२७ कात्तिक २०८२, काठमाडौं
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसरमा सखी प्रतिष्ठानले महाकवि देवकोटा सङ्ग्रहालय भवनको परिसरमा एक कार्यक्रमको आयोजना गरी स्रष्टा सम्मान तथा कवि गोष्ठीको आयोजना ग-यो ।
प्रतिष्ठआनले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा कवि बैरागी काइँला,गायिका ज्ञानु राणा,कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा पूजा चन्द र साहित्यकार सुनील सङ्गमलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,प्रतिष्ठान अध्यक्ष मन्जिला अनिल,महाकविका जेष्ठ सुपुत्र पद्मप्रसाद देवकोटा र प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलले क्रमश:अबीरको टीका,फूलको माला,रूद्राक्षको माला लगाइ दिनुका साथै दोसल्ला ओढाएर सम्मानपत्र अर्पण गरिएको थियो। सुनील सङ्गम नेपाल बाहिर रहेकाले उनका पिता रामकृष्ण श्रेष्ठलाई उनको सम्मानपत्र अर्पण गरिएको थियो।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व कुलपति भूपाल राईले तिहारको छेकामा यसै प्राङ्गणमा महाकविको ११७ औँ जन्मजयन्ती मनाएको स्मरण गर्दै यो प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठानकै शाखा रहेको बताए।यो साझा थलो हो यहाँ आउनेहरूले ठूलो छाती लिएर आउनुपर्ने भन्दै उनले आम नागरिकलाई महाकविको सङ्ग्रहालयबारे जानकारी नरहेको र यहाँ आएर महाकविबारे बुझ्ने संस्कृति उत्पत्ति नभएकोमा दुःखेसो पोखेका थिए।
सम्मानित व्यक्तित्वहरूको संक्षिप्त्त परिचय सहित नेपाली साहित्य र कला क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै कवि मुरारि सिग्देलले सम्मानित व्यक्तित्वहरूको कृतित्वका बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा महाकवि देवकोटा सुपुत्र पद्मप्रसाद देवकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको संक्षिप्त जीवनी र उनको व्यक्तित्व र कृतित्वको स्मरण गरेका थिए।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरू बैरागी काइँला र ज्ञानु राणाले मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा बैरागी काइँलाले देवकोटाको यात्री कविताको चर्चा गरेका थिए भने ज्ञानु राणाले महाकवि जस्तो विशिष्ट व्यक्तित्वका नामबाट सम्मानित हुन पाएकोमा गर्व लागेको बताउँदै’मान्छेको माया यहाँ खोलाको पानी जस्तो’बोलको गीत गाएर सुनाएकी थिइन्।
कार्यक्रममा महाकवि देवकोटाका रचना तथा उनका बारेमा लेखिएका रचनाहरू पनि वाचन गरिएको थियो ।
सो अवसरमा रचना वाचन गर्नेहरूमा मदनकृष्ण श्रेष्ठ,पूजा चन्द,वन्दना गौतम,एलिशा ढुङ्गाना,राधा दुलाल कार्की,लक्ष्मण सिटौला, शान्ति रिसाल,कृष्ण बाउसे,रवीन्द्र आशिष’शैली’,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,मीना श्रेष्ठ,मदनराज थापा,हरिश कल्पित,नरेन्द्रबहादुर श्रेष्ठ,कलानिधि दाहाल,विजयध्वज थापा,मनिला वन्त तथा रश्मि रिमाल रहेका थिए।
कार्यक्रममा महाकवि देवकोटाकी पनातिनी तथा प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उनले महाकवि देवकोटाको स्मरण गर्दै जन-जनमा र मन-मनमा रहेका महाकवि देवकोटाका रचनाहरू यात्री कविता र मुना मदनका केही हरफहरू गाएर सुनाएकी थिइन्।
कार्यक्रमको शुरूमा प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालले स्वागत मन्तव्य राख्दै मुनामदनको केही हरफहरू गाएर सुनाएकी थिइन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रालय,मैतीदेवीमा भएको कार्यक्रमको सञ्चालन कवि मणि लोहनीले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
