दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान समर्पण

समाचार

९ बैशाख २०८२, काठमाडौं

नेपाल स्रष्टा समाजद्धारा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,संरक्षक पवन आलोक लगायतबाट’दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’द्धारा तिवारी आमा (लक्ष्मी तिवारी) सम्मानित भएकी छिन् ।
नगद २० हजार एक सय एघार नगद राशी,सम्मानपत्र र दोसल्ला सहितको उक्त सम्मानबाट लोकगीत सर्जक,गायिका पाल्पा,रामपूर निवासी लक्ष्मी तिवारी सम्मानित भएकी हुन् ।
सो कार्यक्रममा साहित्यकार भागिरथी श्रेष्ठ भनिन् – “आमाप्रति माया र सम्मानभाव प्रकट गरेर आमाको जन्मदिनकै दिन सम्मान समर्पण गर्ने व्यवस्था मिलाउने पुष्पा खनाल धन्यवादको पात्र हुन् । ”
समाजका संरक्षक पवन आलोकले सम्मान प्राप्त गर्नेलाई बधाई तथा सम्मान स्थापना गर्नेलाई धन्यवाद दिए ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व तिवारी आमाको व्यक्तित्वबारे डा. शान्तिमाया गिरिले प्रकाश पार्दै पाल्पा रामपूर निवासी लक्ष्मी तिवारी “तिवारी आमा”को नाउँले प्रख्यात भएकी बताइन् । डा. गिरिले समाजका विकृति र विसङ्गतिमाथि सिलोक, तीज गीत, रोइला रत्यौली गीतको माध्यमबाट पस्कने गरेको बताइन् । विद्यालयमा जम्मा दुई कक्षामात्र पढेकी तिवारी नाच्न पनि उत्तिकै निपुण रहेको पनि जानकारी दिइन् ।
पुरस्कृत स्रष्टा तिवारीले उति बेला छोरीले पढ्नु हुन्न भन्ने मान्यताले गर्दा पढ्न नपाएको बताउँदै राष्ट्रिय भावनाले ओतप्रोत गीत पनि सुनाइन् । साथै उनले रामपुरको महिमा झल्कने सिलोक पनि सुनाइन् ।
कार्यक्रममा अध्यक्षता गरेका समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदनले जहिल्यै राजधानीका मात्र स्रष्टाहरु सम्मानित र पुरस्कृत हुन्छन् भन्ने आम सोचाईलाई नेपाल स्रष्टा समाजले तोडेको बताए । उनले पुरस्कार स्थापना गर्ने पुष्पा खनाल प्रति आभार व्यक्त गर्दै पुरस्कृत व्यक्तित्वलाई बधाई दिए ।
रञ्जना निरौलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजका सचिव प्रकाश घायलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
गीतकार पुष्पा खनालले वि.सं.२०७५ मा आफ्नी आमाको नाममा यो सम्मानको स्थापना गरेकी हुन् ।ओझेलमा परेका नारी स्रष्टालाई उक्त सम्मान प्रदान गरिदै आएको आयोजकले वताएका छन् । उक्त अबसरमा खनालको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *