस्टहरू टुर गाइड पनि हुँदा रहेछन ।  हाम्रा इजीप्टोलोजीस्ट टुर गाइड इथिक्समा कडा, सहयोगी र निकै आत्मिय रहेछन ।  उनी देशका र संसारका सारा कानुन मान्दा रहेछन ।  ट्राफिक नियम चाहीं अलि कमै मान्दा रहेछन । इजीप्टमा ड्राइभिंग नेपाल जस्तै रहेछ । बाहनहरु एकदम ज्यादा, नियमहरु एकदम कम मानिने ।

कायरोमा खल्तिमा हात हालेर  हिंड्यौं भने इजिप्शियन नै भन्छन ।  खल्तिबाट हात निकालेर हाइभाउ गर्न थाले पछि भने बेग्लै कुरा । कायरोका गल्लीहरुमा हिंडदा नेपालगन्ज, भैरहवाको झझल्को  आउँछ । शहर बाहिर भने सहारा मरुभुमिको बेग्लै नजारा छ ।

सन् १९६३ सम्म इजीप्टमा तीनवटा सिजन हुन्छन् भनिंदो रहेछ ।  खेती लगाउने, खेति थन्क्याउने र बाढी आउने । बाढीले बर्षको लगभग ३ महिना कायरो डुब्दो रहेछ । गीजाको पिरामिडको फेद सम्मै नाइल पुग्दोरहेछ।

सन् १९६१ मा तत्कालिन राष्ट्रपति नासेरले रुसको सहयोगमा कायरो भन्दा नौ सय किमि दक्षिण आश्वान भन्ने ठाउँमा अग्लो नहर निर्माण गरेपछि बाढीको समस्या समाधान भएको रहेछ । यही समयमा रुसले कायरो टावर पनि बनाइदिएको रहेछ ।  अमेरिकाले त्यो नहर बनाउन सहयोग नगरेकोले यसलाई फिंगर टु द यूनाइटेड स्टेट्स पनि भन्दा रहेछन् । इजिप्टले शुरूमा अमेरिकी सहयोगमा यो नहर निर्माण होस भन्ने चाहेको रहेछ ।  कति कोशिस गर्दा पनि केही नलागेपछि रुसको शरणमा गएको रहेछ । यो रूचिकर छ कि इजीप्टको राजतन्त्र अन्त भएको केवल ७ वर्षपछि यो नहर निर्माण शुरू भएको रहेछन । यसैले इजीप्टमा राजतन्त्रको अन्त्य भएको कुनै गुनासो रहेनछ । राजतन्त्रले समाधान गर्न नसकेको बाढिको समस्या राजतन्त्र अन्त्य भएको ७ बर्षमै समाधान भएको थियो ।

कायरो र वरपर धेरै नै ठुल्ठुला हजारौंको सङ्ख्यामा भत्काइरहेका र भत्काउन ठिक पारिएका भवनहरू देखेर अचम्म लागेको थियो ।  पुरै शहर निर्माणाधिन जस्तो देखिन्छ । पछि थाहा भयो, यस्का दुई कारण रहेछन् । एक – मुस्लिम ब्रदरहुडले इजिप्ट कब्जा गरेको बेला अबैधानिक तवरले निर्माण गरेका भवनहरूलाइ ब्यबस्थित गर्न भत्काउन लागिएको रहेछ ।  दुइ – घर बनाइ सकेपछि सरकारले कर लगाउने रहेछ । त्यसैले मान्छेहरुले घर बनाएर बस्न थालिसकेपछि पनि बाहिर नसकिएको जस्तो गरेर छाड्दा रहेछन बर्षौ सम्म । निर्माण नियन्त्रण कडा गरिएको रहेछ इजिप्टमा ।

ईजिप्टमा सम्बृध्दवाट गरीव हुँदाको पीडा हरेक नागरिकमा देखिन्छ । हालको आर्थिक मन्दी र गरीवीको मूल कारण धेरैजसोले २०११ को क्रान्तिलाइ मान्दा रहेछन् । यो त्यही क्रान्ति हो जस्को परिणामस्वरुप मुस्लिम ब्रदरहुडले एक बर्ष इजीप्ट कब्जा गरेको थियो । सामान्यतया गिजामा गरीव ।  कायरोमा धनी बस्दा रहेछन । तर हालसाल धनीहरू कायरो वाहिर सरेर ठुलठूला घर बनाएर बस्न थालेका रहेछन् ।  हामी कायरोबाट सक्कारा जाँदा काठमाडौंमा जस्तै खेतमा उम्रेका भीमकाय दरबारहरू देख्यौं।

पहिले दिन ऐतिहासिक महत्वको कायरो शहर, मस्जिदहरू हेरि सकेर दोश्रो दिन हामी पिरामिड हेर्नतर्फ लाग्यौं । सक्काराका पिरामिडहरू सबै भन्दा पुराना रहेछन ।  तेश्रो डाइनेस्टीमा निर्माण गरिएको रहेछ । बिशेषरूपमा स्टेप पिरामिडको इतिहास सबै भन्दा पुरानो रहेछ । सक्काराबाट गिजामा आयौं । गिजाका पिरामिडहरू साच्चै भब्य रहेछन्, सहारा मरूभुमिको छेउमा पहाडझैं लहरै लाममा उभिएका तीनबटा र छेउछाउमा ससाना फुच्चे पिरामिडहरू छ्यालिस सय वर्ष अघि मानव निर्मित हुन्  । कसरि? भन्ने प्रश्न पटकपटक उठ्छ । हामीले होटेल पिरामिडसंगै लिएका थियौ, खाना खाँदा पिरामिडको छैवैमा बसेर खान पाइन्थ्यो ।  कायरो पुग्दा पुर्णिमाको रात थियो । चन्द्रमाको प्रकाशमा पिरामिडको दृष्य ।  ओहो ! हामीले उँट चढेर पिरामिड हेऱ्यौं ।  मरुभुमिमा उंट चढेर हिड्यौं ।

गिजासंगै पुरानो इजीप्टको राजधानि मेम्फिस छ ।  त्यहाँ पनि पिरामिड रहेछ  तर यो पिरामिड बनाएर त्यसलाइ बालुबाले पुरेर लुकाइएको रहेछ । कारण, चिहान र पिरामिडहरूमा चोरीको बिगबिगी भएकोले पछिल्ला राजाहरुले लुकाएर बनाउन थालेका रहेछन् ।

यात्रा धेरै चीजहरूको अनुभव हो ।  रोहिणी र म रहनसहन, संस्कार संस्कृति, शिक्षा, धर्म आदि मान्छेको ब्यबहार र पेशा ब्यवसायमा के कसरी झल्किन्छ भनेर कुराकानी गर्छौ । म धेरैजसो मुख्य मुख्य अभियान, क्रान्ति, मानव विकाश, लडाईं इत्यादि त्यहाँको समाजमा कसरी लागु भइरहेछ भनेर हेर्न, बुझ्न, सोध्न रुचाउँछु ।  जस्तै यसपालि कायरोमा पुरानो सम्बृध्दि र मुस्लिम ब्रदरहुडको २०१३ को कब्जाबारे धेरै नै सोधखोज गरें । रोहिणी दैनिक जीवनका सुविधा असुविधामा तिखो अवलोकन गर्छिन । जस्तै हामी कायरोको नाइल क्रुज डिनरपश्चात् राती साँढे दस बजे क्रुजबाट बाहिरिइसकेपछि भीडभाडमूलक सडकमा केही युवतीहरू गुलाफको फूल बेचिरहेको देख्यौं । प्रथम दृष्टिमा मलाइ यो सामान्य लाग्यो । केही खास लागेन ।  गाडिमा बसिसकेपछि रोहिणीले भनिन्, “स्वतन्त्रताको हिसाबले अरु अरब देशहरूमा भन्दा महिलाहरू इजीप्टमा राम्रो अवस्थामा होलान् । पाकिस्तान, अफगानिस्तान वा त्यस्तै अरू देशमा रातको यो समयमा फूल बेचिरहेका युवतिहरू देखिन्नन् होला ।“

मैले महसुस गरें कि उनको अवलोकनको दृस्टिकोण मेरो भन्दा फरक र गहिरो छ । हुन पनि यो यात्राको शुरुआतमा हामीलाइ एउटा चिन्ता थियो कि हाम्रो ब्यवहार र लवाइ खुवाइमा कतै सांस्कृतिक असंवेदनशिलता झल्किन्छ कि ? त्यस्ले कुनै समस्या खडा गर्छ कि?

दोहाबाट कायरोको लागि फ्लाइट बोर्डिंगको क्रममा महिला यात्रीहरूले अरबी पोशाकमा अनुहार र शरीर ढाकेका देखिन्थे । गेट कर्मचारी पनि त्यस्तै थिए ।  हाम्रो चिन्ता हल्का बढेको थियो । रोहिणीले हेडस्कार्फ त ल्याएकी थिइन् । तर कायरो विमानस्थलमा र सडक गल्ली हरूमै पनि त्यस्तो केहि देखिएन । हामी नौसय बर्ष पुरानो मस्जिदमा पनि गयौं। कुनै अप्ठ्यारो महसुस भएन । मस्जिदका इमामले हामीलाइ पुरानो समयमा त्यो मस्जीदमा कुरानका दोहाहरू कसरि पढिन्थ्यो भनेर सुनाए । आधुनिक साउन्ड सिस्टमको इको फंक्शन जस्तै मस्जीदका कुनाकुनामा ठोक्किएर आवाजका लहरहरु तरङ्गित हुँदो रहेछ । त्यतिबेलाको यो साउन्ड इन्जीनियरिंग गजब लाग्यो ।

कायरो वरपर पिरामिडहरू, पुराना मस्जीदहरू, पैंतिस सय बर्ष पुराना ममी इत्यादि हेरिसकेर हामी कायरो भन्दा दक्षिणमा पुरानो इजीप्टको राजधानी लक्सोर तर्फ लाग्यौ । लक्सोरको पुरानो नाम थेबेस रहेछ ।  एक मन सोचें हामीकहाँ हुने थेबे थरका मान्छेहरुको कुनै कनेक्शन छ कि यो शहरसँग ? युफ्रेटिस नदीका वरपरबाट बसाइ सरेकाहरूको थर उप्रेति रहन गएको भनेर पढेको थिएँ कतै । ६४१ इसवीमा अरबहरुले इजिप्ट विजय गरेपछि  थेबेसको नाम फेरेर लक्सोर राखेका रहेछन् ।

अफ्रिकाको कथा नाइल नामक मालाको रुपमा बुनिएको छ ।  इजीप्टको पनि इतिहास र वर्तनानकोकथा नाइलकै वरपर घुम्दो रहेछ ।  जनसंख्याको ठुलो हिस्सा नाइलकै किनारामा बस्छ । लक्सोर पनि नाइल उपत्यका कै भाग हो । केरा, उखु, फलफुलहरु र गहुँ प्रशस्त उत्पादन हुँदोरहेछ लक्सोरमा ।

लक्जोर टेम्पल सयौं वर्ष लगाएर राजाहरु एमनहटेप तेश्रो, रामसेस द्वितिय, टुटनकमन आदि राजाहरुले निर्माण गरेका रहेछन् । लक्सोर टेम्पल पुरानो इजीप्टको मुख्य धार्मिक केन्द्र पनि रहेछ । अहिले पनि यो मन्दिरका प्रांगण, खम्बाहरु, एलेक्जेन्डरको पवित्रस्थलहरुको भब्यता देख्न सकिन्छ । १८औ इशा पुर्वमा बनाइएको टेम्पल माथि ८५० इ सं मा बनाइएको अबुअहेग्गाद मस्जीद जस्ताको तस्तै छ । लक्सोरमा कर्नाक टेम्पल पनि छ इशा पुर्व १८औं शताब्दिमा राजा सेनुर्सेत प्रथमले निर्माण शुरु गरेको । त्यसपछिका राजाहरुले थप्दै गएका रहेछन् ।

लक्जोरसंगै नाइलको अर्को किनाराको पर्बतमा रहेछ भ्यालि अफ द किंगस् । यो मरुभुमिय पर्वतमा अहिले सम्म ६३ वटा राजाहरुको चिहान फेला परेको छ । विशेष गरेर १८औ, १९औ र २०औ वँशका प्रख्यात राजाहरूको चिहानहरू देख्न पाइन्छ । उन्नाइसौं बँशका अन्तिम राजा किंगटट्को चिहान १९२२ मा फेला परेको हो । किंग टट्को ममी हामीले यहीं हेऱ्यौं भने उनको ममी राखिएको ११० किलो सुनको कफिन र हजारौं सुन चाँदिका सामानहरू कायरो म्युजीयममा हेऱ्यौं । यहीं भ्यालि अफ द क्विन्स पनि छ, जहाँ रानी र राजाको छोरीहरूको चिहानहरु छन् ।

लक्सोरमा हामीले बिहानै छ बजेको बेलुन राइड पनि बुक गरेका थियौ  । माथिबाट पुराना मन्दिर, भ्यालि अफ किंग क्विन हेर्ने योजना थियो । मरूभूमिय हावाले गर्दा त्यो दिनका सारा बेलुन फ्लाइट रद्द भए, । भोलिपल्ट बिहान विमानस्थल तर्फ फर्किदा बेलुनहरू उडिरहेका थिए ।  हामी त्यै फोटो खिचेर थकथक मान्दै बाटो लाग्यौ।

लक्सोरमै हुँदा कान्छी फुपुको देहान्त भएको खबर पाएं ।  नाइलको किनारमै थिएं ।  फुपु, आमाबुवा र सम्पुर्ण पुर्वजहरूलाइ सम्झेर श्रध्दान्जलीपुर्वक नाइलको पानी समातें । अब बुवा र उहाँका भाइ बैनी कोही पनि यो लोकमा रहनु भएन।

लक्सोरबाट कायरोको फ्लाइट बिहान आठ बजेको थियो । जहाजले मरुभुमीमा नागबेली खांदै बगिरहेको नाइललाइ पछ्याउँदै एकघन्टा भन्दा थोरै बढीमा कायरो ल्याइपुऱ्यायो।

एकजना लक्जर निवासीसंग कुरा हुँदा उनले “नेपाल कस्तो देश हो समुद्रले छोएको छ?” भनेर सोधे । मैले नेपाल माउन्टेनस कन्ट्रि हो भनेपछि उनले “गर्मिको छुट्टि मनाउन कहाँ जान्छौ त” भनेर सोधे । मैले “हामी पहाडतिर हाइकिंग जान्छौ” भनेपछि उनले अचम्म मानेर सोधे “गर्मिबाट झन गर्मीमा जाने?”

इजीप्टमा तल फाँटमा नाइल बग्छ हरियालि र शितल छ । माथि पर्वतहरू ढुंगा र बालुवा मात्र छ । अत्ति तातो हुन्छ  । सोचें, आफु बसेको वातावरणले मान्छेको धारणालाइ यसरी असर गर्छ । त्यहाँ पुग्नु अघि मलाइ पनि कसैले बेसींमा शितल हुन्छ माथि पर्वतमा गर्मि हुन्छ भनेको भए पत्यार लाग्दैनथ्यो होला ।

इजिप्टमा खाना हामीहरूलाइ मन पर्ने खालको हुँदो रहेछ ।  स्वादिलो । नाइलको किनारामा उब्जाइएका अन्न, तरकारी, फलफुल असाध्यै मीठा । इजीप्सियनहरूको खाना प्रस्तुत गर्ने तरिका पनि भब्य । एउटा सम्झनलायक कुरो के भने अमेरिकामा खानाको स्वाद अति बोधो छ । अर्ग्यानिकै पनि त्यति स्वादिलो छैन ।  जेनेटिकल्ली मोडिफाइड अन्न, तरकारि, फलफुलले अमेरिकालाइ अति बेस्वादिलो बनाएको छ । अमेरिकाका फलफुल तरकारी ठुला, चम्किला, चटक्क मिलेका हेर्दा लोभलाग्दा भने देखिन्छन ।

इजीप्सियन अतिथि सत्कार पनि भब्य लाग्यो ।  हाम्रो यात्राको दौरानमा हामीले भेटेका उबर ड्राइभर, होटल रेस्टुरेन्ट कर्मचारी सबै आत्मिय र सहयोगि भेट्यौं ।  हाम्रो टुर गाइडको त हामी घरमै गएर परिवारसमेत भेट्यौं । बाहिर सडकमा हिंडदा भने सावधानी अपनाउनु पर्ने रहेछ, । पर्यटक भन्रे चिनेपछि विभिन्न सामान र सेवा बेच्नेहरूले घेर्दा रहेछन् । हाम्रो ठमेल र पोखरा लेकसाइड जस्तै ।

इजीप्टको डोमेस्टिक फ्लाइटमा केहि फरक अनुभव भने भयो । कायरोबाट लक्सोर जाँदा एयर कायरोको फ्लाइट ०५४ भीत्र छिर्ने बित्तिकै चर्को चुरोटको गन्ध आयो । मैले अचम्म मानेर क्याबिन कर्मचारिलाइ सोधें, “यहाँ धुमपान गर्न मिल्छ? “

उनले भने, “ मिल्दैन ।“

मैले फेरि सोधें, “ यो गन्ध कसरि आयोत ?”

उनले भने, “ यो विमानको हाइड्रोलिक को गन्ध हो ।“

आजसम्म कतै यस्तो गन्ध आएको थिएन ।  उनी सही हुन पनि सक्छन तर मैले पत्याईंन ।  अरु यात्रुले पनि पत्याएनन् । त्यसपछि सवाल जवाफ भने भएन । लक्सोरबाट कायरो फर्किदा इजीप्ट एयरको फ्लाइट २६९  आएलभरि यात्रुहरू सिटमा जानेक्रममा उभिइ रहेकै बेला सीटमा बसि नसक्दै बिना कुनै सुचना बस गुडे झै सर्र गुडि हाल्यो ।  रोहिणि र मभने सिटमा बसिसकेका थियौं । अचम्म लाग्यो । विमान परिचारिका केहि नबोली यात्रुतर्फ यसरी हेर्दै थिइन मानौं यो यात्रुहरूकै दोष थियो । ढिला पनि भएको थिएन ।  फ्लाइट अन टाइम थियो ।  अझ केही मिनेट अगाडि नै थियो । विमान रनवेमा पुग्ने बेलासम्म भने सबै यात्रु हतार हतार सिटमा बसिसकेका थिए ।

इजीप्टमा हेर्ने थुप्रै चिज र ठाउँ छन् ।  पिरामिड, नाइल क्रुज, म्युजीयम, ममी, लक्सोर, आस्वान, ओएसिसहरू इत्यादि । मानव विकाश, इतिहास, दर्शन, संस्कृति आदिमा रूचि भएका कल्पनाशीलहरूको निमित्त इजिप्ट पुग्नै पर्ने ठाउँ रहेछ । कति पुग्न मन लागेका ठाउहरूमा पुग्न सकिएन ।  विशेष गरेर मरुभुमिका ओएसिसहरू । तिर्खा लागिनै रहंदा पानीको गिलास पन्छाउन परे झैं गरि फर्किइयो यसपाला । ईजिप्टबाट फर्किरहँदा मेरो मनले भनिरहेको थियो । यो ठाउँमा त फेरि एक पटक त पुग्नै पर्छ ।

000

लेखक परिचयः भीम कार्की मूलत कवि हुन् । थोरै लेख्ने र धेरै पढ्ने उनको मौलिक स्वभाव हो । उनको एक कविता सङ्ग्रह “दोवाटोमा उभिएको समय“ (सन् २०१२) प्रकाशित छ । स्याङ्जा जिल्लाको पौवेगौंडेमा जन्मेका उनी सन् १९९६ देखि अमेरिका  टेक्सासमा वसोवास गर्छन् ।

Leave a Reply