ज्ञानबहादुर छेत्री
सक्तो कोसिस गर्छु, म जस्तो छु त्यस्तै रहूँ।
तर सबै नै चाहन्छन, म उनीहरू जस्तै बनूँ।
—- बब डाइलान
(I try my best to be just like I am.
But everybody wants you to be just like them.)
गीत पनि साहित्यको एउटा जनप्रिय विधा हो। त्यसैले गीतमा पनि समकालीन समाजको चित्रण हुनु स्वाभाविक हो। अमेरिकी गायक तथा गीतकार बब डाइलनले वर्ष २०१६ को साहित्यको नोबेल पुरस्कार पाएका छन्। बब डाइलन पेशाले सङ्गीत कलाकार हुन्। उनले रचेका प्रत्येक गीत नै गहिरो अर्थ वहन गरेका कविता बनेका छन्। एकजना गीतकारले साहित्यको सर्वश्रेष्ठ पुरस्कार पाउनु महत्त्वपूर्ण कुरा बनेको छ। यतिखेरका उत्तरआधुनिक सिर्जनामा विधाहरूबिचका पर्खाल भत्किसकेका छन्। त्यसैले अहिले गीत र कवितालाई छुट्याउन खोज्नु मुर्खता हुनेछ। आजका सचेत पाठक तथा समीक्षकले त्यसमा निहीत नवीन विचार र शिल्पकारितालाई प्राधान्य दिन्छन्।
अभिव्यक्तिका माध्यमहरूमा गीतको छुट्टै महत्त्व छ किनभने गीतका शब्दहरूलाई सुर र सङ्गीतले सजाएर कारगर र प्रभावकारी तुल्याएको हुन्छ। कुनै पनि गीतको पुस्तकीय अध्ययन मात्रको आधारमा सही मूल्याङ्कन हुँदैन। तर साहित्यका अरू विधासरह गीतमा पनि शब्दले नै आत्माका रूपमा रहेर प्रमुख भूमिका खेलेको कुरालाई अस्वीकार गर्नु मिल्दैन। वैयक्तिकता, सम्बोधन, आख्यानरहितता, सङ्क्षिप्तता आदि गीतका प्रमुख विशेषता हुन भने भाव, कल्पना, बिम्ब, प्रतीक, सङ्गीत आदि यसका तत्त्व हुन्। गीतलाई मुख्य रूपमा दुई भागमा विभक्त गर्न सकिन्छ। मुख्य कुरा भनिने पङ्क्तिलाई स्थायी वा ध्रुव पङ्क्ति भनिन्छ। यो पङ्क्ति घरी घरी दोहोरिन्छ। अरू पङ्क्तिलाई अन्तरा भनिन्छ जसले ध्रुव पङ्क्तिमा भनिएका कुरालाई पुष्टि गर्दछ।
नेपाली साहित्यको बृहत् फाँटभित्र गीति साहित्यको सुस्थ र सुदीर्घ परम्परा रहेको छ। पहिले मौखिक परम्पराबाट लोकगीतको सुरुवात भयो अनि कालक्रममा आधुनिक गीतहरू विकसित हुँदै आज चर्को सङ्गीतले गीतका शब्दहरूलाई महत्त्वहीन तुल्याएको देखिन्छ। नेपाली गीतको पहिलो चरणमा मित्रसेन थापा, सेतुराम श्रेष्ठ आदिका गीतहरू ग्रामोफोन रेकर्ड गरिए। भारतीय नेपाली गीतको विकासमा असमलगायत पूर्वोत्तर भारतको महत्त्वपूर्ण योगदान गरेको छ। उत्तरपुर्वाञ्चल भेकको नेपाली साहित्य नै गीतमूलक सवाइबाट भएको हो। हरिनारायण उपाध्याय विद्याभूषणका गीतमालामा समेटिएका गीतहरू सन १९१० तिरै रचिएका हुन भन्ने उल्लेख पाइन्छ। हरिभक्त कटुवाल असम भेकका बहुचर्चित गीतकार हुन्। असमबाट गीतका पुस्तक प्रकाशित गराउने अरू केही गीतकारहरू हुन- केबी नेपाली (नवअश्रु), प्रेमसिंह सुबेदी (तीजको मैदानमा बहिनीको आँसु), दुर्गा घिमिरे (धुकधुकी), कुलबहादुर छेत्री (गीत मञ्जरी), चक्रपाणि शर्मा (सयपत्री), डा शान्ति थापा (माया), कृष्णप्रसाद भट्टराई (सङ्गीतका लहरहरू), कुलप्रसाद शर्मा (गीतिमल्लिका), मोहन सुबेदी (गीतको मूर्च्छना), कृष्ण क्षेत्री (गीत सरगम), प्रेम विश्वकर्मा (मादल) आदि।
‘भारतमा नेपाली गीत लेखनको परम्परा र प्रवृत्ति’- यो पहिलो निबन्धमा लेखक नवीन पौड्यालले भारतमा नेपाली गीत लेखनको एक सय वर्षको इतिहास सङ्क्षिप्तमा प्रस्तुत गरेका छन्। गीतलाई लेखकले कविताको उपविधा भनेका छन्। भाव, उद्देश्य, भाषा र शैली गीतका प्रमुख तत्त्व हुन्। भारतमा गीत लेखन परम्पराको कालक्रमिक चरण विभाजनको उल्लेख गरे पनि त्यो सुस्पष्ट हुनसकेको छैन। बिसौँ शताब्दीको सुरुमा मित्रसेन थापादेखि परम्पराको जग बसेको कुरा उल्लेख गरेका छन्। लेखकले उनको लेखमा सिक्किम र पूर्वाञ्चल भेकको छुट्टाछुट्टै अध्ययन गरेको देखिन्छ। यस लेखमा मित्रसेन थापा, अगमसिंह गिरी, हरिभक्त कटुवाल, अम्बर गुरुङ, शरण प्रधान, गोपाल योन्जन प्रभृति भारतका केही प्रमुख गीतकारहरूको संक्षिप्त परिचय समेत समेटिएको छ। त्यस पछि नेपाली गीतका साझा प्रवृत्ति र अभिप्राप्तिको चर्चा गरेका छन्। निबन्धको उपसंहारमा भारतीय नेपाली गीतहरूमा जातीय अस्मिताको चेतना सर्वोपरि रहेको लेखकले उल्लेख गरेका छन्।
दोस्रो लेख छ गीतकारका रूपमा जस योन्जन प्यासी। बहुमुखी प्रतिभाका धनी जस योन्जन प्यासीले कविता विधामा साहित्य अकादेमी पुरस्कार प्राप्त गरेका हुन्।प्यासीको समालोचक व्यक्तित्वले उनको कवि व्यक्तित्वलाई उछिनेर धेरै पर पुगेको छ तर उनको गीतकार व्यक्तित्व सर्वोपरि रहेको छ। हुन सक्छ, सोही कारणले शोधकर्ता पौड्यालले उनको अध्ययन प्यासीको गीतकार व्यक्तित्वमा केन्द्रित पारेका छन्।प्यासीको दुईवटा गीतसङ्ग्रह प्रकाशित भएका छन्। प्यसीका गीतहरूमा सामाजिक, राजनैतिक, धार्मिक, राष्ट्रिय, प्रकृति, जातीय प्रेम, सांस्कृतिक चेतना र सर्वोपरि मानवतावादी दृष्टि रहेको छ भन्ने लेखकले उल्लेख गरेका छन्। उनका गीत सङ्ग्रहमा आधुनिक गीतका अतिरिक्त युगल गीत, दसैँ गीत, होली गीत, देशभक्ति गीत, भजन, सेलो आदि पनि समावेश गरिएको छ। प्यासीका गीतहरू लेखकले मुख्यतः राष्ट्रिय, आध्यात्मिक र प्रयोजनपरकमा समेट्न चाहेका छन्। संवेदनशीलता, सौन्दर्य चेतना, एकोन्मुखता, वैयक्तिकता, आनुप्रासिक आनुषाङ्गिकता, पात्रताको प्रयोग, स्वैरकल्पना, बिम्ब र प्रतीक, प्रगतिशील चेत, आलङ्कारिकता, सहजानुभूति जस्ता तत्त्वहरूले उनका गीतलाई गेयात्मक, लयात्मक र श्रुतिमधुर पारेका छन्।
गीतकार पुरण गिरीको जिन्दगीको लयान्तरमा पाइने लयात्मकता- प्रस्तुत शोध निबन्धमा पुरण गिरीको गीतसङ्ग्रहजिन्दगीको लयान्तरमा समेटिएका गीतहरूको अध्ययन गरी तिनको मूल्याङ्कन गरिएको छ। गिरीका गीतलाई अध्येता पौड्यालले विभिन्न उपशीर्षकमा प्रणालीवद्ध रूपमा सूक्ष्म विश्लेषण गरेका छन्। लेखमा उल्लेख गरे अनुसार गीतकार गिरीले उनका गीतहरूमासंवेदनशील आन्तरिक पक्षका साथै सुर ताल आदि वाह्य पक्षलाई पनि उत्तिकै ध्यान दिएका छन्। त्यसै कारणले गीतकारका रूपमा गिरी पनि लोकप्रिय भएका हुन्, लेखकले सङ्केत गरेका छन्।
पुष्कर पराजुलीको गीत फुल्ने गाउँ यो चौथो शोधपरक निबन्धमा लेखक पौड्यालले गीतकार पुष्कर पराजुलीको शैक्षिक परिचयपछि उनको गीतकार व्यक्तित्वको उच्च मूल्याङ्कन गरेका छन्। गीत फुल्ने गाउँ पराजुलीको गीत सङ्ग्रह हो। प्रकृतिसँग मानवीय भावनाको तादात्म्य, प्रेमप्रीति, अनेकार्थकता, लोकजीवनसँग जोडिएका आद्यबिम्बको प्रयोग, चमत्कारिक शब्दचयन र युगीन चेतना उनका गीतमा पाइने विशेषता हुन्। पराजुलीका गीतहरू हार्दिकता, वैयक्तिकता र सही शब्द संयोजनले गर्दा श्रुतिमधुर भएका हुन् भन्ने लेखकको ठम्याइ रहेको छ। पराजुलीका गीतहरू स्तरीय कलाकृति हुन्, उनी अग्रज ख्यातिप्राप्त हरिभक्त कटुवाल, गोपाल योन्जन, कालीप्रसाद रिजाल र दिनेश अधिकारीका हाराहारीमा उभिन सक्ने दह्रा गीतकार हुन् भनेर उच्च मूल्याङ्कन गरेका छन्।
‘पोहोर साल खुसी फाट्दा’ गीतको संरचनात्मक अध्ययन यस शृङ्खलाको पाँचौँ लेख हो। राजेन्द्र थापाको यो गीतलाई अम्बर गुरुङले सङ्गीतले सजाएका छन् भने अरूणा लामाले उनको सुमधुर स्वरले गीतमा प्राण प्रतिष्ठा गरेकी हुन्। लेखबाट आन्तरिक लय, रहनी, लोकोक्ति र विपरीत धर्मी शब्दको प्रयोग आदिले गीतलाई श्रुतिमधुर पारेको थाहा हुन्छ। मानिसको विरह, व्यथा र पीडालाई अत्यन्त मार्मिकता साथ प्रस्तुकरण लोकप्रियताका मुख्य कढी हुन भन्ने लेखकले ठहर गरेका छन्। सङ्गीत विषयमा लेखकको गहिरो अध्ययन रहेको कुरा पनि यस लेखले दर्साएको छ।
छैठौं लेख चाँदनी शाहको एउटा चर्चित गीत ‘उकाली ओह्रालीहरूमा’..लेखक विचरण गरेको देखिन्छ। नेपालकी महारानी ऐश्वर्य राज्यलक्ष्मी देवीले चाँदनी शाह छद्मनाममा कविता र गीत लेखेको जान्न पाइन्छ। तिनमा ‘उकाली ओह्रालीहरूमा’ भन्ने गीत खुबै लोकप्रिय भयो। यो गीत त्यतिखेर तारा देवीले गाएकी थिइन्। लेखकले उल्लेख गरे अनुसार गीतका बहुअर्थी शब्द, आह्लादकारी भाव र सुगम सङ्गीतले श्रोतालाई मन्त्रमुग्ध पार्दछ। यो गीतको संरचनाको अध्ययनमा अध्येताले विरोधाभाष,विपरीतार्थी, समानार्थी र तुल्यार्थी भाव फेला पारेका छन्। यसमा अर्थका विभिन्न तह छन्, ती खुल्दै जान्छन्।यस गीतमा सामान्य नरनारीको प्रेममा समर्पणको भाव, आमाको सन्तानप्रतिको स्नेह, राष्ट्रप्रधानको रैतीप्रतिको वात्सल्य भाव, राष्ट्रको जनताप्रतिको अभिभावकत्व र ईश्वरिक भक्तिभाव अभिव्यक्त भएको पाइन्छ।
सातौँ लेख नेपाली लोकसाहित्यका प्रवादपुरुष धर्मराज थापा र उनको आइकोनिक गीत ‘हरियो डाँडामाथि’…..केन्द्रित रहेको छ। लेखकले लेखको प्रारम्भमै धर्मराज थापालाई कवि, गायक, लोकसाहित्यका अन्वेषकसङ्कलक भनेर परिचय गराएका छन्। लोकगीतका माध्यमबाट विश्वका विभिन्न मुलुकहरूमा बसोबास गरेका नेपालीहरूलाई उनले जोड्ने प्रयास गरेका हुन्। यही उद्देश्य लिएर उनले विगत सत्तरको दशकमा असम भ्रमण गरेका हुन्। लेखमा धर्मराज थापाका बारेमा अझ विस्तृत रूपमा चर्चा हुनु आवश्यक थियो।
आठौँ लेखको शीर्षक छ एक घाइते सिपाहीको मनोदशा— सन्दर्भ नेपाली लोकगीत‘ए बरै’। लोकसाहित्यभित्र एउटा सिङ्गो जाति नै अँटाएको हुन्छ। गोर्खा जाति लडाकु जाति हो। त्यसैले धेरै नेपाली लोकगीतमा गोर्खा जातिको वीरताको वर्णन पाइन्छ। पूर्वोत्तर भारतको नेपाली साहित्य युद्ध कविताबाट सुरु भएको छ। ‘ए बरै’ गीत पनि त्यस्तै युद्ध कविता हो। यस कवितामा युद्धभूमिमा एक मृत्युमुखी घाइते सिपाहीको पीडा र मनोदशाको मार्मिक वर्णन छ। दोस्रो विश्वयुद्धको समयमा दुर्गाबहादुर परियार नाम गरेका एक व्यक्तिले कुनै सिपाहीको गोजीबाट एउटा चिठी फेला पार्छन्। त्यस चिठीको भावको आधारमा उनले एउटा गीत रचना गरे। त्यो गीतलाई 2023 सालमा उनका छोरा झलकमानले पहिलोचोटि मञ्चमा गाए। गीत खुबै जनप्रिय भयो। समालोचक पौड्यालले यो गीतको अर्थ खोलेर व्याख्या गरेका छन्। साइनो अनुसारको संवाद पनि चित्ताकर्षक छ। पहिलो विश्वयुद्धमा वीरगति पाएका सिपाहीको स्मरणमा क्यानाडेली कवि म्याक क्रेले ‘प्लेन्डर्स फिल्ड’ भन्ने कविता रचे जो विश्वभरमा चर्चित भयो। ‘ए बरै’ गीत पनि कुनै उपायले विश्व दरवारमा पुऱ्याउन सकिँदैन?
अर्को लेख एउटा लोकप्रिय गीतको ‘न बातले भन्यौ न हातले भन्यौ’ शीर्षक गीतको अध्ययन रहेको छ। शब्द, सङ्गीत र स्वरको जादुले यो गीत श्रोता दर्शकलाई मक्ख पार्न सफल भयो। रुमानी बतास एल्बमको यो गीतले नेपालको वर्षभरिको सर्वश्रेष्ठ गीतको पुरस्कार प्राप्त गऱ्यो। लेखकले यस गीतको संरचनात्मक विश्लेषणअघि सारेका छन्।
दसौँ लेखमा समालोचक पौड्यालले ‘फुलबुट्टे सारी’ गीतको सौन्दर्य वर्णन गरेका छन्। दस वर्षअघि मार्मिक लामाले गाएका थिए तर त्यतिखेर यो गीत लोकप्रिय हुन सकेन। यतिखेर सोसिएल मिडियामा यो गीत खुबै चर्चित भएको छ, विशेष गरी युट्युबमा लाखौँले हेरेका छन्। यो गीतका गीतकार सङ्गीतकार राजनराज सिवाकोटी हुन्। गीतका शब्द, बिम्ब, अर्थगौरव उत्कृष्ट छन्। तिनै तत्त्वहरूमा सङ्गीत र गायनको चमत्कारपूर्ण प्रस्तुतिले फुलबुट्टे सारी गीतको सौन्दर्यलाई दर्साएको छ भन्ने लेखकको भनाइ उचित देखिन्छ।
एघारौँ लेख छ- ‘चियाबारीका गीतहरू: निरूपणात्मक अध्ययन’। यस लेखमा लेखक पौड्यालले चियालाई दार्जिलिङको शान भनेर संज्ञा दिएका छन्। साथै यो पनि भनेका छन् चियाबारीमा खुन पसिना बगाएर देशको अर्थनीति बलियो पार्ने गोर्खा दाजु भाइहरूको जीवन दयनीय छ। चियाबारीको नेपाली जनजीवनलाई लिएर साहित्य नलेखिएको होइन। नन्द हाङखिमको चियाबारी खण्डकाव्य, रामलाल अघिकारीको चियाबारी कविता सङ्ग्रह र बुद्धकुमार मोक्तानको कुल्लीको गीत खण्डकाव्य अनि असीत राई, इन्द्र सुन्दासले आख्यान रचेको कुरा उल्लेख गरेका छन्। तर त्यति मात्र पर्याप्त छैन, अरू पनि साहित्य लेखिनु पर्छ भन्ने लेखकको अभिमत छ। दार्जिलिङको चियाबारीलाई लिएर कवि भूपी शेरचनले रचेको ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा’ भन्ने गीत नारायण गोपालले गाएर हलचल मचाएका हुन्। उसै गरी तुलसी घिमिरेको ‘चियाबारीमा हो चियाबारीमा’ भन्ने गीत सिने जगत्मा लोकप्रिय भएको छ। अगमसिंह गिरीका गीतहरू पनि निकै चर्चित भएको कुरा लेखकले उल्लेख गरेका छन्। सन २०११ मा दार्जिलिङका गीतकार सञ्जय बान्तवा र गायकसङ्गीतकार रमेश गुरुङको संयुक्त तत्परतामा चियाबारीका गीतहरू (प्रथम भाग) प्रकाशित भएको महत्त्वपूर्ण सूचना यस लेखले दिएको छ।
बाह्रौँ निबन्धको विषय चर्चित गायिका नवनीत आदित्य वाइबाको परिचय रहेको छ। नेपाली लोक सङ्गीतकी चर्चित गायिका हीरादेवी वाइबाकी सुपुत्री हुन् नवनीत-योग्या आमाकी सुयोग्या छोरी। नवनीतले लोकगीत गायनको आमाको बिँडो मात्र थामिनन्, उनले त आफ्नो मौलिकता पनि थपेर नेपाली सङ्गीतमा नयाँ मात्रा प्रदान गरिन्। नेपाली लोकगीतलाई उनले युग सुहाउँदो शैलीमा प्रस्तुत गरेकी छन्। युवा पिढीलाई आफ्नो लोक सङ्गीत प्रति आकर्षित गराउनु उनको ठुलो सफलता हो। लेखकले शुभकामना दिएका छन् नवनीतलाई, हाम्रो पनि शुभकामना छ।
कुनै पनि गीत लोकप्रिय भएपछि गायक र सङ्गीतकारको नाम चर्चामा आउँछ तर गीतकार भने ओझेलमा परेको हुन्छ। एउटा गीतको प्रस्तुतिमा गीतकार, सङ्गीतकार र गायक सबैको भूमिका महत्त्वपूर्ण हुन्छ। तसर्थ सबै सफलताका हकदार हुन्। नेपाली भाषामा रचिएका कति अमर गीतका श्रष्टालाई हामीले बिर्सिसकेका छौँ। गीतकारहरूको खोजी गरी। डा. जस योन्जन प्यासीले भारतीय नेपाली गीतकार पारिचयिक चर्चा (२०१४) प्रकाशित गराएको ऐतिहासिक महत्त्वको काम गरेका छन्। नेपाली गीत र गीतकार अध्ययनको यही सिलसिलालाई अघि बढाउँदै अन्वेषक नवीन पौड्यालले पनि महत्त्वपूर्ण ग्रन्थ प्रणयन गरेका छन्।नेपाली कथा समीक्षा, साहित्य अनुशीलन, आख्यान अनुशीलन, कविता विमर्श, कविता आलोकन, कृति सन्धान आदि ग्रन्थका रचयिता नवीन पौड्याल नेपाली साहित्यका स्थापित समालोचक हुन्। शोधकर्ता र अन्वेषकका रूपमा पनि उनले ख्याति पाएका छन्। यतिखेर उनी पेदोङ सरकारी महाविद्यालयमा अध्यक्षको पदमा सेवारत छन्।
०००
लेखक परिचयः ज्ञानबहादुर क्षेत्री असमको साहित्यिक परिवेशमा एक समर्थ समालोचक हुन् । सन् १९७५ मा “पहिलो बसन्त” कविता आँखा पत्रिकामा प्रकाशित गरी साहित्य क्षेत्रमा जमेका उनका १३ मौलिक कृतिका साथै सम्पादन अनुवाद लगायत गरी २८ कृतिहरू प्रकाशित छन् । असममा जन्मेर असमलाई नै कर्मभूमि बनाएका छन् ।
