५ भदौ २०८२, काठमाडौं
नेपाली लेखक संघ, गण्डकीको आयोजनामा कवि उमेश अकिञ्चनको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । हिमालयन रिडर्स कर्नरको हलमा जम्मा भएका पोखरेली दर्शक एवम् स्रोतासामु उनले आफ्ना एक दर्जनभन्दा बढी कविता सुनाए ।
विराटनगरमा जन्मिएर काठमाण्डौलाई आफ्नो कर्मभूमि बनाएका कवि उमेशले आफूले देखेको भोगेको समय ,समाज र परिवेशले नै आफूलाई कविता लेख्न प्रेरित गरेको बताउँदै कविले जिन्दगीको उकाली ओरालीले गाएका संघर्षका गीतहरु,सामाजिक परिवेशभित्र हराएका नैतिकताहरु, सहरको बोक्रे रमझमले बिर्साएको सम्बन्धका हिसाबकिताबहरु,समयको दौडमा पछाडी परेका अकर्मण्य धावकहरुको गतिको निकै गहिरोसँग गरेका मापनका कविताहरु सुनाए । कविले कविता वाचन गर्दै गर्दा कहिले कविताको रचना गर्भ सुनाउँथे त कहिले समकालिन कविता माथी आफ्नो विचार राख्थे त कहिले अग्रज,समकालिन र अनुज कविहरुसँगको साहित्यिक यात्राको गोरेटोहरु सम्झिन्थे । यसले कविता श्रवणमा थप रौनक थपिरहेको हुन्थ्यो । उनले मानवीय संवेदना, राजनीतिक विकृति, सामाजिक विकृति एवम् राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सन्दर्भका समेटिएका कविता सुनाए । उनले वैदेशिक रोजगारीको बाध्यता सुनाए । उनले कविहरू जीवनलाई अनेक भावसँग साट्छन् र जीवनको परिभाषा पनि आफैँ बनाउँछन् भन्दै जीवनसँग सम्बन्धित यस्तै भाव कवितामै सुनाए । कल्पनामा उडान भरेर कविता कोर्ने र जीवनसँग जोडेर कविता कोर्नेका बिचमा फरक छ भन्दै सरकारी कर्मचारी सम्वन्धी कविता सुनाए ।
दर्जनबढी कविता वाचन गरिसकेसँगै साहित्यकार सरूभक्तले सम्पूर्ण पोखरेलीका तर्फबाट उनको साहित्यिक जीवनको शुभकामना प्रकट गरे । कवि उमेश अकिञ्चन सरल , शिष्ट र शालिन रहेको र उनको कविता पनि त्यस्तै सरल र शालिन भैकन पनि स्वभाविकरुपमा बिम्बहरुको प्रयोग गरिएको बताउँदै एक राष्ट्रसेवक कर्मचारीका हातले यति सुन्दर कविता लेख्नु आफैँमा सुन्दर संयोग भएको भन्दै उनले कविको प्रशंसा गरे ।
नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष दीपक समीपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि परिचय र स्वागत उपाध्यक्ष लक्ष्मण थापाले गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सञ्जीव पौडेलले गरेका थिए ।
०००
