२ चैत्र २०८१, काठमाडौँ ।
भीमदर्शन रोका स्मृतिकोषद्वारा आयोजित एक समारोहमा कवि एवम् आजिवन शिक्षक भीमदर्शन रोकाको स्मृतिमा स्थापित ‘भीमदर्शन रोका आदर्श गुरु सम्मान’शशीविक्रम शाहलाई तथा ‘भीमदर्शन रोका आदर्श समाजसेवा सम्मान’ काभ्रेपलाञ्चोकको पनौतीस्थित ‘ सहारा ज्येष्ठ नागरिक समाज’ लाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवम् साहित्यकार रोचक घिमिरेले हस्तान्तरण गरे । दुवै सम्मानमा जनही पचास हजार रुपैयाँ राशि रहेको छ ।
सो कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि घिमिरेले शशी शाहको कलाकारिताको चर्चा गर्दै उनले नेपाली चित्रकलाका माध्यमबाट नेपाललाई विश्वमा चिनाउने विशिष्ट कलासाधक भएको उल्लेख गरे । त्यस्तै ज्येष्ठ नागरिकको सम्मानमा संस्था स्थापना गरेर समाजका अग्रज पुस्ताको सेवा र सम्मानमा महत्त्वपूर्ण योगदान गर्दै आएको सहारा ज्येष्ठ नागरिक समाजको पनि प्रशंसा गरे ।
कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मानन्धरले सम्मानित शशीविक्रम शाहको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा भीमदर्शन मुक्तक पुरस्कारका संथापक मुक्तककार रामकाजी कोने, कोषका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठ, कोषका उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्व सचिव दीपेन्द्रनाथ शर्मा, कोषाध्यक्ष अनिलमान महर्जनलगायतले भीमदर्शन रोकाको स्मरण गर्दै उनको योगदानको चर्चा गरे ।
सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट २०४० सालमा एस. एल. सी. उत्तीर्ण गरेका विद्यार्थीहरूले आफ्ना गुरु भीम दर्शन रोकाको सम्मानमा संस्था स्थापना गरेको स्मरण गर्दै समारोहका सभापति एवम् इन्स्टिच्युटका प्राचार्य रूपक राजवंशीले रोका विनयी, स्वाभिमानी, इमानदार, समयनिष्ठ, परिश्रमी तथा कर्तव्यनिष्ठ आदर्श गुरु भएको बताए । प्राचार्य राजवंशीले गुरु र अभिभावकप्रति अनुत्तरदायी बन्दै गएको वर्तमान विद्यार्थी पुस्ताका लागि सिद्धार्थ वनस्थली इन्स्टिच्युटका २०४० समूहका विद्यार्थीहरू अनुकरणीय छन् भन्न पाउँदा आफूलाई खुसी लागेको उल्लेख गरे । उनले सम्मानित शशीविक्रम शाह र सहारा ज्येष्ठ नागरिक समाजले नेपाली समाजका लागि गरेको कार्यको प्रशंसा गरे ।
सम्मानित शशीविक्रम शाह तथा सहारा ज्येष्ठ नागरिक समाजका प्रतिनिधि एवम् वरिष्ठ सदस्य विष्णु सिलवालले आदर्श गुरुको नाउँको सम्मानबाट सम्मानित भएकामा खुशी व्यक्त गरे । कार्यक्रममा भीमदर्शन रोकाकी धर्मपत्नी मीना रोकाको पनि स्मरण गरिएको थियो ।
कोषका सचिव एवम् भीमदर्शन रोकाका शिष्य साहित्यकार यादव भट्टराईद्वारा सञ्चालित सो कार्यक्रममा नेपाली साहित्य र कलाक्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
स्मरणीय छ, भीमदर्शन रोका स्मृतिकोष वि.सं. २०६० मा स्थापित तथा २०६४ सालमा विधिवत् दर्ता भई क्रियाशील रहँदै आएको छ ।
०००