बेलुकाका पाहुना (नियात्रा)

नियात्रा

जानकी प्रसाद पराजुली

 

खै ? कताबाट आएका हुन् । ढोकामा ट्वाकट्वाक पनि गरेनन् । “घरमा को हुनुहुन्छ ?” अथवा “ओ घरबेटी बा, आमै ” क्यै पनि भनेनन् । तर उनीहरू सरासरी भित्र पसे । दुई जनालाई बास चाहिएको र’छ ।
भित्र पसेर ठटेउलो स्वभावमा एउटाले सोध्यो -“बैनी बास पाइन्छ ?”
अर्कोले उसैको अनुहारमा हेरेर मुस्कुराइ रह्यो ।
मूल ढोकामा उभिएकी उनी अलिक ट्वाल्ल परेर हेरिन् । उसैको अनुहारमा हेरेर टोलाइन् । घरबेटी नै रहि छिन् ।
बिस्तारै बोलिन् -“पाइन्छ । कहाँ देखि आउनुभयो ?”
तर, उनले जबाफ दिएनन् । नसुने जस्तो गरे ।
अर्को चाहिँ उसैको मुखमा हेरेर फेरि एकछिन टोलायो । डराए जस्तो गरेर उसैको पछाडि उभियो । उ पनि चुँक्क बोलेन । दुबैजाना भित्र पसेर यताउता हेरे ।
रिसेप्सनमा चैं कोही थिएन । पर कुनामा सानी फुच्ची एक्लै मोबाइलको गीतमा नाच्दै थिइन् । गीत सुन्दै नाच्ने उनको बालापनको इच्छा देखाइन् । गीत गाएर नाच्ने पनि कसैको बालापनको इच्छा हुन्छ। थुप्रैले हुर्के पछि पनि जीवनमा गाउने र नाच्ने इच्छा पुरा गर्छन् । कसैले त पेसा नै बनाउँछन् । के थाहा ? उनको जीवनको सपना पनि साकार हुन्छ की । कसैको त बालापनको इच्छा पनि यौवनमा आइ पुग्दा मोडिन्छ र अर्कै बाटो लिन्छ ।
उनीहरूलाई देखेर फुच्ची ठप्प रोकिएलिन् भन्ने सोचेका थिए होलान् । तर उनी रोकिइनन् । गीत झन्झन् झन्किन थाल्यो । तर उनले नाम चैँ त्यै बेलामा सोधि हाले ।
“नानीको नाम चैँ के हो ?”
यो सुनेर उनी ठक्क अडिइन् । अनि मात्रै उनका नजर नानीसँग जुधे ।
अन्दाजी तीन वर्षकी नानीले लटेंग्रो स्वरमा भनिन् ।
“बीसा….”
उनको खास नाम चैं बृसा रहेछ । बोली राम्ररी नफुटेर बीसा भनेकी रहि छिन् । बाहिरको साइन बोर्डमा पनि होटेलको नाम त्यै थियो । बृसा नै लेखेका रहेछन् । वाइफाइको पासवर्ड पनि बृसा रहेछ ।
सानो चिटिक्क परेको बार । कालो रङ्गले काठमा पोतेको । बारमा एक बोतल भोड्का । एउटा खुकुरी रमको बोतल । पाता जस्तो टल्किने सेतो बोतलमा फुल थियो । त्यो चैं लोकल अरे । दुई चारवटा कोकाकोलाका बोतल । थोरै पानीका बोतल पनि देखिए ।
हामी दुई जनाले पनि त्यै होटेलमा एउटा कोठा लियौं । एक रात सुतेको पन्ध्र सय भनिन् साहुनीले । एटेच बाथरुम र हट सावर भएको । रेस्टुरेन्ट, किचेन र रिसेप्सन एउटै ठाउँमा गुजमुज्ज थियो ।
एक रातलाई हो । साथीले पनि यो ठिकै छ भन्यो । त्यहीँ बस्ने निधो गर्यौं ।
घरबेटीले सोचिछन् –
“अचेलका मान्छे पनि बास मागेर बस्न खोज्छन् । त्यो जमाना त गयो । उहिले पो थियो त बास मागेर राति बस्ने चलन । यो जमानामा पनि बास मागेर पाइन्छ । सहरमा होटेल छन् । बाटा बाटामा गेष्ट हाउस छन् । गाउँ गाउँमा होमस्टे छन् । रात बिरात बाटैमा बस्नु प-यो भने गोठस्टे शुरू भएका छन् । रोजि रोजी जहाँ बसे पनि हुन्छ ।”
मानौं , आजकलको जमानामा बास माग्छ । कस्तो मान्छे होला । बस्नै पर्नेले त “रुम छ बैनी ?” भनेर सोध्छन् । “रुमको कति रुपैया पर्छ “? भन्छन् ।
“एट्याच बाथरुम छ ?” भनेर सोध्छन् । ट्वाईलेट पेपर सोध्छन् । हटसावर समेत सोध्न भुल्दैनन् । कोठामा फोन छ ? भनेर सोध्छन् । पैसामा ब्रेकफास्ट पनि इन्क्लुडिंग छ ? भन्न समेत भ्याउँछन् । चिया र कफी पकाउने भाँडो सोध्छन् । टावेल त सोध्छन् , सोध्छन् । सबै सुविधा छ भन्ने बुझेपछि बल्ल बार्गेन गर्न थाल्छन् । बाठा ।
त्यै भएर होला उनले हामीलाई पनि सोधिन्-
“हजुरहरुको घर चैँ कता प-यो ? कताबाट आउनु भयो ? हेर्दा र कुरा सुन्दा त यतैको लोकल त हैन हजुरहरू ।”
मैले भने उही ठटेउलो पाराले, धेरै प्रश्नहरू आउन सक्ने सम्भाव्य उत्तरहरू एकचोटीमा बाङ्गबुङ्ग ठोकिदिएं -“बैनी घर त भोजपुर हो । अनकन्टार गाउँमा छ । मोटर बाटो अहिलेसम्म छैन । बिजुली कहिल्यै बल्दैन । वाइफाइ नामो निशान छैन । कसैले चलाउँदैनन् । डाँडाको ढुङ्गाको टुप्पामा बस्दा मात्रै फोनको टावर टिप्छ । त्यो पनि सबै ढुङ्गामा हैन । फोन टिप्ने ढुङ्गो पत्ता लगाउनु पर्छ । नत्र सल्लाको टुप्पामा गएर बसे पनि टिप्छ । फोनको टावर समेत सल्लाको रुखको टुप्पाबाट टिप्छ ।”
उनले फेरि सोधिन् -“अनि के को लागि यता आउनु भयो त ? नातागोता पक्कै छैनन् होला यतातिर ।”
मैले भनें -“बैंनी, ससुराली त बैदाम हो । लेक साइड । यता चैं घुम्न आएका । तर हाम्रो गाउँतिर सुनेको थिए । सराङ कोटबाट हिमाल राम्रो देखिन्छ भनेर । त्यै हेर्न आएका । वहाँदेखि आइयो , बादलले सबै ढाकि दियो । आज देख्न पाइएन । त्यसैले आज यतै बस्ने र भोलि बिहान हिमाल हेरेर पोखरा फर्किने सल्लाह गर्यौं ।”
ड्राइभरलाई औंलाले देखाउदै – यस्ले त मन थाम्न सकेनछ । फ्याट्टै भन्यो-
“बादल मुर्दावाद तँलाई। हाम्रो हिमाल छोपिदिइस् तैंले।”
मैले उसको शब्दलाई सपारेँ हतार-हतार -“बादल जिन्दाबाद । हिमालभन्दा पनि सेतो बुट्टा वाल दृश्य देख्न पाइयो । तरेली परेको लामो सेतो गह्रा । तला-तला जस्तो देखिने । उता पछाडिको हिमालभन्दा राम्रो । सबैको पुर्पुरोमा यस्तो बुट्टा वाला बादल देख्न कहां लेखेको हुन्छ र ?”
सबै कुरा उनले सुनि रहिन्। सायद उनले सोचिन् होला नेपालमा पनि यस्तो ठाउँ होला र ?
बिचारि उनलाई के थाहा ? पुरा नेपाल । नेपाल कस्तो छ कस्तो । भित्र त के छ के छ ? बुझेर बुझि नसक्नु छ । थुप्रै विवेकीहरू पनि छन् । अविवेकी पनि थुप्रै छन् । राम्रो पनि छ । बेला-बेला सुगन्धित बास्ना आउँछ ।
कतै सडेको पनि छ । गनाउँछ । दुर्गन्धित पनि उस्तै छ । सफा त गर्छन् । तर फेरी बास्नादार ठाउँमा लगेर थुपार्छन् । फेरी गन्ध उस्तै फैलिन्छ । धेरै प्रकारको गन्ध आउँछ । नाक थुन्दा थुन्दा नाकका पोरा चर्कि सके ।
उनी थिइन् बृसाकी आमा । सरासरी रिसेप्सनमा गइन् । थोत्रे पुरानो कागजमा छापेको रहेछ दर्ता फर्म ।
बृसाको आमाले भनिन् -“सर कोठामा बस्नकोलागि यो फर्म भर्नु पर्छ ।”
मैले भने -“हवस बैनी । ल दिनु ।”
मसी वाला पाइलट पेन उनले दिइन् । मैले पनि अक्षर खिपेर लेखेँ । मेहनत गरेर पुरै फर्म भरेँ ।
सुरुमा नाम लेखेँ । त्यसपछि ठेगाना । अनि पालो आयो आइ पुगेको दिन । होटेल छोड्ने दिन । आइ पुगेको समय । जाने समय । व्यक्तिगत परिचय पत्र नम्बर । लोग्ने मान्छे कि महिला । जम्मा कति जना । पैसा जम्मा गरेको छ की छैन । अन्तिममा सही । सबै मिलाएर भर्नु पर्ने । भरेँ ।
फर्म भरिसके पछि पेपरको साइज हेरेँ । अन्दाजी दश इन्ची ठाडो र सात इन्ची चौडा ।
उनले फर्मको माथि दाहिने कुनामा आफैँले लेखिछन् । “रुम नम्बर एक सय चार” कालो मसीको गोलो घेरा भित्र । मैले फर्म उनको हातमा दिएँ । फर्म पढिन् । छुस्स झस्किदैं भनिन् । “आपुइ नाम पनि केटीको जस्तो ।”
बृसातिर फर्केर हाँसिन् । उतै फर्केर केही बरबराउँदै चित्त बुझाइन् । के भनिन् , मैले चैं बुझिन ।
हुन त कत्ति केटीको पनि नाम केटाको जस्तै हुन्छ । दुर्गा , लक्ष्मी, कृपा, इश्वरी , जनक । फर्म नाकको छेउमा लगेर बिस्तारै बकिन् । वहाँको नाम चैँ “जानकी र,छ ।”
फेरि भनिन्-“थर पनि लेख्नु न सर ।”
मैले भनें -“तपाई नै लेख्नु । पराजुली ।”
एकछिनमा उनले भनिन् -“ठेगाना लेख्नु भएन छ सरले ।”
फेरि त्यो फर्म मागेर हेरेँ । हो , ठेगाना चैँ खालि थियो । मैले जानी-जानी नलेखेको ।
बास माग्दा परिचय त भाको थियो । मैले भनेको थिए, घर भोजपुर । त्यसैले ठेगाना नलेखेको ।
फर्म दायाँबायाँ , कोल्टे , ठाडो बनाएर हेरेँ।
अक्षर राम्रै देखिए ।
अर्को नयाँ मान्छे ढोकामा आएर ठिङ्ग उभियो । सेतो कपडा पहिरिएको थियो । पछाडी हात खप्टेर सलक्क बिस्तारै खुट्टो चाल्यो । निधार छोप्ने गोलो ह्याट टोपी लगाएको थियो । त्यो पनि सेतै थियो । जुत्ता चप्पल क्यै लगाएको थिएन । कलिला पैताला टेक्दै फेरि बिस्तारै ढोका बाहिर निस्कियो । परिवार भित्रकै मान्छे जसरी सोध्यो -“खाजा खायौ सानिमा ? कोठा भरिए र ?”
उनले आँखा झिमिक्क पारिन् । मतलब भरिएको छैन ।
“हम् , एकछिन पर्ख है त । बुढाहरूले उतै लिए कि । सोध्दै थिए । गोलो टोपीलाई पछाडि फर्काएर तालुमा थिच्यो । हतार-हतार पल्लो घरतिर हिँड्यो ।”
बेलुकाको ८:५० भए छ । हामीलाई चैँ भोक लाग्यो ।
मैंले भने -“बैनी भोक लाग्यो खाना खाऊँ ।”
भान्छामा उनले खाना पस्किन थालिन् । हामी भातको थाली पर्खेर बाहिरै बसेका थियौँ । भान्छामा खान्द्रांग खुन्द्रुंग आवाज आइरहेको थियो ।
हरिले भन्यो -“सर यतै बसौं न ।”
मैले भनें -“म मोबाइल चार्ज गर्दैछु । जता बसे पनि हुन्छ । बरु कोठाको झ्याल लगाउनु । हुरी बतासले ओछ्यान भिजाउला ।”
हरिले फड्दुवाल मा-यो कोठातिर । माछापुछ्रेतिर चडङ्ग बिजुली चम्केको थियो । हरिको सातो उडेछ । गाम्रांग गुम्रुंग झ-यो भ-याङबाट । उसले पो के गर्न सक्थ्यो र ? बरु दुबैजाना नटाँसिइकन नजिकै बस्यौं ।
अर्को भाइ पनि पछि थपिएको थियो । उ पनि जिपकै ड्राइभर र’छ । उसको लागि पनि थाली आयो । उसले चिकेन चैं फिर्ता गर्यो ।
‘साहुनी थोरै घिउ दिनुन’ भन्दै उनको मुखमा हेरेर मुस्कुरायो ।
एकछिनमा भान्छामा झ्वाईंय आवाज थियो । डाडुमा घिउ पो तताएको र’छ । बृसाको आमाले मस्किँदै तातो घिउ ल्याइन् । उसैको थालमा तरर राखिदिइन् ।
मलाई पनि दिन खोजिन् ।
“सर , थोरै घिउ राखि दिन्छु” भन्दै डाडु अगाडि सारिन् ।
मैले भनें-“बैनी, म घ्यू खान्न ।”
खान मन त थियो । लोभि मन । तर मैले पनि चिल्लोमा जिउ छोडिन । फिर्ता गरेँ । घ्यू पटक्क खान मन लागेन । घ्यू फिर्ता गयो भान्छातिर ।
हामी खाना खादै थियौं । हरिले भन्यो -“सर, यस्तो होटेलमा गेष्ट किन राख्या हजुर्ले । कम से कम हामी गेष्ट ल्याउने मान्छेलाई त बाससम्म त दिनु पर्छ नि । ड्राइभरलाई सुत्न सानो झुप्रो त हुनुपर्छ नि ।”
मैले भनें -“ हरि , नरिसाउ । हामीले खाने र सुत्ने व्यवस्था आफैँले गर्ने हो । त्यो होटेलमा त गेष्टको लागि मात्रै कोठा भनेको हो । मैले तिम्रो कुरा बुझेँ । धेरै पहिले देखि नै होटेलहरूले नै यो सिस्टम बिगारेको र’छ । गाइड र ड्राइभरलाई खान र सुत्न फ्रि मा दिने । यसो गरेर सबैलाई फ्रि मा दिन थाले त होटेललाई के फाइदा होला र ? यो होटेलको सिस्टम ठिकै हो ।”
त्यै बेलामा पाँचजना मान्छे हाम्रो छेउको टेबुलमा आएर बसे । तीनजना लगभग उमेर ढल्केका बुढा । दुइटी पट्ठा केटीहरू । उमेर बिसे बाइसे, ल तेइसे नै होलान् । तीनै मध्यकी एउटीले फ्वास्स फ्वास्स चुरोटको धुवा उडाउँदै बसिन् । अर्किले हातले मुख ढाकिन् । कत्ति न भयङ्कर जस्तो ।
रवैया र चालचलनले अन्दाज काटी सकेका थियौं यी ठीक छैनन् भनेर । त्यै भएर हामीले टेर पुच्छर लाएनौं ।
हरिले उल्टै भन्यो-“बैनी , डाइनिंगमा चुरोट नखानु ।”
एकछिनमा बृसाको आमा हामी नजिकै आइन् । कानेखुशी गर्छु जस्तो गरेर कानको प्वालमैं सुटुक्क भनिन्- “नम्बरी मुर्दारले मान्छे पठाउँछु भन्दै हिँडेको थियो । यीनै र’छन् । पठाएछ । बसि बसी सय रुपैयाँ कमायो । जताबाट कोठाको पनि सय कमिसन चैँ लिन्छ । नदिएर पनि काम चल्दैन । बिना कमिसन कतै क्यै काम हुँदैन । न पराई बेटी हुन्छ न सरखारी हुन्छ । मरोस् मु्र्दार भनेर दिएँ । कोठो खालि राख्नु भन्दा त दिनै राम्रो । त्यै भएर त्यसको नाम पनि नम्बरी राखे टोलेले । सरहरू तलको कोठामा सर्नु । तलै सुत्नु है । राति यिनोर्ले हल्ला गर्लान् जस्तो छ । टन्न रक्सी धोकेर रातभरि चिल्लाउँछन् । केटी समेत छन् । झन् केटी भएपछि त के कुरा गर्नु ? कताका हुन् ? हामीलाई नि झुक्क्याए यिनोर्ले । के गर्नु नदिएर नि नहुने । दलाल मुर्दारले जे पनि गर्छन् । भाडा तिरेर बस्नेले त नसकिने र’छ । पैसा जति भाडामा नै जान्छ । महिनाको अन्तिममा हिसाब जोड्दा कमाई शून्य ।”
उनलाई यो हेर्दा दिक्क लागेछ । हामी पनि तुरुन्तै उठेर बरन्डामा गएर बस्यौं । मलाई अघिल्लो दिनको पुस्तकको पाना पढ्न बाँकी नैं थियो । पढ्नु पर्यो भनेर बत्तीको सिधा तल बसेर पढ्न सुरु गरेँ ।
मैले उही पुरानू झोला खोलें । प्रतीक ढकालले लेख्नु भएको “उज्यालो कर्णाली” किताब हातमा आयो । आजको पढ्ने पालो पेज नम्बर २३१ बाट थियो । कृष्ण धारावासीले “जीवनको लिला :एक बाँच्ने खेला” भनेर शीर्षक लेख्नु भएको र’छ । त्यै पाना पढ्न सुरु मात्रै गरेको थिएँ कोठाभित्र पट्टि बसेकी केटीको डरलाग्दो चिच्याहट आयो । “उ —— आ—- ।”
त्यहाँ पनि बस्न सकिन । अबभने होटेलवालीले भनेका कुराको विश्वास लाग्यो । अचानक मेरो मुखबाट आवाज खुस्किएछ “मरेछ मुर्दार।”
पछि अन्दाज गरें । केटी खुशीले गदगदाकी र’छे । एक घण्टापछि केटीहरू बाहिर निस्के । ढोकामा उभिएर बुढाले गनेर तिन हजार हातमा राखि दियो ।
“ढिला हुन्छ । म गएँ । अर्को चोटि उता बोलाए पनि हुन्छ । दमौलीतिर जाउँला । मैले चिनेकी छु होटेल ” भन्दै मुखमा हरियो मास्क टाँसी । पछ्यौराले टाउको र निधार टनक्क बेरी ।
बुढाले “हुन्छ” मा कुरा टुङ्ग्याइ दिए ।
एउटीले स्कुटी भुर्र बनाएर झ्वाँई झ्वाँई बनाई र बिदा भएर हिँडी । मैले सुटुक्क झ्यालको खिट्किनी लगाएँ । बुढाले पनि ढोका बन्द गर्यो ।
बल्ल फेरि पढ्नु पर्यो भनेर सुरु गरें ।
पाना पल्टाउदा शनिश्चरे, बुधबारे, जितपुर, आदिका नाम भेटिए । मलाई त्यतै पुगेको जस्तो भान पर्यो । त्यै हप्ता सुरुङ्गामा साइँली सानीमाकी नातिनीको बिहे थियो । तर मलाई बोलाएनन् । बोलाएका भए सुरुङ्गासम्म त पुग्थें। त्यो पनि आश भएन । यतै खुम्चिनु पर्यो ।
त्यो पाठमा २०३३ सालमा एसएलसी उतिर्ण गरेका कुरा र’छन् । म भन्दा दुइवर्ष अगाडि । विद्यार्थी युनियनका कुरा र’छन् । पुलिस रिपोर्ट बिग्रिएर लोकसेवामा फेल भएको कुरा र’छ ।
साहित्य लेख्दा नाम परिवर्तन गरेर लेख्ने परिपाटीको कुरा र’छ । त्यै बेला प्रष्ट भयो । खडानन्द पनि त प्रतिक हुनुभएछ । कृष्ण प्रसाद भट्टराइ कृष्ण धरावासी हुनुभएछ । हुनत त्यो बेलामा संजय थापा , मंजुल , सिरोज सोनोभ , आदि नाम पनि थिए । तर मान्छेलाई खासै चासो थिएन । अरूको कुरा जे सुकै लेखुन् भनेर होला ।
फेरि नामको पछाडि केही थप्नु पनि त्यो बेलामा फेसन जस्तै थियो । फेरि कसैको त नाम लुकाउनु पर्ने बाध्यता पनि थियो ।
त्यसपछि सुत्यौं ।
भोलिपल्ट बिहानै हरि ब्यूँझेछ । मलाई बोलायो । म पनि उठें ।
बिहान फेरि देख्यौं । हिजो सबैभन्दा पहिले होटेल सोध्ने पनि त्यहीँ बसेछन् । सँगै आएकी साथीले त्यो रात पनि त्यहीँ बिताई छ । तीनै जनाले एउटै टेबुलमा बसेर चिया पिए ।
उसले भन्यो -“ सर, चिया पिएर जाने की ? गेष्ट पनि उठे होलान् । मैले पनि हुन्छ मा टाउको हल्लाएँ । तल झरेर साहुनीलाई पर्खियौं । उनी पनि बिस्तारै कपालको डल्लो मिलाउँदै झरिन् । चिया बनाइन् । हरिले चिया पिए । मैले तातो पानी मात्रै पिएँ । त्यसपछि होटेलतिर सँगै उकालो लाग्यौं । गेष्टहरु हाम्रै पर्खाइमा बसेका र’छन् । हामीले नमस्कार गर्यौं । उनीहरूले गुड मोरनिंग भने । हरिले डिक्कीमा सुटकेश हाल्यो र गाडीको ढोका खोल्यो । गेष्टहरु गाडीमा बसे । म अगाडिको सिटमा बसेँ । गाडि हाँकियो लेक साईडतिर । ससुराली पनि नपसीकन हाँक्कियौं ठमेलतिर ।

000
लेखक परिचयः जानकीप्रसाद पराजुली पौवादुम्मा गांउ पालिका , च्यांग्रे प्याक्ला -३ भोजपुर जिल्लामा जन्मेका हुन् र हाल ठमेल पकनाजोल -१६ , काठमाडौंमा बसोवास गर्छन् । उनको आत्म जीवनी पुस्तक “जीवन फेद न टुप्पो“(२०७७) तथा “हिमालको भरिया” ( २०८०) प्रकाशित छन् । उनी उपन्यास र यात्रा संस्मरणहरू लेख्न रुचाउँछन् ।

 

 

 

 

1 thought on “बेलुकाका पाहुना (नियात्रा)

  1. आहा कस्तो मज्जा आयो पढेर। म आफै लाइ सङै यात्रामा भयेको जस्तो अनुभब भयो। धन्नेबाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *