७ माघ २०८१, काठमाडौं
नइ प्रकाशनले आफ्नो आधिकारिक फेस बुकमा विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रिय जीवनका ख्याति प्राप्त दस जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको जनाएको छ ।
अध्यात्म दर्शन र सनातन धर्म संस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक रूपमा सात दशकदेखि समर्पित प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’, नेपाल राष्ट्रको गौरवमय धर्म र संस्कृतिको अनुसन्धान तथा सांस्कृतिक जागरणका लागि सात दशक अघिदेखि अविच्छिन्न रूपमा समर्पित संस्कृति शिरोमणि हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, नेपाली भाषासाहित्यको सेवामा समर्पित रही विविध सिर्जना तथा प्राज्ञिक चिन्तनमा पुर्याएको विशिष्ट योगदानका निम्ति प्रा. गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको संवर्धनका लागि निष्ठावान् प्रा.डा.मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’, स्वास्थ्य विज्ञानमा मन, वचन र कर्मले समाहित भई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको गौरव बढाए बापत न्युरो सर्जन डा.वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’, सञ्चारका माध्यमबाट देशदेशान्तरमा नेपाली भाषाको गरिमा वृद्धिका साथै रेडियो नेपालको जनप्रियता बढाउन समेत महत्त्वपूर्ण योगदान दिए बापत कमल प्रधान तथा ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’ संयुक्त रूपमा गरिने भएको छ ।
त्यसैगरी नेपाली भाषामा बाल-साहित्यका विविध विधाहरूको सिर्जनाका साथै बाल चेतनाको संवर्धनका निम्ति रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’, काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषा साहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याए बापत पर्वतका शान्ति नारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’, राजधानीबाहिर रही नेपाली भाषा साहित्यको सिर्जनामा निरन्तर समर्पित विराटनगरका राधिका गुरागाईंलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।
यी सबै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।