प्रमोद प्रधान
अलमलमा छु यतिखेर । कसरी र कहाँबाट सुरु गरौँ ? समकालीन र नजिकका मित्रसमेत रहेका स्रष्टाबारे लेख्न अलि गाह्रो पनि छ । समकालीन स्रष्टासँग एक प्रकारको नदेखिने किसिमको प्रतिस्पर्धा हुन्छ, ईष्र्या पनि हुन्छ । तर अचम्म लाग्छ, हामी ३० को दशकमा साहित्यमा प्रवेश गरेर निरन्तर लागिरहने स्रष्टाहरूबिच न त प्रतिस्पर्धा छ, न त ईष्र्या नै । त्यसबेला लेख्न सुरु गर्नेहरूमध्ये धेरैजसो अहिले पनि लेखिरहेका छौँ, अहिले पनि भेटिइरहेका छौँ । त्यही दशकका एक सफल, सशक्त र साधक स्रष्टा हुन् किशोर पहाडी (२०१३) ! अहिले पनि उनी लेखिरहेका छन् अनि कार्यक्रमहरूमा भेटिइरहन्छन् । यो सक्रियता वास्तवमै उदाहरणीय मात्र छैन, अनुकरणीय पनि छ ।
अहिलेको पुस्ताले किशोर पहाडीलाई कसरी चिन्छन् ? थाहा छैन । कमजोर पठन संस्कृति भएको हाम्रो देशमा किशोरलाई साहित्यकारको रूपमा कतिले चिन्छन्, भन्न गाह्रो छ । उनका कति कृति पढेका छन् ? यो पनि भन्न सकिँदैन । उनका अन्य व्यक्तित्वबारे त झन् अत्यन्त कमलाई थाहा छ जस्तो लाग्छ मलाई । तर यो मेरो भूल पनि हुनसक्छ । अहिले भने म किशोर पहाडीको व्यक्तित्वका विभिन्न पाटाहरूलाई सम्झने प्रयास गर्दै छु ।
किशोर पहाडीको लेखनको सुरुवात ३० को दशकभन्दा अघि नै भए पनि उनको साहित्यिक सक्रियता भने २०३० को दशकमा देखिएको हो । प्रारम्भिक समयमा त्यसबेलाका साप्ताहिक पत्रपत्रिकाहरूमा उनका कथा, कविता र मुक्तकहरू निकै प्रकाशित भएका थिए । त्यसबेला हाम्रो पुस्ताका रचनाकारहरूका कविता, मुक्तक र छोटा कथाहरू मूलतः साप्ताहिक पत्रपत्रिकाहरूमै छापिने गर्थे । अर्पण, आरती, चेतना, संरक्षक आदि पत्रिकाहरूमा हाम्रा कविता, मुक्तक, लघुकथा प्रकाशित हुने गरेको सम्झन्छु । हामीबीच छाप्नका लागि प्रतिस्पर्धा हुन्थ्यो । किशोर पहाडी ती पत्रपत्रिकाहरूमा बरोबर आफ्ना सिर्जना लिएर देखापर्थे । हो, त्यसैबेलादेखि किशोर पहाडीसँग नजिकिएको हुँ म । लामो समयसम्म हामीबीच पत्रको आदानप्रदान भयो । उनी ललितपुर, म विराटनगर । कसैसँग सम्पर्क गर्न अहिलेजस्तो सजिलो थिएन त्यसबेला । हुलाकमार्फत पत्र पठाउनुपथ्र्यो भने निकै समय कुरेपछि जवाफ आउँथ्यो । तैपनि हामीले पत्रको आदानप्रदान गरिरह्यौँ । उनको लेखाइ अत्यन्त राम्रो मात्र थिएन, सफा, स्पष्ट र शुद्ध पनि हुन्थ्यो । उनले पुलचोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रमाणपत्र तह (ओभरसियर) उत्तीर्ण गरे अनि केही समय प्राविधिकका रूपमा जागिर पनि खाए । उनले लामो समयसम्म जागिर खाएनन् । केही समय उनले पसल व्यवसाय पनि गरे । सुरुका उनका कतिपय रचना किशोरमान श्रेष्ठको नाममा प्रकाशित भएको थियो जस्तो लाग्छ मलाई । पछि उनी किशोर पहाडी भए र त्यही नाम नेपाली साहित्यको एक स्थापित साहित्यकारको नाम बन्न पुग्यो । उनी त्यसबेला अजिङ्गरको नामबाट चेतना साप्ताहिक पत्रिकामा स्तम्भ पनि लेख्ने गर्थे, जुन उक्त पत्रिकाको अन्तिम पृष्ठमा प्रकाशित हुने गथ्र्यो । त्यसैताका २०३४ असार ३१ गतेको अङ्कमा कोशीको साहित्यिक परिवार शीर्षकको लेखमा उनले विराटनगरको साहित्यिक गतिविधिबारे यसो लेखेका थिए ः
यही सन्दर्भमा विराटनगरमा एउटा साहित्यिक परिवार खोलिएको छ, युवा साहित्यिक परिवारको नाममा । यस परिवारको कुनै निश्चित सङ्घ या संस्था छैन । त्यसो हुँदा उनीहरू हरेक शुक्रवार गरिने गोष्ठी कहिले पार्कमा, कहिले फाँटमा, कहिले कसैको कोठामा गर्ने गर्छन् । शुक्रवासरीय साहित्यिक गोष्ठीको नाममा चिनिने उक्त गोष्ठीमा स्वर्गवासी साहित्यिक कसैलाई सभापतिको रूपमा उभ्याइन्छ । अनि आ–आफ्ना रचनाहरू पढ्ने र तात्ताता आलोचना, प्रशंसा सुनाउने गरिन्छ । २०।२२ जनाको यो परिवारका केही सदस्यहरू अशेष मल्ल, प्रमोद प्रधान, तोया गुरुङ, विनोद अश्रुमाली, प्रमिला उपे्रती, गोकर्ण खड्का, वासु बराल, महेश प्रसाईलाई अजिङ्गरले बरोबर गोरखापत्र, मधुपर्क, रूपरेखा आदि पत्रपत्रिकामा देख्दै आएको हो । ..
किशोर त्यसबेलाको चर्चित साहित्यिक पत्रिका रूपरेखाको बागमती अञ्चल प्रतिनिधि भएपछि मलाई पनि प्रतिनिधि हुने रहर जाग्यो । त्यसपछि मैले रूपरेखालाई पत्र पठाएँ र पछिल्ला अङ्कहरूमा मेरो नाम कोशी अञ्चल प्रतिनिधिका रूपमा छापिन थाल्यो । यो २०३५ सालतिरको कुरा हो कि जस्तो लाग्छ । यसरी हामीले रूपरेखालाई आफ्नो ठाउँबाट सहयोग गर्न थाल्यौँ । रूपरेखामा भने उनको नाम किशोरमान श्रेष्ठ नै छापिने गरेको थियो । त्यसबेला उक्त पत्रिकाका सम्पादकहरू उत्तम कुँवर र बालमुकुन्ददेव पाण्डे थिए ।
किशोरका कविताहरू प्रकाशित भए पनि उनको साधना भने विशेषतः कथा विधामा रह्यो । उनी सुरुदेखि नै उम्दा कथाहरू लेख्थे । उनले कथा लेख्न थालेको अहिले ५२ वर्ष भयो । म के जवाफ दिऊँ ? शीर्षकको उनको पहिलो कथा २०२८ सालमा नयाँ सन्देश साप्ताहिक पत्रिकामा प्रकाशित भएको थियो । नयाँ सन्देश त्यसबेलाको चर्चित पत्रिका थियो, जुन अत्यधिक बिक्री हुने पत्रिकामा पर्दथ्यो । त्यसका सम्पादक रमेशनाथ पाण्डे थिए, जो पछि परराष्ट्रमन्त्रीसमेत भए । वि.सं. २०२८ पछि उनी कथालेखनमा निरन्तर सक्रिय भइरहे, कथा छापिइरहे, कथाकृति प्रकाशित भइरहे । उनको पहिलो कथाकृति साझा प्रकाशनबाट २०३७ सालमा प्रकाशित भयो, घर–खण्डहर शीर्षकमा । त्यसपछि उनका कथासङ्ग्रहहरू निरन्तर प्रकाशित भइरहे र नेपाली कथासाहित्यले उनीबाट क्रमशः बाँच्नु र बाँचेकाहरू (२०३७), कथाकोण (संयुक्त, २०४३), विशुदाइ (२०४५), सर्वज्ञ र सेक्स (२०५५), मुग्ध सिम्फोनी (२०७०) र रोजा कथाहरू (२०७५) गरी सात कथासङ्ग्रह प्राप्त गर्यो । कथाकोणमा भने उनले अशेष मल्लसँग मिलेर लेखेका छ वटा कथाहरू छन्, जसलाई उनीहरूले ‘संयुक्त कथाको सिलसिला’ भनेका छन् । यो कथासङ्ग्रह संयुक्त कथालेखनका क्षेत्रमा गरिएको प्रयोगलाई निरन्तरता दिने क्रममा लेखिएको हो । कथाकार गोविन्द गिरी प्रेरणाले यो कथाकृतिको सन्दर्भः प्रकाशन शीर्षकमा लेखेको प्रकाशकीयमा नेपाली कथासाहित्यमा संयुक्त कथाहरू धेरै वर्षअघि नै देखा परिसकेको उल्लेख गरेका छन् । यी सबै कथासङ्ग्रहमा गरी उनका ८० भन्दा बढी कथा रहेको मेरो अनुमान छ । उनले विशुदाइ कथासङ्ग्रहका लागि २०४५ सालको साझा पुरस्कार प्राप्त गरेका थिए । कथाविधामा योगदान गर्नेलाई दिइने मैनाली कथा पुरस्कार उनले २०६३ सालमै पाएका थिए । रोजा कथाहरूमा भने उनका विभिन्न कथाकृतिमा रहेकामध्येबाट छानिएका प्रतिनिधि कथाहरू रहेका छन् ।
नेपाली जनजीवनका विसङ्गत पक्षको जीवन्त चित्रण उनका कथाका विशेषता हुन् । मानिसले भोग्नुपरेका विभिन्न बाध्यतात्मक परिस्थिति र त्यसले दिएका पीडा, नारीमाथि हुनेगरेका दुर्व्यवहार र हिंसा, मानवभित्र अन्तर्निहित दानवीय चरित्र, यौनप्रतिको विभिन्न अनुभूति, गरिबी र बेरोजगारीका कारण भोग्न बाध्यात्मक अवस्था, भौतिकताप्रतिको तीव्र मोह र लालसाले उत्पन्न संवेदनाहीन परिवेश र नेपाली राजनीतिभित्रका विकृतिहरूको चित्रण उनका कथामा मर्मस्पर्शी किसिमले भएका छन् । साथै, समयले निम्त्याएका विकृति र विसङ्गतिहरू पनि उनका कथाका विषय बनेका छन् । उनका कतिपय कथामा स्वैरकल्पना र व्यङ्ग्य पनि पाइन्छन् । उनका कथाहरूमै केन्द्रित रहेर थुप्रै रचना लेख्न सकिन्छ । उनका कथाका विषयका बारेमा, पात्रपात्राहरूका बारेमा, परिवेशका बारेमा, शैलीका बारेमा र अन्य अनेक शीर्षकमा लेख्न सकिन्छ नै । त्यतातिर समालोचकहरूको ध्यान जानुपर्ने आवश्यकता भने देखिन्छ । घर खण्डहर, कोही नभएको ऊ, फाँसी, चक्रव्यूह, समेत, अन्त्य, तिम्रो कथा लेखेँ, अनन्त !, बाँच्नु र बाँचेकाहरू, धेरै जनकराजहरू र एउटा झोला, बाह्र बजेर पैँतीस मिनेट जाँदा, मृतजीवी, विशुदाइ, सर्वज्ञ र सेक्स, सहरको एउटा बङ्गला शीर्षकका कथाहरू उनका उत्कृष्ट कथाहरू हुन् भन्ने मलाई लाग्छ । उनका कतिपय कथाका शीर्षकहरूले नै पाठकलाई आफूतिर आकर्षित गर्छन् । यति धेरै कथा लेख्ने उनी थोरै कथाकारमध्ये उनी पनि एक हुन् । कथालेखनका बारेमा उनको स्वीकारोक्ति अत्यन्त घतलाग्दो छ । बाँच्नु र बाँचेकाहरू कथाकृतिको आवरण अन्तिम पृष्ठमा उनले लेखेका छन् ः
… मन लाग्यो, केही कथा लेख्न । लेखेँ । मन लाग्यो, ती कथाहरू पत्रिकामा छपाउन । छपाएँ । मन लाग्यो, ती कथाहरू बटुलेर सङ्ग्रह निकाल्न । निकालेँ । मन लाग्यो, सङ्ग्रह निकाल्दा केही कथाहरूलाई पत्रिकामा छापिएको भन्दा केही फरक पार्न । पारेँ ।
आफूलाई मन लागेको सबै काम फुक्का भएर गरें । आनन्द भन्नु नै यस्तै–यस्तै गर्नु रहेछ ।…
किशोर पहाडी ३० को दशकका प्रतिनिधि कथाकार हुन् । वि.सं. २०४१ मा प्रकाशित समसामयिक साझा कथामै उनी प्रतिनिधि कथाकारका रूपमा समावेश भइसकेका थिए । मोहनराज शर्मा र राजेन्द्र सुवेदीद्वारा सम्पादित उक्त कृतिमा उनको मृतजीवी कथा समावेश गरिएको छ । त्यस्तै डा. दयाराम श्रेष्ठको सम्पादनमा निस्केको नेपाली कथाका समकालीन सन्दर्भहरू (२०४५) मा उनको घर–खण्डहर र विमल भौकाजीको सम्पादनमा निस्केको उत्कृष्ट नेपाली प्रेमिल कथा (२०६८) मा उनको मासुको रस शीर्षकका कथा रहेका छन् । यी कृतिहरूमा समावेश भएका उनका कथाहरूको यहाँ उल्लेख गर्नुको प्रयोजन उनी प्रतिनिधि कथाकारका रूपमा प्रतिष्ठापित छन् भन्ने जनाउनु पनि हो । उनीबारे नेपाली कथासाहित्यका विशिष्ट विद्वान प्रा. डा. दयाराम श्रेष्ठको निष्कर्ष यस्तो छः
किशोर पहाडी मानिसभित्रको आदिम प्रवृत्ति उद्घाटन गर्ने र जीवनका विसङ्गतिहरूमा विश्वास गर्ने नवचेतनावादी कथाकार हुन् । उनले मानवीय यौनभावलाई जीवन्त रूपमा प्रस्तुत गर्दै समसामयिक जीवनका विविध पक्षहरूलाई समेटेका छन् । प्रयोगको पक्षधर भएर उनले आफ्ना कथाहरूलाई उचाइ प्रदान गरेका छन् । (नेपाली कथा र कथाकार, २०७०, पृ.२५२)
उनको लघुकथाको एउटा कृति मात्र प्रकाशित छ, किंवदन्ती (२०५३) । तीस लघुकथाको यो सङ्ग्रहले लघुकथा लेखनमा उनको क्षमतालाई स्पष्टसँग देखाउँछ । त्यसभन्दा अघि उनले अशेष मल्लसँग मिलेर अध्याय शीर्षकको लघुकथा २०४७ सालमा सम्पादन गरेका थिए । अध्यायमा ४१ लघुकथा रहेका छन् । किशोर पहाडीका लघुकथामा नेपाली समाजको चित्रण अत्यन्त जीवन्त किसिमले भएका छन् । यहाँ उनका लघुकथाबारे लामो चर्चा गर्नुभन्दा एउटा लघुकथा प्रस्तुत गर्नु नै मैले उपयुक्त ठानेँ । मलाई लाग्छ, यो लघुकथा पढेपछि उनको कथाप्रवृत्तिबारे बुझ्न पाठकलाई कठिन हुनेछैन । अल्याङटल्याङ शीर्षकको यो लघुकथा संवाद–शैलीमा लेखिएको छः
दुई वर्ष
० बा ! आमाको नाम के हो ?
० लक्ष्मी हो, तेरी आमाको नाम ।
० आमाको नाम कसले राखेको ?
० बज्यैले ।
० तेरी बज्यै खेत गएकी छ धान रोप्न ।
तीन वर्ष
० बा, मेरो नाम के हो ?
० तेरो नाम घैँटे हो ।
् ० मेरो नाम कसले राखेको ?
० तेरी आमाले ।
० मेरी आमा कहाँ छिन् त खोइ ?
० खेत गएकी छे धान गोड्न ।
० धान गोड्न ?
० अँ, धान गोड्न ।
० सबै सधैँ धानकै निम्ति गोड्ने गर्छन् । यो धान पाक्न कति वर्ष लाग्छ बा ? हामीले खान नपाएको त तीन वर्ष भइसक्यो । हैन र ?
यो लघुकथाले भोकमरी, शोषण लगायत नेपाली ग्रामीण समाजको यथार्थलाई अत्यन्त सजीव ढङ्गले प्रस्तुत गरेको छ भन्दा अत्युक्ति हुँदैन । वास्तवमा, लघुकथा लेख्न चाहनेहरूले उनका लघुकथा पढेर लघुकथाको विषयवस्तु, भाव, भाषा, शैलीका बारेमा धेरै कुरा सिक्न सक्छन् ।
किशोर पहाडीले बालसाहित्यतर्फत पनि कथा विधामै कलम चलाएका छन् । उनका लम्लम्ती दम (२०५७), आ–आफ्नो भाग (२०६१), हाँस र फुच्चे केटी (२०६६) र शनिबारको साथी (२०७३) गरी चार बालकथाकृति प्रकाशित छन् । उनका बालकथामा बालरुचिअनुकूलका विषयवस्तु, मानव र मानवेतर पात्रको उपस्थिति, संवादको उपयुक्त प्रयोग, सन्देशसहितको प्रस्तुति, छोटा वाक्य, सरल भाषा र मीठो शैली पाइन्छन् । उनी लोककथालाई विनिर्माण गरी प्रस्तुत गर्नमा पनि खप्पीस छन् । विशेषतः दोस्रो बालकथाकृति आ–आफ्नो भागमा रहेका सोही शीर्षकका र खरायो र कछुवा तथा हाँस र फुच्चे केटीमा रहेको फ्याउरो र आँप शीर्षकका कथाहरू यसका उदाहरण हुन् । उनका बालकथाहरूमध्ये केही लोककथाबाट प्रभावित र केही विदेशी बालकथाको अनुवाद भए पनि अधिकांश मौलिक छन् ।
यसबाहेक किशोर पहाडी नेपाली साहित्यका कवि र अनुवादक पनि हुन् । शहरमा बत्ती निभेको बेला (२०५३) उनको एकमात्र प्रकाशित कवितासङ्ग्रह हो । उनका पत्रपत्रिकामा छापिएका थुपै्र कविता सङ्कलन भएर पुस्तकको रूपमा आउनै बाँकी रहेका छन् । कविताहरू लेखे पनि उनको परिचय भने कथाकारकै रूपमा सशक्त छ । तथापि, साहित्यकार भाउपन्थीले उनको कवि–व्यक्तित्वको परिचय यसरी दिएको पाइन्छः
कविताको गद्यशैलीलाई उनले आफ्ना कथाहरू जत्तिकै प्रभावशाली बनाएका छन् । उनका कवितामा मानवप्रेम, शान्तिको कामनाका हार्दिक स्वर छन् र सामाजिक विषमताप्रति बौद्धिक आक्रोश पाइन्छ । राष्ट्रियताप्रति पनि सचेत रचनाकार हुन् कवि किशोर पहाडी । उनी सामाजिक यथार्थवादी विसङ्गतिवादी धाराका कवि हुन् । (कविकोश, २०६०, पृ. ३१) ।
उनका अनुवाद कृति भने दुईवटा छन् एकैसाथ हाँसौँ (२०५५), त्यो तलाको मालिक (२०५९) । एकैसाथ हाँसौँ बालबालिकाका लागि तयार गरिएको कृतिको अनुवाद हो । यसमा एसिया प्रशान्त क्षेत्रका नेपाल, जापान, पाकिस्तान, इरान, गणतन्त्र कोरिया, मलेसिया, फिलिपिन्स, भारत, चीन, थाइल्याण्ड, अस्ट्रेलिया, सिङ्गापुर, म्यान्मा, इण्डोनेसिया, भियतनाम, पपुआ न्युगिनी, श्रीलङ्का र बङ्गलादेशका विभिन्न लेखकका कथा, गाउँखाने कथा र उखानटुक्काहरू रहेका छन् । त्यो तलाको मालिकमा भने विश्वका विभिन्न देशका विशिष्ट कथाकारहरूका कथाहरूको अनुवाद सङ्गृहीत छन् । उनले सौरभ नामको साहित्यिक पत्रिकाको सम्पादनसमेत गरेका थिए । यसरी के देखिन्छ भने किशोर पहाडी नेपाली भाषा–साहित्यमा कथाकार, बालसाहित्यकार र अनुवादक रूपमा परिचित छन्, प्रतिष्ठित छन् । उनी नेपाली साहित्यका एक विशिष्ट र समर्पित साधक हुन् भन्ने कुरामा कुनै दुविधा छैन ।
तर उनी साहित्यसाधक मात्रै होइनन् । उनको व्यक्तित्वका अन्य पाटा पनि छन् । नाटकमा अभिनय गर्नु र निर्देशन गर्नु पनि उनको अभिरुचि र योगदानका क्षेत्र हुन् । उनले युवावस्थामा धेरै नाटकमा अभिनयसमेत गरे । उनी लामो समयसम्म सर्वनाम नाट्य समूहमा आबध्द थिए । त्यसबेला उनले निकै सडक नाटकहरूमा अभिनय गरेका थिए । उनले नेपाल टेलिभिजनमा बालकार्यक्रमसमेत सञ्चालन गरेका थिए । उनी २०३६ सालतिर सडक कविता क्रान्तिमा पनि सहभागी भएको देखिन्छ । शब्दपथ अनलाइन साहित्यिक समाचारपत्रका माध्यमबाट उनले दिँदैआएको योगदान त हामी सबैलाई थाहा नै छ । किशोर पहाडीको साहित्यिक यात्राले आधा शताब्दीको समय पार गरिसकेको छ, तर अचम्म लाग्छ, यो समयले उनको उमेरलाई भने कत्ति पनि प्रभाव पारेको देखिँदैन । उनी त झन्झन् युवा र झन्झन् आकर्षक देखिन्छन् । त्यसैले, मैले यो आलेखको शीर्षक नै सधैँ किशोर, किशोर पहाडी ! राखेँ । के मैले भूल गरेँ र ?
000
लेखक परिचयः प्रमोद प्रधान मूलत कवि हुन् । विसं २०२९ सालमा एक टुक्रा शिर्षकको कविता प्रकाशनबाट प्रकाशन यात्रा शुरु गरेका उनको लेखन विविध विधामा विषद ब्याप्त छ । समालोचनाको क्षेत्रमा उनको ब्यक्तित्व गैर प्राध्यापकीय समालोचनामा टड्कारो र अतुलनीय छ । उनका केही अध्ययनःकेही अनुसन्धान(विसं विसं २०४४), बाल साहित्यको ईतिहास(विसं २०५७), नेपाली निबन्धको ईतिहास(विसं २०६६), नेपाली वाल वाङ्मय परिचय कोष (विसं २०६५) नेपाली साहित्यका कोसे ढुङ्गा हुन् । विराटनगरमा जन्मेर साहित्यमा राष्ट्रिय ब्यक्तित्व बनाएका उनी हाल काठमाडौं कोटेश्वरमा बसोवास गर्छन् ।
