मेरो यात्रा (कविता)

कविता

सुनिता अधिकारी

महाराष्ट्रको माटोमा खुल्यो जीवनको प्रभात,
गोदावरीको गीतमा गुञ्जियो ।
त्यो भूमि, जहाँ मेरो सानो पाइला चालियो,
माटोले दिएको स्नेहले मुटुमा तातो भरियो।

चार वर्षमै अछामले बोलायो मलाई,
पहाडको काखमा जिन्दगीको ढोका खुल्यो।
जंगल, खोल्सा र मौनताले ,
धैर्य, संघर्ष र साहसको पाठ सिकायो।

अचानक, काठमाडौँले नयाँ दिशा दियो ,
हरेक गल्लीमा भेटिए सपनाका उज्यालाहरू।
बौद्ध र पशुपतिको आशीर्वादमा जीवन बग्यो,
संघर्ष र आशाको मैदानमा भिड्न थालियो।

त्यसपछि पोखरा, फेवाको सुन्दर प्रतिबिम्ब,
सराङकोटले देखायो हिमालको किम्बदन्ती।
अन्नपूर्णले आँसु पुछिदियो ,
जीवन बुझेँ प्रकृतिको विशालतासँग।

बिराटनगर, तराईको कर्मभूमि ठूलो,
जहाँ श्रम र पसिनाले धूलो बन्छ सुन।
धनकुटाको उचाइ, हरियालीको संसार,
मुटुमा रह्यो त्यो भूमि, जीवनको हार।

हेटौंडा, चुरेको शीतल हावा,
प्रकृतिले फुकायो मनको थकान।
र चितवन! हरियालीको धर्ती, गैँडा र हात्ती,
राप्तीको किनारमा सूर्यास्तको मर्मस्पर्शी कथा।

यो मेरो यात्रा, सपनाको रचना,
महाराष्ट्रदेखि मिलन को गाथा।
माटो, पहाड र तराईको स्नेह,
हृदयमा बाँधियो एकताको गेह।

जहाँ गएँ, त्यहीँ भेटें माया,
जीवनले सिकायो सबै भूमिलाई आफ्नो बनाऊ।
महाराष्ट्र, अछाम, काठमाडौँ र पोखरा,
बिराटनगर, धनकुटा, हेटौंडा र चितवनको कथा।

यो देश, यो माटो, आत्माको रेखा,
मेरो यात्रा, जीवनको अमूल्य लेखा।

०००

कवि परिचयः महाराष्ट्र भारतमा जन्मिएकी सुनिता अधिकारी बालुवाटार, काठमाडौंमा वसोवास गर्छिन् । विसं २०८१ सालमा कृषि विकास वैंकको अर्धवार्षिक पत्रिकामा ‘म कस्तो मान्छे ‘शिर्षकको कविताको साथमा उदाएकी उनका नेपाली र अङ्ग्रेजी भाषाका कविताहरु बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *