सम्झनामा साहित्यकार पेशल आचार्य

व्यक्ति बृत्त

कल्पना तामाङ, अमेरिका

पेशल सर अत्यन्त सरल र प्रेरक स्वभावका व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका संगतमा रहने हरेक व्यक्तिलाई उहाँले जीवनमा केही गर्नु पर्छ भन्ने प्रेरणा दिइ रहनु हुन्थ्यो । उहाँ अग्रज भए पनि अनुज पुस्तासँग मित्रवत् व्यवहार गर्नुहुन्थ्यो । लेख्ने पढ्ने मान्छेलाई उहाँ लेख्नुस् लेखी रहनुस् लेखनले हो हामीलाई बचाउने भन्नु हुन्थ्यो । मलाई लाग्छ उहाँका साहित्यिक कर्महरुले उहाँलाई नेपाली साहित्याकाशमा अबश्य जिवित राख्नेछ । उहाँको घर विराटनगर भए पनि मन्थलीलाई कर्मथलो बनाउनु भएकोले रामेछापलाई आफ्नै जन्मभूमी जत्तीकै माया गर्नु हुन्थ्यो । उहाँ जिल्लाबाट निस्किने विभिन्न साप्ताहिक र साहित्यिक पत्रिकाको भाषा सम्पादन गर्नु हुन्थ्यो ।

वि.सं. २०६३/६४ देखी मन्थलीमा हुने साहित्यिक कार्यक्रमहरुमा पेशल सरसँग सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । हामीले विभिन्न साहित्यिक कार्यक्रमहरुको योजना र आयोजना सँगसँगै गरेका थियौं । सर जहिल्यै हामीलाई कार्यक्रम गर्नु पर्छ मन्थलीमा सुख्खा लाग्यो भनी रहनु हुन्थ्यो ।

२०७०/७१ ताका मन्थलीका साहित्यमा रुची हुने साथीहरु नविन गाउँले, प्रभु विवश, सिर्जना बस्नेत, केशव अमोल, युनिक विफा घिसिङ, कवि लाल बहादुर तामाङ, प्रज्वल पौडेल, रविन्द्र प्रलय, तिलक कार्की धनलाल योन्जन, उध्दव अविचल लगाएतका थुप्रै साथीहरु मिलेर निरन्तर सहित्यिक कार्यक्रमहरु गर्थ्यौं । विनोद श्रेष्ठ, प्रिन्स प्रकाश, कर्ण विकहरु रामेछाप बजारदेखी मन्थली झर्नुहुन्थ्यो । उक्त कार्यक्रमको मियो भने पेशल सर नै हुनुहुन्थ्यो । साहित्यकार माधव सयपत्री, कवि डा. सुमन कर्माचार्य, रामचन्द्र वियोगी उहाँ अग्रजहरुले भने हामीलाई सघाउनु हुन्थ्यो । हामीहरु स्रष्टा संगम नामको व्यानरमा काम गर्थ्यौं । त्यसताका मासिक कवि गोष्ठीका साथै हामीले अक्षर यात्रा अभियान भनेर एकल कविता वाचन जस्ता कार्यक्रमहरु गर्थ्यौं ।कार्यक्रमको नाम र मिति जुराउने काम देखी हरेक काममा पेशल सरले सहयोग गर्नु हुन्थ्यो । त्यताका हामीले दिपन भन्ने साहित्यिक द्वैमासिक पनि चलायौं । पेशल सरले भाषा सम्पादन गर्नु भएको थियो  । हाम्रो जम्बो टिम नै थियो र पनि भाषा सम्पादक भए पनि सम्पादकीय पेशल सरले नै लेख्नु हुन्थ्यो । उहाँको लेखनमा त्यतिको उत्साह र जाँगर थियो ।

उहाँ हर हालतमा जिल्लामा साहित्यिक गतिविधी हुनुपर्छ र नयाँ पुस्ताहरु आउनु पर्छ भन्नु हुन्थ्यो । लेखन रुची राख्ने नयाँ पुस्तालाई लेख म हेरी दिन्छु भन्नु हुन्थ्यो । राम्रो छ लेख भनेर हौसला पनि दिनु हुन्थ्यो । हुन त  शान्त सुखाय पर हितायको लागि लेख्ने हो र पनि लेखी रहनु पर्छ विस्तारै किताब पनि निकाल्नु पर्छ तयारी गर्नुस् म सघाउँछु भन्ने गर्नु हुन्थ्यो । यसरी सघाउँछु भन्ने मान्छे विरलै पाइएला जस्तो लाग्छ । उहाँ आफ्ना विद्यार्थी भाई बहिनीलाई फलानो भाई बहिनी तपाई भनेर सम्बोधन गर्नुहुन्थ्यो । म भने उहाँको विद्यार्थी नभएकाले कल्पनाजी भन्नु हुन्थ्यो । उहाँ आफू भन्दा सानालाई पनि निकै आदरभाव राख्नु हुन्थ्यो ।

भेटघाट, कार्यक्रम तथा चिया पसलमा पनि उहाँ प्रायः जिल्लाका कविहरु कसले के लेख्दैछन् । राष्ट्रिय स्तरका कविहरु कसका रचना अब्बल छन्, कान्तिपुर कोसेली,  मधुपर्कमा के -के आए ? कुन-कुन पढ्नै पर्ने रचनाहरु हुन्? आफू के लेख्दै छु यस्तै यस्तै सुनाउनु हुन्थ्यो ।

अन्तिममा लेख्नुस् है लेख्न छोड्न हुन्न भन्न कहिल्यै भुल्नु हुदैनथ्यो । उहाँ रामेछापमा जगदिश घिमिरे पछाडी उहाँको बिंडो थाम्ने कोही निस्केनन् भनेर बेला बेला पिरोलिनु हुन्थ्यो ।

उहाँ अत्यन्त सरल र मिजासिलो मान्छे हुनुहुन्थ्यो । सहयोगी पनि उत्तिकै । साहित्यमा रुची राख्ने आफ्ना विद्यार्थी भाई बहिनीलाई अत्यन्त प्रेम गर्नु हुन्थ्यो । एक समय म रामेछापको चारघरे सेवा समिति भन्ने संस्थामा काम गर्थें । २०७० सालमा चारघरेमा सामी भन्ने परियोजना आयो । त्यसमा विभिन्न तहका कर्मचारी चाहिएको थियो । उक्त परियोजनामा सिर्जना बहिनीले पनि आवेदन दिइन् । भर्खर उनले दश जोड दुई पास गरेकी थिइन् तर मार्कसिट आएको थिएन । प्रमाणपत्र नभएपछि उनी छनौटमा पर्ने त कुरै भएन । बहिनी साहित्यमा रुची राख्ने कथा कविता लेख्ने साहित्य गोष्ठीमा सक्रिय थिइन् । अनि हामीले पेशल सरलाई सम्झियौं । उहाँले उनी दश जोड दुई पास गरेकी हुन् भनेर एउटा सिफारिस बनाइ दिनु भयो । भयो के भने सिफारिसको मिति आवेदन दिने अन्तिम मिति भन्दा पछाडिको भएछ। उनले त विना सिफारिस नै आवेदन दिएकी थिइन् । पछी बनाउदा ढिला भयो । बिदाको दिन थियो र त्यसको भोलिपल्टै छनौट प्रकृयाको सर्ट लिष्ट थियो । फेरि पेशल सरलाई फोन गरियो । सरले तुरुन्तै सिफारिस ब्याकडेट राखी सच्याएर अफिसमै पुर्याउन आउनु भएको थियो । त्यो सिफारिसले उनलाई जागिर पाउन निकै सहयोग गरेको थियो । सहायक प्राध्यापक जस्तो पदमा भए पनि पेशल सर त्यति सहयोगी र सरल व्यक्ति हुनहन्थ्यो । नत्र सानातिना विद्यार्थीको समस्या कसले वास्ता गर्छ ।

उहाँका लगभग एक दर्जन कृति प्रकाशित छन् । केही कृतिहरु विद्यालय स्तरको पाठ्यक्रममा पनि समावेश छ । उहाँ कविता, कथा, निवन्ध र विशेष गरी बाल साहित्त्यमा रुची राख्नु हुन्थ्यो । सबैतिर समय छरेर नहुने रहेछ आफ्नो एउटा विधा छान्नु पर्ने रहेछ । हाम्रो त समय गयो अब तपाईहरुलाई सुझाव हो भनेर भन्नु हुन्थ्यो । उहाँको पछिल्लो निबन्ध संग्रह “ब्याक बेन्चर” चर्चामा थियो । पछिल्लो समय उहाँको कविता संग्रह भने तयारी थियो भन्ने सुनेको थिएँ तर हामीले उक्त संग्रह पढ्न नपाउदै उहाँ अस्ताउनु भयो ।

जगदिश घिमिरे साहित्य प्रतिष्ठान, साहित्यकार अशोक सुवेदी दाईको हितप्रसाद जुनमाया साहित्य प्रतिष्ठान, स्रष्टा संगम यि सबै संस्थाको कार्यक्रममा सहयोग, संयोजन, खबर आदान प्रदानमा उल्लेख्य भूमीका उहाँकै रहन्थ्यो ।

त्यसताका युनिक विफा घिसिङ भाईले रेडीयो तिनलाल र प्रज्वल पौडेलले रेडीयो रामेछापमा साहित्यिक कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँ कार्यक्रममा अन्तर्वार्ता दिएर आएपछी मैले तपाईहरु सबै जनको नाम लिएको थिए नि, सुन्नु भयो ? जिल्लाको साहित्य तपाईहरुले बचाउने हो भन्नुहुन्थ्यो ।

मैले केही वर्ष अघि जिल्ला छाडें । त्यसपछी देश नै छाडें । देश छाड्न अघि जिल्ला जाँदा कवि जीवन खत्रीको कविता संग्रह ‘आगोको वर्णमाला’ लगी दिएको थिएँ । त्यही नै उहाँसँगको अन्तिम भेट थियो । पछिल्ला दिनहरुमा त्यस समय प्रकाश न्यौपाने र साथीहरु मिलेर केही कार्यक्रम गर्दै हुनुहुन्थ्यो जस्तो लाग्छ । सरसँग कुराकानी पनि पातलो भएको थियो ।

पछिल्लो समय लेखनमा मात्र समय दिन पाए अझै केही गर्न सकिन्थ्यो भन्ने उहाँको सोच  थियो । कहिलेकाहीँ त सबै कुरा छोडछाड गरेर लेखन पढनमा मात्र लागुँ कि जस्तो लाग्छ भनेर बेला बेला सुनाउनु हुन्थ्यो । यसै वर्षको अन्तिमतिर सायद उहाँ निवृत्त हुने योजनामा हुनुहुन्थ्यो । निवृत्त जीवन नयाँ योजनाका साथ काठमाडौंमा बिताउने कुरा पनि उहाँ सुनाउनु हुन्थ्यो । यस कारण पनि उहाँको  इमेल ठेगाना इस्पेशल २०२३ थियो । तर  जीन्दगी भने जस्तो कहाँ हुन्छ ? जुन कुराको जीवनभर तयारी गरीन्छ, उही कुरा पुरा गर्नै नपाई संसार छोड्नु पर्ने कस्तो दु:खदायी दिनहरु देखाउँछन् दैवले ।

अहिलेको समयमा उहाँ जस्तो पथप्रदर्शक पाउन निकै गाह्रो छ । कला साहित्यमा रुची राख्ने रामेछापमा अधिकांश नयाँ पुस्ता उहाँका उत्पादन हुन् ।

रामेछाप र सिङ्गो नेपाली साहित्य जगतले निकै उर्जाशिल व्यक्तित्वलाई गुमाएको छ । रामेछापको शैक्षिक र साहित्यिक जगतलाई उहाँको अवसानले अपुरणिय क्षती पुर्याएकोछ । रामेछाप शोकमय भएको छ । उहाँको भौतिक शरीर नरहे पनि उहाँका सिर्जना र प्रेरणाहरुमा उहाँ सधैं हामीसँग रहनु हुनेछ ।

अल बिदा गुरुदेव !

 

लेखिका परिचयः कवयित्री कल्पना तामाङ रामेछापमा जन्मिएकी हुन् र हाल अमेरिकाको क्यान्सस राज्यको मिजौरीमा बस्छिन् । उनले विसं २०६२ सालमा नवआलोक द्वैमासिकमा कविता प्रकाशन गरेर साहित्यमा पदार्पण गरेकी हुन् । उनको एक मुक्तक सङ्ग्रह “हिउँको आगो”(विसं २०७५) प्रकाशित छ ।

 

Leave a Reply